स्रोत: कान्तिपुर
-साधना प्रतीक्षा
हरेक वर्ष पुस शुक्लपूणिर्मा देखि माघ शुक्लपूणिर्मा सम्म हिन्दु नारीहरूले अत्यन्त श्रद्धासाथ श्री स्वस्थानीको व्रत गर्ने परम्पराअनुरूप यस वर्ष पनि व्रत गरिरहेका छन् । विगतका तुलनामा हाल व्रतालुको संख्या बढ्दो र व्रत गर्ने तरिका पनि औपचारिक बन्दै गएको देखिन्छ । शाली नदीमा स्नान गर्ने मात्र नभएर त्यहीँ बसेर महिनादिनभरि विधिपूर्वक व्रतको अनुष्ठान गर्ने महिलाहरूको संख्या उल्लेख्य रहेको छ । कति महान् छन्, हिन्दु नारीहरू ! पुस-माघको जाडोमा घरमा आगो तापेर वा वातानुकूलित कोठामा आनन्दसँग नबसेर नदी तटका धर्मशालामा बसेर महिना दिन लामो व्रत गर्छन्, आफ्नो परिवारको मंगल कामना गर्दै । तर विडम्बना ! नारीरूले गर्ने नारीरूपी स्वस्थानी देवीको व्रतकथामा उल्लिखित व्रतविधि अनुसार व्रत पूरा गरेपछि प्रसाद झिक्ने प्रसंगमा एक सय आठ विविध प्रसाद सामग्रीमध्ये आठ-आठ छुट्याएर ‘…पतिलाई दिनु, पति नभए छोरालाई दिनु, छोरो नभए मीत छोरालाई दिनु, मीत छोरो पनि नभए मेरो फलानो कामना सिद्ध होस् भनी गंगामा बगाउनु’ भनेर लेखिएको छ । कति ठूलो विभेद गरिएको छ यहाँ छोरीमाथि । त्यो प्रसाद पति नभए मीत छोराको सट्टा आफ्नै छोरीलाई दिनु भनिएको छैन ।
मीत छोरा नभए प्रसाद खोलामा फाल्ने तर आफ्नै कोखकी सन्तान छोरीलाई दिन नहुने । प्रश्न गर्न मन लाग्छ- कुन भगवान्को उर्दी हो यो ? जब कि भगवान् त सधैं नारी-पुरुष सँगसँगै देखिन्छन्— महादेवसँग पार्वती, विष्णुसँग लक्ष्मी, ब्रह्मासँग सरस्वती, राम-सीता, कृष्ण-राधा आदि । तर धार्मिक विधि बनाउनेहरूले किन यसरी विभेदको मसी पोखेर नारीप्रति अन्यायी नजिर लेखिदिए ? यस्ता थुप्रै प्रसंग छन्, हाम्रो सनातन धर्मसंस्कार अनि परम्परा र संस्कृतिभित्र तर पनि प्रसंग अहिले माघ महात्म्यको मात्र हो ।स्वस्थानी कथाका मुख्य पात्रहरू महादेव, सतीदेवी -पार्वती), दक्ष प्रजापति, विष्णु, ब्रह्मा, जालन्धर, वृन्दा आदि दैवी तथा आशुरी पात्र र शिव भट्ट, शिव शर्मा, गोमा, नवराज आदि मानवीय पात्र । कथाअनुसार दक्ष प्रजापतिका सतीदेवीलगायत तेत्तीसकोटी कन्या भएकामा उनले सतीदेवीलाई छोरासरह सम्पत्तिको संरक्षणका लागि राखेका थिए । हिमालयले पनि छोरी पार्वतीलाई बिनाकुनै भेदभाव इच्छाएको व्यक्तिसँग विवाह गरिदिएका थिए । शिव भट्ट ब्राह्मणले गणेशको व्रत गरी सन्तानका रूपमा छोरी गोमालाई प्राप्त गर्दा अत्यन्त प्रसन्न भएका थिए, पुत्र प्राप्तिको हठ गरेका थिएनन् । तर त्यही कथाका विभिन्न प्रसंगमा नारीमाथि अन्याय गरिएको छ । वृन्दाको अस्तित्वमाथि विष्णुले खेलवाड गरेका छन्, सातवर्षे बालिका गोमालाई आदर्शको भारी बोकाएर सत्तरीवर्षे बूढोसँग बिहे गरिएको छ र गर्भवती बनाएर अलपत्र पारिएको छ । यसै प्रसंगमा स्त्रीले गर्न नहुने र गरेमा पाप लाग्ने उपदेश यसरी दिइएको छ— ‘आफ्नो पुरुषलाई रिस गरेर हेरे डेढी हुन्छे, पुरुषको आज्ञा पालन नगरे पापिनी हुन्छे, पुरुषसँग मुखमुखै लागे लाटी हुन्छे, लुकाएर खाएमा कुकुर्नी हुन्छे, द्रोह गरेमा गोही हुन्छे’ । तर पत्नीमाथि अन्याय गर्ने पतिका लागि खै त कुनै पापका प्रावधानहरू ? पत्नीमाथि हात उठाउने पति डुँडो हुन्छ, जाँड खाएर पत्नीलाई तथानाम गाली गरेमा लाटो हुन्छ, पत्नीमाथि ज्यादती र शोषण गर्ने पति महापातकी हुन्छ आदिजस्ता प्रसंगहरू खै त ? वृन्दाको पतिव्रताको त्यत्रो बखान छ, उसको पतिलाई मार्नसमेत छल गरेरै भए पनि उसको पतिव्रता धर्म नष्ट गराउनुपर्यो तर पुरुषको पत्नी व्रतासम्बन्धी प्रसंग खै त ? निष्ठा र इमानदारी केवल नारीहरूमा खोजिएको छ, पुरुषमा छैन किन ? महादेव स्वामी पाउन पार्वतीले गरेको व्रत भनी आज पनि थुप्रै अविवाहित नारीहरू स्वस्थानीको व्रत बस्छन्, तीजको व्रत बस्छन्, असल पति प्राप्तिको कामना गर्दै, तर खै त पुरुषले असल पत्नी प्राप्तिका लागि गर्नुपर्ने कुनै व्रत ? आफ्नो पति र परिवारको मंगलका लागि नारीहरू व्रत बस्छन्, तर कुनै पुरुष पत्नीका लागि व्रत बसेको उदाहरण हाम्रो समाजमा छ ? किन बनाइएनन् यस्ता व्रतहरू, जो पुरुषले गरून्, त्यो पनि नारीहरूका लागि ? यस्ता असंख्य प्रश्नको समाधान खोज्नका लागि धर्मग्रन्थ रचनाको प्रारम्भसम्म पुग्नुपर्ने हुन्छ । ईश्वरीय विषयवस्तुलाई लिएर कथा साहित्य सिर्जना गर्ने पुरुषप्रधान समाजका पुरुष लेखकको पुरुष मानसिकताको उपज हुनाले नै धार्मिक कथाहरू यस्तो विभेदकारी रूपमा प्रस्तुत भएका हुन् । जगतगुरुका रूपमा पुजित र प्रतिष्ठित दण्डी स्वामी शङ्कराचार्यले ‘प्रश्नोत्तरी’ मा नारीलाई नरकको द्वार, मदिरा, पिशाच, बन्धन आदि भनेर घोर निन्दा गरेका छन् । यसैलाई पछ्याउँदै गोस्वामी तुलसीदासले ‘ढोल, गँवार, शूद्र, पशु, नारी ये सब ताडनके अधिकारी’ भनेका छन् । संस्कृत साहित्यमा ‘पिता रक्षति कौमार्य, भर्ता रक्षति यौवने । पुत्रश्च स्थविरे भावे न स्त्री स्वतन्त्र्यमहर्ति’ अर्थात् कुमारी हुँदा पिता, यौवनकालमा पति र बुढ्यौलीमा पुत्रद्वारा रक्षित हुनुपर्ने नारी कुनै पनि अवस्थामा स्वतन्त्र रहन योग्य छैन भनिएको छ ।
पाश्चात्य साहित्यमा पनि अरिस्टोटलले दुःखान्त नाटकका चरित्रका विषयमा चर्चा गर्दा स्त्री र दास दुवै भद्र हुन सक्ने भए पनि स्त्रीलाई केही निम्नस्तरको प्राणी र दासलाई बिल्कुल निम्न दर्जाको जीव भन्दै सामाजिक प्रतिष्ठा र साहित्यिक मर्यादाक्रममा स्त्रीलाई पुरुषभन्दा तल र दासभन्दा केही माथि राखेका छन् । धार्मिक पुस्तकहरू पनि पुरुषहरूद्वारा रचिएका हुनाले त्यहाँ नारीलाई महत्त्व दिनुभन्दा दबाउनेतिर नै बढी सचेतता देखिन्छ । किनभने नारीमाथि लगाइएका सामाजिक प्रतिबन्धहरूको वैधानिकता यस्तै पुस्तकहरूले पुष्टि गर्छन्, पापको त्रास देखाएर । तर वास्तविकता यो छ कि यहाँ अधिकांशलाई पाप र धर्मको अर्थबोध नै छैन । अठार पुराणका रचयिता व्यासले ती सम्पूर्ण पुराणको सार यसरी व्यक्त गरेका छन्— ‘परोपकार पुण्याय, पापाय परपीडनम्’ अर्थात् परोपकार नै धर्म हो, अर्कालाई पीडा दिनु पाप हो । प्रसंग उही स्वस्थानीको, यसमा राम्रा तथा पे्ररणादायी पक्षहरू पनि छन् । एकपल्ट कक्षामा ‘पे्रमपिण्ड’ नाटक पढाउने क्रममा कृष्ण भगवान्को प्रसंग आउँदा एकजना छात्रले प्रश्न गरेका थिए, ‘पत्नीको मृत्युपश्चात् उनको शव बोकेर बहुलाहा भई सारा पृथ्वी भ्रमण गर्दै हिँडेका महादेवलाई छाडेर बहुपत्नी भएका विलासी कृष्णलाई पे्रमका देवता भन्न मिल्ला र ?’ यो प्रसंग प्रेरणादायी पनि छ । महादेवले पत्नीको लास बोकेर बहुलाहा भई हिँड्दा त्यो लास सडेर खसेकोसम्म पत्तो नपाएको र चेतना आएपछि उनकै पुनर्जन्म पार्वतीसँग विवाह गरेर हरेक कुरामा सहकार्य गरेको प्रसंगबाट उनको पत्नीप्रतिको प्रेम र समर्पण सजिलै बुझ्न सकिन्छ । खै त हिन्दु परम्पराका पुरुषहरूले यसबाट पे्ररणा ग्रहण गरी पत्नीप्रति समर्पित भएको ? यहाँ त पत्नीलाई दासीका रूपमा हेरिनुका साथै पत्नी मर्नासाथ अर्को बिहे गर्नाका लागि पतिले पत्नीको काजकिरियासमेत गर्न नपर्ने नियम बनाइएको छ ।
स्वस्थानी व्रतकथाको आलोच्य पक्ष के छ भने ठाउँ-ठाउँमा ईश्वरलाई असुन्दर रूपमा चित्रण गरिएको छ । वृन्दाको प्रसंगमा, जालन्धर आशुरी प्रवृत्ति हुनाले पार्वतीप्रति मोहित भएर कुदृष्टि राख्यो, तर विष्णु देवता भएर पनि किन वृन्दालाई छल गर्न गए ? जालन्धरलाई अन्य कुनै उपायद्वारा मारेको देखाउन पनि सकिन्थ्यो, किन विष्णुद्वारा निर्दोष वृन्दाको पतिव्रता हरण गरियो ? शिव भट्टको दानशीलताले इन्द्रासन डगमगाउँदा उनलाई अन्य उपायद्वारा नरोकेर उनकी छोरी निर्दोष बालिका गोमालाई महादेवद्वारा किन कठोर श्राप दिइयो ? र पछि स्वयं महादेवले वृद्ध शिव शर्मा बनेर सातवर्षे गोमालाई बलपूर्वक बिहे गरी किन अलपत्र पारियो ? यस्ता थुप्रै प्रसंगबाट झिकिएका केही उदाहरण मात्र हुन् यी । वास्तवमा ईश्वर त निरञ्जन, निराकार, अनि सर्वव्यापी छ । हामी अनेक रूपमा कल्पना गछौर्ं, पूजा गर्छौं । मान्छेका आआफ्नै आस्था-विश्वास र कल्पनामा निर्मित छ ईश्वरीय स्वरूप । यसैअनुसार कवि, लेखकहरूले धार्मिक काव्य-कथा लेख्छन् । तर यसरी लेख्ने क्रममा उनीहरूले ईश्वरलाई सुन्दर रूपमा मात्र चित्रण गर्नुपर्छ भन्ने सचेतता देखाउन भने सकेको देखिँदैन । वास्तवमा ईश्वरले अबोध बालकले जोगीलाई भिक्षा नदिँदैमा श्राप दिँदैनन्, ईश्वरले अर्काकी श्रीमतीमाथि कुदुष्टि राख्दैनन् र छल पनि गर्दैनन् । पूजा नगर्दैमा र व्रत नबस्दैमा पाप पनि लगाइदिँदैनन्, किनकि ईश्वर सदा कल्याणकारी हुन्छन् ।
२०६९ साल फागुन २ गते बुधवार।
Leave a Reply