स्रोत: कान्तिपुर
-प्रदीप ज्ञवाली
पुरुष स्वयम्ले आफ्नो सम्मान कसरी गर्न सक्छन्, यदि महिलाका लागि उनीहरूका मनमा कुनै सम्मान छैन भने ?
– कमला भासिन
जतिबेला नेपाली महिलाहरू हिंसा विरुद्धको १६ दिने विशेष अभियान सञ्चालन गरिरहेका थिए, त्यति नै बेला महिलामाथिका कहालीलाग्दा हिंसाका शृङ्खलाहरू देखापरे । जिउँदै जलाइएकी किशोरी शिवा हासमी, वैदेशिक रोजगारीबाट फर्किंदा अध्यागमन कर्मचारी र प्रहरीबाट कार्यालयमै लुट र बलात्कारको सिकार भएकी भोजपुरकी युवती र ट्युसन पढ्न जाने क्रममा रहस्यमम ढङ्गले हत्या गरिएकी विन्दु ठाकुरको हत्याले नेपाली समाज महिलाहरूका लागि कति बिघ्न ‘भल्नरेबल’ भइसकेछ भन्ने डरलाग्दो सङ्केत गर्छ । दुःखद संयोग होला, तर हिंसा विरुद्धको अभियान सञ्चालन भइरहेकै बेला र संसदबाट घरेलु हिंसा लगायत महिला विरुद्धका अपराधविरुद्ध कठोर कानुनहरू निर्माण भएको लगत्तैपछि जस्तो ती सबलाई चुनौती दिंँदै बढ्न थालेका यस्ता घटनाहरूले हाम्रो सामाजिक-सांस्कृतिक संरचना, हाम्रो न्यायप्रणाली र हाम्रो कथित ‘सभ्य’ पहिचान बारेमै गम्भीर प्रश्न खडा गरेका छन् ।
यस्ता गम्भीर घटनालाई ‘मिडिया सशक्त बन्दै गएका कारण ससाना घटना पनि सजिलै सार्वजनिक हुनथालेको’ भनेर सामान्यीकरण गर्न मिल्दैन ।
आखिर के कस्ता कारणहरू छन्, जसले महिलामाथिको हिंसालाई ‘नियमित आकस्मिकता’जस्तै शृङ्खलाबद्ध बनाइरहेका छन्, क्रूरता र भयावहतालाई झनै बढाइरहेका छन् र त्यस्ता घटनाविरुद्ध हाम्रो प्रतिरोधी क्षमतालाई कमजोर पारिरहेका छन् ? समाजशास्त्रीहरू, अपराधवेत्ता र मनोविश्लेषकहरूले बढी आधिकारिकताका साथ यस बारेमा भन्न सक्लान् । तैपनि तपाई-हामी सबैले अनुभूत गरेका केही कारणहरूका बारेमा छलफल गर्नु सान्दर्भिक नै हुनेछ । बेलैमाथि यस्ता विषयमा सार्थक हस्तक्षेप नगर्ने हो भने हाम्रो समाज महिलाका लागि बस्नलायक रहनै छैन । महिलाले आफ्नै घरमा, आफ्नै विद्यालय र कार्यालयमा, आफ्नै बस्ती र समाजमा असुरक्षित अनुभूत गर्नुपर्ने अवस्था सिर्जना हुनु र उनले आफ्नै आफन्तजन, शिक्षक या प्रहरी प्रशासनप्रति नै सशङ्कित हुनुपर्ने स्थिति आउनु भनेको निकै भयावह अवस्था हो ।
महिलामाथिको हिंसाको मुख्य स्रोत हाम्रो सामाजिक संरचना र यसले निर्माण गरेको विशेष मनोविज्ञानमा अन्तरनिहित छ । सामन्ती सामाजिक संरचना आधारित पितृसत्तात्मक सोचले महिलालाई आफ्नै अस्तित्व र पृथक पहिचानसहितको स्वतन्त्र मानव ठान्दैन । यसले त उनीहरूलाई पुरुषको नियन्त्रण र स्वामित्व अन्तर्गतको दोस्रो दर्जा ठान्छ । उनीहरूको जीवनका प्रत्येक मोडमा पुरुषको बर्चस्व हुन्छ, उनीहरूको कुनै स्वतन्त्र अस्तित्व छैन, आत्मनिर्णयको अधिकार छैन र सम्मान गर्नुपर्ने अस्मिता हुँदैन भन्ने त्यो सोच नै त्यो आधार हो, जसले महिलालाई हमेशा ‘कमजोर निसाना’ बनाइरहेको छ । भू्रणावस्थामै छोरी भए उसले जन्मिन पाउने कि नपाउने भन्ने निर्णय गर्ने अधिकार- पुरुषको हातमा, छोरीलाई सामुदायिक स्कुलमा पढाउने कि बोर्डिङमा- टुङ्गो लगाउने हक पुरुषका हातमा, उनले कोसँग बिहे गर्न पाउने र कोसँग नपाउने- जिम्मेवारी पुरुषकै हातमा, विवाहपछि विशुद्ध गृहिणी बन्ने कि आत्मनिर्भर भएर घरबाहिर निस्कन पाउने- फैसला गर्ने ‘न्यायाधीश’ पुरुषहरू, बच्चा पाउने कि नपाउने, अहिले गर्भधारण गर्ने कि अर्को वर्ष र एकपटक गर्भवती बन्ने कि पटक-पटक- अन्तिम फैसला पुरुषकै हातमा, यौनसम्पर्क गर्ने कि नगर्ने- हरबखत अधिकार पुरुषकै हातमा । यसरी महिलासँग जोडिएका प्रत्येक कदमको फैसला गर्ने हक आफूसँग भएको ठान्ने विकृत पितृसत्तावादले नै एउटा मनोविज्ञान निर्माण गरिदिएको छ- जसले महिलाविरुद्ध जे गरे पनि हुन्छ भन्ने बर्चस्ववादी सोच विकास गरिदिएको छ । बोक्सीका नाममा दुव्र्यवहार, दाइजो नल्याएको आरोपमा सशरीर दहन या छाउपडीका अमानवीय प्रथा यही सोचका उपज हुन् ।
अर्थ-राजनीतिक दृष्टिले सामन्तवाद निकै कमजोर भइसक्दा पनि समाजबाट यो विकृत सोच हट्नसकेको छैन । बढ्दै गरेको कथित आधुनिकता र विकृत पुँजीवादले पनि महिलालाई उसैगरी उपभोगका वस्तु ठान्ने मनोविज्ञानलाई बल पुर्याइरहेको छ ।
महिलामाथिको बढ्दो हिंसाको अर्को महत्वपूर्ण कारण हो- समाजमा बढ्दै गएको दण्डहीनता, कानुन हातमा लिने प्रवृत्ति र अपराधको राजनीतीकरण । विगतमा भएका गम्भीर प्रकृतिका अपराधले पनि राजनीतिको आवरणमा उन्मुक्ति पाउँदै गएको देख्दा समाजमा अपराधीहरूको मनोबल बढ्दै गएको छ । मैले जे गरे पनि हुन्छ, मलाई कानुनले छुन सक्दैन भन्ने मनोविज्ञान निर्माण हुँदै जानु सभ्य समाजका लागि निकै खतरनाक विषय हो । दुर्भाग्यवश, यस्तो प्रवृत्ति बढ्दै र हुकर्ंदै गएको छ । ‘धु्रवे हात्ती’ र प्रचण्डमाथि चियापानमा भएको दुव्र्यवहारको विषयलाई लिएर सामाजिक सञ्जालहरूमा ‘पोष्टिङ’ गरिएका अभिव्यक्तिहरूलाई मिहिन ढङ्गले विश्लेषण गर्ने हो भने बढ्दै गएको दण्डहीनताले कस्तो सामाजिक मनोविज्ञान निर्माण गर्दैछ भन्ने स्पष्ट बुझ्न सकिन्छ ।
तेस्रो महत्वपूर्ण कारण राज्यसंयन्त्रहरूको कमजोर उपस्थिति, त्यसभित्र बढ्दै गएका विकृति र त्यसको आधिकारिकतामाथि उठ्दै गएको प्रश्नचिह्न हो । भोजपुरकी युवतीको केसमा अध्यागमनका कर्मचारी स्वयम् लुटेराका रूपमा प्रस्तुत भए र रक्षक भनिने प्रहरी नै स्वयम् भक्षक देखियो । केही वर्ष अगाडि सुन्तली धामी आफ्नै प्रहरी सहकर्मीबाट बर्बाद पारिएकी थिइन् । राज्य र स्वयम् संस्थालाई नै बदनाम गराउने यस्ता कुकर्महरूमा कठोर सजाय नहुने कुराले पनि राज्यको आधिकारिता र विश्वसनीयतालाई कमजोर पारिरहेको छ । जसले प्रच्छन्न रूपमा आपराधिक मनस्थितिलाई टेवा पुर्याइरहेको छ ।
अपराध र हिंसालाई बढावा दिने अर्को उल्लेख्य कारण समाजको नयाँ सङ्क्रमण पनि हो । हिजो कतिपय मान्छेहरू धर्म र परम्पराका बन्धनहरूका कारण, कति लोकलाजको डरले र कति कानुनको त्रासले पनि अपराध गर्नबाट हच्किन्थे । हिजो पनि अपराधहरू थिए, तर तुलनात्मक रूपमा पर्दाभित्र र कम सङ्ख्यामा थिए । तर अहिले धर्म र परम्पराका बन्धन भत्किँंदै गएका तर तिनको स्थानमा नयाँ, वैज्ञानिक र मानवीय मूल्यहरूको निर्माण भइनसकेका कारण पनि अपराधको मात्रा बढ्दै गएको छ । समाज र कानुनलाई चुनौती दिने प्रवृत्ति बढ्दै गएको कुरा त माथि नै चर्चा भइसकेको छ ।
यसका अलावा यस्ता घटना विरुद्धको तत्काल प्रतिक्रिया, प्रतिवाद र ऐक्यबद्धताको अभाव या न्यूनता पनि अपराधलाई बढावा दिने कारण बन्न पुगेका छन् । एउटी मेडिकल छात्रामाथि भएको सामूहिक बलात्कारको घटनाले भारतमा राष्ट्रव्यापी संवेदना, आक्रोश र प्रतिशोधको लहर सिर्जना गरिदियो । कलाकार, सञ्चारकर्मी, अधिकारवादी, सचेत राजनीतिज्ञ र जनताको स्वःस्फुर्त विरोधले भारत सरकारलाई हल्लाइदियो । शवाना आजमीको शब्दमा ‘ती बहादुर युवतीले सिङ्गो मुलुकलाई झकझक्याइदिइन्’ । उनीमाथिको ज्यादती र अस्ति भएको उनको दुःखद निधनले भारतीय राष्ट्रपति, प्रधानमन्त्री र सोनिया गान्धीलाई मात्रै होइन, संयुक्त राष्ट्रसङ्घका महासचिव बान कि मुनलाई समेत उद्वेलित बनाइदियो । मुद्दा आधारित सामाजिक आन्दोलनको सामथ्र्य भारतमा यसपटक निकै राम्रोगरी अभिव्यक्त भयो ।
तर महिला विरुद्धका शृङ्खलाबद्ध घटनाहरू जारी रहँदा पनि नेपाली समाज भने एक किसिमको मुर्दा शान्तिमा डुबिरह्यो । सरकार टिकाउने र परिवर्तन गर्ने तत्कालीन मुद्दामा महिनौं अल्भिmरहेका दलका शीर्ष नेताहरूमा त यस्ता घटनाबारे संवेदना पनि हराउँदै गएको देखिन्छ । तर महिला सङ्गठनहरू, महिला अधिकारको क्षेत्रमा कार्यरत सामाजिक सङ्घ-संस्थाहरू र अधिकारकर्मीहरूको लामो मौनता र सुस्तपन भने उदेकलाग्दो देखियो । यस्ता सङ्गठनहरूको सान्दर्भिकता, अस्तित्व र प्रभाव यस्तै संवेदनशील मुद्दाहरूमा उनीहरूले गर्ने प्रभावकारी हस्तक्षेपकै दौरान सावित हुने हो । यस्ता विषयलाई सशक्त ढङ्गले उठान गरेर राष्ट्रव्यापी बहस सिर्जना गर्नसकेमा नै, यसका पक्षमा व्यापक जनमत निर्माण गर्नसकेमा नै र नागरिकको रक्षाका सन्दर्भमा राज्यलाई बाध्य पार्नसकेमा नै
यस्ता सङ्गठनहरूले आफ्नो उपस्थितिको औचित्य स्थापित गर्न सक्छन् । धेरै ढिलो गरी उठ्न थालेका आवाज र सल्बलाहटलाई निरन्तरता दिंँदै निष्कर्षमा पुर्याउन सक्नुपर्छ ।
समाज र संस्कृतिले महिलामाथि थोपरिदिएका केही एकतर्फी मापदण्ड र मानकहरू, केही भ्रान्त मूल्यहरू र ‘चरित्र’, ‘सतीत्व’ र ‘इज्जत’सम्बन्धी केही ‘स्टिग्मा’हरूले पनि महिलाहरूको प्रतिरोधी क्षमतालाई कमजोर पारिरहेका छन् । बलात्कार गर्ने अपराधीको इज्जत नजाने तर बलात्कृत बिचरीले इज्जत जोगाउन मौन बस्नुपर्ने, वेश्यागमन गर्ने पुरुष चोखो रहने तर पेटको आगो निभाउन शरीर बेच्न विवश महिला अपराधी ठहरिने, अनि अवाञ्छित गर्भका लागिसमेत उही दोषभागी हुने- ‘इज्जत’का, ‘नैतिकता’का, ‘चरित्र’का यी दोहोरो मापदण्डले पनि महिलालाई अत्याचार खप्न, त्यसप्रति सहिष्णु बन्न र उनीहरूमा मौनताको आदत निर्माण गर्न मद्दत पुर्याइरहेको छ ।
अब यस्ता दोहोरो मापदण्डलाई अन्त्य गर्नुपर्छ । महिलाहरूमा अपराधको विरुद्ध बोल्ने साहस बढाउन, ज्यादतीका विरुद्ध ‘नाइँ’ भन्ने हिम्मत बढाउन सबैले मद्दत गर्नैपर्छ ।
अन्त्यमा- महिला विरुद्धको हिंसा उनीहरू विरुद्धको मात्रै हिंसा होइन । यसका विरुद्धको लडाइँ उनीहरू मात्रैको सरोकारको विषय होइन । यो मूलतः पुरुष सिर्जित समस्या हो र पुरुष नामधारी केही अपराधीहरूका कारण सिङ्गो पुरुष समुदाय नै शङ्काको घेराभित्र पर्ने अवस्था सिर्जना भएको छ । एउटा बाबुको रूपमा, एउटा दाजुको रूपमा, एउटा पतिको रूपमा, एउटा छोराको रूपमा, एउटा शिक्षक या कार्यालयको हाकिमको रूपमा उनीहरूको भूमिका शङ्काको घेरामा पर्नु र महिलाले पुरुषको छायाबाट पनि तर्सिनुपर्ने अवस्था सिर्जना हुनु भयावह स्थिति हो ।
त्यसैले महिला हिंसाविरुद्ध पुरुषहरूको ऐक्यबद्धता मात्रै होइन, सक्रियता, पहलकदमी र भूमिका बढाउन ढिलो हुन लागिसकेको छ ।
२०६९ साल पुस १७ गते।
Leave a Reply