स्रोत: नागरीक (शुक्रबार)
-डा. प्रकाशराज रेग्मी
हिजोआज मुटुसम्बन्धी रोग भएका मानिस धेरै छन्। उच्च रक्तचाप, उच्च कोलेस्टरोल, युरिक एसिड, मधुमेह, हृदयाघात आदि घर-घरका समस्या भइसकेका छन्। मुटुका रोगीहरूले अस्पताल खचाखच भरिएका छन्। भर्खरै स्थापना भएको शहीद गंगालाल मुटु रोग अस्पतालमा खुट्टा राख्ने ठाउँ छैन। मुटुको अप्रेसन गराउन एक वर्ष लामो लाइनमा कुर्नुपर्ने भइसकेको छ। निजी अस्पतालहरूमा पनि बिरामीको कमी छैन। दैनिक चारपाँच हजार रुपैयाँ पर्ने मेडिकेयर र नर्भिकमा सिसियूका शैयाहरू पनि हृदयाघात भएका रोगीहरूले भरिएका छन्। नयाँ-नयाँ निजी अस्पताल र नर्सिङ होमहरू खुलिरहेका छन्। लगानीकर्ताहरू स्वास्थ्य सेवामा प्रशस्त पैसा लगाउन इच्छुक छन्। स्वास्थ्य सेवाको व्यापार फस्टाइरहेको छ।
हृदयाघात सम्बन्धी रोगले छोएपछि उपचार गर्ने क्रममा एन्जियोग्राफी, एन्जियोप्लास्टी, बाइपास सर्जरी आदि कुरा आइहाल्छन्। उपचार खर्च एक लाख रुपैयाँभन्दा निकै बढी पर्न जान्छ। धेरैले खर्च गर्न सक्दैनन् र उपचारको अभावमा अकालमै प्राण त्याग्नुपर्ने हुन्छ। खर्च गर्न सक्नेले पनि उपचार त गराउँछन् तर रोग निर्मुल हुँदैन। यसले जीवनभर दुःख दिइरहन्छ, आर्थिक, मानसिक, शारीरिक, सामाजिक सबै दृष्टिले।
सन् १९७५ तिर अमेरिकी डाक्टर डिन ओर्निशद्वारा मुटुरोग उल्टाउनेसम्बन्धी अनुसन्धान भएको थियो। पैसा खर्च नगरी खानपानमा नियन्त्रण, व्यायाम, ध्यान, योग, प्राणायाम आदि गरेर मुटुरोगलाई पूरै पुल्टाउन सकिन्छ भने त्यसको पछाडि को नलाग्ला? स्व. राजा वीरेन्द्रलाई हृदयाघात भएपछि डा. मृगेन्द्रराज पाण्डेको प्रयासमा डा. डिन ओर्निश २०५५ सालमा नेपाल आएका थिए।
डा. डिन ओर्निशले हामीलाई कुनै नयाँ कुरा सिकाएका छैनन्। उनले हामीले बिर्सेका हाम्रै संस्कृति र परम्पराका स्वास्थ्यबर्धक कुराहरूलाई फूलबुट्टा भरेर, ताजा बनाएर हाम्रासामु राखिदिएका मात्र हुन्। के हुन् मुटु रोगलाई उल्टाउन सक्ने शक्ति भएका ती कुरा? ती शक्तिशाली ‘औषधि’ हुन्- शाकाहार, चिल्लोमुक्त आहार (जिरो फ्याट डाइट), धूम्रपान त्याग, योगासन, ध्यान, तनाव व्यवस्थापन, सकारात्मक चिन्तन र माया-प्रेम।
मुटुको रोगको मुख्य कारण भनेको रक्तनलीहरूमा चिल्लो जम्मा हुनु हो। यी चिल्लो पदार्थ भनेका कोलेस्टरोल र ट्राइग्लासेराइड हुन्। भोजनबाट यस्ता चिल्ला पदार्थ शरीरभित्र प्रवेश गर्छन्। घ्यु, तेल, बोसो र गुलियो पदार्थबाट कोलेस्टरोल र ट्राइग्लाइसरोडको निर्माण हुन्छ। खानामा यस्ता पादर्थहरूको नियन्त्रण गरेमा शरीरमा चिल्लो पदार्थ बढ्न र जम्मा हुन पाउँदैन। प्रशस्त शारीरिक व्यायाम गरेमा शरीरमा भएको बोसो पग्लिन्छ र रगतमा चिल्लो पदार्थको मात्रा घट्छ। चुरोट, सुर्ती नखाने, सागपात र फलफूल धेरै खाने, मानिसक तनाव कम हुने भएमा रक्तनलीभित्र बोसो जम्मा भई रक्तनली साँघुरिदै जाने र बन्द हुने प्रक्रिया कमजोर हुन्छ। हरियो सागपात र फलफूल धेरै खाने गरेमा रक्तनली एकदम सफा हुनथाल्छ। यही सिद्धान्त हो, मुटुरोगलाई चिरफारबिना उल्टाउने भनेको। बोसो भरेर साँघुरिएको मुटुको रक्तनलीलाई शाकाहार, व्यायाम र तनाव मुक्तिबाट सफा गरी साँघुरोपनलाई घटाउँदै लैजाने उपाय हो यो। जीवनशैली परिवर्तनबाट मुटुको रोगको उपचार गर्ने एक सशक्त पद्धति हो यो । के साँच्चीकै यो प्रभावकारी छ त? जीवनशैली परिवर्तनबाट बन्द भएको मुटुको रक्तनली खुल्न सक्छ? यस्ता प्रश्न उठ्न सक्छन्। आधुनिक चिकित्सा विज्ञानको विद्यार्थी भएको नाताले अनुसन्धानहरूबाट प्रमाणित भएका तथ्य प्रस्तुत गर्न चाहन्छु।
मुटुका जन्मजात रोगहरू (प्वाल परेको, मुटुको बनावट विकृत भएको, नशाहरू उल्टा भएका आदि) लाई जीवनशैली परिवर्तन गरेर उल्टाउन सकिँदैन। बाबा रामदेवले सिकाउने जुनसुकै योगअभ्यास हजार पल्ट गरे पनि यो सम्भव छैन। तर, रोगीहरूको साँघुरिएको रक्तनली, बढेको रक्तचाप, मधुमेह र कोलेस्टरोललाई जीवनशैली परिवर्तनबाट धेरै हदसम्म घटाउन सकिन्छ। एकदमै लागेर प्रयास गरियो भने ९० प्रतिशत साँघुरिएको मुटुको रक्तनलीलाई ७० प्रतिशत वा सोभन्दा कम गराउन सकिन्छ। क्याल्सियम जमेर कडा भइसकेको रहेछ भने त्यो नशा खुल्दैन। हामीले स्पष्टसँग बुझ्नुपर्छ कि केही प्रतिशत कोरोनरी मुटुका रोगीहरूलाई औषधि र चिरफारबिना ठीक पार्न सकिन्छ तर यसमा प्रशस्त जोखिम हुन्छ। कुनै पनि बेला हृदयाघात हुन सक्ने रिस्क सधंै रैरहन्छ। जीवनशैली परिवर्तन गर्दा पनि छाती दुख्ने कम नभएमा, बढेको रक्तचाप नियन्त्रणमा नआएमा, रगतमा कोलेस्टरोल बढेमा औषधिको सेवन गर्नैपर्छ। औषधिको सेवनबाट पनि हृदयाघातको सम्भावना नघटेमा बाइपास सर्जरी एन्जियोप्लास्टीको विकल्प छैन। जिन्दगी एकपल्ट मात्र पाइन्छ। यसकारण सुरक्षित र भरपर्दो विकल्प रोज्नु बुद्धिमानी हुन्छ।
कसैले पनि औषधि खाँदै खान्न, जीवनशैली परिवर्तनबाट मात्र मुटुको रोगलाई उल्टाउँछु भनी जिद्दी गर्नु हुँदैन। बुद्धिमानी यही हुनेछ कि जीवनशैली परिवर्तनका साथसाथै रगत पातलो पार्ने एस्पिरिन, कोलेस्टरोल घटाउने औषधि र आवश्यक भएमा रक्तचाप र सुगर नियन्त्रण गर्ने औषधि पनि सेवन गर्नुपर्छ। यति गर्दा पनि छाती दुख्ने भइरहे जिन्दगी बचाउन बाइपास सर्जरी वा एन्जियोप्लास्टीकै शरणमा जानु बाहेक अर्को विकल्प आजका दिनसम्म देखिँदैन।
२०६९ साल मंसिर १९ गते मंगलवार।
एलर्जि भएमा कसरी उपचार गर्न सकिन्छ ? सरिरमा कतै हल्का कन्याईयो भने पनि एकछिनपछि फोकै फोका आउछ।