स्रोत: अनलाईन खबर
-कृष्ण अविरल
यतिखेर तपाईं सायद तिहार बिदाका कारण फुर्सदमा हुनुहुन्छ । तास वा कौडा खेलेर मनोरन्जन लिने बानी छैन । पिउने बानी हुनेहरुले पनि बढी पिउँदा हुने हानीका बारेमा थाहा पाइसक्नु भएको छ । तिहारका शुभकामना विज्ञापन मात्रै प्रशारण गर्ने टिभी पनि कति हेर्नु ! सबै आ-आफ्नै धुनमा छन्, घुम्न पनि कहाँ जानु ?
यस्तो बेला पुस्तक पढ्ने उपयुक्त अवसर हुन सक्छ । आफ्नो रुचि अनुसार सही पुस्तकको छनोट गर्न सक्नुभयो भने तपाईंलाई ज्ञान त प्राप्त हुन्छ नै भरपूर मनोरञ्जन पनि हुनेछ । भनाई पनि छ, एउटा राम्रो पुस्तक पढ्नु भनेको एउटा असल मान्छेसँग संगत गरेर उसका जीवनभरिका अनुभव थाहा पाउनु बराबर हो ।
यदि तपाईंको रुचि आख्यान अर्थात् कथा उपन्यासमा छ भने विश्वेश्वरप्रसाद कोइरालाका सुम्निमा, तीन घुम्ती, हिटलर र यहुदी, मोदी आइन आदि रोज्न सक्नु हुन्छ । गुणवत्ताका दृष्टिले कोइरालाका हरेक कृति उत्कृष्ट छन् । भवानी भिक्षुको आगत, विजय मल्लको अनुराधा, गोविन्द गोठालेको पल्लो घरको झ्याल, पारिजातको शिरिषको फूल, डोरबहादुर विष्टको सोताला, धच गोतामेको घामका पाइला र यहाँदेखि त्यहाँसम्म, डायमण्ड समेशरको सेतोबाघ, दौलतविक्रम विष्टको चपाइएका अनुहार र भोक र भित्ताहरु, राजेश्वर देवकोटाको द्वन्द्वको अवसान, ध्रुपचन्द्र गौतमको डापी र अलिखित, गोविन्दराज भट्टराईको मुगलान, सरुभक्तको पागल बस्ती र तरुनी खेती, जगदीश घिमिरेको लिलाम र साविती, आहुतीको नयाँ घर र स्खलन, नारायण ढकालको दुर्भिक्ष र प्रेतकल्प, प्रदीप नेपालको नन्दिता र एक्काइसौं शताब्दीकी सुम्निमा, कृष्ण धरावासीको शरणार्थी र राधा, नयनराज पाण्डेको अतिरिक्त र उलार उपन्यास विधाका उत्कृष्ट कृति मानिन्छन् ।
निबन्धमा लक्ष्मीप्रसाद देवकोटाको लक्ष्मी निबन्धसंग्रह, वालकृष्ण समको नियमित आकस्मिकता, शंकर लामिछानेका एब्स्ट्रक्ट चिन्तन प्याज, गोधुली संसार र शिव रेग्मी सम्पादित शंकर लामिछानेका निबन्ध सर्वोत्कृष्ट छन् । हृदयचन्द्रसिंह प्रधान, डा. डि.पी भण्डारी, डा. तारानाथ शर्मा, डा. माधवप्रसाद पोखरेल पनि निबन्ध विधामा पढ्नैपर्ने नाम हुन् । यात्रा निबन्धमा जनकलाल शर्मालाई जित्न सक्ने अर्को देखापरेको छैन । आत्मसंस्मरणमा जगदीश घिमिरेको अन्र्तमनको यात्रा त छुटाउनै नहुने कृति हो । मृत्युबोधपछि लेखिएको यो कृतिले जीवन र जगतका बारेमा अथाह ज्ञान दिन्छ । झमक घिमिरेको जीवन काँडा कि फूल पढ्नु भयो भने आफ्नो जीवनको मूल्य बोध हुने छ । यात्रा संस्मरणमा प्रतीक ढकालका सेती पनि काली पनि, हिमालपारि पुगेपछि लगायतका कृतिहरु रोचक लाग्न सक्छन् । तिनले देशका विकट स्थानहरुमा आफैं पुगेको अनुभव दिलाउँछन् ।
तपाईंको रुचि हास्यव्यङ्ग्य निबन्धमा छ भने भैरव अर्याल, केशवराज पिंडाली, रामकुमार पाँडेका कृति उपयुक्त हुनसक्छन् । पछिल्लो कालका व्यङ्ग्य लेखकहरुमा विमल निभाको डायनोसोर जिउँदो छ, ऋतुराजको ऋतुविचार, लक्ष्मण गाम्नागेको कति धुनु गधाहरुलाई र स्वाहाले तपाईंको मन जित्न सक्छन् । मह जोडीको महसनले त झन् तपाईंलाई हुरुकहुरुक हुने गरी हँसाउन सक्छ ।
पछिल्लो समयमा कविताका पनि निकै राम्रा र विकाउ कृति बजारमा आएका छन् । त्यसमध्ये मनु मन्जिलको ल्याम्प-पोष्टबाट खसेको जुन, श्यामलको हतारमा यात्रा, श्रवण मुकारुङको बिसे नगर्चीको बयान, भुपिन व्याकुलको हजार वर्षको निद्रा, निभा शाहको कालापानीकी द्रौपदी, मिश्र बैजयन्तीको पाश्र्व आवाज, निमेष निखिलको मनहरुको परिसर, गीता कार्कीको सालका ठूटा र एक टुक्रा घाम आदि पछिल्लो समयका अब्बल कविता कृति हुन् । पुरानामा भूपि शेरचनको घुम्ने मेचमा अन्धो मान्छे र गोपालप्रसाद रिमालको आमाको सपना कृति भित्रका कविता पढेर कहिल्यै अघाइँदैन । ती कृति भित्रका प्रत्येक कविता साँच्चकै कालजयी छन् ।
गीत लेखनमा रुचि भए माधवप्रसाद घिमिरे, कालीप्रसाद रिजाल र क्षेत्रप्रताप अधिकारीका कृति पढ्नु भए हुन्छ । तिनले तपाईंलाई सिर्जनात्मक उर्जा दिने छन् । ती पुस्तक साझा प्रकाशनका स्टलमा पाइन्छन् । अनि गजलमा रुचि भए बाबु त्रिपाठी, ज्ञानुवाकर पौडेल, मनोज न्यौपाने, एस्पी कोइराला आदिका कृति रोज्न सक्नुहुन्छ ।
युद्धकालका बारेका कृति पढ्न मन छ भने गोविन्द वर्तमानको सोह्र साँझहरु, प्रदीप नेपालको आकाशगंगाको तिरैतिर, कृष्ण अविरलको जल्लादको मन, तारा राईको छापामार युवतीको डायरी र नारायण सुवेदीको माओवादी कब्जामा १०० दिन उपयुक्त हुन सक्छन् । वर्तमानको सोह्र साँझहरु ०६१ सालमा निस्केमध्येकै उत्कृष्ट कृति हो । यो कृतिलाई मदन पुरस्कार नदिएर अर्को वर्ष छापिएको नारायण वाग्लेको पल्पसा क्याफेलाई दिइएपछि पुरस्कार गुठीको चर्को आलोचना भएको थियो ।
युद्ध पक्षधर आख्यान पढ्ने मन भए युग पाठकको उर्गेनको घोडा, घनश्याम ढकालको रातो आकाश, डा. ऋषिराज बरालको समरगाथा आदि रोज्न सकिन्छ । रसिला संस्मरणका लागि धच गोतामे, राजनारायण प्रधान, खगेन्द्र संग्रौला, शारदा शर्मा रोज्न सकिन्छ । यी लेखकका हरेक कृति अब्बल छन् । गणेश रसिकको दशगजामा उभिएर त झन् पढ्नै पर्ने कृति हो ।
दर्शनका बारे पढ्ने मन भए तपाईं खप्तड स्वामी, ओशो र आनन्द अरुणका कृतिहरु उपयुक्त छन् । सिंगो दर्शनकै सार भेटिने उनीहरुका कृति भेट्न उति कष्ट पनि गर्नु पर्दैन । डा. योगी विकाशानन्दका कृति पनि अति सरल र उपयोगी छन् । पूर्वीय दर्शनसहितको नेपाली आख्यान पढ्ने मन भए मदनमणि दीक्षितको माधवी, त्रिदेवी, सीता र द्रौपदी तथा विनोदप्रसाद धितालको योजनगन्धाभन्दा बाहिर जाने ठाउँ छैन । निकै मोटा आकारका दीक्षित र धितालका कृतिले पाठकसँग अलि बढी नै फुर्सद, धैर्य र एकाग्रताको अपेक्षा गर्छन् ।
त्यसो त दर्शनमा रुचि छ भने श्रीमद भागवत गीता पढेर पनि चाहेजति ज्ञान लिन सकिन्छ । जतिपटक पढे पनि नौलो लागिरहनु गीताको विशेषता नै हो । मुस्लिमहरुको कुरानमा चूरो कुरो के छ भनेर थाहा पाउने मन भए नेपाली भाषाका कुरान पनि काठमाडौंको बजारमा उपलब्ध छ ।
कथा विधामा मनु ब्राजाकी र महेशविक्रम शाहका प्रत्येक कृति रोज्जा छन् । परशु प्रधान, प्रेमा शाह, माया ठकुरी, ध्रुव सापकोटा, नयनराज पाण्डेका कथाकृति पनि राम्रा छन् । ब्राजाकीको तिम्री स्वास्नी र म माइलस्टोन कथाकृति हो । कृष्ण धरावासीको झोला कथा संग्रहभित्रको झोला शीर्षकको कथा निकै उत्कृष्ट छ । पछिल्लो समयका कथाको स्वाद लिन मन लागे नीलम कार्की निहारिकाको हवन, मणि लोहनीको परास्त प्रेम, आन्विका गिरीको कम्युनिष्ट, अनमोलमणिको नीलिमा र गाढा अँध्यारो, सुविन भट्टराईको कथाकी पात्र, सुन्दर जोशीको क्यासल रककी अप्सरा आदि रोज्न सक्नुहुन्छ ।
विदेशिएका नेपालीहरुका कथाव्यथा बारेका कृति पढ्न चाहनुहुन्छ भने तपाईंले देवेन्द्र भट्टराईको रेगिस्तान डायरी र युवराज नयाँघरेको हरियो राहदानी रोज्न सक्नुहुन्छ । विशेष अध्ययन गरेर लेखिएका यी कृति निकै मार्मिक छन् । वाल मनोविज्ञानबारेका कृति पढ्न चाहनुहुन्छ भने नीलम कार्की निहारिकाको बेली कथासंग्रहको विकल्प छैन । विभिन्न वर्ग र समुदायका बालवालिकाले भोगिरहेको यथार्थ उतारिएका बेली भित्रका कथाले पाठकलाई आमवालवालिका र आफ्ना छोराछोरीलाई गरिने व्यवहारप्रति सजग हुन सिकाउँछ ।
नारीवादी कृति पढ्न चाहनुहुन्छ भने तसलिमा नसरिनका कृति पहिलो रोजाई बन्न सक्छन् । साँच्चै मीठो शैलीमा पुरुषसत्ताको धज्जी उडाइएको प|mान्सेली प्रेमी उनको सबैभन्दा अब्बल कृति हो । पाकिस्तानी लेखिका तेहमिना दुर्रानीको ईश्वरनिन्दा, सिमोन द बोउवारको सेकेन्ड सेक्स जस्ता बहुचर्चित कृतिहरु पनि नेपालीमा अनुदित छन् । भवानी क्षेत्रीको आमाहरु र सीता पाण्डेको यौन र अनुभूति पढ्नु भयो भने पनि तपाईंलाई नारीवादको वेग्लै स्वाद प्राप्त हुने छ ।
साहित्यमा नोबेल पुरस्कार प्राप्त पर्ल एस बकको द गुड अर्थ पनि कल्याणी धरती नाममा बजारमा उपलब्ध छ । हर्मन हेम्सेको सिद्धार्थ र माक्सिम गोर्कीको आमा नेपालीले सर्वाधिक रुचाएका विदेशी कृति हुन् । लेब तोल्सतोयका विश्व चर्चित मानिने युद्ध र शान्तिका चार खण्डहरु पनि नेपालीमा अनुदित भइसकेका छन् । सिक्किमलाई भारतले कसरी निल्यो भन्ने बारेमा जान्न मन लागे बिएस दासको सिक्किम गाथा र सुनन्दादत्त रायको फुटाउ र हत्याऊ पढ्न सक्नु हुन्छ ।
पछिल्लो समयमा सेल्फहेल्पका पुस्तकहरु पनि अनुवाद भएर बजारमा प्रशस्तै आएका छन् । सकारात्मक चिन्तन गर्न र आफ्नो दिमागी क्षमता बढाएर चाहेको कुरा प्राप्त गर्न सिकाउने त्यस्ता पुस्तकहरुमा डेल कार्नेगीको साथीहरुको मन जित्ने कला, रान्डा बर्नको द पावर र चमत्कार, रोवर्ट टी कियोसाकीको धनी बुबा गरिब बुबा, शिव खेडाको जित तपाईको आदि उपुयक्त हुन सक्छन् । त्यसमध्ये पनि ‘अवचेतन मस्तिष्कको शक्ति’ त झन् सिरानीमै राखेर बिहान-बेलुकै पढ्नुपर्ने स्तरको छ ।
इतिहासकार बाबुराम आचार्यको अब यस्तो कहिल्यै नहोस्, प्रा.डा. बालकृष्ण पोखरलको खस जातिको इतिहास, इमानसिंह चेमजोङको किरात जाति र संस्कृति, मोहनप्रसाद खनालको नेपाली भाषाको हजार वर्ष पुस्तक नेपाली जातिले पढ्नैपर्ने कृतिहरु हुन् । नेपालको समाजशास्त्रीय अध्ययन गर्न मन लागे सिल्भाँ लेभी, डोरबहादुर विष्ट, हर्क गुरुङ, चैतन्य मिश्र आदिका कृति रोज्न सकिन्छ । बाहुन-क्षेत्रीलाई गाली गरेको पुस्तक पढ्न मन लागे राजन मुकारुङको हेत्छाकुप्पा उपन्यास उपयुक्त छ । मानवीयता र सत्कर्कका लागि प्रेरित हुने चाहना भए जोन उडको माइक्रोसफ्टदेखि बाहुनडाँडासम्म र रवीन्द्र मिश्रको खान पुगोस् दिन पुगोस् छुटाउनै हुँदैन ।
कर्ण शाक्यको सोच, विवेकविक्रम शाहको मैले देखेको दरबार, नयनराज पाण्डेको लु, रामेश कोइरालाको आमाको मुटु, कमलजंग कुवरको गैडालाई चार वर्ष, यसवर्षको मदन पुरस्कार प्राप्त सेतो धरती, गौरा प्रसाईंको मेरा जीवनका पाना, रमण घिमिरेको अर्थात् हामी, मोहन मैनालीको उपल्लो थलो आदि पछिल्लो समय निस्केका पढ्नैपर्ने कृति हुन् । मधेशबारे बुझ्न मन लागे परशु प्रधान र नारायण तिवारी सम्पादित तराई-मधेशका कथा, डा. राजेन्द्र विमलको समयका आँखा, धीरकुमार श्रेष्ठको घुर, कृष्ण अविरलको लालचुडी आदि पढ्न सकिन्छ । जासुसी र अपराध क्षेत्रका बारेमा जान्न मन लागे सरोजराज अधिकारीको जासुसीको जालो र केपी ढुंगानाको ओपन सेक्रेट उपयुक्त हुनसक्छन् । नेपालबारेका जानकार प|mन्सेलीहरुको अनुभव समेटिएको ददि सापकोटाको त्यो नेपाल २०६८ मा निस्केमध्येको उत्कृट कृति हो । भर्खरै मात्र बजारमा आएकामध्ये मोहन मैनालीको उपल्लो थलो, जगदीश घिमिरेको सकस, शारदा शर्माको ताप, डा. रवीन्द्र समीरको अणु र पहाड तथा अश्विनी कोइरालाको उनी पनि सर्वाधिक रुचाइएका कृति हुन् ।
पंक्तिकारको सीमित अध्ययनको आधारमा तयार पारिएको सूचि हो यो । यहाँ नाम छुटेका अब्बल कृतिहरु अरु पनि थुप्रै हुनसक्छन् । जे होस् नेपाली पाठकका लागि पढ्ने खुराकको अभाव भने छैन । काठमाडौं बाहिर रहेकाहरु समेत नजिकैको पसलेलाई पुस्तक सूचि दिएर वा आफन्त-साथीभाइबाट मगाएर पनि आफूले चाहेका पुस्तक केही घन्टामा प्राप्त गर्न सक्छ । अहिलेको दुनियामा असम्भव भन्ने नै के छ र ?
२०६९ साल कार्तिक २५ गते शनिवार।
Leave a Reply