(अ.ने.सा.स., ताइपेईको “प्रयास” अनलाईन, अगस्त अंक, पृष्ठ २४ मा प्रकाशित।)
सुन्छौ?
यो सरकारी समय
केवल मुठ्ठीभरलाई
मनकारी समय
अघोर अविवेकी
गर्छ काख-पोल्टो
बिरक्त
सकल चयनको
अवसान जस्तो
भन त,
निख्लो
नबेरो खेतीको के आश?
बायाँ सन्त्रास, दायाँ सन्देह
श्रृङ्खलाबद्ध
कारुणीक दिनचर्या
वियोगान्त चलचित्र झैं
सनातन
रैथाने भोगाईमा
जिउन अभ्यस्त
मेरा मान्छे,
निरन्तर
गह्रा,पाटामा
पोखिएका सपना
स्वार्थोन्मुख
मन्द गति
चमकहीन
आम दैनिकी
बिल्कुल आक्रान्त
ऐजनकै खबर
बनमारा झैं बिसंगती
बारम्बार
जरिंदैको दण्डहीनता
बाध्यात्मक
दीर्घरोगी झैं
निस्प्रभावी
शिथिल अस्तित्व
समग्र पर्याय
मेरो देश।
सक्छौ?
निशर्त
सहनेका माझबाट
अँध्यारो, निश्पट्ट साँझबाट
जोखिम मोलेर
स्वदेशबाट
विदेशबाट
विकल्प खोलेर
छातीमा “नेपाल” बोकेर
अनुपम
एउटा आँट उमार युवा
बुझाऊ
कर्णाली कथा हैन
प्रणाली व्याथा हैन
बिन्दास
मान्छे भएर बाँच्न
विशाल
मर्यादा फुलेर हाँस्न
सशक्त
मानवताको बीऊ रोप
अग्रगामी सन्देश बोक
थाहा छ?
अहँ, हार्न जान्दैन
बरु
भर्भराउँदो
साहास बालेर
जिउँछ मेरो देश
मनका फाटो
निस्वार्थ
सिउँछ मेरो देश
त्यसैले,
तमाम
षड्यन्त्र फोड्नलाई
जन-भ्रम गोड्नलाई
धड्कन-धड्कनमा
विवेक, बोक नौजवान
एउटा आडभर्दो
संयन्त्र, तोक नौजवान।
***
Leave a Reply