स्वार्थ बुनिने
कुटिल अखडाका
बलिष्ठ भित्ताहरुमा
अजङ्ग आवास
रखवारी गर्ने
अग्ला पर्खालहरुमा
सुकुम्बासीका सुस्केरा
भोकमरीका आवाज
समग्र
अभाव झेल्ने
कुनाकाप्चाका बिलौना
एक मुठ्ठी
सासको भिख
तमाम
जनसरोकारका
आम चित्कार
फगत
ठोक्किन्छन् बेपरवाह
रन्थनिन्छन् रनाहामा
र विवश
ढुन्मुनिन्छन् फुक्कै हात
खै र
सुन्दैनन्
नेता भनौंदा ठेकेदारका
निष्ठुरी मुख्यालय
मानौं, कान बन्द छ
आक्रान्त आवाज
पटक्कै छिर्दैन पर्दाबाट
भरथेग
धानिएको प्राण
निस्लाम पेटको
मर्म घुस्दैन
त्यो पापी दिलमा
कठै,
निम्सरा नाङ्गिएको देख्दैन
बाह्रै महिना
हाडछाला टाङगिएको देख्दैन
बरु
बुङ्बुङ्ती
बेथिती ग्वाम्लङ्ग ओढेर
बिन्दास
जिउँछ मेरो राजधानी।
**
यथार्थ
उजिल्याउँछ को?
मरिगए
पात हाल्नै सक्दैन
नयाँको टुसो
बेहाल, छरपस्ट
झन् उन्मादी
लात खपेर
बौरिनै सक्दैन
कहींको
बहुलठ्ठी शासन,
पट्यारलाग्दो
बेहोरिराख्छ पालैपालो
यो निरस
स्वप्ननगर
खोई जिम्मेवारीबोध?
संवेदना सुनाउने छ याँ को?
उस्,
एकछत्र पाँडे पजनी
नाईके
शक्तिको लगामवाला
आफै
अजिङ्गर जस्तो
भएभरको
क्वाप्लक्क
हसुर्छ पाएसम्म
अहँ
खाडीको पीडा सुन्दैन
बाढीको ब्याथा बुझ्दैन
बिल्कुल पूर्वाग्रही
कर्याप्प समाउँछ कठालो
र
बलजफ्ती
बदल्छ परिभाषा
खै त्यो
मानव अधिकार भन्नेको
बस्
निस्फिक्री
धान्नै नसकिने
रहरहरुका कुँडुलो
एकमुष्ठ
काखी च्यापेर
उकुसमुकुस
निर्लज्ज
उही पुनराबृत्ति
उधारो आश्वासन
लहडसँगै साँधेर
अटेरी, अघोरी
लाटो भूत झैं
पकरल्ल ठडिएर
नाथे
अति पुरातन
अभिशाप जिन्दगी
बाँच्छ मेरो शहर
आफ्नो अस्तित्व।
** **
Leave a Reply