स्रोत: ई-कान्तिपुर
-डा. खगेन्द्रप्रसाद लुइटेल
अन्तर्राष्ट्रियकरण भइसकेको र लगभग मानक रूप धारण गरिसकेको अवस्थामा नेपाली भाषामाथि चलखेल सुरु गरिएको छ र यसले विशेषतः शिक्षक-विद्यार्थीलाई अन्योलग्रस्त तुल्याएको छ । पठनपाठनमा भइरहेको एकरूपता पनि भङ्ग भएको छ । नेपाली भाषा नेपाली जातिको अस्तित्वसँग गाँसिएको हुँदा व्यक्तिगत स्वार्थभन्दा निकै माथि उठेर यसको विकासतर्फ अग्रसर हुनु आवश्यक छ ।
यसबेला भाषासम्बन्धी दुई खाले दृष्टिकोण बढी चर्चामा छन् । तिनमा एउटा पश्चगमनतर्फ उन्मुख छ भने अर्को अग्रगमनका नाममा अराजकता निम्त्याउनेतर्फ उन्मुख छ । यी दुवै अतिवादी दृष्टिकोण भएकाले यिनले अन्ततः भाषालाई खति नै पुर्याउँछन् । नेपाली भाषामा अहिले उठाइएको मुख्य समस्या वर्णविन्याससँग सम्बद्घ छ । वर्णविन्यास भनेको वर्णहरूको व्यवस्थित विन्यास वा वर्णहरूको ठीक रखाइ वा नियमबमोजिमको लेखन हो । ठीक ढङ्गले वर्णविन्यासको प्रयोग नगरिएमा अर्थको अनर्थ हुने हुँदा लेखाइमा वर्णविन्यास मिलाउनु आवश्यक हुन्छ । नेपाली भाषाको विशेषता नै वर्णविन्यासमा केन्दि्रत छ । ह्रस्व, दीर्घ, श, ष, स, चन्द्रबिन्दु, सिरबिन्दु, पदयोग, पदवियोग आदिलाई नेपाली वर्णविन्यासअन्तर्गत समेटिन्छ । नेपाली वर्णविन्याससम्बन्धी प्रयोगबाटै स्थापित विभिन्न नियमहरू छन् र धेरजसोले मानक रूपधारण गरिसकेको स्थिति छ भने कतिपय नियम विज्ञहरूको बौद्धिक बहसबाट संशोधन, परिमार्जन गर्न सकिन्छ र बेलाबखत भइरहेका पनि छन् । भाषा परिवर्तनशील भएकाले यससम्बन्धी नियम पनि समय, परिस्थिति, प्रयोग र आवश्यकताअनुरूप बेलाबेला परिवर्तन भइरहन्छन् । यो भाषाको नैसर्गिक गुण हो तर परिवर्तनका नाममा स्थापित मूल्यमान्यतालाई पूरै भत्काउने काम उपयुक्त हुँदैन । यतिखेर कतिपय गतिविधि त्यस्तै देखिन थालेका छन् ।
अहिले वर्णविन्याससम्बन्धी समस्यामा पनि ह्रस्व-दीर्घ र पदयोग-पदवियोग बढी चर्चामा छन् । कतिपयले ह्रस्व वा दीर्घ लेख्नेबारेको स्थापित मान्यतालाई पुरानैतर्फ ढल्काउने प्रयत्न गर्दैछन् भने कतिपयले प्रचलित ह्रस्व वा दीर्घलाई ठीक विपरीत बनाएर उल्टाउने कसरत गर्दैछन् । ह्रस्व वा दीर्घ लेख्दा अर्थभेदक नहुने सङ्ख्याबोधक तीन, बीस, तीस जस्ता केही शब्दका सुरुको इकार तथा तेईस, बत्तीस, छयालीस जस्ता शब्दका बीचको इकार अनि खसी, जोगी, सम्धी, स्वामी, हात्तीजस्ता पुलिङ्गी नामबोधक शब्दका अन्त्यको इकार दीर्घ हुन्छ भन्ने प्रचलित परम्परालाई भत्काएर ह्रस्व गर्दैमा भाषाको विकास भइहाल्दैन । यस्ता शब्दलाई ह्रस्व गर्नु नै पर्ने भए पनि हस्तक्षेपी पाराले परिपत्र वा घोषणापत्र जारी गरेर नभई आपसी सहमतिका आधारमा गर्नुपर्छ । ‘फुल,’ ‘फूल’ जस्ता विशिष्ट अर्थ धारण गरिसकेका शब्दलाई अपवाद न्यूनीकरणका नाममा जबर्जस्ती ह्रस्वीकरण गर्नु उपयुक्त हुन्न । ‘मलाई फूल मन पर्छ’ र ‘मलाई फुल मन पर्छ’ भन्ने वाक्यमा अर्थगत भिन्नता रहेको स्पष्ट हुँदाहुँदै यस्ता कुरा सन्दर्भबाट बुझिन्छ भन्नु निरर्थक हो । ह्रस्व गर्दा फरक नपर्ने ‘हरू,’ ‘अरू’ जस्ता शब्दलाई बेवास्ता गर्नु अनि प्रचलनमा पूरै बानी परिसकेका ‘ठीक, बीच, ठूलो’ जस्ता शब्दलाई ह्रस्व गर्दा कसलाई के फाइदा हुन्छ ?
उच्चारणका आधारमा ‘स’ को निर्धारण गरिनुपर्छ भन्ने कुरा पनि उपयुक्त देखिन्न । ‘शाह’ र ‘साह’ का अर्थ नै भिन्न भएकाले यसलाई कायमै राख्नुपर्छ तर ‘शेर्पा’ र ‘शेरचन’ ले अर्थमा भिन्नता नल्याउने हुँदा तिनलाई ‘सेर्पा’ र ‘सेरचन’ गर्न वा समझदारीमा उही रूपमा छोड्न सकिन्छ । ‘शहीद’ लाई ‘सहिद’ लेख्दा सहिदप्रति अपमान गरिएको ठानिनु उपयुक्त होइन । शब्दमा प्रयुक्त वर्णबाट मानअपमान भन्ने कुरै आउँदैन । क, ट, ठ, ड, ढ, ण, प वर्णका अघि ‘ष’ लेखिन्छ भन्दैमा ‘कष्ट’ का सादृश्यमा ‘कम्युनिष्ट’ लेख्नु उपयुक्त हुन्न, ‘कम्युनिस्ट’ लेख्नुपर्छ । यस्ता सामान्य कुरामा समेत विवाद गरेर भाषाको विकास हुन्न ।
‘ह्र,’ ‘र’ मा पनि केही समस्या देखिएका छन् । सोर र अठारजस्तै ‘बाह्र,’ ‘तेह्र’ लाई सरलीकरण गरी ‘बार,’ ‘तेर’ लेख्नुपर्छ । वैकल्पिक प्रयोगका नाममा ङ्, ञ्, ण्, न्, म् का सट्टा सबैतिर शिरबिन्दु वा चन्द्रबिन्दु लगाउनु पर्छ भन्ने तर्क पटक्कै उपयुक्त छैन, यसमा प्रयोगगत सन्दर्भ केलाउनु पर्छ ।
नेपालीमा पछिल्लो समयमा पदीय दुरुपयोगसमेत गरी बल्झाइएको जटिल समस्याका रूपमा पदयोग र पदवियोग रहेको छ । शब्दहरू जोडेर एउटै डिकमा लेख्नुलाई पदयोग र छुट्ट्याएर लेख्नुलाई पदवियोग भनिन्छ । यो नेपाली भाषाको महत्त्वपूर्ण विशेषता हो । नेपालीमा नाम र विभक्ति, उपसर्ग, प्रत्यय, समस्त शब्द, द्वित्व शब्द, अनुकरणात्मक शब्द, अकरण बुझाउने शब्दको ‘न’, सामान्य वर्तमान, भूत र भविष्यत् तथा अज्ञात र अभ्यस्त भूत बुझाउने क्रिया, संयुक्त क्रिया, व्यक्तिनामका बीचको शब्द, नाम र नामयोगी, नामसँग जोडिने नामयोगीको पछि आउने विभक्ति आदि जोडेर लेखिन्छ अनि वाक्यमा आउने सबै शब्द, संयोजक, क्रियायोगी, विभक्तिभन्दा पछि आउने विभक्ति वा नामयोगी, निपात, वर्तमान, भूत र भविष्यत् तीनै कालका अपूर्ण र पूर्ण पक्ष जनाउने क्रिया आदि छुट्टयाएर लेखिन्छ भन्ने स्पष्ट नियम र प्रचलन हुँदाहुँदै सबैजसो छुट्टयाउनु पर्छ भन्ने वियोगवादी दृष्टिकोण उपयुक्त देखिन्न ।
नामयोगी र समस्त शब्दको पदयोग गर्ने भन्ने स्पष्ट प्रचलन र नियम हुँदाहुँदै ‘दुईदुई लिपिमा लेखिने दुईटा शब्दले बनेका शब्द जोडेर लेख्ने’, ‘दुई अक्षरसम्मको स्वरान्त नामयोगीलाई विभक्तिजस्तै शीर्षशब्दसँग जोडेर लेख्ने’ व्यञ्जनान्त दुई अक्षरी, वा सोभन्दा बढी अक्षरका नामयोगीलाई अलग डिकोमा लेख्ने’ तथा ‘दुई र तीन अनि तीन र दुई लिपिमा लेखिने दुईटा शब्दको समासबाट बनेको शब्द अलग डिकोमा लेख्ने’ भन्नु औचित्यहीन कुरा हो । पहिले नामयोगी र समस्त शब्द मात्र जान्दा पुग्नेमा अब लिपिसमेत गन्नुपर्ने अनि नामयोगी मात्र जानेर नभई दुई अक्षरको त्यसमा पनि स्वरान्त- व्यञ्जनान्तसमेत बुझ्नुपर्दा त्यसले सरलीकरण नभई झन् बढी जटिलता र गन्जागोलको स्थिति पैदा गर्छ । दुई स्वरान्त अक्षरसम्मका नामयोगी जोड्ने र त्यसभन्दा बढीका नामयोगीलाई छुट्ट्याउने भन्ने कुरा औचित्यहीन, निरर्थक, तर्कहीन र अवैज्ञानिक छ । द्वित्व शब्दलाई सार्थक र निरर्थक भनी छुट्ट्याएर योग र वियोगको झमेलामा नफसाई प्रचलनलाई स्वीकार गर्दा कुनै हानि देखिँदैन । भाषाका नियम पनि वस्तुगत र वैज्ञानिक हुनु आवश्यक भएकाले पदयोग र पदवियोगमा अक्षर सङ्ख्या तथा स्वरान्त र व्यञ्जनान्तजस्ता अवैज्ञानिक प्रसङ्ग भित्र्याएर भाषालाई झन् जटिलतातर्फ अग्रसर गराई नेपाली भाषाप्रति वितृष्णा फैलाउने काम गर्नु हुन्न । नेपाली भाषा पढ्ने-पढाउनेले मात्र नभई अन्य विषयका साथै सरकारी कामकाजलगायत सर्वत्र प्रयोग गरिने साझा भाषा भएकाले अनावश्यक बखेडा झिकेर नेपाली भाषाप्रति वितृष्णा फैलाउने प्रयत्न नगरौँ ।
नाम, थरका बीचमा आउने मध्यवर्ती नामलाई अलग डिकोमा लेख्ने भन्ने कुरालाई पश्चगमनकै रूपमा लिनुपर्छ । यस्ता शब्द पहिले छुट्टै लेखिन्थ्यो, बीचमा जोड्न लगाइयो अनि अहिले जोडेर लेख्ने बानी परिसकेपछि पुनः छुट्टयाउन लगाइँदैछ । भाषा भन्ने कुरा जीवनभर सिकिरहने होइन र कतैबाट निर्देशन गरिएका आधारमा चल्ने वस्तु पनि होइन । यो एकपटक सिकिन्छ र त्यसैअनुरूप प्रयोग गरिन्छ । यसर्थ भाषामा प्रयोक्ताको भूमिका महत्त्वपूर्ण हुन्छ । यतिखेर अक्षर गनेर योग वा वियोग गर्ने नाममा ‘दिदीभाइ’, ‘रामराज’, ‘जयदेव,’ ‘महादेव’, ‘रामपुर’ र ‘कीर्तिपुर’ जोड्ने अनि ‘दिदी बहिनी’, ‘भरत राज’ ‘जीवेन्द्र देव, हरेन्द्र देव’, ‘भरत पुर’, ‘ललित पुर’ छुट्टयाउने भन्ने कुरा कति हास्यास्पद छ । यस्तो अव्यावहारिक र अवैज्ञानिक तर्क गरेर भाषामा झमेला सिर्जना गरिनु हुन्न । यस्तै ‘गरि रहन्छ’ जस्ता शब्द छुट्टयाउनाको अभिप्राय के ?
पदवियोग गरी छुट्टयाउँदा ‘अमृतराज भण्डारी’ र ‘अमृत राजभण्डारी’, ‘प्रकाशसिंह’ र ‘प्रकाश सिंह’ जस्ता शब्दमा तथा ‘रामप्रसाद खान्छ’ र ‘राम प्रसाद खान्छ’ भन्नेजस्ता वाक्यमा पूरै अर्थगत भिन्नता रहेको कुरा सारै स्पष्ट छैन र ? यसलाई सङ्कथनका तहबाट कसरी अथ्र्याउन सकिन्छ ? पदवियोगका नाममा ‘विश्वविद्यालय, न्यायपालिका, कार्यपालिका, नगरपालिका’ जस्ता सिङ्गा तत्सम शब्दलाई समेत छुट्ट्याउने कुरा कदापि स्वीकार्य हुन्न । भाषाको आधुनिकीकरण र मानकीकरणका नाममा प्रयोक्तालाई पूरै बेवास्ता गरी जबर्जस्ती रूपमा जे पायो त्यही नियम लादिएमा त्यो निरर्थक हुन्छ र अन्ततः लेखनमा अराजकता आउँछ । यस्तो लक्षण देखापर्न थालिसकेकाले भाषाको माया गर्नेहरूले यसतर्फ सोच्नु जरुरी छ । राष्ट्रिय राजनीति अन्योलग्रस्त बन्दै गएको मौका छोपी त्यसैमा भाषालाई समेत मुछेर भाँचकुँच र तोडमोड गर्ने प्रयत्न गर्नु उपयुक्त कार्य होइन ।
नेपाली भाषाका क्षेत्रमा उठाइएका समस्यामध्ये ‘श, ष, स’ तथा ह्रस्व-दीर्घमा कतिपय अर्थभेदक शब्दबाहेक अन्यमा खासै समस्या छैन । अर्थभेदक नहुने शब्दमा मैले भनेअनुसार नै हुनुपर्छ नभनी संयम र समझदारीपूर्वक अगि बढेमा यसको समाधान निकै सहज छ । संस्कृतजस्तो अति कठोर नियमवादी भाषामा अनि अङ्ग्रेजीमा समेत वैकल्पिक प्रयोग र अपवाद पाइने हुँदा नेपालीमा पनि कतिपय वैकल्पिक प्रयोग र अपवाद हुनु असामान्य होइन । त्यसलाई क्रमशः न्यूनीकरण गर्न सकिन्छ । नेपाली भाषाको पदयोग र पदवियोगमा धेरैजसो बानी परिसकेको अवस्था छ । बानी परिसकेको र त्यसले खासै असर पनि नगर्ने अवस्थामा जबर्जस्ती उल्टाउने प्रयास गर्नु राम्रो होइन । यसमा कम्प्युटर प्रयोजनका नाममा जथाभावी गरी अनावश्यक झमेला सिर्जना गर्न खोजिएको छ । कम्प्युटरअनुसार भाषा नभई भाषाअनुसार कम्प्युटर सञ्चालन गर्ने परिपाटी बसाउनु पर्छ । यसो गरेमा यस्ता समस्याको समाधान सहजै गर्न सकिन्छ ।
नेपाली भाषा राम्ररी नजान्नेले त्रुटि गर्नु सामान्य कुरा हो तर जान्नेले बुझपचाउनु वा मिचाइँ गर्नु उपयुक्त होइन । पूरै प्रचलनमा आइसकेको वर्णविन्यासलाई वैयक्तिक आग्रहका आधारमा त्यसको ठीक विपरीत गरेर परिवर्तन गर्नु औचित्यपूर्ण देखिन्न । नेपाली भाषामा देखिएका विविध समस्याहरूलाई पदीय दुरुपयोग गरेर वा कोठामा बसी कल्पना गरेर होइन यसका लागि विनाभेदभाव सक्कली भाषाविद्हरूको उच्चस्तरीय संयन्त्र बनाएर सम्बद्ध संस्थाहरूको समेत सहभागितामा साझा सहमति कायम गरी न्यूनतम विवाद र अपवाद आउने ढङ्गबाट स्पष्ट नीतिनियम बनाई त्यसैअनुरूप भाषाको प्रयोग गर्नु र सबै मिलेर भाषालाई जोगाउनु अपरिहार्य छ । नेपाली भाषाको विकास गर्नु भनेको अरू भाषाका विकासको बाटो रोक्नु होइन । सबै भाषाको विकास गर्दै जानु पर्छ ।
भाषासम्बन्धी पीडा नेपालभित्रभन्दा नेपालबाहिर बढी छ र तिनीहरू भाषाको मानकीकरण यतातिर र्फकेर हेर्छन् तर हामी आफूमै लड्न व्यस्त छौँ । नेपाली भाषा अन्तर्राष्ट्रियकरण भइसकेको अवस्थामा आफ्नै घरबाट आगो लगाउन सुरु गर्नु पटक्कै ठीक होइन । फुटेर होइन जुटेर अनि व्यक्तिगत स्वार्थभन्दा माथि उठेर नेपाली भाषाको रक्षा गरौँ । मान्य ढङ्गबाट क्रमशः सरलीकरण गर्दै जाऔँ । भाषामा राजनीति नगरौँ, यसलाई प्रतिष्ठाको विषय पनि नबनाऔँ । कतैबाट सञ्चालित भएर विरोधभासपूर्ण काम नगरौँ । सके भाषाको सेवा गरौँ नसके चुप लागेर बसौँ । भाषा रहे मात्र हाम्रो अस्तित्व रहन्छ भन्नेतर्फ सम्बद्ध सबै सचेत होऔँ, चरम पश्चगामी वा अग्रगामीका नाममा अराजक पनि नहोऔँ । आपसमा छलफल गरी समझदारीपूर्वक अगि बढौँ । भाषामाथि चलखेल नगरौँ, भाषाको माया गरौँ र भाषालाई बचाऔँ ।
२०६९ साल वैशाख २८ गते विहीवार।
Leave a Reply