स्रोत: कान्तिपुर
–प्रा. कुमारबहादुर जोशी
नेपाली साहित्याकाशका तीन तारा (-लेखनाथ, सम र देवकोटा) मध्येका एक नाट्यसम्राट् बालकृष्ण समले भन्नुभएको छ:
भाषा हो सभ्यता हाम्रो सारा उदय, उन्नति
जीत, वैभव भाषामै बाँच्तछन् पछिसम्म यी ।
‘शब्द’ नामको ज्योति अर्थात् भाषा-भास्कर नहुने हो भने यो सारा संसार प्रगाढ अन्धकारमा विलीन बन्ने थियो भन्ने उक्ति संस्कृतमा पनि पाइन्छ:
इदमन्धतमः कृत्स्नं जायेत भुवनत्रयम्
यति शब्दाऽवयं ज्योतिरासंसारं न दीप्यते ।
हुन पनि हेर्ने आँखा छन्, दृश्य पदार्थ वा प्राणीहरू पनि आँखा सामु नै छन् अनि उज्यालो अर्थात् सूर्य वा बत्तीको प्रकाश पनि प्राप्त नै छ भने पनि यदि ती दृश्य पदार्थ वा प्राणीलाई अथवा तिनका रूपाकृति वा गतिविधि आदिलाई बुझाउने शब्द वा भाषा हामीसँग छैन भने ती सबै गाढा अन्धकारमा विलीन भएसरह नै हुन्छन् । यस्ता उक्ति-उदाहरणबाट हामी भाषाको अपरिमित महिमाको आकलन सहजै गर्न सक्तछौं ।
हुन त म साहित्यको विद्यार्थी हुँ, भाषाशास्त्री होइन, तर पनि साहित्यको मूल आधार भाषा नै भएकोले भाषासित पनि मेरो गहीरो सम्बन्ध छ । त्यसमाथि झण्डै साढे चार दशक (२०१७-२०६१) सम्मको आफ्नो अध्यापकीय-प्राध्यापकीय जीवनमा मैले खास गरेर जुद्धोदय, परोपकार आदि हाईस्कूल र त्रिचन्द्र, जन प्रशासन प्रभृति क्याम्पसहरूमा यदाकदा भाषा पनि पढाएँ । २०३० देखि २०३३ सालसम्म म त्रिचन्द्र क्याम्पसमा पढाउँथें, २०३४ सालदेखि चाहिं कीर्तिपुर क्याम्पसमा सरुवा भएँ । जे होस्, भाषा साहित्यको मूलाधार हो भने भाषाकै कलात्मक सरस-सुन्दर स्वरूप साहित्य हो । त्यसो भएको हुनाले भाषाको सम्यक् ज्ञानविना साहित्यमा प्रवेश सम्भव छैन ।
यतिखेर म साहित्यको होइन, अपितु नेपाली भाषाको कुरा गर्न लागिरहेछु, त्यसमा पनि केही समयदेखि यस भाषामा हिज्जेमा देखा परेको भाँडभैलोका सम्बन्धमा नै केन्दि्रत हुने ध्येय अँगालेको छु । खास गरेर २०६८ चैत ४ गते ‘कान्तिपुर’ र ‘नागरिक’ मा प्रकाशित शरच्चन्द्र वस्तीका क्रमशः ‘हिज्जेको खेल, लेख्ने जति फेल’ र ‘हिज्जेमा भाँडभैलो’ शीर्षक दुई लेख र त्यस लगत्तै उक्त हिज्जेकै सन्दर्भमा चैत १३ गते ‘कान्तिपुर’ मा प्रकाशित ‘ललितपुर घोषणापत्र, २०६८’ पढेपछि यस सन्दर्भमा केही लेख्ने प्रेरणा मलाई प्राप्त भएको हो । त्यसपछि पनि पत्रपत्रिकामा प्रकाशित हरि अधिकारी, खगेन्द्र संग्रौला, जगदीश घिमिरे जस्ता लेखकका लेखहरूबाट पनि यो लेख्ने थप प्रेरणा मैले पाएँ । यसै कारण, अति कमजोर स्वास्थ्य स्थितिका बावजूद म यो लेख्ने जमर्को गर्दैछु ।
वास्तवमा केही समयदेखि नेपाली भाषाका शब्दहरूमा वर्णविन्यास वा हिज्जे सम्बन्धी भाँडभैलो जो देखा परेको छ, त्यसका मुख्य कारण दुई छन् । तीमध्ये एउटा हो— ‘कच्चा वैद्यको मात्रा, यमपुरीको यात्रा’ भनेझैं खास गरी संस्कृतेतर भाषाबाट नेपालीमा आएका आगन्तुक शब्दहरूमा सरलीकरणको नाममा हिज्जेसम्बन्धी अपरिपक्व नियमहरू बनाएर लाद्नु । अर्को हो— सरलीकरणकै नाममा नेपाली भाषाको कथ्य वा उच्चार्य ध्वनि अनुसार शब्दहरूमा वर्णविन्यास गर्ने कच्चा फर्मान जारी गर्नु । यसरी वा जे-जसरी भए पनि यस राष्ट्रका विविध धर्म, सम्प्रदाय र संस्कृति अँगाल्ने सयभन्दा बढी जातजातिको आपसी विचार विनिमयको माध्यम भाषा वा जीवन्त साझा भाषाका रूपमा रहेको नेपाली जस्तो भाषामा हिज्जेसम्बन्धी यस्तो भाँडभैलो देखा पर्नु नितान्त चिन्ताको विषय हो । नेपालको एकमात्र राष्ट्रभाषा नेपालीमा हिज्जेसम्बन्धी यो रोगको बीजारोपण वास्तवमा हामीले नै जानी-नजानी गरेका हौं र अब यस रोगको निदान-निक्र्योल र यथोपयुक्त उपचार पनि यथासमय हामीले नै गर्नुपर्छ । त्यसो गर्न सकेनौं भने यो रोग भयावह रूपमा फैलिंदै जानेछ र यसले नेपाली भाषाको मात्र होइन, नेपाली मात्र कै पहिचान र अस्तित्व समेत सखाप पार्न बेर लाउने छैन ।
साँच्ची भन्ने हो भने, नेपाली भाषामा वर्णविन्यास र हिज्जेसम्बन्धी रोगको बीउ रोपिएको खास वर्ष हो, २०३५ । त्यस वर्ष नेपाली वर्णविन्यास पद्धतिका बारेमा त्रिभुवन विश्वविद्यालयका नेपाली शिक्षकहरूका क्षेत्रीय अभिमुखीकरण कार्यशाला गोष्ठीहरू विराटनगर, पाल्पा र काठमाडौँमा सम्पन्न भएका थिए । यस्तै गोष्ठीहरू पछि पोखरा, रामपुर र धूलिखेलमा पनि सम्पन्न गरिए । यी गोष्ठीमा सम्मिलित त्रिविका शिक्षकहरूबीच छलफल भई निस्किएका निष्कर्षहरू बुँदागत रूपमा अभिलेख गरिएका थिए, जसमध्ये दुई यस्ता छन्: (क) संस्कृतका तत्सम शब्दहरूलाई संस्कृतकै वर्णविन्यासका नियम अनुसार लेख्ने । अति प्रचलित भई तद्भवतुल्य भएका तत्सम संस्कृत शब्दहरूलाई चाहिं नेपाली तद्भव वर्णविन्यासका नियम अनुसार पनि लेख्न सकिने (जस्तै: शीतल/सितल, वन/बन आदि) । (ख) विभिन्न भाषाबाट आएका आगन्तुक शब्दहरूलाई नेपाली तद्भव वर्णविन्यासका नियम र ध्वनि व्यवस्था अनुसार नै लेख्ने (जस्तै: हजुर, बि्रटिस, इन्जिनियरिङ, तालिम, क्याम्पस, म्याक्समुलर आदि) । -द्रष्टव्य: ‘अनिवार्य नेपाली शिक्षण निर्देशन’, त्रिवि पाविके, २०४६, पृ. ४७)
साँच्ची भन्ने हो भने, मूलतः उपर्युल्लिखित दुई नियमले नै केही समयदेखि नेपाली भाषामा वर्णविन्यास वा हिज्जेको, त्यसमा पनि खास गरी ह्रस्व, दीर्घ -इ, ई, उ, ऊ) र श, ष, स को लेखन पद्धतिमा भाँडभैलोको बीजारोपण गरेका हुन् । यी नियमहरूले गर्दा नै अचेल शहीद – सहिद हुन पुगेको हो । त्यसै गरी पेशा – पेसा, शुरू – सुरु, कोशिश – कोसिस, शायद – सायद, नेशनल – नेसनल, यूरोप- युरोप, बीमा – बिमा, गरीब – गरिब, कानून- कानुन, खेलकूद – खेलकुद, स्कूल – स्कुल इत्यादि हुन पुगेका हुन् ।
निश्चय नै भाषा परिवर्तनशील हुन्छ र यसका नियमहरू पनि परिवर्तनशील हुन्छन् । कडा नियमहरू बनाएर भाषाको परिवर्तनशीलतालाई रोक्न, छेक्न खोजेमा त्यो भाषा मृत बन्छ, जस्तै: संस्कृत । नेपाली जीवन्त भाषा हो, यो परिवर्तन तर्फ अग्रसर हुँदै आइरहेको छ र जानेछ पनि । यस सन्दर्भमा, नेपाली भाषामा वर्णविन्यास वा हिज्जेको सरल र मानक रूप निर्धारण गर्ने प्रयासहरू विभिन्न समयमा, विभिन्न आन्दोलनका रूपमा हुँदै आएका छन् । त्रिवि अभिमुखीकरण कार्यशाला गोष्ठीका हिज्जेसम्बन्धी उपर्युल्लिखित नियमहरू पनि यसै सिलसिलामा आएका हुन्, ल्याइएका हुन्, खास गरी लेख्य नेपाली भाषालाई सरलता र एकरूपतातिर लैजाने उद्देश्यले । तर राम्रो उद्देश्यले ल्याइएका, बनाइएका भए पनि यी नियमहरू कच्चा ठहरिन आएका छन्, किनभने यिनले लेख्य नेपाली भाषालाई सरलता र एकरूपतातिर मात्र होइन, अपितु अर्थको अनर्थ समेत हुने गरीकन र अझ शिष्ट परम्परा र प्रचलनबाट स्थापित भाषाको आपmनो मौलिक स्वरूप र पहिचान नै पनि गुम्ने गरीकन दिनानुदिन विकृतितिर धकेल्दै लैजान थालेको देखिंदै छ । यसले भाषा-साहित्यका हामी विद्यार्थीहरूलाई बढी चिन्तित तुल्याउनु स्वाभाविकै हो । किनभने, हाम्रो भाषा हाम्रो खास पहिचान हो । हाम्रो भाषाले आपmनो पहिचान यसरी गुमाउँदै जान थालेपछि हाम्रो पनि पहिचान गुम्ने डर स्वतः पैदा भइहाल्छ । त्यस कारण उपर्युक्त कच्चा नियमको अनुपालन गर्दै ‘शेक्सपियर’ (विश्वप्रसिद्ध साहित्यकार) लाई ‘सेक्सपियर’ (यौन जोडी), नबनाऔं. र नबनाऔं ‘शायर’ (कवि-गीतकार) लाई ‘सायर’ (पाल टाङ्ने कपडा), ‘शहर’ (गाउँको विकसित रूप) लाई ‘सहर’ (माछा), ‘नशा’ (मादक पदार्थ) लाई ‘नसा’ (रक्तवाहिनी नली) इत्यादि।
अर्को कुरा, बोलिने अङ्ग्रेजी (स्पोकन इङ्लिश) र लेखिने अङ्ग्रेजी (रिटन इङ्लिश) फरक-फरक भए जस्तै बोलिने -कथ्य वा उच्चार्य) नेपाली र लेखिने -लेख्य) नेपाली पनि समान हुँदैनन् । समयभेद, स्थानभेद, जातिभेद, वर्गभेद आदि भेदहरूले पनि बोलिने र लेखिने भाषामा भिन्नता आउँछ । त्यसैले नेपालीमा तद्भव र विभिन्न भाषाबाट आएका आगन्तुक शब्दहरूलाई ध्वनि व्यवस्था अनुसार नै अर्थात् जस्तो बोलिन्छ त्यस्तै लेख्ने भन्ने नियम बनाउनु पनि गलत हुन्छ । त्यो गल्ती पनि हामीले गरेका छौं— माथि उल्लिखित नियम -ख) बनाएर । यो गल्तीले गर्दा नेपालीमा दीर्घ उच्चारण हुँदैन, श र ष को पनि उच्चारण हुँदैन भनेर हामीले यिनलाई वर्णमालाबाटै हटाउने अर्को भूल पनि गर्न थालेका छौं । यस प्रकार नेपालीमा श र ष को उच्चारण हुँदैन भन्दै तिनको ठाउँमा स मात्रै लेख्ने र ‘अति प्रचलित भई तद्भवतुल्य भएका संस्कृत तत्सम शब्दहरूलाई पनि नेपाली तद्भव वर्णविन्यासका नियम अनुसार पनि लेख्न सकिने’ भन्ने नियम बनाएर ‘शीतल’ लाई ‘सितल’, ‘वन’ लाई ‘बन’ लेख्न थालेपछि नेपाली भाषाको स्थापित स्वरूप र अनुहारै बिगि्रने भइहाल्यो ।
माथिका कुराहरूबाट त्रिवि शिक्षकहरूका अभिमुखीकरण कार्यशाला गोष्ठीहरू गरेर हामीले बनाएका उपर्युल्लिखित नियमहरू अपरिपक्व वा कच्चा रहेछन् भन्ने तथ्य स्वतः प्रमाणित हुन्छ । त्यसैले यी नियमहरूको आवश्यक संशोधन-परिमार्जन अविलम्ब हामीले नै गर्नुपर्छ भन्नेमा म छु ।
अन्तमा भन्न चाहन्छु – नेपाली भाषामा केही समयदेखि मच्चिंदै आएको भाँडभैलोले उग्र रूप धारण गर्न थालेको वर्तमान सन्दर्भमा शरच्चन्द्र वस्तीका उपर्युल्लिखित दुई लेख अत्यन्त महत्त्वपूर्ण तथा सान्दर्भिक छन् । खास गरेर लेख्य नेपाली भाषाको स्तरीकरण र मानकीकरणको यात्रामा यी दुई लेख कोसेढुङ्गा ठहरिन्छन् । जे होस्, नेपाली भाषामा देखा परेको आजको भाँडभैलोमा मुख्य भूमिका खेल्ने त्रिवि शिक्षकहरूका अभिमुखीकरण कार्यशाला गोष्ठीका छलफलबाट निष्कषिर्त उपर्युक्त अपरिपक्व दुई नियमहरूको निर्माणमा त्रिवि शिक्षकको हैसियतले मेरो पनि प्रत्यक्ष-परोक्ष संलग्नता रहेको नाताले जति अंशको दोष मेरो भागमा पर्छ, त्यो स्वीकार्दै आत्मालोचना गर्न चाहन्छु र उक्त कच्चा नियमहरूको सम्बन्धित निकायबाट आवश्यक संशोधन-परिमार्जन गर्ने-गराउने काम अविलम्ब होस् भन्ने कुरा दोहोर्याउन चाहन्छु। साथै नेपाली भाषाको सरलीकरणको नाममा होस् वा स्तरीकरण-मानकीकरणका नाममा, भाषासम्बन्धी अब नयाँ नियम बनाउँदा हाम्रा आदरणीय गुरु (प्रा.डा. वासुदेव त्रिपाठी, स्व. प्रा.डा. बल्लभमणि दाहाल, प्रा. ठाकुरप्रसाद पराजुली र म समेतलाई २०२१/२२ सालमा त्रिवि केन्द्रीय क्याम्पसमा नेपाली एमएमा भाषाशास्त्र पढाउनुहुने), प्रसिद्ध साहित्यकार जगदीश घिमिरेका शब्दमा ‘नेपालीका भाषाशास्त्रीहरूका भीष्मपितामह’ बालकृष्ण पोखरेलका कथन (‘गरिमा’, २०६८ कात्तिक) लाई गुरुमन्त्र मानौं भन्छु।
२०६९ साल बैशाख २० गते वुधवार।
Leave a Reply