स्रोत: ई-कान्तिपुर
-डा. मनप्रसाद वाग्ले
“विद्यालय पुनर्संरचनाको प्रस्तावले एसएलसीलाई क्षेत्रीय स्तरमा र १२ कक्षालाई अहिलेको एसएलसी जस्तो राष्ट्रिय परीक्षाको रुपमा लिने प्रावधान गरेको छ ।”
यस वर्षको एसएलसी परीक्षाको अन्तसँगै ७८ वर्ष लामो इतिहास बोकेको राष्ट्रिय एसएलसी परीक्षाको आयु अब एक वर्ष मात्र बाँकी छ । एसएलसीलाई नेपालमा सबैभन्दा बढी महत्त्व दिइएको परीक्षाका रूपमा लिइन्छ । पहाडी ग्रामीण भेग देखि तराई भेगसम्म एसएलसी एउटा यस्तो मापन विन्दु बनेको छ, जसलाई आधार बनाएर व्यक्तिको पहिचान गरिन्छ । बजारमा जागिर खोज्न होस् वा केटीहरूको विवाहको न्यूनतम योग्यता होस्, एसएलसी उत्तीर्ण भए वा नभएको कुरा बढी चासोको विषय बन्छ । सरकारी जागिरमा राजपत्र अनङ्कति द्वितीय श्रेणीको पद वा प्राथमिक तहको शिक्षकको न्यूनतम योग्यता नै एसएलसी उत्तीर्ण राखिएको छ । घरको आर्थिक अवस्थामा सहयोग गर्नुपर्ने कैयौं युवा एसएलसी उत्तीर्ण गरे लगत्तै खरदार पदमा लोकसेवा दिने तयारी गर्छन् । एसएलसी पनि गर्न नसकी पियन पदमा हल्लिनु पर्ने बाध्यतामा हजारौं युवा परेका छन् । यसरी एसएलसी एउटा यस्तो सन्दर्भ विन्दु बनेको छ, जसबाट जीवनका विभिन्न पाटोमा प्रभाव पर्न गएको छ ।
उच्च माध्यमिक तह कक्षा ११ र १२ को शिक्षा ग्रहण गर्न त एसएलसी अनिवार्य नै छ । अझ पुरानो कुरा गर्ने हो भने विश्वविद्यालयको प्रवीणता प्रमाणपत्र तह वा आईए, आईएस्सी, आईकम, आईएडजस्ता विषयहमा भर्ना हुन पनि एसएलसी नै अनिवार्य थियो । केही दशक अघिसम्म खासगरी ग्रामीण भेगमा धेरै शिक्षित व्यक्तिहरूको बाहुल्यता नहुने कारणले कसैले एसएलसी पास गर्यो भने त्यो ठूलै खबरको विषय बन्थ्यो । अहिले पनि दलित, जनजाति, पछाडि पारिएका समूह, भिन्न क्षमता भएका समूहमध्ये कसैले एसएलसी पास गर्यो भने त्यो चर्चाको विषयभित्र पर्छ ।
यति धेरै महत्व बोकेको कारणले नै सबै घरमा एसएलसीबारे चासो हुन्छ । एसएलसीमा आफ्ना केटाकेटी परीक्षा दिने हुँदा त झनै त्यसको महत्त्वमाथि प्रकाश पारिन्छ भने परीक्षा दिने कोही नहुँदा पनि प्रत्येक घर एसएलसीको नामै सुन्दा आकषिर्त हुन पुग्छ । अचेल त एसएलसी पनि नगरी के गर्नु भन्ने मान्यताले गर्दा प्रौढहरूसमेत यसप्रति आकषिर्त र समर्पित भएका छन् । चाहे बुढेसकालमा विद्यालयमै भर्ना भएर होस् वा खुला विद्यालयमा नाम दर्ता गराएर होस्, एसएलसीप्रतिको भोक प्रौढहरूले देखाएकै छन् ।
यसरी एसएलसी परीक्षा नेपाल र नेपालीका लागि अत्यावश्यक परीक्षा र सबैका लागि नभई नहुने परीक्षाको रूपमा अगाडि आएको छ । हामीले के कुरामा गर्व गर्नुपर्छ भने कमसेकम दस कक्षाको शिक्षालाई हाम्रो शिक्षा पद्धतिले एउटा महत्त्वको विषय बनायो र त्यसैका आधारमा व्यक्तिका क्षमता अनुमान गर्ने प्रथा बसाल्यो । व्यक्तिको मात्र किन ? विद्यालय-विद्यालयबीच प्रतिस्पर्धा गराउने पनि एसएलसी परीक्षा नै हो । एसएलसीकै कारण विद्यालयका प्रध्ाानाध्यापकहरू कसरी गुणस्तरीय शिक्षा प्रदान गर्ने र कसरी शतप्रतिशत विद्यार्थी उत्तीर्ण गराउन सकिन्छ भन्ने चिन्तामा रहेको प्रस्ट देख्न सकिन्छ । कुनै पनि विद्यालयमा हेर्ने हो भने तल्ला कक्षाहरूमा भन्दा माथिल्ला कक्षाहरूमा विद्यालयको ध्यान बढी आकृष्ट भएको पाइन्छ । अझ कतिपय विद्यालयहरूले त एसएलसी परीक्षाका लागि तयार पार्न आफ्ना विद्यार्थीहरूलाई विद्यालयको छात्रावासमै आवश्यक ‘कोचिङ’ गर्ने र सबै विद्यार्थीलाई तीन महिनासम्म विद्यालयभित्रै बन्दी बनाएर तयारी गराउने प्रचलन छ ।
एसएलसीकै नतिजालाई आधार बनाएर विद्यालयहरूको मूल्याङ्कन हुने र त्यसैका आधारमा राज्यले राष्ट्रिय शिल्ड पनि प्रदान गर्ने परम्पराले त झन् जसरी भए पनि एसएलसीमा अधिकतम विद्यार्थी उत्तीर्ण गराउनेतर्फ विद्यालयहरू र विद्यालय रहेको समुदाय नै तँछाड-मछाड गरेर लागेको अवस्था छ । अझ नामले संस्थागत तर व्यवहारले व्यक्तिगत रूपमा खोलिएका कथित निजी विद्यालयहरूको त कुरा गरेरै साध्य छैन । उनीहरू शिक्षाको सम्पूर्ण लक्ष्य एसएलसीलाई नै बनाउँछन् र यसैका आधारमा एसएलसीभन्दा तलका कक्षा र एसएलसीभन्दा माथिका कक्षामा शिक्षाको व्यापार गर्छन् ।
एसएलसीकै कारण विद्यालय-विद्यालयबीच अस्वस्थ प्रतिस्पर्धा पनि प्रशस्तै भएका छन् । विभिन्न प्रलोभनमा पारेर एउटा विद्यालयको विद्यार्थी अर्को विद्यालयले तान्ने परम्परा निजी क्षेत्रमा प्रशस्तै भेट्न सकिन्छ । त्योभन्दा पनि डरलाग्दो कुरा त राम्ररी पढाइरहेका एउटा विद्यालयका शिक्षक अर्को विद्यालयले बढी पैसा तिरेर चोर्ने काम पनि निजी विद्यालयका संस्थापकहरूले नगरेका होइनन् । एसएलसीमा सबैभन्दा राम्रो गर्ने दस जनाको नाम बोर्डमा निकाल्ने प्रथा नेपालमा धेरै दशक कायम रह्यो । निजी विद्यालयको बोलवाला हुनु अघि यो स्वच्छ प्रतिस्पर्धाको रूपले लिइन्थ्यो र त्यसको महत्व धेरै थियो । २०३६ सालपछि क्रमशः बोर्डमा विद्यार्थी निकाल्ने नाममा भएका घिनलाग्दा हर्कतहरूले गर्दा बोर्डको महत्त्व प्रत्येक वर्ष विवादित रूपमा देखापर्न थाल्यो । बोर्ड र बि्रफकेसलाई सँगै राखेर हेर्न थालियो । एसएलसी परीक्षाको मर्यादामै आँच पुग्ने गरी सुरु भएको यस्तो अस्वस्थ परम्पराले पुरै शिक्षा पद्धतिभित्र धमिरा लाग्न सुरु भएपछि एसएलसीबाट बोर्ड प्रथा खारेज गरियो र उत्कृष्ट छात्र र उत्कृष्ट छात्राको नाममात्र प्रकाशित गर्ने परम्परा बसाल्न खोजियो । तर त्यसमा पनि वक्रदृष्टि पर्न थालेपछि अहिले केही पनि नभनी नतिजालाई डिस्टिङसन, प्रथम श्रेणी, द्वितीय श्रेणी र तृतीय श्रेणीका रूपमा मात्र लिन थालिएको छ । यसरी नतिजा निकाल्दा पनि पत्रपत्रिकामा ‘बोर्ड फस्ट’ भनी विज्ञापन गर्न र त्यस्ता विद्यार्थीलाई विभिन्न प्रलोभन देखाई आफ्नो विद्यालयमा भर्ना गर्न मरिहत्ते गर्ने शैक्षिक व्यापारीहरूमा भने कमी आएको छैन ।
चाहिँदो भन्दा बढी नै महत्त्व पाएको एसएलसी परीक्षाको महिमाले गर्दा नै परीक्षा नियन्त्रण कार्यालयलाई बर्सेनि यसको लाज जोगाउन हम्मेहम्मे परेको छ । प्रत्येक वर्ष एसएलसी परीक्षालाई मर्यादित बनाउन शिक्षा मन्त्रालयले कानुन बनाउँछ, कहिले १ लाख जरिवाना त कहिले ६ महिना कैदको सूचना गरेर । तुलनात्मक रूपमा २०६७ सालको परीक्षा मर्यादित र व्यवस्थित भएको मूल्याङ्कन गर्दै सरकारले तत्कालीन परीक्षा नियन्त्रकलाई उत्कृष्ट प्रशासकको रूपमा पुरस्कृत पनि नगरेको होइन । तर त्यसै वर्ष एसएलसीमा सामुदायिक विद्यालयबाट उत्तीर्ण हुनेको प्रतिशत ४६ मा नझरेको पनि होइन । परीक्षामा कडाइ गरिएकै कारण परीक्षाफल खस्केको विश्लेषण गरियो र त्यसभन्दा अघिका उत्तीर्ण प्रतिशत परीक्षाको भ्रष्ट व्यवस्थापनका कारणले नै रहेछ भन्ने विश्लेषणसमेत गरियो ।
व्यक्तिगत रूपमा पनि एसएलसी परीक्षालाई इज्जतसँग जोडेर हेर्ने परम्परा बसेकोले नै परीक्षामा असफल भएर ज्यानै त्याग्नेहरूको संख्या प्रत्येक वर्ष थपिंदो छ । अझ अगाडिको कुरा गर्नुपर्दा तराईका केही जिल्ला एसएलसीकै कारणले बदनाम भएको पाइन्छ । काठमाडौं उपत्यका लगायत अन्य पहाडी जिल्लाबाट केन्द्र परिवर्तन गर्नेहरूको ठूलो घुइँचो लाग्न थालेपछि केन्द्र परिवर्तन प्रथामा परीक्षा नियन्त्रण कार्यालयले रोक लगाउन थालेको हो । निजी विद्यालयमा पनि एसएलसीका अनेकन विकृति नदेखिएका होइनन्, कति त अझै समाप्त भएको छैन । आपmनो विद्यालयबाट परीक्षा दिनेमध्ये प्रथम श्रेणी आउन नसक्ने विद्यार्थीहरूलाई ‘सेन्टअप’ परीक्षामै अनुत्तीर्ण गराउने वा त्यतिखेर प्रचलित जिल्ला शिक्षा कार्यालयतर्फबाट प्राइभेट एसएलसी दिन लगाउने जस्ता अनैतिक काम प्रशस्तै भएका छन् । कक्षा ८ उत्तीर्ण गरी दुई वर्ष व्यक्तिगत रूपमा कुनै शिक्षक वा शिक्षक समूहसँग अध्ययन गरेको कसैले प्रमाणित गरिदिएमा जिल्ला शिक्षा कार्यालयले प्राइभेट रूपमा एसएलसीमा समावेश गराउने परम्परा थियो । यसमा ठूलै विकृति देखिन थालेपछि शैक्षिक जनशक्ति विकास केन्द्रअन्तर्गत खोलिएका खुला विद्यालयहरूमार्फत मात्र एसएलसीमा प्रवेश पाउनेगरी प्राइभेट एसएलसी हटाइएको पाइन्छ । यसबाट राजधानीमा च्याउझैं उम्रेका एसएलसी ट्युसन सेन्टरहरूको बिचल्ली भएको यथार्थ हाम्रोसामु छ । सुधारका यस्ता अनेकन प्रयासका बाबजुद यसै वर्षको एसएलसीमा पनि चिट चोर्ने र चोराउने, परीक्षामा कडाइ गर्नेउपर ढुङ्गामुढा वा आक्रमण गर्ने, संगठित रूपमा नै परीक्षा केन्द्र कब्जा गर्न खोज्ने आपराधिक गतिविधि भने हटिनसकेको प्रस्टै देख्न पाइएको छ । त्यस्तै उच्च माध्यमिक तहमा छात्रवृत्ति पाइने प्रलोभनमा निजी विद्यालयमा पढ्नेले पनि सामुदायिक विद्यालयमा समेत नाम दर्ता गरी दोहोरो दर्ता गर्ने ५ हजार विद्यार्थी फेला परेका छन् । यसरी बर्सेनि नयाँ-नयाँ समस्या थेग्दै अब एक वर्षपछि राष्ट्रिय रूपमा एसएलसी परीक्षा हामीबाट बिदा हुँदैछ, सदाका लागि । सरकारले विद्यालय क्षेत्र सुधार कार्यक्रम अन्तर्गत आधारभूत शिक्षा १-८ र माध्यमिक शिक्षा ९-१२ को विद्यालय पुनर्संरचनाको सुरुवात गरिसकेको र प्रस्तावित योजनाअनुसार कक्षा १० को अन्तमा लिइने एसएलसीलाई क्षेत्रीयस्तरमा गर्ने र कक्षा १२ को अन्तमा लिइने परीक्षामात्र अहिलेको एसएलसीजस्तो राष्ट्रिय परीक्षाको रूपमा लिने प्रावधान गरेको छ । यो अहिलेको राज्य संरचनाअनुसार ५ टुक्रामा विभाजित हुनेछ । अझ राज्य पुनर्संरचनासहितको संविधान जारी भएमा यो कति टुक्रामा विभक्त हुने हो भन्ने टुङ्गो छैन । जति टुक्रामा विभाजित भए पनि एसएलसीको महत्त्व कम हुन अझै निकै वर्ष लाग्नेछ । त्यसैले यसको मर्यादा जोगाउनु हामी सबैको कर्तव्य हो ।
२०६८ साल चैत १७ गते शुक्रवार।
Leave a Reply