स्रोत: ई-कान्तिपुर
–डा. सुरेशराज शर्मा
शिक्षा क्षेत्रमा लाग्नेहरूले सिक्नैपर्ने र अरूलाई पनि सिकाउनै पर्ने केही कुरा छन् । जस्तैः बालक पन्ध्र वर्ष नपुगुन्जेल उसलाई जबरजस्ती शारीरिक श्रम पर्ने काममा लगाउनु हुँदैन, घरमा बाबुआमाका काममा सामान्य रूपले सघाउने सम्मको काममा चाहिँ लगाउन सकिन्छ ।
६ वर्षको विद्यार्थी १ कक्षामा पढ्न थाल्यो भने ८ कक्षा पूरा गर्दा १४-१५ वर्षको हुन्छ । तसर्थ कक्षा ८ सम्म अनिवार्य शिक्षा हुनुपर्छ । बढी परीक्षा लिई फेल गर्ने शिक्षा भन्दा विद्यार्थीलाई पढाइमा लगाउन नसक्ने शिक्षक पहिले फेल भई उसको जागिर गुम्छ भनी मिहिनेत गर्न लगाउने व्यवस्था हुनुपर्छ । त्यसो गर्न निजीले सक्ने तर सामुदायिक विद्यालयहरूले किन नसक्ने ? यसतर्फ गम्भीर भई सोच्नुपर्छ ।
८ कक्षा पास गर्ने युवालाई तीन किसिमको शिक्षा मध्ये एक किसिमको शिक्षा लिने प्रावधान बनाउनुपर्छ । एक: उच्चशिक्षा । विशेषगरी प्राविधिक शिक्षा लिने हो भने गणित, विज्ञान र अंग्रेजीमा राम्रो दखल भएको वा आधार तयार गरिएको शिक्षा । दुई: पढ्न त सक्ने तर अलि सजिलो विषय पढ्ने शिक्षा । तीन: बढी सीप सिकी चाँडै कमाइखान सक्ने सीपमूलक शिक्षा । यसबाहेक शारीरिक रूपले अशक्तका लागि अझ छुट्टै प्रकारको शिक्षा पनि चाहिन्छ ।
यसले पढ्न सकेन अथवा पढ्नमा मन लगाएन भनेर विद्यार्थीमा हीनता आउन दिनु हुँदैन । स्कुलमा गएर पढ्न पटक्कै मन नलगाउने विद्यार्थी भए पनि पढेन भनेर कलिलो मस्तिष्कमा हीनता आउन दिनु हुँदैन । बालबालिकामा हीनता आयो भने कसैले त्यसको दोष लिनु पर्छ । त्यसको दोषी बालबालिकालाई मात्र बनाउनु हुँदैन र बाबुआमालाई भनेर पनि हुँदैन । बढी जिम्मा सरकारकै हुन्छ, किनभने पढेर सीप सिकेर काम गर्न नसक्ने युवाको पेट भराउने वा उसलाई पाल्ने सबैभन्दा बढी जिम्मा सरकारको हो । नत्र कुनै न कुनै काम सरकारले दिन सक्नुपर्छ । केही नगरी त्यसै पाल्ने विकल्प पनि ठीक छैन ।
त्यसो भए के सिकाउने ?
सामान्य रूपले हेर्दा ८ कक्षासम्म पढेका युवाहरू बारी खन्ने, हलो जोत्ने, भारी बोक्ने, गिट्टी फोर्ने, महिलाले पकाउने, भाँडा माझ्ने, बच्चा स्याहार्ने, गाईवस्तु हेर्ने, घाँस काट्ने, गोबर सोर्ने काम गर्न मन गर्दैनन् । उनीहरूलाई अलि बढी आर्थिक आय गर्ने सीप दिन सकियो भने त्यो काममा लगाउन सकिन्छ ।
स्कुलमा कक्षाकोठा भन्दा बाहिर पनि धेरै कुरा सिकाउन सक्नु पर्छ । खेलकुदले नियमको पालना गर्न सिकाउँछ । जुनसुकै काम गर्दा पनि त्यसको नियम हुन्छ भन्ने सिकाउनुपर्छ । झूटो बोलेर अरूलाई झुक्याउने कुराबाट उसलाई टाढै राख्नुपर्छ । घरमा बाबुआमाले कुनै बहाना बनाउन झूटो बोल्नु हुँदैन, शिक्षकहरूले पनि झूटो बोल्नु हुँदैन । अनि मात्र बालमस्तिष्कमा राम्रो चरित्रको निर्माण हुन्छ ।
बालबालिकालाई तिमीले समय बर्बाद गर्नु हुँदैन भनेर सिकाउनु पर्छ । शिक्षकले पनि कुनै बहाना बनाई स्कुल नजाने गर्नु हुँदैन । शिक्षक एकदिन स्कुल नजाँदा ६ वटा कक्षाको पढाइ खेर जान्छ । अर्थात् २० जना विद्यार्थी एउटा कक्षामा छन् भने १२० जना विद्यार्थीको समय शिक्षकले खेर फालिदिएको ठहर्छ । त्यस्तो व्यवहार क्षम्य हुनु हुँदैन ।
कुनै कारणवश पढाइ भएन भने खेलकुद शिक्षकले वा लाइब्रेरियनले, कोही भएन भने प्रधानाध्यापकले त्यस कक्षाका विद्यार्थीको जिम्मा लिई विद्यार्थीहरूलाई व्यस्त राख्नुपर्छ । यस कुरामा कुनै पनि राम्रो स्कुलले हेक्का राख्नैपर्छ । यस कुरामा हेक्का राखेर बढी जिम्मेवार भएकै कारणले निजी आवासीय विद्यालयहरूलाई धेरै अभिभावकले रुचाएका हुन सक्छन् । कसैले जिम्मा नलिई विद्यार्थीलाई त्यतिकै छाडा छाड्ने गर्नु हुँदैन ।
कुनै कक्षाको पढाइ रोकिए विद्यार्थीलाई कथा भन्ने वा सामूहिक काममा लगाउने पनि गर्न सकिन्छ । सकेसम्म त्यस्ता कथाहरूभित्र नैतिक शिक्षाको मर्म लुकेको होस् । ‘लौ आज बिदा’ भनेर न सरकारले अचानक बिदा दिन मिल्छ, न शिक्षकले नै । बिदा भयो भने अचानक रमाउने हाम्रो बानी पटक्कै राम्रो होइन । अचानक दिइने बिदाले त्यो दिन गर्ने भनिएको काम पूरा हुन सक्दैन र त्यसबाट हुने नोक्सानी अनपेक्षित मात्र होइन, अनावश्यक नै हुन जान्छ । त्यस्तो नोक्सानी हुन नदिने सोच र संस्कार सबै जिम्मेवार निकाय वा विद्यार्थीले बोक्नुपर्छ ।
कमाइखाने शिक्षाको खाँचो
अब कमाइखान चाँडै सीप सिकाउनुपर्ने समूहका युवाहरूबारे कुरा गरौं । सीपमूलक शिक्षा दिलाउन जटिल छ, किनभने यो महँगो छ, प्रशिक्षकले बढी खट्नुपर्छ, सीप सिकाउन चाहिने सामग्री पनि जोड्नुपर्ने हुन्छ । एकजना प्रशिक्षकले एकैचोटि धेरैलाई सिकाउन नसक्ने हुँदा बढी प्रशिक्षक चाहिन्छ । यी कुराहरूले गर्दा सीपमूलक शिक्षा महँगो हुन पुग्छ ।
प्लम्बिङ होस् वा इलेक्टि्रसियन, कार्पेन्ट्री होस् वा नर्सिङ, वेल्डिङ होस् वा पोल्ट्री जेसुकै सिकाउन खोजिएको भए पनि त्यस कुरामा पोख्त नभइसकेका व्यक्तिलाई त्यो काम दिनै हुँदैन । सम्बन्धित विषयमा पूरा ध्यान पुर्याइएको प्राविधिक शिक्षा मात्र काम लाग्छ । सीपमूलक शिक्षा सिक्ने विद्यार्थीको उत्तीर्णाक ३२ हुन सक्दैन, १०० नै हुनुपर्छ, किनभने पूरै जान्ने नभई कुनै पनि काम दिन मिल्दैन । अधकल्चो शिक्षा भएको व्यक्तिलाई ड्राइभरको, इलेक्टि्रसियनको वा सुइ दिने र पट्टी बाँध्ने (ब्यान्डेज गर्ने) जस्ता काम दिन मिल्दैन ।
यी विधाको शिक्षा जसले पनि सिकाउन र सिक्न सक्ने खालको होइन । यो सबैले बुझ्नु आवश्यक छ । तर राम्ररी सिकाउन सकियो भने ६ महिना वा एक वर्षसम्म सिकेको युवालाई पनि केही गरिखान सक्ने सीप भएको बनाउन सकिन्छ ।
यस्तो शिक्षा महँगो हुन्छ, धेरैजनालाई दिन सकिँदैन भन्नेखालको तर्क पनि आउन सक्छ, तर त्यो तर्क ठीक होइन । १५ वर्षको युवाले उच्च माध्यमिक तह पूरा गर्नुपर्यो भने दुई वर्ष लाग्छ । दुई वर्ष लगाए पनि उसले काम लाग्ने कुरा कति सिक्यो, त्यो भन्न सकिँदैन, तर सिके पनि नसिके पनि उसका लागि लाग्ने खर्च त सरकारले बेहोर्नैपर्छ, बेहोर्ने गरेको पनि छ । दुई वर्षमा हुने खर्चको दाँजोमा ६ महिना वा वर्षदिनको सघन सीपमुखी शिक्षाको खर्च उस्तै-उस्तै पनि हुन सक्छ । आधुनिक किसिमले तरकारी कसरी लगाउने, गाई, भैंसी वा बङ्गुर कसरी पाल्ने आदिजस्ता कुरा सिक्न दुई वर्षको समय लाग्दैन, एकै वर्षमा पनि सिक्न सकिन्छ । यो पनि बुझ्नु आवश्यक छ ।
अचेल त कफीखेती, चियाखेती, तरकारीखेती, फलफूलखेती आदिजस्ता खेती गर्ने विकल्प पनि छन् । यस्ता कुरा सिकाउनका लागि कमसेकम हरेक गाउँ विकास समितिमा एउटा अथवा हरेक निर्वाचन क्षेत्रमा एउटा, त्यति पनि नसके हरेक जिल्लामा एउटा विद्यालय त खोल्नैपर्छ । त्यस्ता विद्यालयको आर्थिक पक्षलगायतको व्यवस्था गरी राम्ररी सञ्चालन गर्ने जिम्मा सरकार, समुदाय र तालिम लिने समूह गरी तीनैवटाले लिनुपर्छ ।
यस्ता सीपमूलक शिक्षा त कति छन् कति ! तर जुनसुकै सीप सिके पनि त्यसको प्रयोग गर्दा सोच्नुपर्ने र बुझ्नुपर्ने विषय पनि धेरै छन् । जस्तै- एउटा राम्रो चियापसल वा लज चलाउने हो भने कति किसिमको सीप आवश्यक पर्ला, सोचौं । चाहिने वस्तु किनेर ल्याउने, ठीक ठाउँमा ठीकसित राख्ने, त्यसलाई ठीकसित पकाउने, राम्रोसित भाँडा सफा गर्ने, यी सबै सीप चाहिन्छ । त्यहाँ आएर खाने मान्छेले लापरबाहीसित भान्सा वा भाँडाको काम गरेको देखे भने, पानी फोहोर देखे भने मन पराउँदैनन् भन्ने बुझ्नु आवश्यक छ ।
हेल्थपोस्ट र भेटेरिनरी क्लिनिकजस्ता ठाउँमा काम गर्ने मान्छेले आफ्नो काम कति होसियारीसाथ गर्नुपर्छ, त्यो जोकोहीले पनि बुझ्न सक्छ । टेलरिङ वा हेयर कटिङ गर्नेले पनि लापरबाहीपूर्वक काम गर्यो भने उसकहाँ फेरि फर्केर को जाला ? यो पनि सोचौं ।
यसको अर्थ के हो भने काम राम्ररी गर्ने, मन लगाएर गर्ने, गरेको काममा त्रुटि नहोस् भनेर ध्यान दिनेगरी कसैले काम गरेको छ भने त्यो जुनसुकै काम होस्, त्यसको मान हुन्छ, इज्जत हुन्छ । कुनै काम ठूलो, कुनै काम सानो भन्ने हुँदैन । काम राम्ररी गरिन्छ भने त्यो ठूलो हो र लापरबाहीसाथ गरिन्छ भने त्यो सानो हो ।
सरकारी कार्यालयको काम ठूलो, अर्कालाई अह्राउन पाउने काम ठूलो, गुरु मात्र हुन पाइने काम ठूलो, अझ भाषण मात्र गर्दै हिँडेर नेता हुने काम ठूलो भन्ने हुँदैन । आफ्नो परिश्रम नपरेको कुरामा नरमाउने बानी भएका मान्छेहरूचाहिँ ठूला हुन् । त्यस्तै मान्छेलाई असल भनिन्छ ।
कसैले गाईभैंसीलाई कुँडो अथवा खोले खुवाउन, चराउन लैजान, गोबर सोर्न, दूध दुहुन मिहिनेत गरिदिएको छ र नै हामी ढुक्क भएर दूध किन्छौं । हामीले किन्ने गरेको दूधमा कसैको परिश्रम परेको छ, यो बुझ्ने गरौं । पसिना बगाई कमाएको धन ठूलो हो, त्यसैमा गर्व हुन्छ, त्यसैमा आत्मसन्तोष हुन्छ भन्ने कुरा पनि बुझौं । तसर्थ श्रमलाई, कामलाई इज्जत गर्न जानौं । अरूको मिहिनेतको शोषण गर्ने वा भोग गर्ने संस्कार छाडौं । आज चाहिएको वास्तविक क्रान्ति वा शान्ति भनेको नै यही हो भन्ने बुझौं । विदेशी पैसामा रमाउने होइन, त्यसप्रति लज्जित हुने गरौं । अर्काको कमाइ खान धिक्कार्ने युवाहरूलाई आदर गरौं । हाम्रो मुलुकलाई चाहिएको यही हो । महाकवि लक्ष्मीप्रसाद देवकोटाको भनाइ कति मीठो छ, ‘चुम्दछ ईश्वर काम सुनौला गरिरहेको हात ।’
हाम्रा बाबुआमाले परिश्रम गरेको कुरामा हामी रमाएजस्तै हाम्रा छोराछोरी र नातिनातिना पनि आफ्ना बाबुआमाले परिश्रम गरेको कुरामा रमाउन खोज्छन् । यति कुरा बुझ्न वा सोच्न सकिँदैन होला त ?
[लेखक काठमाडौं विश्वविद्यालयका उपकुलपति हुन् ।]
Leave a Reply