स्रोत: ई-कान्तिपुर
-खगेन्द्र संग्रौला
दुर्भाग्यवश, युवा वयमा कवि हुनलाई अलि दिन कनेर पनि म कवि हुन सकिन । भएको भए शोकको यो उत्ताल भावना म काइदाले कविताको भाकामा लेख्दो हुँ । त्यसको शीर्षक ‘बाबुरामको छवि अवसानमा शोकगीत’ हुन्थ्यो । र सायद मेरो मनमा उर्लिएको आक्रोशयुक्त शोकको तीव्रता कविताको संक्षिप्त, सूत्रबद्ध र सघन संरचनामा गजपले अभिव्यक्त हुन्थ्यो । तर के लाग्छ, आफूले जानेको जम्मा यही नाथे रूखो गद्य छ । त्यसैले गद्यमै सही, सक्कली बाबुराम हराएको सूचना जगत्छेउ सञ्चार गर्न उदास मुद्रामा म आफ्नो अभिन्न मित्र ल्यापटपसामु बसेको छु ।
छवि झुन्ड्याउने नाक मानिसको नैतिक जीवनमा साह्रै ठूलो कुरा हो । मानिस जब आफैँलाई बिर्सेर लोभ, मोह वा बेहोसीको बाटोमा बहकिन थाल्छ, उसको नाक काटिन्छ । र ऊ हेरिनसक्नु खोटोनाके नकटो बन्छ । यसो हेर्छु, प्रधानमन्त्रीको कुर्सीमा विराजमान भएका मेरा पि्रय मित्र डाक्टर बाबुराम भट्टराईको नाक खत्तम छ । ट्वाँ परेर त्यो ‘खत्तम’ हेर्छु र म त्यसै-त्यसै क्षुव्ध हुन्छु । डाक्टर साहेबको भौतिक स्वरूप उही हो, काया-कद उही हो, सतहमा अररो लाग्ने अनुहार उही हो, निष्प्रभावी स्वर उही हो, तर नाक सग्लो छैन । नाक जखम भएको बाबुराममा मैले चिनेको, श्रद्धा गरेको र आशा गरेको बाबुरामै छैन । त्यो त हरायो ! सत्ताको फोहोरी ह्युम पाइपमा त्यो कता अलप भयो कता !
खुबै मेधावी, सदैव प्रथम र सादा जीवन एवं उच्च विचारका पर्याय बाबुराम जेजस्ता थिए, सत्ताको फोहोर ह्युम पाइपमा पसेर बाहिर निस्कँदा ती किमार्थ त्यस्ता रहँदैनन् भन्ने मलाई थाहा थियो । उसो त राजनीतिमा सद्दे अनुहारहरूको अनिकाल लागेका बेला स्वदेश र विदेशलाई देखाउन पनि बाबुरामरूपी केही अलङ्कारहरू चाहिन्छन् भन्ने पनि त मलाई थाहा थियो । त्यसैले म समेतका उनका कतिपय शुभचिन्तकले यो अराजक याममा सर्वाङ्ग भ्रष्ट सत्ताको ह्युम पाइपमा पस्ने लालसा नराख्न उनलाई घरिघरि करजोरी विन्ती गरेका हौँ । चिन्ताग्रस्त मुद्रामा विन्ती गर्नेहरूको लाममा अभि दाइ त थिए नै, हरि रोका, झलक सुवेदी, कृष्णज्वाला देवकोटा, युग पाठकादि पनि थिए । सुनिजान्ने हिसिला यमी, राम कार्की र देवेन्द्र पौडेलका ६ थान कान जिउँदै छन् । मुखले त बाबुरामले आफूमा त्यस्तो लालसा लेसमात्र पनि नभएको बताएका थिए । तर हामीलाई ढाँटेर धोबीघाटको तिलस्मी बाटो गरी उनी सत्ताको ह्युम पाइपमा लुत्त छिरे । भन्न पनि कसोकसो लाज लाग्छ, उनी नयाँबजार र धोबीघाटलाई आलोपालो गरी धोखा दिएर के-के न बाजी जितुँलाझैँ गरी उक्त पाइपमा छिर्न पुगेका थिए । आखिर छिरेर अर्थोक गर्नु नै के थियो र ? केवल छँदाखाँदाको अस्सली नाक उनले आफ्नै हातले छ्याक्क ठुन्क्याए ।
कथा झुर छ । भ्रमको मायावी भर्याङको पापा देखाएर बालक-बबुरा भनिन लायकका बाबुरामलाई लोभ्याइयो । यो भ्रमका स्रष्टाहरूमध्ये एकथरी कुटिलमति सम्भ्रान्त काजीहरू थिए । अर्काथरी थिए, असल मनसाय भएका अगणित अकिञ्चन मानवहरू । कुटिलमति काजीहरू बाबुरामलाई उचालेर प्रचण्डलाई थचार्ने छिर्केदाउमा थिए । बाबुरामको भ्रान्तिकारी विम्ब रचना गरी माओवादीलाई आपसमा जुधाउनु, फुटाउनु र छिनेको हल्लुँड बनाउनु तिनको अभीष्ट थियो । यस प्रयोजनका लागि तिनले जाली जनमत बटुले । कथित जनमतमा तिनले बाबुरामलाई ख्यातिको चुलीमा चढाए र प्रचण्डलाई कुख्यातिको खौलोमा खसाए । हो न हो भनेर लोकका अकिञ्चन जीवहरूले पत्याए । अनि बाबुरामको यतै हाई-हाई भयो, उतै वाह-वाह भयो । यस्तो लाग्थ्यो मानौँ बाबुराम भन्ने एउटा त्यस्तो अद्भुत पात्र छ, जो सबै मानवीय सद्गुणहरूले टनाटन भरिएको छ । मानौँ बाबुराम प्रधानमन्त्री भएपछि देशका सबै विकराल समस्याहरू फुमन्तरको चमत्कारबाट साट्सुट्टै हल हुनेछन् ।
प्रधानमन्त्रीको कुर्सीको मुहुनीले गाँजेका बाबुरामलाई आफ्नो धरातलको हेक्का भएन । उनलाई आफ्नो आकार, आफ्नो बुता, आफ्नो संयोजन कौशल, आफ्नो समर्थनको वास्तविक वृत्त र पत्रु सत्ताको चरित्रको एकरत्ति हेक्का रहेन । कुटिलमति मनुवाहरूले आफूलाई आफ्नै नायकको शिरमा टेकाएर अग्लो बनाएको पनि उनलाई पत्तो भएन । सत्तामोहबाट वशीभूत भई बाबुराम बित्थामा बहकिए । उनी लोभिए । उनी फुर्किए । उनले आँखा चिम्लेर भ्रमको मायावी भर्याङ चढ्न खुट्टो उचाले । तथ्यलाई केलाएर सत्य बुझ्ने उनको माक्र्सवाद उनको लहडी मनको पन्तुरोमा विलुप्त भयो । र के-के न हुन्छु र के-के न गर्छु भन्ने मनचिन्ते सपनाहरूको झुत्रो झोली हल्लाउँदै बाबुराम लुत्त सिंहदरबार पसे । साँचो अर्थमा उनको साथमा न धोबीघाट थियो न नयाँबजार थियो । ती छन् भन्ने उनलाई भ्रममात्र थियो ।
सिंहदरबार पस्नु के थियो, बाबुरामको मथिङ्गलमा आफूमात्र देखिने र आफू एक्लैले देखाइदिने भूत सवार भयो । अनि सुरु भयो, उनको स्वच्छ छविको भेषमा प्रस्तुत हुने चुरिफुरीयुक्त अभिनय । किफायती भनिने मुस्ताङ म्याक्सको रूमानी कथा कथियो । अनि भूकम्पपीडित सहनागरिकहरूको आर्तनाद सुन्दै-नसुनी पृथ्वी हल्लिँदा-हल्लिँदै बाबुराम लुसुक्क राष्ट्रसंघको भ्रमणमा निस्के र फर्केर क्षतिपूर्तिको रूपमा पीडितहरूका नाउँमा भ्रमणभत्ता अर्पण गरे । यसो हेर्दा कुरा ठीकठीकै थियो । तर सत्ताइस लाख रुपियाँको आडम्बरी चियापानको फजुल खर्चको बाढीमा बगेर उनको किफायतीपन र त्यागको कथा टुकुचामा मिसिन पुग्यो । अनि सिंहदरबारमा अतिशय रकमभक्षी मन्त्रीहरूहरूको आँखाले भ्याउन्जेलसम्मको लर्को, बालुवाटारमा काम न काजका सहयोगीहरूको भीड, आफ्नो वर्ग र विचारका मानिसहरूलाई पाखा र पराइ वर्ग र पराइ विचारका मानिसहरूलाई काखा, अरे बाबा ! बाबुरामका कर्महरूको ऐनामा त के-के विपरीत देखियो, देखियो ! समष्टिको शक्ति संयोजन र परिचालन गरी समष्टिकै हितका लागि मरिमेट्नु कम्निस्ट सिद्धान्त हो क्यारे । तर आफ्नो चिन्तन र कार्यशैलीमा प्रधानमन्त्री बाबुराम कहीँ कतै पनि कम्निस्ट देखिएनन् । उनका कागजी योजनाहरूको सस्तो विज्ञापनबाजीमा समता, समानता र सामाजिक न्यायको गन्ध फिटिक्कै आएन । जे हुँ मै हुँको दम्भी मुद्रामा उनी ‘एकला चलो’को धुनमा लागे । दिल्लीमा उनले मनोमानी ढङ्गले ‘बिप्पा’ गरे र प्रत्युत्तरमा एकाघरका कामरेडहरूले उनको टिप्पा काडे ।
गर्न र देखाउन सकिने खास केही थिएन । तर गर्न र देखाउन बाबुरामलाई जङ चल्यो । समय र सन्दर्भ नमिल्ने र ह्याउले नभ्याउने आदेश, निर्देश र उद्घोष प्रधानमन्त्री बाबुरामको दिनचर्याका अभिन्न अंग बने । त्यसैले उनका प्रायःजसो आदेश, निर्देश र उद्घोष हरिबिजोकसँग बदर भए । कुनै एकाघरका कमरेडहरूका हातबाट बदर भए, कुनै सेनाका हातबाट बदर भए, कुनै प्रतिपक्षी दलहरूका हातबाट बदर भए, कुनै सर्वोच्च अदालतका हातबाट बदर भए र कुनै आफूमुनिका कर्मचारीहरूका हातबाटै बदर भए । लागू गर्न नसक्ने आदेश, निर्देश र उद्घोष जारी गर्नु र एकपछि अर्को अपमानजनक बदरबाट केही नसिक्नु बाबुरामको परिचय बन्यो । कमसेकम माओवादी लडाकुहरूलाई थान्को लगाउने कठिन कामको थालनी गर्ने जशको अंश बाबुरामका भागमा परेको थियो । तर सहस्र बदरहरूको छायामा परेर त्यो जश पनि शून्यमा शून्यसरी बिलायो । यसरी हद अभागी बाबुरामको छवि खुइलिँदै र चोइटिँदै विरूप र कुरूप हुनपुग्यो । र सत्ताको सर्वनाशी ह्युम पाइपमा उनको कायाकल्प भयो ।
प्रधानमन्त्री भनेको राज्य नामक विशालतम् परिवारको घरमूली हो । घरमूलीको काम उक्त परिवारका नानाओली भावना, कामना, अहं र टक्करहरूलाई मिलाएर राख्नु हो । जब घरमूली आफ्नै परिवारका सदस्यहरूको नाटीकुटी गर्दै हिँड्न थाल्छ, कुरो बुझ्नुपर्छ, परिवारमा उसको पकड र प्रभाव समाप्त भयो र ऊ पंगु भयो । पंगु बाबुराम हेर्दाहेर्दै माधवपथको शरण परे । पहिले प्रधानमन्त्री माधवकुमार नेपाल सचिवहरूलाई बटुलेर तिमीहरूले यस्तो र उस्तो नकाम गर्यौ भन्दै बर्बराउँथे र सचिवहरूचाहिँ उनका अमूल्य वाणीतर्फ ध्यानै नदिई हातेमोबाइल चलाउँथे, खासखास-खुसखुस गर्थे र माधव बाजेलाई हाकाहाकी गिज्याउँथे । झोँक्किएका माधव टेबुल ठोक्दै र र्याल काड्दै ध्यान दिएर मेरा कुरा सुन भनी कुर्लिन्थे । तर उनको कुर्लाइ सिलिङका माउसुलीबाहेक कसैले सुन्दैनथ्यो । तैपनि माधव लाजै नमानी प्रधानमन्त्रीको कुर्सीमा किर्नोसरी टाँस्सिइनै रहे । अहिले बाबुराम उनै माधवको सिको गर्दै चौतर्फी निन्दा अभियानमा डटेका छन् । मन्त्री, सचिव र दलका नेताहरू नै भ्रष्टाचारलाई बढावा दिइरहेछन् भन्दै बाबुरामका मुखबाट माधवको बासी टेप बजिरहेछ । सके भ्रष्टाचार रोक्नु, नसके कित चुप लाग्नु कि मैले सकिन बाबा भनेर थपक्क कुर्सी छाडेर हिँड्नु- माधवरूपी बाबुरामको अमर्यादित र असङ्गत चाल देख्दा के जाती गर्नेलाई भन्दा गरेको देख्नेलाई लाज भन्ने उखानको लाजमर्नु याद आउँछ ।
आयो कुरा अब बासी बोलीको । अहिले बाबुरामको बोलीमा पुराना प्रधानमन्त्री माधव नेपाल र झलनाथका बोली खप्टिएका म सुन्छु । बाबुरामको बोली सबैभन्दा तल छ र सबैभन्दा सानो छ । त्यसमाथि झलनाथको बोली छ र अझ त्यसमाथि छ, माधवको बोली । यी तीन बोलीमा माधवको बोली प्रतिनिधि बोली हो । त्यो बेजोड छ । आजका प्रधानमन्त्री बाबुरामका मुखबाट हिजोका प्रधानमन्त्री माधव-झलनाथ भनिरहेछन्- म विरल र निर्विकल्प मानव हुँ । अतः मेरै नेतृत्वमा सहमतिको सरकार बन्नुपर्छ । माधव-झलनाथको भाकामा र उनैको स्वरमा बाबुराम रातदिन भन्दाछन्- मैले कुर्सी छोडे मुलुक डुब्छ । तसर्थ मुलुक डुबाउनलाई म किमार्थ कुर्सी छोड्दिन । कुन दिन बाबुरामले माधव र झलनाथलाई माथ गर्दै मुलुकको रक्षार्थ म कुर्सीमै सहादत प्राप्त गर्न तयार छु भन्न बेर छैन !
राजनीतिमा उभिएको धरातल दरो छ भने राजनीतिकर्ता परिआउँदा कुर्सी छाड्न तयार हुन्छ । होलेरी काण्डमा सेनाले आफ्नो आदेश नमान्दा गिरिजाप्रसाद कोइरालाले कुर्सी छाडेकै त हुन् । कटवाल काण्डमा प्रचण्डले पनि त छाडे । तर जो उभिएको धरातल कच्चा छ, ऊ कुर्सी पाएपछि त्यसमा किर्नोसरी टाँस्सिइरहन मरिहत्ते गर्छ । तालुमा आलु फल्दा पाएको कामधेनु गाई हो । एकबारको जुनीमा फेरि पाइएला-नपाइएला, पाएको अनमोलको माल यस्सै किन छाड्नु ? यो हो माधव-झलनाथ-बाबुरामका तृषित आत्माबाट प्रकट भएको साझा बोली ।
अहो ! हेर्दाहेर्दै हिजोको आजै क्या उल्का भयो ! माधव र झलनाथका अतिशय कुर्सीप्रेमी हंसमा विलय भएर बाबुराम हराए । निरस गद्यमा यो जे लेखियो, त्यो बाबुरामको अवसानमा गाइएको विद्रुप शोकधुन हो ।
२०६८ साल, फागुन ८ गते सोमवार।
Leave a Reply