स्रोत: कान्तिपुर
-अतुल मिश्र
नियमित आँखा परीक्षण आवश्यक।
दुई दशकदेखि मधुमेहले ग्रस्त जीवन श्रेष्ठलाई अन्ततः झन्डै आँखाको दृष्टि गुमाउनुपर्ने स्थिति आयो । नियमित रूपमा आँखाको परीक्षण नगराउने श्रेष्ठलाई एक्कासि देख्न समस्या भएपछि आँखा परीक्षण गराउँदा मधुमेहले दृष्टिमा असर परेको जानकारी पाए ।
आँखा पछाडिको भागमा रक्तनली फुटेर जमेको द्रव्य (तरल पदार्थ) झिक्ने शल्यक्रिया भिट्रेक्टोमी गरेपछि उनको स्थितिमा सुधार आएको छ । विश्व स्वास्थ्य संगठनको अनुसार डाइबिटिक रेटिनोप्याथी अन्धोपनको एउटा प्रमुख कारण हो ।
‘मुलुकमा अन्धोपनको प्रमुख कारकमध्ये एउटा मधुमेह रोगले समेत स्थान लिएको छ,’ तिलगंगा आँखा प्रतिष्ठानका निर्देशक प्रा.डा. सन्दुक रुइत भन्छन्, ‘बदलिँदो जीवशैली र सहरीकरणले निम्तिएको मधुमेहले अन्य अंगसँगै आँखामा समेत प्रभाव पार्दैछ ।’
एक नयाँ अध्ययनका आधारमा मुलुकमा करिब दुई लाख व्यक्तिमा मधुमेहका कारण आँखा सम्बन्धी समस्या डाइबिटिक रेटिनोप्याथी रहेको अनुमान गरिएको उल्लेख गर्दै बीपी आँखा केन्द्र, त्रिवि शिक्षण अस्पतालका कार्यकारी निर्देशक प्रा.डा. डीएन साह भन्छन्, ‘यसमध्ये करिब २० हजार व्यक्तिलाई दृष्टि क्षमताको कमीसँगै अन्धता छ ।’
मधुमेहका रोगी डाइबिटिक रेटिनोप्याथीको प्रभावले अनजान हुन्छन् जो शरीरमा रक्तनलीको अनियमित परिवर्तनले हुन्छ र आँखाको पर्दालाई क्षति पुर्याउँछ । मधुमेहले आँखा पछाडिको पर्दा (रेटिना)मा भएको रक्त धमनीलाई क्षति पुर्याउने प्रक्रिया नै डाइबिटिक रेटिनोप्याथी हो ।
डाइबिटिक रेटिनोप्याथीको समस्या काठमाडौं लगायत मुलुकका सहरी क्षेत्रमा बढी देखिने गरिएको प्रा.डा. रुइत बताउँछन् । हाल यस्तो समस्या बढी मात्रामा मध्यम र उच्च वर्गमा देखिएको छ ।
मधुमेहले शरीरका प्रमुख अंगहरू जस्तै मस्तिष्क, मुटु, मृगौला र आँखालाई क्षति पुर्याउँछ । डाइबिटिक रेटिनोप्याथी बिनाकारण अन्धो हुने एउटा प्रमुख समस्या हो जसको रोकथाम सम्भव छ ।
‘मधुमेहले रक्तनलीको पर्खाललाई प्रभावित गर्छ, जसले रेटिनासम्म अक्सिजन लिएर जाने नशा कमजोर हुन्छ,’ प्रा.डा. साह भन्छन्, ‘मधुमेह जति लामो समयसम्म रहिरहन्छ, डाइबिटिक रेटिनोप्याथीको सम्भावना त्यति नै बढ्छ ।’ डेढ दशक पुरानो नियन्त्रित मधुमेहका रोगीलाई पाँच वर्ष पुरानो अनियन्त्रित मधुमेहका रोगीको दाँजोमा रेटिनोप्याथी हुने खतरा बढी हुन्छ । चिनीको मात्रा नियन्त्रित नहुँदा मधुमेहका रोगी डाइबिटिक रेटिनोप्याथीको सिकार हुन पुग्छन् ।
यूएस डिपार्टमेन्ट अफ हेल्थ एन्ड ह्युमन सर्भिस अन्तर्गत नेसनल आई इन्स्िटच्युटको तथ्यपत्र अनुसार केही व्यक्तिमा रेटिनामा भएको रक्तनली सुन्निएर चुहिने गर्छ । यस्तै केही व्यक्तिमा असामान्य रक्तनलीहरू रेटिनानजिक बन्ने गरेका हुन्छन् ।
आँखाको पछाडि रहने रेटिना सम्वेदनशील तन्तु हो । राम्रो दृष्टिका लागि एउटा स्वस्थ रेटिना आवश्यक हुन्छ । डाइबिटिक रेटिनोप्याथीले मुख्यतः दुवै आँखा प्रभावित हुन्छन् ।
नेसनल आई इन्स्टच्युटका अनुसार मधुमेह भएकाहरूले डाइबिटिक रेटिनोप्याथीका लक्षणहरू देखिएपछि उपचार गर्छु भनेर पर्खनु हुँदैन किनकि यसको प्रारम्भिक अवस्थामा कुनै लक्षण र दुखाइ देखिने गरेको पाइँदैन । यसको निदान भनेकै वर्षेनि न्यूनतम एकपटक आँखा परीक्षण गर्नु नै हो ।
रेटिनाको एउटा खण्ड “मेकुला” रगत चुहिएर सुन्निँदा दृष्टि धमिलो हुन्छ । यो स्थितिलाई मैकुलर इडिमा भनिन्छ । यदि रेटिनाको सतहमा नयाँ रगतको नली बन्छ भने यसले आँखाभित्र रगत चुहिएर दृष्टिमा अवरोध पुर्याउँछ ।
यसको उपचारमा भने हाल मुलुकमा लेजर, एन्टिभीईजीएफ एजेन्ट इन्जेक्सन र भिट्रेक्टोमी उपलब्ध छ ।
लेजरले रेटिनामा अक्सिजनको आवश्यकतालाई कम गर्छ । यस्तै एन्टिभीईजीएफ एजेन्ट इन्जेक्सनले रेटिनामा रक्तनलीको विकासलाई रोक्छ भने भएका कमजोर रक्तनलीलाई बलियो बनाउँछ । यस्तै भिट्रेक्टोमीअन्तर्गत आँखाभित्र रक्तस्रावलाई बाहिर निकालिन्छ ।
मधुमेह पीडित महिलाले गर्भधारण गरेको तेस्रो महिनामा आँखाको विस्तृत परीक्षण गराउनुपर्छ । र, पछि पूरा गर्भावस्थाको समयमा समेत मधुमेह सँगसँगै आँखाको समस्याबाट बचाउका लागि आँखा परीक्षण गराउँदै रहनुपर्छ ।
‘मुलुकका सबैजसो ठूलो अस्पतालमा यो सेवा उपलब्ध छन्,’ प्रा.डा. रुइत भन्छन्, ‘सामान्य व्यक्तिलाई समेत आँखाको नियमित परीक्षण आवश्यक छ भने अझ मधुमेह भएकाहरूले त विषेश ख्याल पुर्याएर नियमित आँखा परीक्षण गराउनुपर्छ ।’
सूर्तिजन्य पदार्थ त्यागौं
मधुमेह रोगीका लागि सूर्तिजन्य पदार्थ हानिकारक मानिन्छ । मधुमेह भएकालाई रेटिनोप्याथी हुन सूर्तिजन्य पदार्थ सेवनले धेरै सघाउँछ । ‘यो रोगको स्थितिलाई अझ नराम्रो बनाउनसमेत सूर्तिले महत्त्वपूर्ण भूमिका खेल्छ,’ प्रा.डा. साह भन्छन्, ‘मधुमेहमा रोगीले अन्धोपनबाट जोगिन कुनै पनि प्रकारका सूर्तिजन्य पदार्थ सेवन गर्नुहुन्न ।’
रक्तचाप नियन्त्रित राखौं
मधुमेहका रोगीले रक्तचापलाई चिकित्सकीय परामर्शअनुसार विभिन्न प्रक्रिया अपनाएर नियन्त्रित राख्नुपर्छ । ‘मधुमेहसँगै अनियन्त्रित रक्तचापले आँखाभित्र रक्तनली च्यातिने जोखिम बढाउँछ,’ प्रा.डा. रुइत भन्छन्, ‘रक्तचाप नियन्त्रणले यस्तो समस्या बचाउ हुन सक्छ ।’
आँखा परीक्षण गरौं
मधुमेह भएकाहरूले आँखामा कुनै पनि प्रकारका संक्रमण देखिए तुरन्त नेत्र चिकित्सकसँग परीक्षण गराउनुपर्छ । मधुमेह पीडितको घाउ निको हुन समस्या भएजस्तै आँखाको संक्रमण गम्भीर हुनाले तुरुन्त उपचार नगरे जोखिमपूर्ण हुन्छ ।
रेटिनोप्याथीको प्रारम्भिक लक्षण
चस्माको पावर बारम्बार परिवर्तित हुनु ।
मोतिबिन्दु हुनु।
बारम्बार आँखामा संक्रमण हुनु ।
बिहान उठेपछि कम देखिनु ।
रेटिनाबाट रगत आउनु ।
टाउको दुखाइ कायम रहनु वा एक्कासि दृश्यशक्ति कम हुनु।
बचाउ
-नियमित आँखा परीक्षण गरौं ।
– रगतमा कोलेस्ट्रोल र चिनीको मात्रालाई नियन्त्रित राखौं ।
– आँखा दुखेर अँध्यारोजस्तो महसुस भए तुरुन्त चिकित्सकीय परामर्श लिऔं ।
– मधुमेहका रोगीलाई वर्षमा न्यूनतम एकपटक आँखा परीक्षण गरौं ।
– मधुमेह भएको एक दशकपछि हरेक तीन महिनामा आँखाको परीक्षण गरौं ।
– मधुमेह भएका गर्भवतीले चिकित्सकीय परामर्श लिऔं ।
के हो मधुमेह ?
रगतमा निर्धारित सीमाभन्दा बढी चिनीको मात्रा हुनु नै मधुमेह हुनु हो । खाली पेट हुँदा रगतमा चिनीको स्तर सामान्यतः ११० मिलिग्रामभन्दा कम र ७५ ग्राम ग्लुकोज खाएको दुई घन्टापछि १४० मिलिग्राम भन्दा कम भएको अवस्था सामान्य हो । तर मधुमेहको स्थितिमा खाली पेटमा रगतमा चिनीको स्तर १२६ र ७५ ग्राम ग्लुकोज खाएको दुई घन्टापछि २०० मिलिग्रामभन्दा बढी हुन्छ ।
मधुमेहका मुख्य लक्षणहरू
थकाइ लाग्नु, कमजोरी हुनु, खुट्टा दुख्नु, ग्लुकोज ऊर्जामा परिवर्तित हुन नपाउनु, खुट्टाको घाउ निको नहुनु र गेङ्ग्रिनको रूप लिनु यसका मुख्य लक्षण मानिन्छ । बढी पिसाब र भोक लाग्नु, तीव्र रूपमा तौल घट्नु, बारम्बार चस्माको पावर परिवर्तित गर्नु, यौनाङ्गमा चिलाउनु र संक्रमण हुनु, हृदयाघात र मस्तिष्काघात हुनु पनि यसका प्रमुख लक्षणका रूपमा लिइन्छ ।
२०६८ साल कार्तिक २६ गते शनिवार।
Leave a Reply