स्रोत: गोरखापत्र
– बोधनाथ पौडेल
विजयादशमीपछिको अर्का ठूलो चाड तिहार पनि नजिकै आइपुगेको छ । यमपञ्चकलाई प्रचलित नेपालीमा तिहार र काठमाडौंको परम्परागत नेवारी भाषामा स्वांतिचह्रे पनि भनिएको पाइन्छ । तिहारसँग सम्बन्धित विभिन्न कथनहरूमध्ये एउटाको सम्बन्ध यमराजसँग रहेको र कात्तिक कृष्ण त्रयोदशीदेखि कात्तिक शुक्ल द्वितीयासम्म लगभग पाँच दिन मनाइने चलन भएकाले हामी यस चाडलाई यमपञ्चक पनि भन्दछौं । यमपञ्चकमा त्रयोदशीदेखि क्रमशः काग, कुकुर, गाई र लक्ष्मी, गोरु र बलि एवं गोवर्द्धन र अन्तमा यम र उनकी दिदी यमुनाको सम्झनामा दिदी बहिनीले दाजु भाइको पूजा गरेर यो पर्व समाप्त हुन्छ । पञ्चकको सुरूदेखि नै बहिनीले आˆना दाजुलाई घरमा निम्त्याउँछन् र मीठा खानेकुरा, मन परेको सामान दिई देवताको रूपमा पूजा गर्ने गर्दछन्।
भनिन्छ, मृत्युका देवता धर्मराज (-यमराज) पनि आफ्नो दैनिक कार्य स्थगित गरेर भाइटीका लगाउन आफ्नी बहिनी जमुना (-यमुना) कहाँ जान्छन् । एउटा आयु सकिएको व्यक्तिलाई लिन आएका यमदूत र स्वयं यमराजले समेत भाइटीका समाप्त नहुञ्जेल मेरो भाइलाई नलैजानुहोस् भनेर दिदीले गरेको अनुरोध स्वीकार गरी पर्खेको र अन्तमा यमराज र यमदूतलाई समेत मिष्ठान्न भोजन गराई पूजा गरी प्रसन्न बनाएपछि आˆनो भाइको आयु लम्ब्याउन दिदीले मेरो भाइको आयु समाप्त भइसकेकै छ, तपाईंहरूले नलगिछाड्नुहुन्न, त्यसैले म के वर माग्दछु भने मैले भाइलाई पूजा गर्दा लगाइदिएको मखमली फूलको माला नओइलाउन्जेलसम्म, मैले हालेको तेलको घेरा नसुक्दासम्म र ओखरले पानी नछोड्दासम्म मेरो भाइलाई नलैजानुहोला भनी चलाखी गरी वरदान मागेको हुँदा यमराजले उक्त व्यक्तिलाई लैजान नसकेको कथा पनि प्रसिद्ध छ । त्यही बेलादेखि तिहारमा दिदी बहिनीहरूले दाजुभाइहरूलाई ओखर दिने, मखमली फूलको माला लगाइदिने र तेलको घेराभित्र राख्ने चलन कायम भएको विश्वास गरिन्छ । त्यसैले भाइटीकालाई दाजुभाइ दिदीबहिनीहरूको पारस्परिक प्रेम र सद्भाव बढाउने र दुवै पक्षको कल्याणकारी चाडको रूपमा मनाइन्छ ।
तिहार पर्वका सम्बन्धमा अनेकौं कथाहरू पनि धर्मशास्त्रहरूमा वर्णन गरिएका छन्, । बलिराजाले थुनेर राखेकी लक्ष्मीलाई वामन अवतार भगवान्ले छुटाएको कथा एकातिर पाइन्छ भने अर्काेतिर बलिराजाले पातालको राज्य पाएको अवसरमा दीपावली गरेको वर्णन पनि भेटिन्छ । अर्काे कथनानुसार भगवान् विष्णुले नरकासुरलाई मारेर लोकको कल्याण गरेको उपलक्ष्यमा दीपावली मनाउने प्रचलन सुरू गरिएको थाहा हुन्छ । त्यसैगरी भगवान् रामले रावणमाथि विजय गरी अयोध्या र्फकेर राज्यारोहण गरेको अवसरमा पाँच दिनसम्म दीपावली गरिएको प्रसङ्ग पनि उल्लेखनीय छ । यहाँ यमपञ्चकका पाँचै दिनको महत्त्वबारे संक्षेपमा वर्णन गरिएको छ ।
काग तिहारः
कागलाई यमराजको सन्देशवाहक मानिन्छ । काग शुभ-अशुभ समाचारको वाहक तथा कर्कश आवाज भएको एक अशुद्ध पक्षी हो । यसले आफू फोहोर खाने अशुद्ध प्राणी भएर पनि हाम्रो वरपर फैलिएका खतरनाक एवं डरलाग्दा रोगका कीटाणुहरू खाएर हाम्रो वातावरणलाई स्वच्छ बनाउन मद्दत पुर्याइरहेको हुन्छ । त्यसकारण त्यही गुनको बदलामा हामी वर्षको एकपटक सम्मान दिई कागको पूजा गरेर काग तिहार पर्व मनाउँछौं । साथै हामीलाई पुर्खाहरूले कागजस्तो चङ्ख बनाउनका लागि वर्षमा एक दिन त्रयोदशी तिथिमा कागको पूजा गर्न सिकाएका हुन् कि भन्ने अनुमान पनि गर्न सकिन्छ ।
कुकुर तिहारः
चतुर्दशीका दिन विहान नदी, तलाउ, धारो, पँधेरो आदि ठाउँमा तेल लगाएर नुहाउने, अपामार्ग टाउकोमा लगाउने, नदीमा चौधवटा बत्ती बाल्ने गरिन्छ । चौध बत्ती बाल्ने प्रचलनले यमराजका चौध नामको स्मरण गराउँछ । यसो गर्नाले नरकबाट मुक्ति पाइन्छ भन्ने जनश्रुति रहेको छ । यो दिनलाई नरक चतुर्दशी अथवा कुकुर तिहार भनिन्छ । यस दिन कुकुरलाई मीठो खान दिने, पूजा गर्ने र माला लगाइदिने जस्ता कार्यबाट यमराज प्रसन्न हुन्छन् भन्ने धारणा रहेको छ किनभने कुकुरलाई यमराजको द्वारपाल मानिन्छ । कुकुर चलाख, होसियार र इमानदार प्राणी तथा स्वामीभक्त प्राणी हो । यसले घरको रक्षा गर्छ । यसैले यसको गुण र बुद्धिमत्ताको कदर गर्न वर्षमा एकपटक कुकुरको पूजा गरिन्छ । कुकुर तिहारका दिन कसैले पनि कुकुरलाई पिट्न हुँदैन भनेर बूढापाकाहरूले भन्दै आएको सुनिन्छ ।
गाईतिहार र लक्ष्मीपूजाः
यमपञ्चकको तेस्रो दिनलाई गाईतिहार भनिन्छ । औंसीको दिन पर्ने भएको हुनाले यसलाई गाईतिहारे औंसी भन्ने चलन छ । गाईतिहारे औंसी यमपञ्चक मध्येको महत्वपूर्ण दिन हो । मानिसहरूका लागि अत्यावश्यक साक्षात आमा सरह मानिएकी गौमाताको रूपमा गाईलाई पुजिनु स्वाभाविकै हो । लक्ष्मीको प्रतिरूप मानिएकी गौमाताको पूजा गर्नु हिन्दूहरूको निम्ति एउटा गौरवको विषय पनि हो । यस उपमहाद्वीपमा खेतीको विस्तार भएपछि नै गाई र गोरुको महत्त्वले नयाँ आयाम पायो । गाईले दूध दिने, गोरु पनि जन्माउने र गोरुले खेती तथा अनन्य कार्यमा ठूलो सघाउ पुर्याउने हुनाले गाई सबैका आमा र गोरु सहयोगी जनावर मानिए । यसैले गाईले मानिसहरूलाई गरेको गुणको सम्झनामा यस दिन विहानै गाईको सिङ् र खुरमा तेल लगाई जीउभरि चामलको पीठोको छाप लगाएर सिंगारिई कुँडो र खाद्य पदार्थ खुवाई गाई पर्व मनाइन्छ ।
गोवर्द्धन पूजाः
यस दिन गोरूपूजा, गोवर्द्धन पूजा र म्ह पूजा गरिन्छ । भगवान् कृष्णले स्वर्गका राजा इन्द्रको घमण्डलाई चूर पार्न गोवर्द्धन पर्वतको पूजा गरेको हुँदा हामीहरूले पनि कात्तिक शुक्ल प्रतिपदाका दिन घरघरमा गोवर्द्धन पूजा गर्दैआएका छौं । यो दिन बहर, बाछो,गोरु आदिको पनि पूजा गरिन्छ । कृषिका निम्ति हलो तानिदिने गोरु र भूमिलाई उर्वर गराउन मद्दत पुर्याउने गोबरको पर्वत नै बनाई पूजा गर्नु हाम्रो कृषिप्रधान देशका बासिन्दाका लागि स्वाभाविक र उचित प्रक्रिया मान्न सकिन्छ । यो दिन युवाहरू देउसी खेलेर रमाइलो गर्छन् । आजकै दिनमा म्ह पूजा अर्थात् आˆनै शरीरको पूजा गर्ने कार्य पनि विशेष गरी नेवार समुदायमा प्रचलित छ । यसै दिन नयाँ वर्ष हो र अर्थात् नेपाल संवत्को प्रथम दिन हो । ने.सं.को प्रारम्भ इ.सं. ८८० बाट भएको हो ।
भाइटीकाः
तिहारको प्रमुख दिन कात्तिक शुक्ल द्वितीया हो । यो यमपञ्चकको अन्तिम दिन पनि हो । यसमा दिदीबहिनीले दाजुभाइलाई टीका लगाइदिने प्रचलन छ । यस दिनलाई भाइटीका वा भातृद्वीतीया भनिन्छ । मखमली फूलको माला, मङ्गलसूचक दूबो र पञ्चरङ्गी टीका दिदीबहिनीले दाजुभाइलाई लगाइदिन्छन् । टीका लगाउनुअघि पानी तथा तेलको घेराभित्र दाजुभाइलाई राखेर दिदीबहिनीद्वारा ढोकाको सङ्घारमा ओखर फोड्ने तथा बिमिरो, निबुवाजस्ता फलहरूलाई केसरी, अबीर आदि रङगद्वारा रङ्गाएर यमराजको रूपमा पूजा गरिन्छ । दाजुभाइलाई टीका लगाउने बेलामा पूजा गरिएको बिमिरो, निबुवा आदि पछि दाजुभाइले नदेख्ने गरी दिदीबहिनीहरूले दोबाटोमा लगेरे राख्ने गर्छन् । टीकाको कार्यक्रम सकिएपछि स्वादिष्ट भोजन खुवाई उपहार पनि टक्रयाउँछन् । साथै दाजुभाइले पनि दिदी बहिनीलाई टीका लगाईदिई दक्षिणा र उपहार दिन्छन् । यसै दिनदेखि तिहार चाड समापन गरिन्छ ।
तिहार चाड सद्भावना, आपसी भाइचारा र मित्रताको प्रतीकको रूपमा मनाइँदै आएको चाड हो । तर हामीले यसलाई स्वच्छ रूपमा मनाउन सकिरहेका छैनौं । विगत केही वर्षयता एकता र उज्यालोको सन्देश दिने यस पर्वको गरिमामा केही कमी आउन थालेको प्रतीत हुँदैछ । द्यौसी र भैलोजस्ता विशुद्ध नेपाली नाचगानभित्र पाश्चात्य रक र पपले आधिपत्य जमाउन थालेको छ । त्यस्तै, छानामाथिका घिरौंला के के दिन्छन् हेरौंला; छानामाथि कालो कोट, दिनै लागे हरिया नोट, आदि शैलीबाट द्यौसी भैलो खेलिएको पाइन्छ र भनेको जति पैसा पाएनन् भने आशीषको सट्टा गाली दिएर गएको पनि सुनिन्छ । पहिलो पहिलो वर्षभरिमा एकपटक केवल मनोरञ्जनका लागि दीपावलीको बेला जुवातास खेल्ने छुट हुन्छ थियो । अहिले त वर्षभरि नै टोल, गल्ली र चोकचोकमा तास र जुवा खेल्नेहरू भेटिन्छन् । तिहारमा जुवा फुक्यो भन्ने उमङ्ग र उत्साह विकृत भएर गएको छ । अहिलेको जुवामा त दिनदिनै भित्रभित्रै कत्तिको उठिवास भएको छ, भन्न सकिने स्थिति छैन । तिहारमा बत्ती बालेर प्रकाश खोज्नु त उचित छ, तर भुईचम्पा, झिझिर्रे पड्काएर उज्यालो खोज्नु र टोलटोलमा विभिन्न थरिका रकेटहरू पट्काएर प्रतिस्पर्धा गर्ने चलनले तिहार पर्व विकृतिको रूपमा मौलाउन खोजेको प्रतीत हुँदैछ । यसैले यो पर्वको महत्ता बुझेर मात्र यो पर्व मनाउनु उपयुक्त हुनेथियो ।
Leave a Reply