स्रोत: नयाँ पत्रिका
-प्रा.डा.श्रीरामप्रसाद उपाध्याय
गहन अध्ययन गरेका र राजनीतिमा लामो समय बिताएका डा. भट्टराईले सबै दलसँग निरन्तर सम्पर्क र सम्बन्ध कायम गरी सहमतिका आधारमा शासन सञ्चालन गरेको खण्डमा उनले गोरखाका अर्का भीमसेनको सम्मान पाउन सक्नेछन् ।
रणबहादुर शाहलाई बनारसबाट नेपाल फर्काउने काम ज्यादै खतरनाक र जोखिमपूर्ण थियो । भीमसेन थापा बनारसको रसरंगमा रमाउने व्यक्ति थिएनन् । यिनले आफ्ना महत्त्वाकांक्षालाई बनारसको गल्लीमा मिल्काउन चाहेनन् । त्यसै हुनाले रणबहादुर शाहलाई आफ्ना शक्तिप्रतिको भरोसा जगाई बनारसबाट थानकोटसम्म ल्याउनमा भीमसेन थापाको चातुर्य र कूटनीतिले सहयोग पुर्याएको थियो ।
त्यसबखत नेपालमा कालु पाँडेका सन्तान दामोदर पाँडेजस्ता वीर पराक्रमी प्रधानमन्त्री थिए । नेपालको राज्य विस्तारदेखि तिब्बतको कुतीदेखि केरुङसम्म विजय गर्ने अभियानमा अग्रगामी नेतृत्व गरेका दामोदर पाँडेसँग प्रतिस्पर्धा गर्नु भीमसेन थापाका निम्ति फलामको चिउरा चपाउनुजस्तो थियो । तैपनि, नेपालको इतिहासका दुई वरिष्ठ पुरुष बीच द्वन्द्व र प्रतिस्पर्धा हुनु स्वाभाविक थियो । नेपालको इतिहासको घटनाक्रमको मूल्यांकन गर्दा यी दुई महापुरुषलाई को अगाडि को पछाडि, को सही को गलत भनी छुट्याउन गाह्रो पर्छ । त्यसैले नेपालका इतिहासकारहरूले यी दुवैका जीवनी महत्त्वसाथ लेखेका छन् । चित्तरन्जन नेपालीले ‘भीमसेन थापा र तत्कालीन नेपाल’ नामको पुस्तक र भीमबहादुर पाँडेले ‘त्यसबखतको नेपाल’मा पाँडेहरूको दुःखेसो पोखेका थिए । रणबहादुरका साथ भीमसेन थापा आफ्ना दलबलसाथ थानकोटसम्म आइपुगेको खबर सुनेपछि दामोदर पाँडे सेना सहित थानकोट पुगे । पाँडेलाई देखेपछि शाहको हंश उड्यो । उनी भाग्ने मनस्थितिमा पुगिसकेका थिए । तर, भीमसेन थापाकै बलमा यिनले पाँडेको नेतृत्वमा आएको फौजलाई आफ्नो पक्षमा पारेका थिए । त्यसपछि पाँडे समातिए र केही दिनपछि लुमडीथान अगाडि निर्ममतापूर्वक काटिए ।
दामोदर पाँडेको हत्यापछि पाँडे र थापाबीचको द्वन्द्व चुलिँदै गयो । पाँडे र थापाहरूको पानी बाराबार भयो । कसले कसलाई सिध्याउने भन्ने प्रतिस्पर्धा चल्यो । यस्तैमा आफ्नै सौतेनी भाइ शेरबहादुर शाहका हातबाट रणबहादुर शाहको हत्या भयो । त्यसै स्थानमा रणबहादुर शाहका अंगरक्षक तथा राणा प्रधानमन्त्री जंगबहादुरका पिता बालनरसिंह कुँवरको हातबाट शेरबहादुर शाह पनि काटिएका थिए ।
भीमसेन थापालाई आन्तरिक शत्रुभन्दा अंग्रेज साम्राज्यको दबदबा असैह्य भएको थियो । यिनले भारतबाट अंङ्ग्रेजलाई धपाई नेपाललाई खतरामुक्त बनाउने सोचको विकास गरेका थिए । यसका निम्ति यिनले दुई किसिमका रणनीति अख्तियार गरेका थिए । पहिलो नीति अन्तर्गत नेपालमा सैनिकीकरण गरी विशाल राष्ट्रको निर्माण गर्ने र दोस्रो भारतीय राजारजौटालाई अंगे्रज साम्राज्यविरुद्ध एकताबद्ध गर्ने थियो । भीमसेन थापाले अंगे्रजलाई भारतबाट निकाल्न फ्रान्सेलीको सहयोग लिने चेष्टा पनि गरेका थिए । यिनले नेपोलियन बोनापार्टसँग राम्रो सम्बन्ध विकसित गरेका थिए । नेपोलियन बोनापार्टको पतनसँगै यिनको फ्रान्सेली सहयोगको आशा मरेर गयो । भारतीय राजारजौटाले पनि अंगे्रज शक्तिको विरुद्धमा एकीकृत हुने हिम्मत गर्न सकेनन् । भीमसेन थापा एसिया महादेशका एक मात्र यस्ता सुपुत्र थिए, जसले एक्लै कहिल्यै सूर्य नअस्ताउने अङ्ग्रेज साम्राज्यलाई अस्त गराउने अठोट गरेका थिए । यिनको प्रधानमन्त्रीत्वकालमा नेपालको पश्चिमी सिमाना काँगडा भन्दा पर अलकनन्दासम्म पुग्यो । नेपालको महत्त्वाकांक्षा ब्रिटिस भारत सरकारका निम्ति असैह्य भयो । नेपालले अंगे्रजसँगको युद्धमा होमिनु पर्यो । यस युद्धको समयमा अमरसिंह थापा, भक्तिथापा, बलभद्र कुँवर, हस्तदल शाहीले देखाएको वीरता विश्व इतिहासका निम्ति उदाहरणीय बनेको छ । नेपाल-अंग्रेज युद्धपछि भएको सुगौली सन्धिमा नेपालको आधा भाग बि्रटिस इन्डियामा गाभियो ।
यहाँदेखि भीमसेन थापाको पतनको नालीबेली सुरु भयो । यसमा तत्कालीन बि्रटिस राजदूत ब्रेनहटन हडसनको ठूलो भूमिका रहेको आशंका गरिन्छ । तर, ब्रेनहटन हडसनको कूटनीति नेपालमा सफल हुन सकेको थिएन । त्यसबखत राजदूतहरू नेपालमा सजिलै सँग घुम्न र कसैलाई भेट्न पाउँदैनथे । सन् १८१४-१६ को नेपाल-अंगे्रज युद्ध सकिएपछि युद्धमा संलग्न सबै नेपाली सेनापति काठमाडौंमा जम्मा भए । यिनको युद्धकालमा सक्रिय जीवन बिलासिता तथा महत्त्वाकांक्षा तर्फ आकषिर्त भयो । सबै भीमसेन थापाको पतन गराई आफैँ प्रधानमन्त्री हुने होडबाजीमा लागे । यिनीमाथि अनेक झुटा मुद्दा लगाई जेलमा राखियो । यिनलाई जेलमा आत्महत्या गर्न विवश गरियो । आन्तरिक कलह र विद्रोहले गर्दा नेपाल मात्र होइन, एसियाका एक महान् सेनानायकको अन्त्य भयो । नेपालको इतिहासमा आफैँले खुकुरीले घाँटी रेटेर नौ दिनपछि मर्ने नेपालका पहिलो र अन्तिम प्रधानमन्त्री यिनै थिए ।
नेपालका वर्तमान प्रधानमन्त्री डा. बाबुराम भट्टराईको जन्म आजभन्दा ५७ वर्षअघि गोरखा जिल्लाको खोपलाङ गाउँको बेलबासमा भएको थियो । डा. भट्टराई जन्मनुभन्दा १७९ वर्षअघि गोरखाकै बोर्लाङमा भीमसेन थापाको जन्म भएको थियो । उमेरका हिसाबले प्रधानमन्त्री हुँदा डा. बाबुराम भट्टराईको उमेर राणा प्रधानमन्त्री जंगबहादुरको भन्दा २८ वर्ष र भीमसेन थापाभन्दा २५ वर्ष बढी थियो । जंगबहादुर प्रधानमन्त्री हुँदा २९ र भीमसेन थापा ३२ वर्षका थिए । डा. बाबुरामको जन्म हुँदा नेपालमा प्रजातन्त्रको लहर चलेको थियो । त्यही प्रजातन्त्रले नेपाली युवामा शिक्षाप्रति चेतनाको विस्तार भयो । यस चेतनाले डा. बाबुराम भट्टराईलाई शिक्षाको अवसर प्रदान गर्यो । तर, स्वतन्त्र राजनीतिक जीवन व्यतीत गर्न चाहनेहरूका निम्ति उक्त समय सहज थिएन । तैपनि, डा. भट्टराई र उहाँकी पत्नी हिसिला यमीले आफ्नो राजनीति र शिक्षालाई अगाडि बढाउने समान अवसर प्राप्त गरेको ज्ञात हुन्छ । डा. भट्टराईलाई चण्डीगढ विश्वविद्यालयबाट आर्किटेक्ट इन्जिनियरिङ र जवाहरलाल विश्वविद्यालयबाट विद्यावारिधि गर्ने अवसर प्राप्त भयो । भीमसेन थापाले कुनै पनि किसिमको शिक्षा प्राप्त गर्ने अवसर पाएनन् । यिनले आधुनिक शिक्षा प्राप्त गर्ने अवसर पाएको भए नेपाल उहिल्यै सुखी र सम्पन्न हुने थियो ।
माओवादी द्वन्द्वकालमा डा. भट्टराईको जीवन भीमसेन थापाको जीवन जत्तिकै खतरनाक र जोखिमपूर्ण थियो । तर, ०६२/६३ को जनआन्दोलनपछि भएको शान्ति-सम्झौतायताको जीवन भने सहज र सुखी बन्दै गयो । भीमसेन थापाको सम्पूर्ण जीवन आन्तरिक र बाह्य रूपमा खतरा र जोखिमपूर्ण थियो । तत्कालीन रुढीबादी समाजमा कुनै सुधारवादी आन्दोलनलाई अगाडि बढाउनु सम्भव थिएन । पश्चिमी सभ्यता र ज्ञानबाट अनभिज्ञ प्रधानमन्त्री भीमसेन थापालाई तत्कालीन धर्ममा आधारित सरकारी संयन्त्रलाई विकासोन्मुख बनाउनु अत्यन्त कठिन कार्य थियो । तैपनि, यिनले जोखिम उठाएर भए पनि सेनाको आधुनिकीकरण, धरहरा निर्माण, बागदरबार निर्माण, सतीप्रथा तथा दासप्रथाको अन्त्य गर्ने चेष्टाजस्ता केही सुधार गर्न ढिलो गरेनन् ।
अध्ययन र राजनीतिमा लामो समय व्यतीत गरेका डा. बाबुराम भट्टराईले सबै दलसँग निरन्तर सम्पर्क र सम्बन्ध कायम गरी सबैको सहमतिका आधारमा शासन सञ्चालन गरेको खण्डमा डा. भट्टराईले गोरखाका अर्का भीमसेनको सम्मान पाउन सक्नेछन् । नेपाली जनतासमक्ष वाचा गरेअनुसार संविधानको खाका समयभित्र प्रस्तुत गर्ने, सेना समायोजन गर्दै जाने र सर्वदलीय संयन्त्र बनाई स्थानीयदेखि केन्द्रीय स्तरसम्म विकास निर्माणका काममा तीव्रता दिने हो भने वषौर्ंदेखि उत्पीडन र अभावमा पिल्सिएका नेपाली जनताले राहतको सास फेर्न पाउने थिए ।
भीमसेन थापाका सामाजिक तथा राजनीतिक परिवेश त्यतिको सहज थिएन । त्यस हिसाबले आजको सामाजिक तथा राजनीतिक परिवेश पूर्ण भिन्न छ । जनताले आफ्ना प्रतिनिधिबाट संविधान बनाई संविधानसभामार्फत जनताको संविधान पाउने आशा गरेका छन् । आज समाज सचेत र राजनीति सक्रिय छ । संविधानसभालाई संसद् ठानेर पक्ष-विपक्षमा विभाजित हुनुभन्दा संविधान निर्माण र विकास निर्माणको कामलाई साझा एजेन्डा बनाई अगाडि बढाउनु आवश्यक छ । संविधानले एकैपटकमा पूर्णता पाएको हुँदैन । हाम्रो छिमेकी भारतमा पनि संविधानमा सयौँपटक संशोधन भएको छ । त्यसै दृष्टान्तका आधारमा जनतालाई सचेत गराई संविधानको खाका उपलब्ध गराउनुका साथै जनचाहना अनुसार त्यसमा संशोधन गरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जगतको विश्वास प्राप्त गर्नु गोरखाली युवा तथा नेपालका वर्तमान प्रधानमन्त्री डा. भट्टराईको राष्ट्रिय उत्तरदायित्व हो ।
Leave a Reply