स्रोत: कान्तिपुर
-फूलमान वल
‘बधाई छ,’ मदन पुरस्कार गुठीका अध्यक्ष कमलमणि दीक्षितले शनिबार साँझ ७ बजे कवि दुर्गालाल श्रेष्ठलाई ‘जगदम्बा पुरस्कार पाउनुभो’ भन्दै फोन गर्दा ७७ वषर्ीय दुर्गालाल ठमेलस्थित घरमा आराम गरिरहेका थिए । ‘मैले यसलाई हृदयंगम गर्नै सकिरहेको छैन,’ पुरस्कार घोषणापछि कान्तिपुरसँग कुरा गर्दै दुर्गालालले भने, ‘आफैंचाहिँ योग्य छु या छैन भन्नेमा अलमल भइररहेको छु ।’
लेखकलाई प्रोत्साहन, सम्मान या पुरस्कारले हमेसा हौस्याउने बताउँदै उनले आफू पनि ‘निकै खुसी रहेको’ बताए । ‘लेखकले कहिल्यै पनि पुरस्कारका लागि लेखिरहेको हुँदैन,’ सेतै फुलेको कपाल र बाक्लो ज्यानमा उज्ज्यालो अनुहार भएका स्रष्टाले भने, ‘सिर्जनाको सम्मान स्वरूप समाजबाट पाइने प्रोत्साहन स्रष्टाका लागि सदैव ऊर्जा बनिरहेको हुन्छ ।’ त्यसो त उनी आफै पनि साहित्यमा योजनागत रूपमा आएको स्विकार्दैनन् । विसं. १९९२ मा असन न्हैकनटोलमा जन्मेका उनी सानैमा नेवारी जात्रा संस्कृति, झाँकी र डबली नाटकहरूको परिवेशमा खेल्दै हुर्के । ‘इन्द्रजात्रा, गाईजात्रा लगायतका जात्राहरूमा गीत गाउने, नाच्ने र नाटक गर्ने गरिन्थ्यो,’ उनले सम्झे, ‘सायद यही परिस्थितिले मलाई साहित्यतिर हुत्याइदियो ।’
झन्डै तीन दर्जन नेपाल (नेवारी) भाषामा कविता, खण्डकाव्य, गीति संग्रहका कृति निकालेका उनका एक दर्जन जति नेपाली कविता, खण्डकाव्य प्रकाशित छन्, दर्जनौं गीति एल्बमसमेत निकालेका छन् । मदन पुरस्कार गुठीले ‘चार दशक देखि मातृभाषा तथा नेपाली सुमधुर गीत, कविता तथा बालसाहित्य लेखी नेपाली वाङ्मयलाई समृद्ध तुल्याउने काममा निरन्तर गरिरहे बापत यस वर्षको जगदम्बा पुरस्कार दिने निर्णय गरेको’ जनाएको छ । पुरस्कार राशि २ लाख रुपैंयाँ रहेको छ ।
‘मैले नेपाल र नेपाली दुवै भाषामा कलम चलाएँ,’ दुर्गालालले भने, ‘र, बाँचुन्जेल चलाइरहने छु ।’ दुर्गालालले पुरानै दिनहरू सम्झे, जति बेला उनी साहित्यमा भर्खरै लाग्दै थिए । ‘पहिलोपटक मैले डबली नाटक गर्दा म ११ वर्षको थिएँ,’ उनले भने, ‘त्यो केटाकेटी नाटकको नाम ‘प्रेम, जीवन र अन्धकार’ थियो ।’ त्यसपछि दर्जनौं डबली नाटक गरेका उनले पहिलोपटक २२ वर्षको उमेरमा नेवारी भाषाको ‘झसुका’ (सुस्केरा) कविता संग्रह निकालेका थिए। नाटक भने फुटकर पत्रिकाहरूमा प्रकाशित भए, कृतिको रूपमा आएन । प्रज्ञा प्रतिष्ठानले गर्ने राष्ट्रिय नाटक प्रतियोगितामा समेत उत्कृष्ट नाटककारको अवार्ड पाए पनि उनले कविता, खण्डकाव्य र गीतमै धेरैजसो कलम चलाए ।
त्यसपछि क्रमशः ‘सिनियम किसिचा’ -चिनीको हात्ती), ‘लिसँ’ -जोड्ने) लगायत दर्जनौं नेवारी भाषाका कविता-खण्डकाव्य र रुसी लेखक पुस्किनको कथामा आधारित ‘इच्छाको सिमाना’ खण्डकाव्य, ‘फूल तिम्रै बारीको’, ‘तपक’, ‘अलिअलि टेक्सास’, ‘संघारै नेर’ लगायत दर्जन नेपाली कविता संग्रह निकाले । आनी छोइङ डोल्माको स्वर रहेको पाँचवटा एल्बममा समेत जीवनपरक दार्शनिक अर्थका सरल गीतहरू लेखेका उनका नेवारी भाषामा लेखिएका सयौं गीतसमेत रेकर्डेड छन् । पछिल्लोपल्ट चर्चा पाएको गीतमध्ये ‘फूलको आँखामा फूलै संसार…’ एक हो ।
नेपाल भाषा परिषद्बाट नेवारी भाषा साहित्य र संस्कृतिमा योगदान पुर्याएबापत ‘जनकवि’को उपाधिसहित सम्मानित उनले दर्जनौं सम्मान थापिसकेका छन् । शनिबार मात्रै उनले नेवारी भाषामा ‘भिक्षुयाः मतिना’ -भिक्षुको प्रेम) नामक खण्डकाव्य सार्वजनिक गरेका छन् । औपचारिक शिक्षा हालिस नगरे पनि उनले कन्या माविमा २३ वर्ष पढाएका थिए। आरआर क्याम्पसमा नेपाली र नेवारी साहित्यमा झन्डै ६ वर्ष प्राध्यापन । कन्यामा पढाउनु अघि झन्डै पाँच वर्ष अन्यत्र पढाएका उनलाई शिक्षासेवीको रूपमा समेत लिइन्छ । ‘जीवनमा लेख्ने, पढ्ने र पढाउनेभन्दा केही गरिएन,’ उनले भने, ‘खुसी छु ।’
२०६८ साल भदौ ४ गते आईतवार।
Leave a Reply