स्रोत: कान्तिपुर
-मधु शाही
उनी बोल्न, हिँड्न र उभिन सक्दिनन् । ३१ वर्षीया झमक घिमिरेले शनिबार साँझ मदन पुरस्कार पाएको खबर सुनेपछि खुसी बाँड्न पनि आमा आशादेवीको सहारा लिनुपर्यो । उनले आमा मार्फत कान्तिपुरलाई भनिन्, ‘एकदमै खुसी छु ।’
जन्मैदेखि “सेरेब्रल पाल्सी” नामक रोगबाट पीडित झमकको आत्मकथा कृति ‘जीवन काँडा कि फूल’ का लागि मदन पुरस्कार गुठीले २०६७ को मदन पुरस्कार दिएको हो । कान्तिपुर दैनिककी स्तम्भकार समेत उनी २०२२ मा पारिजातले पाएपछि मदन पुरस्कार पाउने पहिलो महिला भएकी छन् । २ लाख रुपैयाँ र सम्मानपत्र रहेको पुरस्कार दसैंको नवरथामा प्रदान गरिने छ ।
‘पुरस्कृत नहुँदा त मैले साहित्य कोरिरहेकै थिएँ,’ रामकृष्ण सिर्जना प्रतिष्ठानले गरेको सम्मान थाप्न केही दिनअघि राजधानी आइपुगेकी झमकले मदन पुरस्कार पाउने खबर सुनेपछि आमा मार्फत भनिन्, ‘सम्मान र माया पाएपछि त चुप लागेर बस्ने कुरै भएन ।’
औपचारिक शिक्षा नपाएकी उनी खुट्टाका तीन औंलाले कलम च्यापेर लेख्छिन् । भविष्यको खोजीमा अल्झिएका हरेक युवालाई जीवनमा संघर्ष गर्दै निराश नहुन आग्रह गर्छिन् । ‘निरन्तर प्रयास गर्नुस्, सफलता आफैं मिल्छ,’ शुक्रबार भेट हुँदा उनले खुट्टाले लेखेर भनेकी थिइन्, ‘यो उमेरमा नगरेर कहिले गर्ने ?’ २०३७ असार २१ गते धनकुटामा जन्मेकी झमकले १५ वर्षको उमेरमै अनौपचारिक शिक्षा मार्फत खुट्टाले कलम चलाएर ‘संकल्प’ कविता संग्रह प्रकाशित गरेकी थिइन् । त्यसयता उनले ‘रात र भूतप्रेतहरूको सन्त्रास’, ‘बेमौसमका आस्थाहरू’ (निबन्ध संग्रह), ‘आफ्नै चिता अग्नि शिखातिर’ (लेख र कविताहरूको संग्रह), ‘झमक घिमिरेका कविताहरू’ लगायत दर्जन कृति प्रकाशन गरिसकेकी छन ।
हँसिली स्वभावकी झमक तीन बहिनी र एक भाइकी जेठी दिदी हुन् । जतिबेला पनि किताबलाई साथी बनाउने उनले एकान्त र सुनसानका समयमा रचना कोर्ने आमा आशादेवीले बताइन् । ‘एक्लै छाड्नै हुँदैन,’ उनले हाँस्दै भनिन्, ‘जति बेला पनि कापी र कलम । कहिलेकाहीं त अति नै भयो भनेर कुरा गरेर अल्मलाउन खोज्छौं । राति सबै सुतिसकेपछि लुसुक्क उठेर लेख्न सुरु गरिहाल्छे ।’
कसैले मायाले बोलाएको क्षण झमक सबैभन्दा खुसी हुने आमा आशाले बताइन् । ‘झमक मेरी मात्र छोरी होइन, नेपालकै छोरी हो,’ उनले भनिन्, ‘ऊ माया र प्रेरणाकी भोगी छे ।’ कुनै दिन झमककै कारणले छिमेक र आफन्तबाट ‘पापिनी थिइस् र यस्तो सन्तान पाइस्’ भन्ने छिछि, दुरदुर खेप्नुपरेको सम्झँदै उनी भावुक भइन्, ‘अहिले तिनै मान्छेले बहादुर छोरीकी आमा भनेर बोलाउँछन् ।’
पाठकका लागि केही भन्नु छ ? ‘प्यारा पाठकलाई यति मात्र भन्न चाहन्छु कि,’ शुक्रबार उनले खुट्टाले लेखेर भनेकी थिइन्, ‘झमक अहिले बाँच्ने काममा लाग्दैछे ।
‘ झमकले ‘शंकर लामिछाने निबन्ध पुरस्कार’, ‘उत्तम शान्ति पुरस्कार,’ ‘क्षेत्रीय शान्ति पुरस्कार’ लगायतका सम्मान पाइसकेकी छन् ।
२०६८ साल भदौ ४ गते आईतवार।
Leave a Reply