स्रोत: कान्तिपुर
‘करोडौं मुटुहरूको एउटै ढुकढुकी नेपाल…’ कालजयी गायक अरुण थापाको यही गीत मार्फत बिहीबार राजधानीमा सम्झना गरियो । नेपाल मगर विद्यार्थी संघद्वारा बाह्रौं अरुण स्मृति संगीत पुरस्कार वितरण तथा सम्मान कार्यक्रम गरिएको थियो, गायक भीम बुढाथोकीले ‘ऋतुहरूमा तिमी हरियाली वसन्त हौ…’, राम सुस्लिङ मगरले ‘म रोए पनि…’ र वेदु सारूले ‘जति माया लाए पनि…’ लगायत अरुणका आदि दर्जन गीत गाए ।
कर्णपि्रय स्वरका धनी अरुण छोटो समयमै थोरै गीत गाएर प्रसिद्धि कमाउने कलाकार मध्ये पर्छन् । बुबा गञ्जुप्रसाद थापा मगर र आमा शान्तिको कोखबाट २००९ मा जन्मिएका अरुणले २०३२ मा रेडियो नेपालको स्वर परीक्षा उत्तीर्ण गरेका थिए । त्यही वर्ष उनले विक्रम गुरुङको रचना र ओमविक्रम विष्टको संगीतमा पहिलोपल्ट ‘कतै टाढा तिमीबाट पुगेँ भने सम्झेर नरुनू…’ गीत गाएका थिए ।
सुरुवाती गीत खासै चर्चामा नआए पनि २०३४ तिर ‘ऋतुहरूमा तिमी हरियाली वसन्त हौ…’, २०३६ मा ‘जति माया लाए पनि…’, गाएपछि उनी श्रोताका ढुकढुकी बन्न थाले । भावुक स्वभावका अरुणको प्रेमजीवन पनि उत्तिकै चर्चामा आउँछ । क्याम्पसको विशेष कार्यक्रम माझ मोहम्मद रफीको ‘मेरा जीवन कोरा कागज…’ गाएर प्रेमिकालाई मोहित बनाएका थिए । प्रेमिका स्वयंले राखेको प्रस्तावलाई स्विकादै दुवैले भागेर विवाह गरे । माइती पक्षले अरुणसँग छुटाएर अन्यत्र बिहे गराइदिएपछि अरुणको जीवनमा औंसी पर्यो ।
प्रेम-विछोडको घाउलाई मलम लगाउन उनले ‘चोट के हो व्यथा के हो…’, ‘जति माया लाए पनि…’, लगायतका वियोगान्तक गीत गाउन थाले । दोस्रो विवाहसमेत सफल नभएपछि उनी जीवनदेखि निराश हुन पुगे । अधिक लागूपदार्थ सेवनका कारण कलेजोमा हेपाटाइटिस ‘बी’को संक्रमणबाट पीडित भएका उनको २०५६ मृत्यु भएको थियो ।
उनै मर्मस्पर्शी गायकको सम्झनामा मगर विद्यार्थी संघले वर्षेनि कार्यक्रम गर्दै आएको छ र उनकै नाममा पुरस्कार र सम्मानसमेत स्थापना गरेको छ । यसपटक अरुण स्मृति पुरस्कारबाट संगीतकार, गीतकार एवं गायक दीपक थापा मगरलाई सम्मान गर्यो । सञ्चारमन्त्री अग्निप्रसाद सापकोटाले पुरस्कृत स्रष्टालाई नगद ५ हजार रुपैयाँ हस्तान्तरण गरे । सँगै सगरमाथा आरोही कुलबहादुर थापा मगर, आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानका उपाध्यक्ष झकबहादुर थापा मगर र नेपाल प्रहरी एआईजी कुवेरसिंह थापा मगरलाई मन्त्री सापकोटाले सम्मान गरे ।
सम्मानित स्रष्टा दीपकले २०३९ बाट संगीत करिअर थालेका हुन् । तीन दशकअघि रेडियो नेपालबाट स्वर परीक्षा उत्तीर्ण गरेका दीपकले हङकङमा ‘नयन’ नामक सांगीतिक ब्यान्डसमेत खोलेका छन् । सुक्मित गुरुङको स्वरमा सजिएको गीत ‘ओ मेरो पि्रयतम…’ बाट उनी संगीतकारका रूपमा चिनिएका हुन् । यसपछि उनले जगदीश समालको ‘तपोवन…’, ‘मध्याह्न’ ब्यान्डको ‘जिन्दगीको के भरोसा…’, जुना प्रसाईको ‘नदेखेको भए हुन्थ्यो…’ लगायत दर्जनौं गीतमा संगीत गरे । आफ्नै शब्द-संगीत र स्वरमा ‘विदेश जाने मायालु…’ गाएका उनी गीतसमेत लेख्छन् ।
२०६८ साल श्रावण ६ गते शुक्रवार।
Leave a Reply