स्रोत: कान्तिपुर
-सुरज कुँवर
१० दिन अघि हो । राजधानी वासिङटन डिसीमा अमेरिकी परराष्ट्र मन्त्री हिलारी किलिन्टनले ‘ब्रेभ एन्ड वन्डरफुल वोमेन’ भन्दै धाप मार्दै चरीमाया तामाङको हातमा सम्मानपत्र थम्याइरहँदा उनको आँखामा एकाएक २२ महिने मुम्बईको ब्रोथल (कोठी) बसाइका काला दिन नाच्न थाले । १६ वर्षको किशोरावस्थामा बेचिएकी उनले इज्जत लुट्ने यौनपिपासुले झम्टेको, लडाएको, इज्जत हरण गरेको अनि चिथोरेको सम्झिन् । आकासे निलो सारी र ब्लाउजमा पहिलोपटक अमेरिका पुगेकी उनको अनुहार खुम्चियो । खुट्टा लुला भए । उचाइमा ६४ वर्षीया परराष्ट्रमन्त्री हिलारी भन्दा होची चरीमाया मन्त्रीको शरीरमा अडेसिन पुगिन् । हिलारीले उनको पिठ्यूँमा धाप मार्दै मसारिरहिन् । यो दृश्यले विश्वका नौ जना अभियन्तालाई सम्मान गरिने कार्यक्रममा सहभागी पाहुना पनि भावुक बने । केही मिनेटको यस क्षणपछि चरीमाया होसमा आइन् । हिलारीको अनुहार हेरिन् । हाँसिन्, अनि अंग्रेजीमा भनिन्- ‘थ्याङक्यु !’ ‘एक जुगमा एक दिन आउँदोरहेछ’ त्यसबेला चरीमायाको स्मरणले तीव्र गतिमा विगत सम्झायो । ‘मैले कल्पनै गरेकी थिइनँ जे भइरहेको थियो’ ‘२०११ हिरो एक्टिङ टु इन्ड मोर्डन डे स्लेभरी’ सम्मान पाउनेमध्येकी उनले भनिन् । अमेरिकी विदेश मन्त्री हिलारी किलिन्टनले वासिङटन स्थित आफ्नो मन्त्रालयमा आयोजित ‘२०११ ट्राफिकिङ इन पर्सन्स (टीआईपी)’ प्रतिवेदन सार्वजनिक गर्दै चरीमाया तामाङलाई दिएको सम्मानले नेपाल विश्वभर ‘घिनलाग्दो’ मानव बेचबिखनको विषयले फेरि चिनिएको छ । छ महिनाको अन्तरपछि दोस्रो नेपाली महिला अमेरिकी सरकारले दिएको सम्मानले चर्चामा आएपछि धेरैका लागि यतिबेला चरीमाया तामाङ को हुन् ? अमेरिकी सरकारले उनलाई किन सम्मान गर्यो ? लगायतका जिज्ञासा बढेका छन् ।
काठमाडौंको गौरीघाटमा रहेको शक्ति समूह नामको गैरसरकारी संस्थामा आबद्ध भई बेचबिखनमा परेका चेलिबेटीको हकहित, सुरक्षा, पुनस्र्थापनामा १३ वर्षयता लागिरहेकी चरीमाया सिन्धुपाल्चोकको हुबैङ-३ गौरुङथोकमा जन्मेकी हुन् । नागरिकता अनुसार ३५ वर्ष पुगेकी तर वास्तविक जन्म मिति थाहा नभएकी चरीमाया १६ वर्षको उमेरमा छिमेकी गाउँका चार दलालका पन्जामा परेर मुम्बई पुर्याइएकी थिइन् । सुन्दरीजलको सीमा पर्ने शिवपुरी वनमा घाँस काटिरहेको एक बिहान उनकै गाविस तर अर्को वडाका वीरे तामाङ, क्यारसिङ तामाङ, मनु तामाङ र थकनीका कृष्ण तामाङले पहिले फकाए तर चरीमायाले नमानेपछि बल प्रयोग गरी औषधि खुवाई बेहोस बनाए । त्यसताका गाउँको श्रीकालिकाशरण प्राविबाट ५ कक्षा पास गरेकी अलि चुलबुले स्वभावकी चरीमायालाई भोलिपल्ट ती चार दलालले गोरखपुर पुर्याउँदा होस खुल्यो । उनले भनेअनुसार शिवपुरीबाट गोरखपुरसम्म कसरी पुगियो उनले भेउ नै पाइनन् । लुङ्गी र चोलोमा घाँस काटिरहेकी चरीमायालाई दलालले गोरखपुर पुर्याउँदा सुरुवाल कुर्ता लगाइदिएका थिए । एक होटलमा राखिएकी उनलाई दलालले ‘अब फर्केर गए गाउँले बहिष्कार गर्छन्, हिँड राम्रै काम हो लगाइदिन्छौं’ भनेर लोभ देखाई फकाएपछि किशोरी अवस्थाकी उनी मौन समर्थन जनाउँदै त्यहाँबाट मुम्बई पुगिन् ।
जहाँ उनलाई पुर्याइयो, त्यहाँकी साहु नेपालीभाषी र तामाङ पनि जान्ने थिइन् । पहिलो साताको दुई दिन उनले माया गरेकी थिइन् । उनलाई छाडेर ती दलाल फर्किएपछि चरीमायाले आफूलाई बेचेको थाहा पाइन् । उनले आत्महत्याको प्रयास गरिन् । तर असफल भइन् । सातापछि त्यहाँ रहेका अरू चेलिबेटीले झैं उनलाई पनि जबरजस्ती देहव्यापरमा लगाइयो । बाल्यकालमै बुबा गुमाएकी चरीमायाको इज्जत लुटियो । यता सिन्धुपाल्चोकमा रहेको घर/आमा/दुई दाजु/एक दिदी सम्झेर उनी रोइन् । गुहार मागिन् । कसैले उनको गुहार सुनेन । ती चार दलालले उनलाई ५० हजार भारतीय रुपैयाँमा बिक्री गरेको थाहा पाइन् । सानैमा गाउँमा चेलिबेटी बेचबिखनबारे सुनेकी उनले केही महिनापछि आफूलाई बिक्री गर्ने दलालले काठमाडौंका गलैंचा कारखानाबाट थप चार किशोरी बिक्री गरेको थाहा पाइन् । मुम्बईको अधेरीमारमा रहेको उक्त ब्रोथेलमा उनले २२ महिना बिताउनुपर्यो जहाँ नेपालीसहित केही युवती थिए । दिनमा १५ भन्दा बढी ग्राहकका चाहना पूरा गर्नुपर्ने उनीहरूका लागि खाना र बस्ने व्यवस्था त्यहींभित्र थियो । ब्रोथेल सञ्चालिकाले उनको नाम अनु राखिदिइन् । जसोजसो सञ्चालिका भन्थिन् त्यसैअनुसार उनले झन्डै २ वर्ष बिताइन् । २०५२ साल माघ महिनाताका मुम्बई प्रहरीले कमठीपुर लगायतका स्थानमा छापा मारी ४ सय बढी युवतीको उद्धार गर्यो जसमा चरीमाया पनि थिइन् । उद्धारपछि उनलाई मुम्बईको सरकारी गृहमा ६ महिना राखियो । त्यसपछि २०५३ साउन ७ गते उनीसहित १ सय २८ नेपाली चेलिबेटीलाई काठमाडौंमा रहेका ७ वटा गैरसरकारी संस्थाहरूले समन्वय गरी काठमाडौं ल्याए । काठमाडौंमा उनलाई बालुवाटारको नवज्योति केन्द्रमा पुनस्र्थापना गरियो । उनीसहित अरू १३ युवती पनि त्यहीं राखिए । ६ महिनापछि उनी गाउँ फर्किइन् ।
गाउँले उनलाई सहजै स्विकारेन । उनको परिवारको आलोचना गरियो । त्यही बेला उनीसहितका प्रभावित युवतीहरूले शक्ति समूह नामको संस्था काठमाडौं प्रशासनमा दर्ता गराइसकेका थिए । गाउँ पुगेपछि उनले सिन्धुपाल्चोक जिल्ला अदालतमा आफूलाई बिक्री गर्ने चार दलालविरुद्ध मुद्दा दर्ता गरिन् । अदालतले चारै जनालाई १० वर्ष कैद सजाय तोक्यो । आफूलाई बिक्री गर्ने विरुद्ध उनले दर्ता गरेको मुद्दा पहिलो मानियो । त्यसपछिका दिनमा उनी प्रभावितको हकहितमा सक्रिय भइन् र छिन् पनि । ‘म बाँचुन्जेल मानव बेचबिखन विरुद्धमा लागिरहनेछु,’ उनले भनिन् । उनको यही अभियानको मूल्यांकन गर्दै काठमाडौंमा रहेको अमेरिकी दूतावासले चार महिनाअघि चरीमायालाई ‘२०११ हिरो एक्टिङ टु इन्ड मोर्डन डे स्लेभरी’ का लागि मनोनयन गरिएको बताएको थियो । उनीसहित बेचबिखन विरुद्ध काम गरिरहेका ७ जनालाई पहिलो चरणमा छनोट गर्दा उनले खासै केही होला भन्ने ठानेकी थिइनन् । त्यसको २ महिना पछि मनोनीत सबै सहभागी एक समारोहमा दूतावासले अमेरिकी परराष्ट्र मन्त्रालयले चरीमाया उक्त सम्मानका लागि छानिएको बताएको थियो । मन्त्रालयको कार्यक्रम अनुसार उनी जुन महिनाको २४ तारिख सम्मान थाप्न एक्लै अमेरिका गएकी थिइन् । १० दिनको बसाइपछि साताअघि नेपाल फर्किएकी चरीमायाले सम्मानले ‘थप जिम्मेवारी बोकाएको’ बताएकी छन् । ‘अब मैले गाउँ फर्केर खेती गरेर होइन, मानव बेचबिखन विरुद्ध सशक्त अभियान चलाउनुपर्ने भएको छ,’ उनले बिहीबार कान्तिपुरलाई भनिन् ।
पुनस्र्थापना भएको करिब चार वर्षपछि अर्थात् २०५७ सालको दसैंमा सिन्धुकोटका शम्भु तामाङ पाखि्रनसँग बिहे गरेकी उनी हाल काठमाडौं डेरामा बस्दै आएकी छन् । दुई छोरीकी आमा चरीमाया ४ र १ कक्षामा पढ्दै गरेकी छोरीको भविष्यबारे पनि चिन्तित छिन् । अमेरिकी सम्मानपछि थप चर्चामा आएकी उनले काठमाडौं फर्केको साता बितिसक्दा पनि राजधानीको एक निजी स्कुलमा पढ्दै गरेका छोरीहरूलाई भेट्ने समय पाएकी छैनन् । ‘अहिले बढी अन्तरवार्तामै समय बितिरहेको छ,’ उनले भनिन्, ‘मेरा श्रीमान्लाई पनि सम्मान र अमेरिका भ्रमणबारे बेलिविस्तार गर्न पाएकी छैन ।’ थाइल्यान्ड, श्रीलंका, बंगलादेश, पाकिस्तान, भारत पनि घुमिसकेकी उनले पनि पढाइलाई निरन्तरता दिँदै आएकी छन् । ‘मैले त पढ्न पाइनँ, यिनलाई राम्ररी पढाउने रहर छ,’ उनका पति शम्भुले भने । चरीमाया हाल चाबहिलको पशुपति क्याम्पसमा १२ कक्षामा पढ्दै छिन् ।
शिक्षा पढ्दै गरेकी उनलाई स्नातकोत्तर सम्म पढ्ने रहर छ । तर संस्थाका कामले उनी क्याम्पस नियमित जान पाउँदिनन् । उनको संस्थाले राजधानीका दुई स्थानमा सुरक्षा आवास सञ्चालन गरेको छ जहाँ ४० बढी प्रभावित युवती/किशोरी छन् । उनीहरूलाई तालिम, शिक्षा, पुनर्स्र्थापना लगायतका काममा सघाउनु चरीमायाको जिम्मेवारी हो ।
२०६८ साल आषाढ २५ गते शनिवार।
Leave a Reply