स्रोत: कान्तिपुर
-अतुल मिश्र
के तपाईं निहुरेर कुचोले दिनहुँ घर सफा गर्नुहुन्छ ? लुगा धुदा, खाना पकाउँदा, भुइँ पुछ्दा बसेरै काम सक्नुहुन्छ ? पलेटी कसेर बस्ने बानी छ ? ढाड बंग्याएर कुर्सीमा बस्नुहुन्छ ? यस्तै गर्नुहुन्छ भने आफ्नो शारीरिक मुद्रा (बडी पोस्चर) मा सुधार गर्नुस् । नत्र तपाईंलाइ छिट्टै ढाड दुख्ने समस्याले पिरोल्न सक्छ ।
‘ढाड दुख्ने सबैभन्दा महत्त्वपूर्ण कारण नराम्रो तरिका (ब्याड बडी पोस्चर) ले काम गर्नु हो,’ अन्नपूर्ण न्युरो अस्पतालका वरिष्ठ स्नायु शल्य चिकित्सक वसन्त पन्त भन्छन्- ‘ढाड दुख्ने समस्या कुदाकुदयुक्त आधुनिक जीवनशैलीको उपहार हो ।’ उनका अनुसार गृहिणीहरूले कुचोमा लट्ठी जोडेर उभिएर घर बढार्दा ढाडमा पर्ने दबाब धेरै कम हुन्छ । खाना बनाउँदा वा लुगा धुँदा पनि उभिएर ती काम गर्ने गरे पिठिउँले धेरै राहत पाउँछ । ढाडमा अनावश्यक दबाब दिनु हुँदैन । काउचमा बस्नु राम्रो नहुने उल्लेख गर्दै डा. पन्त भन्छन्, ‘मन्त्रीजीको स्टाइलमा बस्दा ढाडमा असर पार्छ ।’
अमेरिकास्थित नेसनल इन्स्टच्युट अफ अर्थ्राइटिस एन्ड मस्कुलोस्केलटल एन्ड स्किन डिजिज (एनआईएएमएस) का अनुसार तीन महिनाको समयावधिमा एक चौथाई वयस्क अमेरिकी न्यूनतम एक दिन पिठिउँ दुखाइ अनुभव गर्छन् ।
नेपालमा भने यसबारे कुनै अध्ययन नभए पनि ढाड दुखाइको एउटा अवस्था अन्तर्गत नसा च्यापिएको डिस्कलाई छुट्याउने शल्यक्रिया बर्सेनी करिब तीन सय जति गर्ने गरेको डा. पन्त बताउँछन् । यसले नै नेपालमा पिठिउँ दुख्ने समस्याको स्थिति बताउँछ ।
ढाड दुख्नुको मुख्य कारण ढाडको हाड र त्योसँग जोडिएको मांसपेशी हो । गलत तरिकाले बस्दा, उभिँदा, सुत्दा, काम गर्दाताका आवश्यकता भन्दा बढी दबाब पर्दा यो दुख्न थाल्छ ।
‘हामी आफ्नो दिनचर्याको समयमा कम्मरको दुरुपयोग धेरै गर्छौं,’ डा. पन्त भन्छन्- ‘घन्टौं सम्म ओछ्यानमा पल्टिराख्नु वा गलत मुद्रामा बस्नु, सुत्नु र उठ्नु पिठिउँ दुखाइका कारक हुन् ।’
ढाड ३३ वटा ससाना हाडले बनेको हुन्छ । प्रत्येक दुई हाडको बीचमा एउटा डिस्क हुन्छ । शरीरको माथिल्लो भागको सम्पूर्ण तौल ढाडको हाडले नै सहन गर्नुपर्छ । यसैले पिठिउँ दुख्ने समस्या हुन्छ ।
‘ढाडको सबैभन्दा अन्तिम हाड एल-४, एल-५ अथवा, एस-१ मा सबैभन्दा बढी तौलको दबाब हुन्छ,’ पन्त भन्छन्- ‘करिब ९० प्रतिशत स्लिप-डिस्क यही ठाउँमा हुन्छ।’ गर्हौं तौल उठाउँदा, खेल वा कुनै क्रियाअन्तर्गत शरीरलाई गलत रूपले तन्काउँदा वा अचानक कुनै दबाबले गर्दा स्लिप डिस्क हुन्छ ।
एनआईएएमएसका अनुसार पहिलो चोटि पिठिउँ दुखाई ३० देखि ४० वर्षको उमेरमा देखिन सक्छ । उमेर ढल्कँदै जाँदा पिठिउँ दुख्ने समस्या हुँदै जान्छ । शारीरिक रूपले स्वस्थ नभएकाहरूमा यस्तो समस्या सामान्य हो । कमजोर ढाड र पेटको मांसपेशीले पिठिउँको हाडलाई राम्ररी आधार दिन सक्दैन ।
आवश्यकता भन्दा बढी मिहिनेत गर्नुले समेत पिठिउँ प्रभावित भइरहेको औंल्याउँदै डा. पन्त भन्छन्- ‘थाके पनि निरन्तर काम गर्नु पिठिउँ दुखाइलाई निम्त्याउनु हो ।’ गलत तरिकाले व्यायाम गर्दा समेत ढाड दुख्न सक्छ ।
उमेर वृद्धिसँगै ढाडको हाडमा कमजोरी आउन थाल्छ । ‘सामान्यतयाः ४०-४५ वर्षको उमेरदेखि हाड पातलो हुने समस्या उब्जन थाल्छ,’ ग्रान्डी इन्टरनेसनल हस्पिटलका निर्देशक वरिष्ठ हाडजोर्नी विशेषज्ञ डा. चक्रराज पाण्डे भन्छन्- ‘यसले गर्दा पनि ढाड दुख्छ ।’ उनका अनुसार मसल वा लिगामेन्टमा दबाब परेर, गलत मुद्राका कारण, स्लिप डिस्क, ढाडमा संक्रमण, ट्युमर र अस्टियोपोरोसिस्, ढाड दुख्ने मुख्य कारणहरू हुन् ।
ढाडको हाड चोट, दबाब र कुनै पनि प्रकारको विकारले तनावग्रस्त भए समस्या हुन्छ । स्लिप डिस्कका पीडितहरूलाई पिठिउँको दुखाइ सामान्य समस्या रहेको डा. पन्त बताउँछन् । यसबाहेक पोषक तत्त्वको कमी, लामो रोग आदिले समेत पिठिउँ दुख्ने गर्छ ।
शरीरमा पोषक तत्त्वको कमीले गर्दा रक्तसञ्चार प्रकृयामा गडबडी हुँदा ढाडको हाडमा बढी दबाब पर्छ र दुख्न थाल्छ । कामसँगै आराम नगर्ने, बढी परिश्रम गर्नेहरूलाई पनि ढाड दुख्ने समस्याले पिरोल्छ ।
‘पेट बढ्नु समेत ढाड दुख्ने एउटा कारण हो,’ डा. पन्त भन्छन्- ‘बढी मोटा व्यक्तिहरू पनि पिठिउँ दुखाईले पीडित हुन्छन् ।’
हाइ हिल भएका जुत्ता, चप्पल लगाउँदा यसको सीधा असर ढाडमा पर्छ र पिठिउँमा समस्या निम्तिन सक्छ । ‘बढी हिल भएका जुत्ता-चप्पल बढी समय सम्म नलगाउनुस्। यसले तपाईंको मांसपेशीमा आवश्यकता भन्दा बढी दबाब पार्छ । हिल नभएका जुत्ता ढाडका लागि राम्रो रहेको उल्लेख गर्दै डा. पन्त भन्छन्- ‘बाहिर कडा र भित्र नरम पmलाट जुत्ता राम्रो हुन्छ । जुत्ताको बाहिरी सोल कडा हुनुपर्छ, इनर सोल नरम ।’
हाइ हिल लगाउने व्यक्ति अग्लो देखिए पनि ढाडबाट होचो हुने उल्लेख गर्दै डा. पाण्डे भन्छन्- ‘अग्लो हिलका कारण ढाडलाई दबाब मात्र पर्दैन, यो लगाउनेहरू हाम्रो जस्तो नराम्रो बाटोमा लडे भने खुट्टामा समस्या देखिने सम्भावना धेरै बढी हुन्छ ।’
खाँदा, बस्दा, उठ्दा, काम गर्दा, हिंड्दा गलत शारीरिक मुद्रामा सुधार ल्याएर हामी ढाडको पीडाबाट जोगिन सक्छौं । गलत मुद्रामा बस्नु ढाडका लागि असाध्यै नराम्रो हो । सधैं आरामदायी स्थितिमा बस्दा कतै झुक्नु हुँदैन ।
पिठिउँ दुख्ने समस्यालाई सामान्य रूपमा नलिने सुझाव दिंदै डा. पन्त भन्छन्- ‘यदि तपाईं असजिलो अनुभव गर्नुहुन्छ भने विशेषज्ञको सल्लाह लिनोस् । समयमै उपचारले यसबाट हुन सक्ने सम्भावित जटिलताबाट मात्र बच्न सकिँदैन, पीडा समेत हटाउन सकिन्छ ।’
Leave a Reply