स्रोत: नागरिक दैनिक
-कृष्ण धरावासी
मधेसी, आदिवासी तथा जनजातिले आ-आफ्ना जातीय समस्या र मुद्दालाई उठाएर सरकारसँग अनेकौँ माग राख्दै चरणबद्ध आन्दोलन गरेपछि ती आन्दोलनको मनोवैज्ञानिक निशानामा क्षत्री, बाहुन पर्न थाले। ढिलो गरी क्षत्रीहरुले खस क्षेत्री समाज र जैसी, कुमाई र उपाध्यायहरुले ब्राह्मण समाज गठन गरी अरुले जस्तै जातीय तथा क्षेत्रीय मागहरु राख्न थाले। अरु जातजातिले जस्तै बन्द र हडतालमा उत्रिएर यी उपल्लो जात मानिएकाहरु पनि संगठित हुन थाले। सबै जातले आ-आफ्ना माग राखेर आन्दोलन गरिरहँदा यिनीहरुले चाहिँ किन नगर्नु भन्ने प्रश्न स्वाभाविक छ। हावा जता बग्छ, पात त्यतै उड्छ। तर, प्राप्त लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्दै दिगो पारेर लैजान यस्ता जातीय संकीर्ण चेतना लाभकारी हुँदैनन्।
अरु सबै जातिले आ-आफ्ना अधिकारका कुरा गरुञ्जेल केही नबोल्ने, हामीले थालेपछि चाहिँ तँलाई केको टाउको दुखाइ? जस्ता कुराहरु आउन सक्छन्। प्रजातन्त्रमा जसले पनि आफ्ना आवाज उठाउन पाउँछ। अरुलाई पीर नपारी आफ्ना कुरा जति पनि गर्न पाइन्छ। तर, आफ्ना कुरा गर्न सारा देश र समाजलाई ठप्प पार्न पाइन्न। कुनै पनि जातीय वा राजनीतिक संगठनहरुले आफ्ना माग पूरा गराउने नाममा अरुका मौलिक हक हनन गर्न पाउँदैनन्। आ-आफ्ना सीमा र क्षेत्रभित्र रहेर विरोध प्रदर्शन गर्नुपर्नेमा जहिले पनि बजार बन्द, सडक जाम, तथा तोडफोड गर्नुले प्रजातन्त्रप्रतिको जनविश्वासमा आँच आउँछ।
नेपालमा जातजाति सम्बन्धी दुई खाले मान्यता छन्। पहिलो मान्यता हो हिन्दू धर्मको वर्णाश्रम पद्धति अनुसार वर्गीकृत जातजाति। जस्तै ब्राह्मण, क्षत्री, वैश्य र शुद्र। दोस्रो मान्यता हो- इतरहिन्दू जनजाति तथा आदिवासी। यी दुवै वर्गका जातजातिभित्र समस्या छन्। वर्णाश्रम पद्धतिभित्रका जातजातिमा शुद्रमा परेका भनिने दलितहरु तथा आदिवासी मानिने तराईवासी सतार, धिमाल, राजवंशी, मेचे, कोचे, आदि। यी जातजातिमा देखिने पछौटेपनका पछि अशिक्षा, गरिबी र रुढ सांस्कृतिक मान्यता छन्। यिनको उत्थानका लागि विभिन्न चरणमा सरकारी सहभागिता देखिएको छ।
त्यसै वर्णाश्रम पद्धतिमध्ये सबैभन्दा उपल्लो जातिको मानिने ब्राह्मण समाजमा पनि अनेकौँ समस्या छन्। ब्राह्मण समाजभित्र पनि हिन्दू धर्मभित्र रुढ बनेर रहेको छुवाछुत समस्या प्रशस्त छ। ब्राह्मण भनिए पनि जैसी र कुमाई समुदायले पकाएर दिएको खाना उपाध्यायले खाँदैनन्। उपाध्यायको चुलोमा जैसी र कुमाइ चल्दैनन्। पश्चिम नेपालमा कुमाईहरु उपाध्यायसरह रहे पनि पूर्वमा कुमाई र जैसी एकै श्रेणीका मानिन्छन्। आज गठन भइरहेको ब्राह्मण समाजमा यी तिनै खाले ब्राह्मण परे पनि छुवाछुतको जातीय उच्चतामा रहने उपाध्यायहरुले ब्राह्मण समाजको जसअपजस बोक्नुपर्ने हुन्छ।
उच्च कुलमा जन्मन पाएका उपाध्याय ब्राह्मणहरु आ-आफ्ना क्षमता र योग्यताले राज्यका महŒवपूर्ण सुविधा सम्पन्न ठाउँमा पुगेका छन्। २००७ सालपछिको राजनीतिमा सबैभन्दा धेरै सत्तासुख पनि उपाध्याय ब्राह्मणहरुले भोगेको पाइन्छ। आजसम्म पनि ठूला दलका शीर्षस्थ पदमा उपाध्याय ब्राह्मणहरु नै छन्। सुशील कोइराला, झलनाथ खनाल र प्रचण्ड यसका उदाहरण हुन्। नीति निर्माणदेखि त्यसलाई पालन गराउने सबै ठाउँमा यस जातिका व्यक्तित्वको वर्चस्व छ। आर्थिक र बौद्धिक दुवै रुपले सम्पन्न यस जातिलाई नेपालको इतिहासमा सुरुदेखि नै दरबारभित्र भेटिन्छ। दरबारलाई रिझाएर पाएका बिर्ताका आधारमा यिनीहरुका थरगोत्रसमेत निर्धारित भएका पाइन्छन्। तैपनि ब्राह्मणको आरोपमा खप्की खानेहरु माथि वर्णन गरिएका तहका ब्राह्मणहरु पर्दैनन्। गाउँ समाजमा ब्राह्मणको आरोपमा खप्की खानेहरुमा ती निरिह पुरेत पर्छन् जसले प्रत्येक दिन जजमानको घरमा गएर उनीहरुको शुद्धशान्ति र कर्मकाण्ड गरिदिनुपर्छ। हिन्दू धर्मभित्र गढेर रहेको छुवाछुतको संकीर्णताका संवाहकका रुपमा मानिन्छन् पुरेतहरु। उनीहरु आफैँ एकअर्काको नियन्त्रण र निर्देशनमा हुन्छन्। जजमानहरु पनि त्यही ढंगले प्रशिक्षित भएका हुँदा कहिलेकाहीँ जजमानले समेत पुरेतको शुद्धताको मूल्यांकन गरिरहेका हुन्छन्। एकले अर्कालाई कसिलो गरी समातेर गतिहीन भई बसेको समाज छ गाउँमा। जति ठूला राजनीतिक परिवर्तनहरु आए पनि कर्मकाण्डमा खासै संशोधन हुन नसकेकाले क्षत्री-बाहुन समाज सबैभन्दा उच्च र बौद्धिक भएर पनि रुढताको पराकाष्ठामै उभिएको छ।
ब्राह्मण समुदायका नाममा एक्लो भारी बोक्न बाध्य पुरेतहरुको करुण अवस्थाको भने खासै अध्ययन भएको छैन। दमाई, कामी, सार्की र पुरेतले स्थायीरुपमा जजमानी गर्ने परम्परा गाउँमा अझै छ। बालीमा काम गर्ने दमाई, कामी र सार्कीहरुले ज्यालामा काम गर्न थालेर स्वतन्त्र भए पनि पुरेतहरु अझै बन्दी अवस्थामै छन्। पुरेतहरु जजमानको बन्धनमा हुन्छन् भनेको सुन्दा धेरैलाई अचम्म लाग्ला तर एक्काइसौँ शताब्दीको गणतान्त्रिक नेपालमा एउटा यस्तो जाति छ जो सांस्कृतिकरुपले बन्धक मजदुरसरह छ। त्यसको श्रमको कुनै मूल्य हुँदैन, त्यसले त्यो काम गर्दिनँ भन्न पाउँदैन। काम गरेबापत उसलाई कुनै सम्मान छैन।
कुल पुरेत वा पुजेको पुरेतको सम्मानित सम्बोधनभित्र सबैभन्दा धेरै सांस्कृतिक शोषणमा परेको छ यो वर्ग। मृतकको उद्धारका निम्ति शैया दानदेखि काट्टो खानेसम्म काम गर्नुपर्ने बाध्यतामा रहेको यी पेसाकर्मी सबैभन्दा धेरै आलोचना खपेर पनि निरन्तर काम गर्न बाध्य छ। आजको युगमा संसारमा कुनै मजदुरी यस्तो छैन जसको ज्याला निर्धारण नगरिएको होस्। लौका, फर्सी, काँक्रासमेत तौलिएर बिक्री हुने बजारमा एउटा पुरेतमात्र यस्तो छ जसको मजदुरीको ज्याला कति हुन्छ भन्ने ऊ स्वयंलाई थाहा हुँदैन। उसले नगरी पनि हुँदैन, गरीकन पनि श्रमको मूल्य छैन।
पुरेतले खेती गर्न पाउँदैन, व्यापार गर्न भ्याउँदैन। जागिर खानेले पुरेत्याइँ गर्दैन। उसको सम्पूर्ण बाँच्ने आधार भनेकै पुरेत्याइँ हो। हरेक दिन ऊ कहीँ न कहीँ व्यस्त हुन्छ। आफ्नो खेतीपाती भए पनि अर्कालाई ज्यालामा जोत्न लगाई ऊ जजमानकहाँ पुगेको हुन्छ। त्यस घरमा न्वारन, श्राद्ध, विवाह, व्रतबन्ध, सत्यनारायणको पूजा आदि कुनै पनि कर्म गरेबापत उसले पाउने ज्याला कति हो? पूजा सकिएपछि जजमानले फूलपातीले छोपेर दुनामा राखेका केही नोटलाई संकल्प गरेर लिनुबाहेक उपाय छैन। मलाई यतिले हुँदैन, पुगेन भन्न पाइन्न। दिनभरि काम गरेर बेलुका जाने बेला जग्गेमा छरिएका दसबीस रुपियाँका खुजुरा र अनेकथोक मिसिएको २/४ केजी चामलको पोको हल्लाउँदै कमिजको माथिल्लो गोजीमा सय, पचासको नोट बाहिरैबाट देखिने गरेर सजाउँदै जानुबाहेक के उपाय छ?
आजसम्म मैले कुनै पनि पुरेतले पुरेत्याइँ गरेर तीन तले घर ठड्याएको देखेको छैन। कुनै पनि पुरेत निरोगी र सम्पन्न देखेको छैन। अर्काको बाबुको सराद्धे गर्न बिहानैदेखि भोकै जान बाध्य छ ऊ। जजमानको बाबुको पो श्राद्ध त, पुरेतले भोकै किन बस्नु? सारा पूजा सकिँदा दिनको बाह्र-एक बज्छ, अनि पुरेतलाई घिउ र तेलमा तारेका पकवान दिइन्छ। ऊ ग्यास्ट्राइटिसले अररिँदै घर पुग्छ।
पुरेतलाई दान दिने भनेपछि बजारमा पाइने सबैभन्दा कमसल र सस्ता वस्तुहरु किनिन्छन्। ढल्न लागेको गाई, बस्दै खुट्टा भाँच्चिने खाट, त्यस्तै लुगा फाटाहरु। व्यापारीले समेत आफैँलाई कि दान गर्न भनेर सोध्छ। जे दिए पनि नबोली स्वीकार गर्न बाध्य छ पुरेत। पुग्दो ज्याला पनि नदिने जजमानले काम सकिएपछि भन्छन्, ‘टपरे ‘।
सबै प्रकारका पेसामा आबद्ध संघसंगठनले आफ्नो श्रमको मूल्य आफैँ तोक्छन् वा सरकारले तोकिदिन्छ। सरकारले घरेलु हलीको समेत न्यूनतम ज्याला तोकिदिएको छ। हाम्रा यी श्रद्धेय पुरेतहरुको भने कसैले श्रमको मूल्य तोकेको छैन। ‘किन तोक्नु ज्याला? दान पाउँछन्, पूर्ण पात्रो पाउँछन्, खलोफूलो पाउँछन्। सबैको मूल्य जोड्दा राम्रै हुन्छ नि।’ त्यसो भनेर मूल्यहीन श्रमको उपयोग गर्नु हुन्छ? त्यसरी गोडैमा ढोगिने मान्छेको आत्मसम्मान बचाउनु पर्दैन? तिनलाई अँध्यारो अनुहार पारेर आफ्नो घरबाट बिदा गर्नु हुन्छ? आजको युगमा पनि दान ग्रहण गर्ने व्यक्तिको रुपमा कसैलाई समाजमा स्थापित गर्नु हुन्छ? कसैले पनि कसैबाट दान लिनु वा दिनु मानसिकरुपमा अपराध हो। आफ्नो श्रमको मूल्य शिर ठाडो पारेर लिनु पाउनु पर्दैन?
विवाहको कति, व्रतबन्धको कति, न्वारानको कति, श्राद्धको कति, किरियाको कति, सत्यनारायणको पूजाको कति? प्रत्येक समय र अवस्था हेरी न्यूनतम ज्याला निर्धारण भए जजमान र पुरेत दुवैलाई सजिलो हुन्छ। दुवैको मनमा दुबिधा हुँदैन। विचरा जजमान पनि कति दिँदा पुरेत खुसी होलान् भन्ने मानसिक तनावमा हुन्छन्। ज्याला निर्धारण भएदेखि त्यसैअनुसार खर्चको तयारी गर्न पाउँछ जजमानले पनि। अनि त्यो ज्याला लिँदा पुरेतले पनि संकल्प गरिरहनु पर्दैन। जग्गेमा फिँजाइएका टपरीको चामल पनि पोको पार्नु पर्दैन। त्यसपछि पुरेतहरु पनि मोटरसाइकलमा चढेर जजमानकहाँ आउन सक्छन्।
ब्राह्मणको आरोप खपेर सबैभन्दा शोषित र दमित यस पेसाकर्मीको मुक्तिको लडाइँचाहिँ कसले लडिदिने? सनातन धर्म सेवा समिति, विश्व हिन्दू महासंघजस्ता ठूल्ठूला संस्थाले कर्मकाण्डमा रहेका आधुनिकतासँग बाझिने हदसम्मका कुराहरुमा सुधार गर्दै पुरेतको जीविकाको व्यवस्था गर्ने संस्थागत निर्णय किन गर्न सक्दैनन्। सरकारमा बसेका उपाध्याय ब्राहमणले नै आफ्नो जातिको कल्याणका लागि ज्याला किन तोकिदिँदैनन्? आज संगठित ब्राहमण समाजले यी पुरेतको पेसागत हितबारे सोच्नु पर्दैन? सामाजिकरुपमा अव्यावहारिक हुँदै गएका कर्मकाण्डलाई संशोधन गर्न ‘निर्णयासिन्धु २’ को परिकल्पना गर्नु पर्दैन? अरु जातिले जस्तै सडकमा टायर बालेर, सरकारलाई थर्काउँदैमा आफ्नो जातिको संरक्षण हुन सक्दैन भन्ने ब्राहमणले बुझे राम्रो होला।
२०६८ साल जेठ २४ गते मंगलवार।
कुमाई बाहुन हरु उपद्ध्याया हैनन् वन्ने कुरा भ्रामक छ. उपाध्याय बाहुन हरु पुर्बिया र कुमाई रहेका छन् . यिनी न हरु दुवै अर्को भन्दा आफु ठुलो रहेको दाबी गर्छन . राज दरबार मा रहेका गुरु पुरोहित कुमाई नै थिए. कुमाई हरु को बस्ति पश्चिम मा र पुर्बिया को पूर्व मा ज्यादा रहेको छ. जहाँ जस्व्को बस्ति धेरै छ त्यहाँ तेसै को प्रधानता रहेको छ. धराबासी पनि यस बाट मुक्त भेतिएन.