स्रोत: ई-कान्तिपुर
–अतुल मिश्र
मुलुकका विभिन्न भागका फलफूल पसलमा अचेल एकनासले पहेंलिएका आँप सहजै देख्न सकिन्छ । सामान्यतः आँप वा कुनै पनि फल पाक्दा एकैनासले रंगीन देखिँदैन । रसायनले पकाउँदा मात्र त्यस्तो हुन्छ । कृत्रिम तरिकाले पकाइएर आकर्षक देखिने भएका आँप खाएर धेरै व्यक्ति स्वास्थ्य बिगारिरहेका छन् । पहेंलो केरा, मेवा, अम्बा, भुइँकटहरबाट सावधान हुनुपर्छ ।
एकैनासले पाकेका वा आकर्षक देखिने फलफूलले हाम्रो शरीरलाई फाइदाभन्दा बढी बेफाइदा गर्न सक्छ । प्राकृतिक रूपमा पाकेका फलफूलले मात्रै शरीरलाई फाइदा पुर्याउँछन् । चाँडो बेचेर छिटो धनी हुन चाहने व्यापारीले फलफूललाई कार्बाइडले हालेर पकाउँछन् । ‘कार्सिनोजेनिक’ कार्बाइड, क्यान्सर उत्पन्न गर्ने कारक मानिन्छ । यो धातुको वेल्डिङ गर्न उपयोग गरिन्छ ।
कार्बाइडको सहयोगले कृत्रिम तरिकाले पकाइएका फलफूलको नियमित सेवनले मुखमा घाउ, ग्यास्टि्रक र कहिलेकाहीँ फुड प्वाइजनिङ समेत हुन सक्ने पेट-रोग विशेषज्ञ डा. प्रदीपकुमार यादव बताउँछन् ।
‘कार्बाइड जस्तो धेरै प्रतिक्रियाशील रसायनको उपयोग गरी कृत्रिम तरिकाले पकाइएको फलफूल खानै हुन्न,’ उनी भन्छन् । यसरी पकाइएका फलफूलको प्राकृतिक स्वाद र सुगन्धमा कमी देखिन्छ । यस्ता फलफूलमा प्राकृतिक रूपले पाकेकामा भन्दा कम मात्रामा फुटक्रोज र पौस्टिक तत्त्व हुन्छ । यस्ता फलफूलमा फास्फोरस र आर्सेनिकको अंशसमेत पाइन्छ, जुन लाभदायक हुन्न ।
जर्नल अफ इमर्जेन्सी मेडिसिनमा प्रकाशित टर्कीको एउटा अध्ययन प्रतिवेदन अनुसार फलफूल पकाउन क्याल्सियम कार्बाइडको उपयोग गर्नु अत्यन्त खतरनाक हुन्छ । यसरी पकाइएका फलफूलमा आर्सेनिक र फस्फोरसको अंश पाइने उल्लेख गर्दै अध्ययन प्रतिवेदनमा भनिएको छ, ‘इसिटिलिन ग्यासले स्नायु प्रणालीमा प्रभाव पार्नुका साथै टाउको दुख्ने, कुनै काममा मन नलाग्ने, स्मरणशक्ति कम हुने, निद्रा बढी लाग्ने, अप्ठ्यारो अनुभव हुने आदि समस्या देखिन्छन् ।’
‘क्याल्सियम कार्बाइडको उपयोग अत्यन्त खतरनाक छ,’ रसायनशास्त्री डा. विनय झा भन्छन् । उनका अनुसार कार्बाईडमा आर्सेनिक, फास्फोरसको अंश हुन्छ । एसिटिलिन ग्यास एसिटलडिहाइडमा परिवर्तन हुन्छ जसले क्यान्सर उत्पन्न गर्न सक्छ ।’
फलफूलमा एकैनासको आकर्षक रंग देखिए, घरमा राखेको दुई/तीन दिनपछि बोक्रामा कालो धब्बा देखिए तिनलाई रसायनको सहयोगले पकाइएको आशंका गर्न सकिन्छ । आँप, केरा, भुइँकटहर जस्ता फलफूल पकाउन कार्बाइडको उपयोग नेपालमा समेत प्रतिबन्धित छ । भारतमा खाद्यपदार्थ मिसावट ऐनअनुसार कार्बाइडले फलफूल पकाउनेहरूलाई दण्डको समेत विशेष व्यवस्था छ ।
आँप, केरा, भुइँकटहर पकाउन गोदाममा कार्बाइड उपयोग गर्दाताका यो रसायन नजानीकन पनि हातले छुँदा फोका उठ्ने गुनासो कामदारहरू गर्छन् । यस्तो प्रतिक्रियात्मक रसायन शरीरमा प्रवेश गर्दा उत्पन्न हुने समस्या सहजै अनुमान गर्न सकिन्छ ।
फलफूल वास्तविक रूपले पाक्न कम्तीमा पाँच/छ दिन लाग्छ । काबाईडको उपयोगले २४ देखि ३६ घन्टामै पहेंलपुर हुन्छन् । कार्बाइडलाई सामान्यतः आँप, केरा, भुइँकटहर पकाउने ठाउँमा सानो प्याकेट बनाएर राखिन्छ । त्यसको ग्यासले एक दिनमै केरा पाक्छ । फलफूलमा भएको आद्रता (मोइस्चर) का कारण रासायनिक प्रतिक्रिया भएर एसिटाइलिन ग्यास उत्पन्न हुन्छ । यसले पाक्ने क्रियालाई तीव्र बनाउँछ । एकपटक पानीमा घुलेपछि कार्बाइडले एसिटिलिन ग्यास छोड्छ । एसिटिलिन ग्यास फलफूललाई प्राकृतिक रूपमा पकाउने एजेन्ट इथाइलिनसँग मिल्दोजुल्दो हुन्छ ।
सुरक्षित पकाउने प्रक्रियामा नियन्त्रित तापक्रम राख्नुपर्ने भएकाले यो खर्चिलो मानिन्छ । फलफूल पकाउन उपयोग गरिने अर्को रसायन इथेफोन मानव शरीरका लागि हानिकारक छैन तर महँगो छ । धेरै कमाउने लोभमा व्यापारीहरू सस्तो र हानिकारक रसायनको उपयोगमा लागिरहेका छन् ।
खानुभन्दा अघि जाँचौँ
आँपलगायतका फलफूल खानुअघि पानीले राम्ररी धुनु पर्छ । फलफूललाई धारा खोलेर केही मिनेट पानीमा राख्दा बोक्रामा लागेको हानिकारक रसायन पखालिन्छ । समयअगावै बजारमा आएका फलफूल खानुहुन्न । सामान्यतः यस्ता फलफूल नाफा कमाउनका लागि कृत्रिम रूपले पकाइएका हुन्छन् । आँप र स्याउ पखालेर क्वाप्प खाइहाल्नुको सट्टा काटेर टुक्राटुक्रा पारी खानु राम्रो हुन्छ ।
Leave a Reply