स्रोत: कान्तिपुर
-कान्तिपुर संवाददाता
काठमाडौ। वरिष्ठ गीतकार राममान तृषितको मंगलबार निधन भएको छ । लामो समय देखि मृगौला रोगले पीडित ७१ वर्षीय गीतकार चाबहिल स्थित मेडिकेयर अस्पतालमा उपचाररत थिए ।
सयौं गीत लेखेका तृषितका ‘मान्छेको माया यहाँ खोलाको पानी जस्तो…,’ ‘मैले पुण्य मन पराएँ, या पाप मन पराएँ…,’ ‘तिमीले सोध्यौ सन्चै छौ भनी म सन्चो भइहालें…,’ ‘कोहीले चाँदी राम्रो भन्छन्…’ जस्ता सिर्जना सदाबहार छन् ।
तृषितले २०१० सालमै नवकला परिवार स्थापना गरी शिवशंकर, नारायणगोपाल, तारादेवी, प्रेमध्वजलगायतलाई लिएर उपत्यकाका चोकचोकमा सांगीतिक कार्यक्रमको थालनी गराएका थिए । २०१३ मा रेडियो नेपालबाट तारादेवीको स्वरमा उनको पहिलो गीत बजेको थियो ।
नारायणगोपालले उनकै गीत ‘पक्षीको पंखमा धर्तीको याद दियो…’ गाएर २०१६ मा रेडियो नेपालबाट स्वर परीक्षा पास गरेका थिए । उक्त गीतमा संगीत भरेका प्रेमध्वज प्रधानले तृषितका गीतमा रोमान्टिक प्रेम र मायाको भावना बढी अभिव्यक्त भएको स्मरण गर्छन् । संगीतकार शम्भुजित बाँस्कोटाले आफूलाई तृषितले दिएका गीत मध्येबाट छानेर ‘तिमीले सोध्यौ सन्चै छौ भनी म सन्चो भइहालें…’ मा संगीत भरी लोचन भट्टराईलाई गाउन लगाएपछि तृषितले हाँस्दै भनेको सम्झिए, ‘यही गीतलाई नातिकाजीले पनि संगीत भरेर उनै लोचनलाई नै गाउन लगाएका थिए ।’
तृषितसँग सुरुदेखि नै नजिकको सम्बन्ध राखेका प्रेमध्वजले उनले गीतकारमा चर्चा कमाए पनि राम्रो चित्रकार समेत रहेको खुलाए । ‘चित्रकारितामा राम्रो दख्खल भएकैले २०१८ सालमा छात्रवृत्तिमा चीन पढ्न गएका थिए, र्फकंदा डाक्टर पनि बनेर आए,’ तृषित कुनै बेला भेंडासिङको किलागलमा बस्दाताकाका छिमेकी रहेका प्रेमध्वजले सम्झिए, ‘बहुमुखी प्रतिभा रहेका उनी संगीतका समेत जानकार थिए ।’
तृषितकै ‘कस्तो माया लाइएछ…,’ ‘मिलन पनि देखिसकें…’ सहित चारपाँच गीत गाएका फत्तेमान राजभण्डारीले उनका गीत विशिष्ट श्रेणीका रहेको चर्चा गर्दै भने, ‘गीतजस्तै उहाँको स्वभाव पनि उत्तम थियो ।’
वासु शशि स्मृति परिषद्का सचिव तथा कवि प्रद्युम्न जोशीले परिषद्कै पूर्वअध्यक्ष रहेका तृषितलाई कालजयी गीत लेख्ने व्यक्तिका रूपमा व्याख्या गरे ।
गत माघदेखि दुवै मृगौलाले काम गर्न छोडेपछि सातामा दुईपटक डायलाइसिस गराउँदै आएका तृषित चिकित्सक पनि थिए । उनले वीर अस्पतालमा नेपालमै पहिलो पल्ट अकुपन्चर सेवाको सुरुवात गराएका थिए । उनी विभिन्न अस्पतालका इन्चार्ज समेत भएका थिए ।
तृषितका ‘फूल थरीथरीका,’ ‘एक मनको अनेक मृत्यु,’ ‘शोरा’ र ‘मनदेखि मनसम्म’ गीतिसंग्रह, ‘राममान तृषितका कविता’ र ‘बहुलाको हातमा बन्दुक’ कविता संग्रह, गजल, मुक्तक र निबन्ध संग्रह प्रकाशित छन् । दुई सयभन्दा बढी गीत रेकर्ड भइसकेका छन् भने ६ वटा गीति एल्बम निक्लेका छन् । उनले छिन्नलता पुरस्कार, व्यथित काव्य सम्मान, नातिकाजी विशेष संगीत पुरस्कार, सुरभि नवरत्न स्रष्टा सम्मान, महाकवि देवकोटा पुरस्कार प्राप्त गरेका थिए ।
गीतकार तृषितको निधनप्रति शोक प्रकट गर्दै प्रधानमन्त्री झलनाथ खनालले विज्ञप्तिमार्फत परिवारजनमा समवेदना जनाएका छन् ।
तृषितको मंगलबारै पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिएको छ । उनका पत्नी र एक छोरा छन् ।
२०६८ साल जेठ १७ गते मंगलवार।
Leave a Reply