स्रोत: कान्तिपुर
– अतुल मिश्र
राजधानीको शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पतालमा शुक्रबार यो मौसमको पहिलो प्रयोगशाला प्रमाणित हैजाको रोगी देखिएको छ । अस्पतालका क्लिनिकल रिसर्च युनिटका अनुसार कलंकी बस्दै आएकी ५६ वर्षीया महिलामा हैजाको ‘०१ ओगावा’ प्रजाति देखिएको हो । बनेपा घर भएकी उनको चिकित्सकीय इतिहास अनुसार उनी एक वर्ष देखी उपत्यकाबाहिर गएकी छैनन् । समयमै उपचार गरे मृत्युदर करिब शून्य रहेको हैजा/झाडापखाला, हैजाबाट २०६६ मा जाजरकोट, रुकुम लगायतका पहाडी क्षेत्रमा सरकारी तथ्यांक अनुसार ३ सय ५४ भन्दा बढीको मृत्यु भएको थियो ।
‘एक दशकभन्दा बढी समयदेखि वर्षेनी गर्मी यामताका उपत्यकामा प्रयोगशाला प्रमाणित हैजा देखिँदै आएको छ,’ टेकु अस्पतालका डा. राजेश साह भन्छन्, ‘अब खानपानमा विशेष सतर्कता आवश्यक छ ।’
अनियन्त्रित रूपमा चौलानी जस्तो पातलो दिसा हुने रोगलाई झाडापखाला (डाइरिया) भनिन्छ । एक्कासि हुने पखाला केही घन्टादेखि केही दिनसम्म रहन सक्छ । पखाला लाग्दा पेट दुख्ने, ज्वरो, रिंगटा र वान्ता पनि हुन सक्छ । असर बढे तुरुन्त चिकित्सकसँग सल्लाह लिनुपर्छ । नत्र शरीरमा पानीको कमी भई ज्यान जोखिममा पर्न सक्छ । अमेरिकन कलेज अफ ग्यास्ट्रोइन्टरोलजीका अनुसार शरीरले गुमाएको पानी थप्दै जानु यसको मुख्य उपचार हो । हैजाबाट आत्तिनुपर्ने स्थिति भने नरहेको चिकित्सकहरू बताउँछन् । यसका बिरामीको शरीरबाट झाडापखालाका माध्यमले नाशमा भएको पानी र लवणलाई तुरन्त परिपूर्ति गरेर सफलतापूर्वक उपचार गर्न सकिन्छ । वान्ता नगर्ने रोगीहरूलाई मुखबाट पुर्नजलीकरण (ओरल रिहाइड्रेसन) गरेर उपचार गर्न सकिन्छ । अत्यन्त बिगि्रएको स्थितिमा नशाबाट पानी चढाएर शरीरमा पानी र लवणको मात्रा स्थिर गर्न सकिन्छ ।
‘पेट र मलद्वारमा तीव्र पीडा, ज्वरो, दिसामा रगत, शरीरमा पानीको कमीजस्ता लक्षण देखिएको छ र तिन दिनभन्दा बढी समय सम्म पखाला लागिरहेको छ भने तुरन्त चिकित्सकको सल्लाह लिनुपर्छ,’ टेकु अस्पतालका डा. शेरबहादुर पुन बताउँछन् । उनका अनुसार बालबालिकाको हकमा भने झाडापखाला देखिएको पहिलो दिनमै चिकित्सकीय परामर्श आवश्यक हुन्छ ।
चिकित्सकहरूका अनुसार झाडा- पखालाबाट बच्ने सबैभन्दा राम्रो उपाय प्रदूषित खाद्य पदार्थ र पानीबाट टाढा रहनु हो । खुला कुवा र ह्यान्ड पम्पको पानी पनि उमालेर खानुपर्छ । खाना खानुअघि र शौचालय गएपछि हात साबुनपानीले धुन बिर्सनुहुन्न । भाँडाकुँडा नियमित रूपमा सफा गर्नुपर्छ । त्यसै थन्क्याइएको सफा भाँडामा समेत ब्याक्टेरियाको हमला हुन सक्छ ।
अमेरिकी स्वास्थ्य संस्था सिडिसीका अनुसार सरसफाइमा कमी भएको ठाउँमा हैजाको महामारी तत्काल रोक्न सकिँदैन । वर्षेनी २२ लाख व्यक्तिको मृत्यु झाडापखाला -हैजालगायत) ले हुने र तीमध्ये अधिकांश बालबालिका भएको डब्लुएचओले उल्लेख गरेको छ । यस्तो मृत्यु अधिकांशतः विकासोन्मुख मुलुकमा हुने गरेको छ । डब्लुएचओले झाडापखालाको ८८ प्रतिशत कारण असुरक्षित पानी, अपर्याप्त सरसफाइ र स्वच्छताको कमी रहेको जनाएको छ । सरसफाइमा सुधारले झाडापखालाले हुने मृत्यु ३२ प्रतिशतसम्म कम गर्न सकिन्छ । खाने पानीको गुणस्तरमा सुधारले झाडापखालाबाट हुने मृत्युदर ६ देखि २५ प्रतिशतसम्म कम गर्न सकिन्छ ।
स्वच्छ पानी, सरसफाइ, व्यक्तिगत स्वच्छता, हात धुनुजस्ता स्वास्थ्य शिक्षाले ४५ प्रतिशतसम्म झाडा- पखालाका केस कम गर्न सकिने डब्लुएचओले जनाउँदै आएको छ ।
हैजा, झाडापखालाबाट बँच्न प्रकोप फैलिएका मुलुकको अन्य भाग सहित मुख्य रूपमा उपत्यकावासीले उम्लिएर चिसो गरेको पानी र स्वच्छ खाना खानुपर्छ ।
२०६८ साल बैशाख १७ गते शनिवार।
Leave a Reply