स्रोत: नयाँ पत्रिका
-यमबहादुर दुरा
विकास । सबैले रुचाएको शब्द । विकास, विकास र फेरि पनि विकास । सबै जनाको चाहना यही छ । आधुनिकताको दृष्टिले विकास जति प्रिय छ, रैथाने जीवनशैलीका दृष्टिले उति नै अप्रिय र भक्षक पनि छ । विकासले आधुनिक जीवनशैलीका धेरै पाटाहरुलाई हराभरा बनायो होला तर यसबाट रैथाने जीवनपद्धतिका धेरै आयामहरु उजाडिन पुगेका पनि छन् । विकासलाई भित्र्याउँदा तिर्नुपरेको अनुभूतिगत मूल्य चर्को छ ।
यसको ज्वलन्त दृष्टान्तका रुपमा हरपल उजाडिंदै गरेको गाउँठाउँका चौतारीहरुलाई लिन सकिन्छ । डाँडाकाँडाहरुमा मोटर गुड्न थालेपछि उकाली ओरालीका चौतारीहरु बिरानो बन्दै गएका छन् । यस संगसंगै चौतारी र यसले निर्माण गरेको बृहत सामाजिक र साँस्कृतिक परिवेशसंग गाँसिएका जीवन भोगाइका अनुभूतिहरु विस्मृत बन्दै गएका छन् । बचेखुचेका जिउँदा अनुभूतिहरु पनि घाइते बन्दैछन् र रनाहामा छट्पटिंदैछन् ।
विकासका नाममा बुल्डोजरको थुतुनोले उधिनेर ‘बाइरोड’ हरु खनिंदैछन् । परिणामस्वरुप बान्की परेका पाखापखेराहरु कुरुप र थोते बन्न पुगेका छन् । यसबाट ठाउँठाउँमा पहिरोको राक्षसी रुप पनि जाग्न थालेको छ ।
उता, पीच रोडहरुको लम्बाइ बढ्दैछ । हिजोका पैदल यात्रीहरु मोटरमा आज सरर गुड्दैछन् । विकास हुनु र नागरिकले गाडीमा यात्रा गर्न पाउनु नराम्रो होइन । तर पनि विकासले पुराना अनुभूतिहरुलाई मेटाइदिंदा कता कता अनुभूतिजन्य छट्पटी हुने रहेछ । डाँडाकाँडाहरुमा मोटर गुड्न थालेपछि पसिना पुछ्दै अनि सुस्केरा काढ्दै उकाली ओराली काटिएका र चौतारीमा थकाइ मारिएका सम्झनाहरु पातलिंदै गएका छन् ।
तारानाथ शर्माले कुनै समयमा लेखेको यात्रासंस्मरण ‘घनघस्याको उकालो’ पनि मोटरबाटोका कारण सन्दर्भविहीन बन्न पुगेको समाचार अखबारमा आएका छन् । समग्रमा भन्दा चौतारी सँस्कृतिसंगको नेपाली जनजीवनको नाता बिस्तारै टुट्दै जान थालेको छ ।
समयले काँचुली फेर्दैछ । यस संगसंगै चौतारी सँस्कृति ओझेलमा पर्दै गएको छ । एक हिसाबले यसलाई स्वाभाविक प्रक्रिया नै मान्नुपर्छ । तर पनि शताब्दियौंअघिदेखि अस्तित्वमा रहेको चौतारी सँस्कृति र नेपाली जनजीवनको नातासम्बन्ध टुट्ने क्रमको साक्षी बन्नुपर्दा कताकता ननिको लाग्दो रहेछ ।
ग्रामीण जीवनशैलीले घेरिएको हाम्रो भौगोलिक एवम् सामाजिक परिवेशमा चौतारीको बहुआयामिक महत्व छ । चौतारीहरुमा भारीमात्र बिसाइदैन । चौतारीमा थकाइमा मात्र पनि मारिंदैन । चौतारी र्सार्वजनिक थलो भएकोले यहाँ ग्रामीण जीवनशैलीका र्सार्वजनिक पाटोसित गाँसिएका अनगिन्ती क्रियाकलापहरु हुन्छन् । पहिले पहिले भद्रभलाद्मीबीच चौतारीमै कहचरी हुन्थ्यो । गाउँघरका सानातिना मुद्दामामिलाहरु त्यही छिनिथ्यो । अर्कोतिर मध्यपहाडी भेगका कतिपय गाउँमा नचाइने घाँटु चौतारीमै सेलाइन्थ्यो ।
आज पनि फूर्सदको बेलामा चौतारीमा बसेर साथीसंगीहरु बीच बाघचाल खेलिन्छ । गट्टा खेलिन्छ । चौतारीमा नचिनेका बटुवाहरुबीच चिनजानी हुन्छ अनि थकाइका सुस्केराहरु बीच सुखदुःखको कुराकानी हुन्छ ।
चौतारीमा घाँस, दाउरालगायतका ज्यानले बोक्ने सबै किसिमका भारी बिसाइन्छ । तर त्यहाँ ज्यानको भारीमात्र बिसाइँदैन, मनको भारी पनि बिसाइन्छ । साथीसंगीसंग दिल खोलेर कुराकानी गरेर वा होस् गीत गुनगनाएर नै किन नहोस् त्यहाँ मनको भारी पनि बिसाइन्छ । त्यसैले चौतारी मनको भारी बिसाउने थलो पनि हो ।
चौतारी र त्यहाँ रोपिने रुखवृक्ष (बर, पीपल एवम् लाँकुरी) संग हाम्रा गाउँबस्तीका नाउँ जोडिएका छन् । हामी थाहै छ, सिन्धुपाल्चोकको सदरमुकामको नाम चौतारा हो । यसैगरी तनहूँ जिल्लाको ४६ बटा गाविसहरुमध्ये एउटा गाविसको नाम बरभञ्ज्याङ हो, जुन घाँसीकुवा गाविसको छिमेकी हो । र्सलाही (पूर्वपश्चिम राजमार्ग) ढल्केबर भन्ने चर्चित ठाउँ छ । यी त उदाहरणात्र हुन् । यस्ता अनगिन्ती नामहरु प्रचलनमा छन्, जसले चौतारी सँस्कृतिसंगको हाम्रो पुस्तौं पुरानो नातालाई उजागर गर्छ । पीपलटार, पीपलबोट, बरबोट, पीपलथोक, बरभञ्ज्याङ, बेलचौतारा, लाँकुरीडाँडा, लाँकुरी भञ्ज्याङ, लाँकुरीस्वाँरा, लाँकुरी गैह्रा आदि हाम्रा गाउँबस्तीका यस्ता मीठा र सुन्दर नाउँहरु हुन्, जसमा ग्रामीण जीवनशैलीको विम्ब र तस्बिरहरु भेटिन्छन् । यी नामहरुले एकातिर चौतारी सँस्कृतिको साक्षी बकिरहेको छ अर्कोतिर यिनमा हाम्रा जीवन भोगाइ र अनुभूतिका गहिराइहरु भेटिन्छन् ।
चौतारी सँस्कृतिसंग गाँसिएको एउटा अर्को मीठो पक्षको बारेमा चर्चा गरौं । चौतारी र त्यहाँ लगाइने बोटवृक्षसंग जोडिएका लोकगीतका अनगिन्ती फाँकी र फुँदाहरु जनजिब्रोमा आजपर्यन्त झुण्डिएका छन् । यसले हाम्रो लोकसंगीतलाई धनी बनाउन पनि सघाएको छ ।
‘यो मायाले गरेन वास्ता, चौतारीको छेवैमा मै बस्दा ।’ यसमा युवा मनका यन्त्रणा र याचनाहरु छताछुल्ल पोखिएको पाइन्छ । यसले युवा मनलाई मात्र प्रतिनिधित्व गरेको छैन, नेपाली जनजीवनको चौतारीसंग गाँसएको नातालाई प्रस्ट्याउने काम पनि गरेको छ ।
मनमा उत्पन्न भएको ताप वा अशान्तिलाई झल्काउने अनेक तरिका र माध्यमहरु छन् । तर चौतारी सँस्कृतिसंग परिचित हुनेहरुले लोकसाहित्यको रसिलो विधा लोकगीतमार्फत मनभित्रको अशान्तिलाई यसरी व्यक्त गरेको पाइन्छ: ‘चौतारीमा बर छैन पीपलु, कहाँ गएर होला मन सीतलु ।’
मर्ने दिन अज्ञात छ । तर हाम्रा बूढापाकाले मृत्युको पूवाभास पाउँथे भनिन्छ । उनीहरुले निश्चित प्राकृतिक विम्ब वा सूचकहरुका आधारमा आफू संसारबाट विदा हुने दिन थाहा पाउँथे रे । ‘अहिले साल मरिन्छ क्यारे, ओइलायो राम्दीमा पीपलु ।’ यस गीतले यही जीवनदर्शनलाई चित्रण गर्छ ।
मानव चोला घामछायाँजस्तै हो । जिन्दगी छोंटो छ र अस्थिर पनि । यही वास्तविकतालाई मनमा राखेर हाम्रा अग्रजहरुले मानिसको दुइदिने चोलालाई किरिमिरे लाँकुरी छायाँसंग दाँजेको पाइन्छ: ‘किरिमिरे लाँकुरी छायाँ, यो जिन्दगी दुइ दिनको रामछायाँ’ ।
बर र पीपल शब्द प्रयोग भएका लोकगीतहरुले नेपाली जनजीवनको साक्षी बोलेको पाइन्छ । ‘पीपलसंगै बर, पीपलुको छायाँमुनि मायालुको घर’ यस लोकगीतको भाव र झङ्कारलाई मनको आँखाले अनुभूत गर्दा हाम्रो आँखासामु बर पीपलको चौतारी र त्यस वरिपरि रहेका ढुङ्गा र माटोले बनेका अनि खरले छाइएका घरहरुका तस्बिरहरु नाँच्न आउँछन् । अर्थात् ग्रामीण परिवेशको एउटा झलक मिल्छ, यसबाट । यसमा हाम्रो माटोको सुवास भेटिन्छ ।
चौतारी सँस्कृतिको प्रभाव नेपाली सुगम संगीत एवम चलचित्रमा पनि परेको देखिन्छ । ‘लहरे बर घुमाउने चौतारी…’ (अरुणा लामा), ‘जहाँ बरले पिपललाई अंगालेको हुन्छ, तिम्रो हाम्रो साइनो त्यतैतिर सोध…’ (चलचित्र ‘कान्छी’), चौतारीको बरै ढलेछ…’ (शिशिर योगी) आदिलाई उदाहरणको रुपमा प्रस्तुत गर्न सकिन्छ ।
चौतारी बनाएमा पुण्य मिल्छ भन्ने मान्यताबाट हाम्रो पुराना पुस्ता निकै ओतप्रोत छ । परोपकारी भावना भएका हाम्रा पूर्खाहरुले बटुवा एवम् भरियाहरु हिंड्ने डाँडाकाँडा, देउराली र भञ्ज्याडमा चौतारी बनाए । थकित बटुवा र भरियाहरुलाई छहारी र आश्रय दिने काम गरे । उनीहरुले चौतारीमा बर, पीपल, लाँकुरीजस्ता हितकारी वृक्षहरु रोपेर वरत्र र परत्र सुधार्ने काम गरे ।
परिवारको कुनै सदस्य खस्दा उसको सम्झनामा चौतारी बनाउने चलन हामीकहाँ छ । एउटा परिवारभित्र भएको अपूरणीय खतिलाई अर्को ढंगले पूरा गर्ने सतत् प्रयास हुन्छ । बृहत्तर समाजिक हितका लागि सिर्जनशील र कल्याणकारी काम गरेर । कति वन्दनीय परम्परा । कति सुन्दर परम्परा । यस परम्पराको गुनगान जति नै गाए पनि कम हुन्छ ।
डाँडाकाँडा काटेर हिंडने बटुवा र भारीले थिचिएका भरियालाई तिर्खा लाग्छ भनेर चौतारीमा सुख्खा याममा पानीको घैंटो राखिदिने चलन हामीकहाँ छ । अरुको मन चिन्न सक्ने हाम्रो हितकारी परम्पराले हामीले भोगिरहेको तिक्डमपूर्व वर्तमानबारे एकपल्ट गहिरिएर सोंच्न बाध्य तुल्याउँछ ।
हाम्रो परम्परा र सँस्कृतिमा मान्छेको मात्र विवाह हुँदैन, भ्यागुताको मात्र पनि विवाह हुँदैन । यहाँ त वनस्पतिको पनि विवाह हुन्छ । खासगरी बर र पिपलको । चौतारीमा बर र पिपल रोपेर उनीहरुको विवाह गरिदिने चलन छ । प्रतिष्ठा गर्ने र भोजको चाँजोपाँजो गर्ने चलन छ ।
कतिपय अवस्थामा मानिसको जोडी वा पे्रमीप्रेमिकालाई पनि चौतारीको बर पीपलसंग दाँज्ने गरिन्छ । कसैले कसैसंग काँधमा काँध मिलाएरमा बसेमा ‘चौतरीको बरपीपलझैं नारिएर बसेको’ भन्ने गरिन्छ । ‘अलि यता सर न रेशम, चौतारीको बरपीपलझैं बसम्’ । नेपाली जनजीवनको स्पन्दन भेटिने यो लोकगीत गाउँबस्तीहरु आज पनि गुञ्जिंदैछन् ।
हाम्रो समाजले युगल जीवनलाई पनि चौतारीसंग दाँज्ने गरेको पाइन्छ । कसैको जोडी छुटेमा वा श्रीमान् वा श्रीमतीमध्ये कुनै एकको देहान्तमा भएमा वा कुनै कारणले जोडी छुटेमा एक्लिन पुगेकालाई ‘चौतारीको एक्लो बरजस्तो’ भयो भन्ने गरिन्छ ।
उता, कसैको घरजम बसाइदिने कामलाई पनि चौतारी बनाउने कामसंग दाँज्ने चलन छ । यही मान्यताअनुसार आमाबाउले घरजम गरिदिएका छोराछोरीको कुनै कारणवश घरबार बिग्रिएमा ‘मैले लाएको चौतारी भत्कियो’ भन्दै चित्तदुःखाइ गर्ने चलन हामीकहाँ छँदैछ ।
यी समग्र परिदृश्य र क्रियाकलापहरुले नियाल्दा चौतारी सँस्कृति हाम्रो नशा नशामा भिजेको छ भन्न करै लाग्छ, जुन हाम्रो रैथाने जीवनशैलीको धरोहरहरुमध्ये एक हो ।
यहाँनेर लाहुरे सँस्कृति र चौतारी सँस्कृतिको साइनोपात खोतल्ने चेष्टा गरौं । पोखरा र बुटवललाई जोड्ने सिर्द्धार्थ राजमार्ग बनेपछि गण्डकी अञ्चलका लाहुरेका धेरै अनुभूतिहरु सम्झनामा मात्र सीमित हुन पुगेको छ । छुट्टी पूरा गरेर पल्टनतिर र्फकदा पोखराबाट बुट्वलसम्मको पैदलयात्रा कम सम्झनायोग्य थिएनन् होला । साथीसंगी र चेलीबेटीबाट प्राप्त सम्झना कोसेलीका पोको पुन्तुरो झोलाभित्र कैद गरेर थुपै्र खोलानाला, देउराली अनि भञ्ज्याङ पार गर्दै बुटवल झर्दा संगालिएका अनुभूतिहरु अझै पनि पुरानाहरु लाहुरेहरुका मनमा संगालिएका छन् । लामो यात्राले लखतरान परेर चौतारीमा थकाइ मार्दा होस् वा लामो हिंडाइपछि रात छिचोल्न छाप्रे भट्टीमा रात गुजार्दाका क्षणहरु कति रोचक थिए होलान् ।
लाहुर आउँदाजाँदा स्याङ्जाको आँधीखोलाको बाटो भएर आउँदा जाँदा लाहुरेहरुलाई आँधीखोलाको फनक्कै घुमेको रुपले निकै प्रभावित तुल्याएको देखिन्छ । त्यसै भएर त लाहुरेहरुले ‘आँधीखोला फनक्कै घुमेको, एउटा रुमाल दुइटीले बुनेको’ भनेर गीत गाएका होलान् नि ।
यो भयो, सिद्धार्थ राजमार्ग बन्नुभन्दा अघिको लाहरे अनुभूति । स्मृति तन्तुहरु जागा हुन्छन्, यी कुराहरु सुन्दा । तर अब ती क्षणहरुको सम्झनामात्र बाँकी छ । सिर्द्धार्थ राजमार्ग बनेपछि अरु अनुभूति जन्मन सकेन । यस्ता अरु थुपै्र राजमार्गहरुले हाम्रा मौलिक अनुभूतिहरुलाई डिलमा पुर्याइदिएको छ ।
यसरी हाम्रो जीवनका नसा नसामा चौतारी सँस्कृतिको प्रभाव देखिन्छ । चौतारीसितको हाम्रो युगौं पुरानो साइनोपातलाई प्रगाढ तुल्याउने अनेकौं दृष्टान्तहरु हाम्रै वरिपरि छरपष्ट छन् ।
समयको बदलिंदो प्रवाहसंगै हाम्रा पितापूर्खाले बनाएका चौतारीहरु बिरानो बन्दैछन् । तिनीहरु संरक्षणको अभावमा भत्किंदैछन् । नयाँ चौतारीहरु बन्ने क्रममा मन्दी आएको छ । सारमा भन्दा हाम्रो चौतारी सँस्कृति दिनदिनै विस्मृत बन्दै गएको छ । चौतारी सँस्कृतिसंग गाँसिएका बचेखुचेका अनुभूतिहरु घाइते बन्दैछन् । भौतिक प्रगतिको माझमा घाइते अनुभूति लिएर बाँच्नु साँच्नै पीडादायक हुन्छ । पीडाले आहत भएको मनले उही गीत गुनगुनाउन चाहन्छ, ‘चौतारीमा बर छैन पीपलु, कहाँ गएर होला मन सीतलु’ ।
Leave a Reply