स्रोत: नागरिक दैनिक
-तीर्थबहादुर श्रेष्ठ
आफ्नै दुई आँखाले पृथ्वीलाई भकुण्डोजस्तै गोलो देख्ने पहिलो व्यक्ति सोभियत रुसका युरी गागारिन थिए। त्यो मात्र ५० वर्ष पहिलेको कुरा हो अप्रिल १२, १९६१ (२०१७ चैत्र ३०)। त्यसभन्दा पहिले मानिसको आफ्नै चर्मचक्षुले भकुण्डो स्वरुपा पृथ्वीलाई देखेको थिएन। जल, स्थल, आकाशको यात्रा गरे पनि अन्तरिक्षमा पुगेर पृथ्वीको सम्पूर्ण स्वरुप देखेका थिएनन्। सिंगो पृथ्वी, सँग्लो पृथ्वी र यसको सौन्दर्यसँग मोहित हुने पहिलो अवसर उनले पाए। युरी गागारिनभन्दा ४ सय ६१ वर्षपहिले जन्मेका कपरनिकसले भने आफ्नो दिव्यदृष्टि लगाएर पृथ्वीलाई गोलो देखे, गोलो भने। यो धर्ती चेप्टो होइन गोलो छ, सूर्यले पृथ्वीलाई होइन पृथ्वीले सूर्यलाई घुम्छ भन्दाभन्दै जीवन त्यागे। विश्वास थिएन मानिसलाई, यो पृथ्वी गोलो छ। यो आफैँ घुम्छ र यसले सूर्यको परिक्रमा गर्छ। यसको भूमण्डल वरिपरि वायुमण्डल छ।
यस्तै मण्डलै मण्डलको माझमा हामी बाँचेका छौँ। हामी हाम्रो वरपर वातावरणका मण्डलहरु छन् एकपछि अर्को, अर्कोपछि अर्को गर्दै सम्पूर्ण ब्रम्हाण्ड पनि हाम्रै मण्डलैभित्र अटाएको हुन्छ। हाम्रा ऋषि, मुनि, योगी, तपस्वीहरुले पनि यस्तै मण्डलको अवधारणामा आफ्नो दृष्टि पुर्याए। हाम्रा आध्यात्मिक चिन्तन र चेतनालाई थांका र पौवाजस्ता कलाकृतिमा मण्डला कोरेर कलाकारहरुले मण्डला कृतिलाई मूर्त रुप दिन खोजे, हाम्रा संस्कार र संस्कृतिले मण्डललाई पूजा गर्ने विधिहरु बसाए। भूमण्डललाई हामी पूजा गर्छौँ। यो पृथ्वी, धर्ती हाम्रा माता हुन्। धर्तीका सबै मानिसको यो साझा अवधारणा पनि हो। यसै अवधारणा अन्तर्गत ४१ वर्षअघि (सन् १९७०) देखि अमेरिकीहरुले मे महिनाको २२ तारेखलाई पृथ्वी दिवसको रुपमा मनाउन थालेका हुन्। विभिन्न नारा उचालेर विश्वमा पृथ्वी दिवस मनाउन आह्वान गर्छन्। लगभग १ सय ८० राष्ट्रमा कार्यक्रमहरु चल्छन्। किनभने विगत ५० वर्षभित्रको मानव क्रियाकलापले पृथ्वीको वातावरणमा संकट आइपुगेको छ। भूमण्डल प्रदूषित छ । वायुमण्डल प्रदूषित छ। जमिनको तापमान बढ्दैछ। पृथ्वी कोपमा छिन्। कोपपूर्ण पृथ्वीको प्रकोपबाट हामी बाँच्नु छ। अरुलाई बचाउनु छ। कपरनिकसको बेलाको पृथ्वी अब हामीसँग छैन। युरी गागारिनले देखेको पृथ्वी पनि हामीसँग छैन। हामीसँग रिसले रापिएको पृथ्वी छ। त्यसलाई अब अरु तात्न दिनु हुन्न। सेलाउन दिनुपर्छ। हरियाली थपिदिनुपर्छ। ‘हरियाली थप्ने एक अर्ब क्रियाकलाप थालौँ’ भन्ने नारा लिएर यस वर्षको पृथ्वी दिवस आइपुगेको छ।
चार अर्ब पचास करोड वर्ष लामो इतिहास बोकेको यस पृथ्वीको भविष्य सात अर्ब मानिसको हातमा अड्केको छ। पृथ्वीले थाम्न नसक्ने गरी जनसंख्याको भार थपिँदैछ। अरु पशुपन्छी वन, जंगल वनस्पति धमाधम सखाप हुँदैछन्। जीवात्मा प्राणीहरु दिनानुदिन लोप हुने क्रम जारी छ। जल, स्थल, वायु र आकाश पनि प्रदूषित गर्न छाडेका छैनौँ। अब त अति भयो र पो पृथ्वी तात्दो छ। जलवायुले परिवर्तन देखाउन थालिसकेको छ। जलवायु र ऋतुको तालमेलमा फेरबदल देखिन थाल्यो। हिमालका हिउँहरु पग्लने प्रक्रियामा तीव्रता देखियो। समुद्रको सतह माथि उठ्न थालेका छन्। यी दृश्यहरु हेर्न र देख्न सकिन्छ अन्तरिक्ष यानले पठाएका अध्यावधिक तस्बिरहरुबाट।
वरिपरिका पञ्च तत्वहरु जल, स्थल, वायु, आकाश र तेज (प्रकाश) विभिन्न चक्रीय प्रणालीमा चलिरहन्छ। समुद्रको पानी बादल बनेर वायुमण्डलमा पुग्छ। वर्षा बनेर फेरि भूमण्डलमा झर्छ। वायुमण्डलको कार्बन तत्व भूमण्डलको हरियालीले सोस्छ। बदलामा अक्सिजन छाडिदिन्छ। पृथ्वीको जीव प्राणीहरु हरियालीले निर्माण गरेका कार्बनयुक्त खाद्य पदार्थ खाएर बाँच्छन्। खाद्य पदार्थ खपत गर्दा शरीरले आफ्नो श्वास प्रणालीमार्फत् कार्बनडाइअक्साइडलाई पुनः वायुमण्डलमा फर्काइदिन्छ। एवं प्रकारले नाइट्रोजनलाई पनि वायुमण्डलबाट मलका रुपमा बिरुवाहरुले ग्रहण गरेर भूमण्डलमा अवतरण गराउँछन् र विभिन्न प्राणीको सहायताले पुनः वायुमण्डलमा फर्काउने काम हुन्छ। प्रकृतिको यस्तो सन्तुलन कायम गर्ने काममा वन, वनस्पति र तिनका हरियालीले अद्वितीय सेवा पुर्याइरहेका हुन्छन्। तर, मानिसले कृषि व्यवसाय अँगालेर आफ्नो गाँस, बास र बस्त्रको बन्दोबस्त गर्न थालेपछि वन विनास र अतिक्रमणको इतिहास थालनी भयो। विगत १० हजार वर्षदेखि मानिसको यस्ता क्रियाकलापले एकातिर काठ, दाउरा, पात, पतिंगर, जलेर, बलेर, सडेर, गलेर तिनमा निहित कार्बन वायुमण्डलमा थपिँदै गयो भने अर्कातिर कार्बन सोस्ने हरियाली क्षेत्र कम हुँदै गयो। त्यसपछि मानिस औद्योगिक विकासतिर पनि सक्रिय हुन थाल्यो। तर त्यो इतिहास मात्र २ सय ६० वर्ष पुरानो छ (इ.सं. १७५०)। उद्योगले इन्धन खपत गर्छ। इन्धनले वायुमण्डलमा थप कार्बनडाइअक्साइड प्रवाह गरिदिन्छ। युरी गागारिनले पृथ्वी परिक्रमा गर्दा मानव क्रियाकलापबाट उत्सर्जन हुने २ अर्ब मेट्रिक टन कार्बन प्रतिवर्ष वायुमण्डलमा लादिँदो थियो। त्यसको केही दशकपछि नै सन् १९९० मा त्यो राशि ५ अर्ब मेट्रिक टन पुग्यो र त्यो बढ्ने क्रम जारी छ। पेट्रोल, डिजल, मट्टितेल, मिथेन ग्याँस, कोइला आदि खनिजजन्य ऊर्जाको स्रोतले गर्दा वायुमण्डलमा कार्बन प्रत्येक पल बाक्लिँदै छ। कार्बनडाइअक्साइड, नाइट्रस अक्साइड, ओजोन, हाइड्रोल्फुरो कार्बन आदि रसायनयुक्त वायुमण्डलले गर्दा हाम्रो पृथ्वीमा आइपुगेको अधिक सौर्य गर्मी वायुमण्डललाई छेडेर टाढा अन्तरिक्षमा बिलाउन पाउँदैन। फलस्वरुप तराईको गर्मीमा बाक्लो सिरकभित्र उकुसमुकुस भएको मान्छे जस्तै छ हाम्रो भूमण्डल। तरकारी, फलफूल उमार्न किसानले बनाएको पोलिथिन छतभित्रको कोठामा पस्दा अनुभव हुने गर्मीको प्रभावसँग दाँजेर हरित गृह वायु प्रभाव भन्ने नयाँ वाक्यांश आजभोलि प्रचलनमा आउन थालेको छ। पोलिथिन प्रयोग भन्दा पहिले युरोप-अमेरिकाका किसान एवं बगैँचेहरुले आफ्नो बारीमा सिसाको घर बनाएर त्यसभित्र बिरुवाको हरियाली कायम गर्ने प्रविधि चलाउन थाल्यो। त्यस्ता घरलाई हरित गृह भनिन्छ। त्यसभित्रको न्यानो बाहिर जान सिसाले रोक्छ तर घाम भने भित्र सजिलै छिर्छ र कोठालाई न्यानो बनाउँछ। त्यही सिसाको न्यानो छेक्ने काम कार्बनडाइ अक्साइड लगायत अरु केही वायु विशेषले सम्पन्न गर्छ। त्यस्ता वायुलाई हरित गृह वायु भन्ने प्रचलनमा हामी पनि लहसिकएका हौँ।
सन् १७५० वा १८०० ताक वायुमण्डलको प्रत्येक दस लाख खण्डमा २ सय ८० खण्डमात्र कार्बनडाइअक्साइड थियो। आजभोलि त्यो अनुपात बढेर ३ सय ८० पुगेको छ। कार्बन उत्सर्जनमा क्यानडा र अमेरिका (२३Ü), युरोप (१४Ü) र रुस (८Ü) को योगदान छ। औद्योगिक विकासमा अग्रसर एवं अधिक ऊर्जा खपतको जीवनशैली अँगाल्ने राष्ट्रहरु कार्बन उत्सर्जनमा बढी जिम्मेवार छन् भने विकासशील र कमविकसित राष्ट्रमा कार्बन सोस्ने वनक्षेत्र घट्दो छ। उष्ण कटिबद्धभित्र पर्ने यस्ता क्षेत्रबाट सन् १९९० देखि २००० सम्मका १० वर्षमा प्रत्येक वर्ष १ करोड २३ लाख हेक्टर वनविनास भएको तथ्यांकले देखाउँछ। यस्ता वनविनासले १८ देखि २५ प्रतिशत वार्षिक कार्बन उत्सर्जनको भाग ओगट्ने गरेको छ। कार्बन उत्सर्जन र कार्बन शोषणका विभिन्न अंक, तथ्यांक र झुक्यांकहरुका खेलबाजीमा नेपालको भूमिका नगन्य छ। अंक नै उल्लेख गर्नु पर्दा पनि वार्षिक उत्सर्जनको दर ०.०२५ प्रतिशत मात्र पुग्छ। तर, जलवायु परिवर्तनको भार अधिक पर्ने अभागी राष्ट्रमा हामी पनि पर्छौँ। प्रत्येक वर्ष हाम्रो वार्षिक तापमान ०.०६ सेल्सियसले बढ्दो छ। वैज्ञानिकहरु भन्दैछन्, सन् १९९० र २१०० बीच पृथ्वीको तापमान १.४ डिग्रीदेखि ५.८ डिग्री सम्मले बढ्नेछ। मात्र चार डिग्री तापमान बढेमा विश्वमा हिउँ भन्ने पदार्थ बाँकी रहँदैन। हाम्रा कतिपय हिमनदी पग्लेका छन्। तसर्थ विश्व वातावरणको बदलिँदो परिदृश्यमा हामीले आफ्नो दृष्टि स्पष्ट पार्नु छ। हाम्रो प्रत्येक वातावरणीय समस्या र हामीले पहिलाएका समाधानका उपायलाई विश्व वातावरणको मुद्दासँग जोडेर हेर्नु हुँदैन। उदाहरणका लागि काठमाडौँ उपत्यकाका धुलो, धुवाँ र तुवाँलो अनि पानीका काकाकुल र भिडभाडको उकुसमुकुसका कारणहरु यहाँका क्रियाकलापमा नखोजेर विश्व उष्णीकरणसँग जोड्नु भनेको आत्महत्या गर्ने व्यक्तिले काललाई दोष दिन खोज्नुजस्तै हो। हाम्रा पहाडहरु रित्तो मरुभूमि हुन थालेका छन्। डा. जगदिशचन्द्र बरालले सिन्धुली र रामेछापमा अनुभव गरेको कहालीलाग्दो अवस्था (हिमाल १६-३०, २०६७), त्यस्तै सिंगो गाउँ पानी नै खान नपाएर तेह्रथुम ओखे्रका बासिन्दा बसाइँ सरेर गएको चन्द्र कार्कीका रिपोर्टहरु (नेपाल २९, फागुन २०६७) का केही प्रतिनिधि उदाहरणका वास्तविकता विश्व जलवायु परिर्वनको परिधिभन्दा अलिपर गएर स्थानीय वन, जंगल र वातावरणको व्यवस्थापनभित्र नियाल्नुपर्ने हुन्छ। पानीको भन्दा ठूलो खडेरी युवापुस्ताको छ। सयौँ वर्षदेखि एकपछि अर्को पुस्ताले व्यवस्थापन गरेका पाखा पर्वतका कृषि प्रणाली र वन क्षेत्र वर्तमानको निर्जन गाउँ बस्तीले थेग्न सक्दैन। भत्केका कान्ला र सुकेका मुललाई मर्मत गर्ने हातहरु मलेसिया र खाडी मुलुकमा भौतारिएका छन्। शिक्षा र सीपयुक्त युवाशक्ति अमेरिका, अस्ट्रेलिया र युरोप जाने लर्कोमा छन्। बाँकी युवा विभिन्न पार्टीका भातृ संगठनमा लागेर “जिउँदालाई मूर्दावाद र मरेकालाई जिन्दावाद” भन्दै विद्यालय, कल-कारखाना र सडक यातायात बन्द गराउन तल्लीन छन्। नेपालको नियति रित्तो पहाड र सहरी भीडभाडमा अड्कन थालेको छ। केही युवाशक्ति भने हटेर होइन डटेर स्वस्थानीय विकास गर्न गराउन गाउँघर फर्केका छन्। इलाम अन्तुको यस्तै खबर सुनियो। काठमाडौँका युवाशक्तिले कम्प्युटर तथा सूचना प्रविधिका विकासमा उच्चतम उदाहरण प्रस्तुत गरेका छन्। फुटबल, क्रिकेट र अरु खेलकुदमा हाम्रा युवा उत्कृष्ट प्रदर्शन देखाउँदै छन्। संगीत कला र साहित्यमा पनि नयाँ पुस्ता जागेको छ। तर, यस्ता युवाको जमात अल्पसंख्यामा अड्केको छ। यस वर्षको पृथ्वी दिवसमा पृथ्वीको गुरुत्वाकर्षणले नेपालको भूमिमा नेपाली जनशक्ति आकर्षण गर्ने शक्ति प्रदान गरोस् भन्ने कामना छ। यसो भए नेपालीहरुले नेपालमा बसेर पृथ्वीको सेवा गर्न सक्ने छ। हरियो पहाड, झलमल हिमाल, नीलो आकाश र सुनौलो तराई रच्न धेरै समय लाग्दैन।
२०६८ साल बैशाख ९ गते (April 22, 2011) शुक्रवार; पृथ्वी दिवसका अवसरमा।
Leave a Reply