स्रोत: कान्तिपुर
-झलक सुवेदी
नेपालका हरेक बस्तीका छेउछाउमा, वनपाखा या भीरखोलाका डिलहरूमा अलिकति अलगथलग, हेर्दैमा सीमान्तकृतजस्ता लाग्ने, सुविधाका दृष्टिले, सडक, खानेपानी या विद्यालयको पहुँचका दृष्टिले समेत किनारामा पर्ने बस्तीहरू देखिन्छन् । विकासोन्मुख देशका सहरप्रवेशका छेउछाउमा देखिने काँठजस्ता यी नेपाली बस्तीहरू नेपाली समाजको बनोटका, सामाजिक बहिष्करण र पुस्तैनी थिचोमिचोका जीवित प्रमाणहरू हुन् । यी बस्तीहरू मुख्यतः दलितहरूका बस्ती हुन् । त्यहाँ गएर हेर्नुस् पहाड भए पनि तराई भए पनि, सहर भए पनि गाउँ भए पनि, पूर्व भए पनि पश्चिम भए पनि नेपालमा दोस्रो दर्जामा राखिएका मान्छेहरू अर्थात् कामी, दमाई या सार्कीहरू, नेवार दलितहरू या मुसहर डोम र चमारहरू भेटिनेछन् ।
ठीक यो अवस्था सरकारी जागिरमा, मन्त्रिपरिषद्मा, राजनीतिक दलको नेतृत्वमा, सेना र प्रहरीमा या डाक्टर-इन्जिनियरजस्ता उच्च प्राविधिक पेसामा, व्यापारमा, उद्योगमा पनि छ- जहाँ दलित या त छँदै छैनन् या त यसो छेउछाउमा, खटाइएको वा छुट्याइएको भाउ लिएर बसेजस्तो अवस्थामा छन् । तिनको हैकम चल्दैन, तिनको नेतृत्व चल्दैन, तिनको ‘माथि’ तानी दिने, बल्छी लगाइदिने, संरक्षण गरिदिने कोही आफ्नो छैन, हजारौं वर्षदेखि ज्ञान-स्रोत-शासनबाट समान रूपले वञ्चित सीप र श्रमबाट जीविकोपार्जन गर्दै आएको यो विशेष वर्ग नेपाली समाजको एउटा अनिवार्य हिस्सा भने रहँदै आएको छ ।
ती कुनै अलग राष्ट्रियता भएका जाति होइनन् तर सजातीयहरूबाट सयौं वर्षदेखि दबाइएका, अछूत बनाइएका, पशुभन्दा अलि तल राखेर कजाइएका, स्वतन्त्रताको हक खोसिएका, समानताको हक खोसिएका, स्रोतमाथिको अधिकार खोसिएका, पेसा तोकिएका, व्यवसाय रोज्नबाट समेत वञ्चित पारिएका यी के हुन ? किन त्यसरी किनारमा सभ्यताको बलेंसीबाहिर धकेलिएका हुन् ? सरकारी तथ्याङ्कअनुसार नेपालको जनसङ्ख्याको झन्डै १४ -दलित अभियानकर्ताहरू र यसै पुस्तकका लेखकको दाबीअनुसार चाहिँ २०) प्रतिशतको संख्यामा रहेका -अ)नागरिकहरूका ‘दलित’ का रूपमा बनेको परिचयको व्यापक आयामलाई समेटेर, दक्षिण एसियामा छुवाछूत र वर्णव्यवस्था स्थापनाको एतिहासिकता तथा त्यसलाई कायम राख्न राज्यले अपनाएको निरन्तरको संरचनागत नियन्त्रणको कालो अध्यायलाई पर्गेल्दै बजारमा एउटा पुस्तक आएको छ- नेपालमा वर्णव्यवस्था र वर्ग-सङ्घर्ष । अनि यो काम भने उपन्यासकार, कवि तथा राजनीतिक नेताका रूपमा परिचित आहुतिले गरेका छन् ।
आहुतिले ०६० देखि असार ०६७ सम्मको सात वर्षको कालखण्डमा लेखेका लामा छोटा गरी नौवटा लेखहरू र एउटा दलित शब्दको प्रयोग र अर्थका सम्बन्धमा प्रस्टीकरणसहितको नोट समावेश भएको उनको मूल आलेख अनि समाजशास्त्री प्रा. चैतन्य मिश्रको ३९ पेजको परिचय खण्ड मिलेर पुस्तक तयार भएको छ । पुस्तकमा मूलतः दक्षिण एसियामा दास युगको थालनी, आर्यहरूबाट अनार्यहरूमाथि विजयसँगै विजितहरूलाई दास बनाउने क्रममा स्थापित भएको दास व्यवस्था, पछि आर्य राज्यहरूका बीचमा नै भएको लडाइँपछि विजित आर्यहरूको दासमा परिणतको क्रम तथा अर्थ राजनीति अनि ब्राह्मण धर्मद्वारा प्रतिपादित वर्णव्यवस्थाले श्रमजीवीहरूलाई दास र शूद्रमा विभाजित गरेको प्रारम्भिकालको चर्चा यसमा छ । पछि दास र शूद्रहरूलाई बिस्तारै अछूत या पानी नचल्ने जातिका रूपमा- त्यही जातिभित्र विभिन्न श्रेणीहरूको सिर्जना, नेपालमा वर्णव्यवस्थाको प्रवेश, जयस्थिति मल्ल, राम शाह, पृथ्वीनारायण शाह र जङ्गबहादुर राणाबाट वर्ण व्यवस्थालाई बलियोसँग थोपर्न भएका प्रयास, वर्ण र वर्गको घुलमिल, राजनीतिक आन्दोलन र कथित लोकतन्त्रहरूमा दलितहरूको हुर्मत र तिनको केही मात्रामा हुँदै गएको परिवर्तन तथा दलित अधिकारको प्राप्तिका लागि राजनीतिक आर्थिक र सामाजिक/सांस्कृतिक अवस्था अनि दलित आन्दोलनकर्मीहरूले लिनुपर्ने बाटो समेत गरी समग्र दलित डिस्कोर्सलाई समेटिएको छ । यस अर्थमा यो नेपालको दलित मुक्तिको बहसमा हस्तक्षेप गर्ने गरी त्यसको एतिहासिक सन्दर्भ, वैचारिक र सैद्धान्तिक दृष्टिहरूको निरुपणको समेत प्रयासमा केन्दि्रत पहिलो समग्र सन्दर्भ ग्रन्थ भन्न सकिन्छ ।
पुस्तकले चारवटा प्रमुख प्रश्नहरूमा विस्तारमा चर्चा र बहस अगाडि बढाएको छ । पहिलो हो दक्षिण एसियामा खासगरी भारत र नेपालमा वर्ण व्यवस्थाको स्थापना र त्यसलाई बिस्तारै गैरब्राह्मण या जनाजातिहरूका बीच पनि कसरी थोपरियो तथा यो कसरी आन्तरिक फुट र विभाजन विकास भयो भन्ने कुराको विस्तारमा चर्चा । यसलाई नबुझीकन नेपालको सन्दर्भमा वर्गसङ्घर्षको प्रश्नलाई पनि हल गर्न सकिन्न भन्ने कुरा यसले प्रस्ट पारेको छ ।
दोस्रो हो नेपालमा दलितहरूको स्थिति जनाउने सूचकहरू र तिनका आधारमा गरिएको विश्लेषण । यसले दलितहरूको आजको स्थान कहाँ छ, कसरी यो पश्चिमा डिस्कोर्सले या दलित नभएका समाजको डिस्कोर्स र साहित्यले दलित भएका समाजको वर्ग विश्लेषण पूरा हुन सक्दैन भन्दै वर्णले वर्गको प्रतिनिधित्व गरेको कुराको चर्चा गर्छ । माक्र्सवादीहरूका बीचमा पनि यसलाई हेर्ने परम्परावादी या अन्धानुकरणवाला प्रवृत्तिका कारण नेपाल र भारतमा दलितहरूलाई समेट्न कम्युनिस्टहरूसमेत असफल भएकोतिरको वैचारिक कारण पनि यसले देखाउँछ । हिन्दु सामन्तवादको चिरफार यसले गरेको छ ।
उनले नेपालको राजनीतिक आन्दोलन या लोकतान्त्रिक र माक्र्सवादी आन्दोलनले दलितलाई बुझ्न नसकेको सन्दर्भ केलाएका छन् । सम्भवतः उनी आफ्नै अनुभवका आधारमा लेख्छन्, ‘सर्वहारा वर्गको पार्टी बनाउने उद्देश्यमा जुटेका क्रान्तिकारी वास्तविक सर्वहारा वर्गबाट र उनीहरूको समस्यालाई आफ्नो राजनीतिक एजेन्डा बनाउने गम्भीर दायित्वाबाट पर पुग्दै जाने दुर्भाग्य दोहोरिँदै जाने क्रम चलिरह्यो । एउटै पार्टीका स्थानीय एकाइका बैठक बस्दा कि त दलितको घरमा बस्नुपर्ने, ब्राह्मण-क्षेत्रीकहाँ बस्ने हो भने कोही ढोकाभित्र र कोही ढोकाबाहिर बसेर परिपत्र पढ्नुपर्ने अवस्था प्रत्यक्ष रूपमा लगातार भोग्नुपर्यो ।’
तेस्रोमा दलितहरूभित्रै भएको श्रेणी विभाजन, आन्दोलनका बारेमा रहेका फरकफरक बुझाइका कारण दलितहरूको एकीकृत भएर अगाडि बढ्न नसकेको कुरा केलाउँदै उनले अम्बेडकरदेखि नेपालको कम्युनिस्ट गैरकम्युनिस्ट धारका अनेक आन्दोलनको इतिहास र वर्तमानको चिरफार गरेका छन् । उनको बुझाइमा दलित आन्दोलन घुमाईफिराई दलित नै रहने यथास्थितिवादी, सुधारवादी र परिवर्तनवादी गरी तीन धारमा हिँडेको छ ।
चौथोमा उनले संविधान बन्दै गरेको आजको सन्दर्भमा दलितहरूको लागि आगामी राजनीतिक व्यवस्था कस्तो हुनुपर्ने भन्नेबारे एउटा माक्र्सवादी विश्लेषण अगाडि सारेका छन् । उनी दलितहरूका लागि खास अवधिसम्म आरक्षणको पक्षमा देखिएका छन् । आरक्षणका बारेमा उठेका अनेक जिज्ञासाहरूको जवाफ पनि उनले दिएका छन् । आहुतिले दलितहरूलाई क्षतिपूर्तिसहितको विशेषाधिकारको व्यवस्था गर्नुपर्ने कुरालाई मुख्य जोड दिएका छन् । उनी भन्छन् ः
‘विशेषाधिकारको सारतत्त्व के हो ? यसको सारतत्त्व हो ः सबै क्षेत्रमा क्षतिपूर्तिसहितको अतिरिक्त अधिकारको सिर्जना । क्षतिपूर्ति कुन क्षेत्रमा कति ? कुन क्षेत्रमा कसरी ? कुन क्षेत्रमा कति अवधिका लागि ? यस्ता प्रश्नमा भने फरक-फरक क्षेत्रमा परिस्थिति र राज्यको क्षमताअनुसार व्यवस्था गर्ने हो । तर एउटा कुरा विशेषाधिकारमा क्षतिपूर्तिबापत अतिरिक्त अधिकारको सिर्जना भने भएकै हुनुपर्दछ । यसप्रकारको विशेषाधिकारको कार्यक्रमले मात्रै हजारौं वर्षदेखि राज्यबाट पछाडि पारिएकाहरूलाई अगाडि बढाउने परिस्थिति सिर्जना गर्न सक्छ ।’ यसपछि उनले आफ्ना केही प्रस्तावहरू पनि अगाडि सारेका छन् ।
यसरी हेर्दा यो पुस्तक ‘दलित’को अर्थको चिरफारमार्फत होइन नेपालको दलितसम्बन्धी प्रश्नको व्यावहारिक र प्रगतिशील समाधान खोज्न गरिनुपर्ने प्रयासको समग्र वैचारिक र राजनीतिक कार्यक्रम पनि हो । यसमा राजनीतिक नेता आहुति लेखक आहुतिमाथि जताजता हावी भएको छ त्यतात्यता उनका आग्रह घुसेका छन् । पुस्तकको लामो भूमिका लेखेर चैतन्य मिश्रले यसलाई अरू ओजपूर्ण बनाएका छन् । यहाँनिर एउटा विरोधाभास-समाजको माक्र्सवादी कोणबाट विश्लेषण गर्ने र समाजवादतिर जान माग गर्ने आहुतिको पुस्तकमाथि अबको नेपालको बाटो, सामाजिक, लोकतान्त्रिक पुँजीवादी, हुनुपर्छ भन्ने मान्यता राख्ने चैतन्य मिश्रको भूमिका लेखनले सिर्जना गर्न सक्छ ।
समग्रमा आजको नेपाल बुझ्न खोज्नेले यो पुस्तक नपढ्दा उसको ज्ञान अधुरो र एकपाखे रहन्छ भन्न सकिन्छ ।
२०६८ साल बैशाख ३ गते शनिवार।
Leave a Reply