स्रोत: नागरिक दैनिक
-श्याम भट्ट
लोपोन्मुख प्रजातिका गिद्दका गतिविधि अब कम्प्युटरबाटै अवलोकन गर्न पाइने भएको छ। उड्नै लागेका गिद्दका चल्लामा भूउपग्रह (जिपिएस सिस्टम) जडान गरी यस्तो व्यवस्था मिलाउन लागिएको हो। सरकार र पन्छी संरक्षण संघको संयुक्त पहलमा दुई दसकयता अस्तित्व संकटमा रहेका डंगर प्रजातिका गिद्दका गतिविधि अध्ययन गर्न आइतबार रूपन्देही र कपिलवस्तुका गुँडबाटै छवटा चल्ला ल्याएर तिनका पखेटामा जिपिएस ट्रान्समिटर जडान गरिएको हो। बेलायतको ‘रोयल सोसाइटी फर प्रोटेक्सन अफ बर्डस’ले प्रयोग गरिरहेको स्याटलाइटले गिद्दका पलपलका सूचना प्रवाह गर्नेछ।
जिपिएसले गिद्दको उडान, हिँडडुल प्रवृत्ति, उडान सीमा, बासस्थान र आहारको खोजीलगायत गतिविधिको सूचना पठाउने संघका संघका जटायु संरक्षण कार्यक्रम अधिकृत आनन्द चौधरी बताए। उनले भने, ‘अब गिद्द कति टाढासम्म उड्छन् र उनीहरूलाई उड्न कति क्षेत्रफल आवश्यक पर्छ, आहारविहार, बासस्थान लगायत सूचना घन्टा-घन्टामा जानकारी लिन सकिन्छ।’
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागलाई गिद्दका गतिविधि निरन्तर प्रवाह गर्ने संघका प्रमुख कार्यकारी अधिकृत हुमबहादुर गुरुङले जनाए।
बाघ र गैंडापछि संकटापन्न सूचीमा रहेका गिद्दमा जिपिएस प्रविधि जडान गरिएको हो। एउटा चल्लामा जिपिएस लगाउँदा डेढ लाख रुपैयाँ खर्च भएको पन्छी संरक्षण संघले जनाएको छ।
दुई दसक अघि नेपालमा ५ लाख र भारतमा १६ लाख गिद्द रहेको तथ्यांक रहे पनि सन् ९० को दसकयता ९५ प्रतिशतले घटेर अहिले यहाँ ५ हजारजति रहेको अनुमान छ।
सरकारले गिद्द संरक्षणका लागि तराईको चितवन देखि कञ्चनपुर सम्मका १० जिल्लालाई संरक्षित क्षेत्र घोषणा गरेको छ। यो विश्वकै पहिलो कार्यक्रम हो। एसियाबाट गिद्द लोप हुन नदिन नेपालमा ‘सेभिङ एसियाज भल्चर फ्रम एक्सटिन्सन (सेभ)’ नामक दसवर्षे संरक्षण कार्यक्रम फागुन ९ बाट सुरु भएको छ । प्रकृतिका कुचीकार मानिने गिद्द संरक्षणका लागि यसै वर्षदेखि विश्वव्यापी पहलअन्तर्गत गिद्दमा जिपिएस लगाइएको हो। गिद्द पाइने एसियाका १२ देशमा यो कार्यक्रम यसै वर्ष सुरु हुँदैछ। सेभले विश्वभरिका संरक्षण संस्थाका लागि सहयोग जुटाउनेछ। सेभका अध्यक्ष तथा पन्छी संरक्षण विश्वव्यापी मञ्च बेलायतको रोयल सोसाइटी फर प्रोटेक्सन अफ बर्डसका निर्देशक प्राध्यापक इयान न्युटनले एसियामा ९० प्रतिशत बढीका दरले गिद्द घटेको जनाउँदै संरक्षण कार्य पर्या-वातावरण क्षेत्रकै चुनौती रहेको बताए।
नेपालमा पाइने ८ प्रजातिका गिद्द मध्ये डंगर, सानो खैरो र सुन गिद्द अति संकटापन्न सूचीमा छन् भने सेतो गिद्द पनि संकटोन्मुख सूचीमा छ। यीबाहेक, यहाँ राज, हिमाली, खैरो र हाडफोर प्रजातिका गिद्द पाइन्छन्।
सन् १९९२ यता भारतीय उप-महाद्वीपमा डंगर, सानो खैरो र लामोटुँडे गिद्दको सङ्ख्या ९५ प्रतिशतले घटेको तथ्यांक छ। आइयुसिएनले सन् २००७ मा नेपालका चार प्रजातिका गिद्दलाई संकटापन्न सूचीमा राखेको थियो।
२०६७ साल चैत २ गते बुधवार प्रकाशित।
Leave a Reply