स्रोत: गोरखापत्र
-नारायण ढकाल
यती (हिममानव) का बारेमा विभिन्न लेख एवं पुस्तकहरू पाइन्छन् । यतीकै नाम राखेर नेपालमा विभिन्न होटलहरू देखि लिएर वायु सेवा कम्पनीहरू सञ्चालन भइरहेको पाइन्छ । यहाँ यतीका बारेमा रोचक जानकारी दिने प्रयत्न गरिएको छ । तिब्बती भाषामा घृणित हिममानव भनेर चिनिने यसलाई हिमालय क्षेत्रमा ‘यति’ भनेर चिनिन्छ । एसियामा उत्तरमा गोवी मरुभूमि र दक्षिणमा आसाम सम्म यसलाई मेटी, सुकपा, मिगो, कामी र यस्तै अन्य नामबाट चिनिन्छ । त्यस्तै अमेरिकामा यसलाई बिगफुट (Big Foot) र क्यानाडामा यसलाई सास्क्वाच (Sasquatch; mythical giant apes?) भनेर चिनिन्छ । हिमालमा अर्थात् हिउँमा बस्ने यो जीव नेपाल, भारत र तिब्बतमा रहेको विश्वास गरिन्छ । यतीले याक र भेडा खान्छ भन्ने विश्वास गरिन्छ । यस क्षेत्रका स्थानीयहरूका अनुसार दक्षिण एसियाको उच्च हिमाली क्षेत्रमा यो बस्दछ । नेपाली शेर्पा र तिव्वतीहरूका अनुसार यती विभिन्न प्रकारका हुन्छन् । ठुलो जातको यती मानिस र लामो पुच्छर भएको बाँदरको वर्णसंका जस्तो हुन्छ । यो राम्रोसँग उभिन सक्दछ । यो दुई मिटरभन्दा अग्लो हुन्छ र यसको गाढा-खैरो, कालो रौँ हुन्छ । त्यस्तै अर्को प्रकारको यती औसत मानिस भन्दा सानो हुन्छ र रातो-खैरो छाला हुन्छ । यी यतीहरूमा दुई कुरामा समानता पाइन्छ । त्यो के भने यिनीहरू राम्रो सँग दुई खुट्टामा उभिन सक्छन् र यिनीहरू सबै रहस्यमय छन् ।
सन् १८३२ मा बेलायती नागरिक बी.एज. हडसनले नेपालमा शरीरभरि रौं नै रौं भएको जीवले आफ्नो नोकरमाथि आक्रमण गरेको भनी उल्लेख गरेका थिए । स्थानीय मानिसहरूले यसलाई राक्षस भन्थे । यो नै पश्चिमीहरूले सम्भावित यतीको बारेमा तयार पारेको पहिलो प्रतिवेदन थियो । सन् १८८९ मा ब्रिटिश आर्मीका मेजर एल.ए. वाडेलले सिक्किमको उच्च चुचुरोमा ठुला पैंतालाको छाप भेटेको र उनका भरियाहरूले त्यस ठाउँलाई यतीको बाटो भएको र त्यसले मानिसलाई आक्रमण गरी खान लिएर भाग्छ भनी उल्लेख गरेको पाइन्छ ।
त्यस्तै सन् १९१३ मा केही चिनिया शिकारीहरूले शरीरभरि रौं नै रौं भएको मानव जस्तो जीवलाई घाइते बनाई पक्रेर पटाङ्ग सिङ्गीयाङ क्षेत्रमा थुनेर राखे । तत् पश्चात पाँच महिनापछि यसको मृत्यु भयो । यो कालो बाँदरको जस्तो अनुहार, ठुलो शरीर, चम्किलो पहेंलो केही इञ्च लामा रौँ शरीरभरि भएको, हात खुट्टा मानिसको जस्तो भएको र अत्यधिक बलियो थियो भन्ने उल्लेख भएको पाइन्छ ।
सन् १९२१ मा कर्णेल होवार्ड बुरीद्वारा नेतृत्व गरिएको बि्रटिश एक्पीडिसन टिमले सगरमाथामा करिव १७,५०० फिटको उचाईमा हिउँमा कालो आकृति घुमिरहेको दृश्य देखेका र उक्त स्थानमा गई हेर्दा कुनै जीव नभेटिएको तर मानवका जस्तो ठुलो पाइताला छाप भेटिएको भन्ने उल्लेख भएको पाइन्छ । सन् १९२३ मा सगरमाथा आरोहण दलका मेजर एलन क्यामेरोनले कालो र ठुलो आकृतिको अवलोकन गरे । उक्त ठाउँ उनी रहेको ठाउँवाट २ दिनमा पुुग्न सकिन्थ्यो भन्ने उल्लेख भएके पाइन्छ । सन् १९२५ मा ग्रीक फोटोग्राफर तथा र्वायल जियोग्राफिकल सोसाइटीका सदस्य एल.ए. तोम्बाजीले झल्याक्क एउटा आकृति देखेको र उनका अनुसार त्यो जीव मानव जस्तो थियो। माथितर्फ हिँडिरहेको थियो , रोकिँदै लालीगुँरासको फुलको कोपीलाहरू चुँड्दै गर्दथ्यो । तोम्बाजी त्यतिखेर हिमालमा १५,००० फिटको उचाइमा थिए । उनी सो दृश्यहरू देखेको ठाउँमा पुग्दा अचम्मका पाइलाहरू थिए भनी उल्लेख गरेको पाइन्छ ।सन् १९४२ मा स्ल्याभोमिर र्याविकज को द लङ्ग वाक नामक पुस्तकमा उनले उल्लेख गरे अनुसार उनी र उनका अन्य ६ जना साथिहरू साइवेरिया युद्धवाट भाग्ने क्रममा भुटान र सिक्कीमको बीचमा हिमालय पार गर्दा उनी र उनका साथीहरूले दुई घण्टासम्म १०० कदम परबाट झण्डै आठ मिटर अग्ला, ठूला जीवहरू देखेको उल्लेख गरेका छन् । सन् १९४८ मा नर्वेका जान प|mोसटिसलाई सिक्किममा दुई यतीहरूले आक्रमण गरेका र उनको पाखुरामा ठुलो घाउ लागेको र उपचारपछि निको भएको भनि दाबी गरिएको पाइन्छ । त्यसैगरी सन् १९४९ मा तेन्जिङ्ग नोर्गे शेर्पाले गुम्बाको नजिकै हिउँमा यतीहरू खेलिरहेको देखेको दाबी गरेका भनी उल्लेख गरेको पाइन्छ ।
नेशनल जोग्राफीमा सन् १९६२ मा प्रकाशित लेख ‘विन्टरिङ अन द रुफ अफ द वल्र्ड’ मा उल्लेख भए अनुसार २९ मे, सन् १९५३ मा सर एडमण्ड हिलारीले तेन्जिङ्ग नोर्गे शेर्पाका साथ सगरमाथा आरोहणको क्रममा यतीको बारे खोजी गरी यती वास्तविक कुनै प्राणी नभएको र यो कथा मात्र भएको निष्कर्ष निकाले । सन् १९५८ मा नेपालमै काम गर्ने अमेरिकी वैज्ञानिक डा. नर्भनले गुफाहरू पहिल्याएको र त्यहाँ भेटिएका रौंका नमुनाहरू , पैतालाका छापहरू र फालिएका खानाका टुक्राहरू समेतको अध्ययन गर्दा त्यहाँ केही समय सम्म धेरै तल्लो स्तरको मानिस वा मानव जस्तै जीव बसेको भन्ने निष्कर्ष निकालिएको भन्ने उल्लेख छ । सन् १९९८ मा अमेरिकी आरोही क्रेग क्यालोनिकाले सगरमाथा आरोहणको क्रममा चिनिया साइडवाट तल झर्दै गर्दा एक जोडी यती देखेको र तिनीहरू मोटा, चम्किला -काला रौहरू भएका र तिनीहरू माथितिर हिडिरहेका थिए भन्ने उल्लेख भएको पाइन्छ । सन् २००७ को डिसेम्बरको प्रारम्भतिर अमेरिकी टेलिभिजन प्रस्तोता जोसुआ गेट्स र उनको समूह डेस्टिनेशन टु्रथले आफुहरूले नेपालको हिमाली क्षेत्रमा अनौठा पैतालाछाप देखेको रिपोर्ट गरेको उल्लेख छ ।
जापानी पर्वतारोही पाइताला छाप ताकाहासी र उनको समूहले नेपालको धवलागिरी हिमालमा यतीको बारेमा अनुसन्धान गरेका थिए । सन् १९७१ मा धवलागिरी क्षेत्रको यात्राको क्रममा उनले रहस्यमय जीव देखे जसले गर्दा उनले यतीको विषयमा बढी रुचि राख्न थाले । तत्पश्चात् उनका साथीले एउटा रहस्यमय जीव देखे । त्यो करिव १५० सेन्टिमिटर (५ फिट) अग्लो थियो र दुई खट्टाले उभिएरै हिँडिरहेको थियो । ताकाहासी सन् १९९४ मा यती पहिल्याउन भनि धवलागिरी क्षेत्रमा पुनः फर्के । त्यसबेला उनले पहाडका गुफामा मानिसको जस्तो पैतालाको छाप देखे जहाँ जनावरको जस्तो कडा गन्ध आएको थियो । सन् २००३ माता ताकाहासी र उनको टोलीले रहस्यमय धेरै पाइताला छाप फेला पारे र उनीहरूले त्यस ठाउँको वरपर अवलोकन गरे ।द यति प्रोजेक्ट जापान २००८ वेवसाइटको लेखमा ताकाहासीले लेखेका छन् की सन् २००३ सेप्टेम्बर २७ को १२ः२५ बजेमा गुर्जा हिमालमा तीनवटा काला आकारका आकृति देखिएका र तिनीहरू मानव जस्तै थिए । तिनीहरू दुई खुट्टाले उभिएर हिँडिरहेका थिए । उक्त समूहले यतीलाई राम्रोसँग हेर्न चाहन्थे तर केही क्षणमै ती आकृति नजरबाट टाढा हुँदै ओझेल परे । उनका अनुसार यो भालु पनि होइन र बाँदर पनि होइन तर यो पक्कै पनि दुई खुट्टाले हिँड्ने रहस्यमय जीव हो । दुर्भाग्यवश नै भन्नु पर्दछ उक्त टिम वैज्ञानिक प्रमाणका लागि यतीको दृश्य लिने आफनो लक्ष्यमा सफल हुन भने सकेन । यतीको बारेमा स्थानीय मानिसहरू, विभिन्न पर्वतारोहीहरू र अनुसन्धानकर्ताहरूले यतीको अस्तित्वको बारेमा उल्लेख गर्ने गरे तापनि यसको बारेमा कुनै वैज्ञानिक प्रमाणले यसलाई आजसम्म पुष्टि गर्न सकेको छैन । यद्यपि यती पाइने भनिएको क्षेत्र वरपरका स्थानीय मानिस, विभिन्न समयमा पर्वतारोहण गर्ने पर्वतारोहीहरू र अनुसन्धानकर्ताका उपरोक्त बमोजिमका भनाइहरूबाट कुनै अनौठो जीव हिमालय क्षेत्रमा रहन सक्ने र भौगोलिक विकटता लगायतका विविध कारणहरूले त्यसको वैज्ञानिक अनुसन्धान हुन नसकेको हो की भन्ने अनुमान गर्न गाह्रो पर्दैन ।
Leave a Reply