स्रोत: कान्तिपुर
-अतुल मिश्र
अध्ययनहरू अनुसार “उच्च रक्तचाप” र “मधुमेह रोग” मृगौला फेल हुने एउटा प्रमुख कारण हो । यस्तै उच्च रक्तचाप मृगौलाले काम गर्न छोड्ने २७ प्रतिशत नयाँ केसका लागि जिम्मेवार समेत छ ।
‘मृगौला रोग भएका रोगीमा मुटु रोगले मर्ने आठगुणा बढी सम्भावना हुन्छ,’ त्रिवि शिक्षण अस्पताल, महाराजगंजकी कन्सलटेन्ट नेफ्रोलजिस्ट र ट्रान्सप्लान्ट फिजिसियन डा. दिव्यासिंह शाह भन्छिन्, ‘यो संख्या क्यान्सरले मृत्यु हुनेहरू भन्दा धेरै बढी हो ।’
रक्तचाप र मधुमेह नियन्त्रणमा मृगौलाले मुख्य भूमिका खेल्छ । यसैले मृगौलाको कुनै रोगले रक्तचापलाई बढाउँछ । उच्च रक्तचापले गर्दा रगतको नली संकुचित र क्षतिग्रस्त हुनुका साथै नलीको लचकतासमेत कम हुन्छ । उच्च रक्तचापले मृगौलाको रक्तनलीलाई समेत क्षतिग्रस्त तुल्याउँछ । यसले मृगौलाको छान्ने क्षमता प्रभावित हुन्छ । यस्तो स्थितिमा मृगौला शरीरको विषाक्त पदार्थलाई शरीरबाट पूर्ण रूपमा निकाल्न अक्षम हुन्छ । डा.शाहका अनुसार यसले विषाक्त पदार्थ शरीरमा जम्मा हुँदै गर्छ र मुटु, हाड आदिको रोगसमेत निम्त्याउँछ ।
मृगौलामा एक हजार देखि १२ सय मिलिलिटर सम्म रगत प्रत्येक मिनेट पुग्छ । जो मृगौलाको आकार अनुसार अत्यधिक हो । मृगौलाले हाम्रो शरीरमा रगतबाट विषाक्त पदार्थ एवं अनावश्यक पानी बाहिर निकालेर सफा राख्छ । मृगौला हाम्रो शरीरमा रक्तचाप नियन्त्रण, सोडियम र पोटेसियमको मात्रामा नियन्त्रण सँगै रगतको अम्लीयता नियन्त्रणमा महत्त्वपूर्ण भूमिका खेल्छ । यसले रातो रक्त कण बनाउन सघाउँछ र शरीरमा क्याल्सियमको मात्रा सही राखेर हाडलाई बलियो बनाउँछ ।
नेपाली समाजमा मृगौला रोग धेरै ढिलो गरी थाहा पाइने गरिएको उल्लेख गर्दै राष्ट्रिय मृगौला उपचार केन्द्रका निर्देशक मृगौला रोग विशेषज्ञ डा. ऋषि काफ्ले भन्छन्, ‘यति समय सम्म मृगौला पूर्णरूपमा क्षतिग्रस्त भइसकेको हुन्छ ।’ डा.काफ्लेका अनुसार धेरैजसो समय रोगीलाई केही थाहा नभए पनि त्यो बेलासम्म मृगौलाको क्षमता आधा समाप्त भइसकेको हुन्छ ।
मृगौला फेल भएका रोगीलाई डायलसिस वा मृगौला प्रत्यारोपण आवश्यक हुन्छ ।
‘मुलुकभरिमा करिब ६ सय रोगी डायलसिस गरेर बाचिरहेका छन्,’ डा.शाह भन्छिन्, ‘तर अस्पताल पुग्ने रोगीमध्ये मात्र २० प्रतिशतले ३ महिना सम्म डायलसिसको खर्चलाई धान्न सकिने अवस्था देखिने गरिन्छ ।’ ३ महिनाभन्दा बढी डायलसिस गराउने मध्ये मात्र १५ प्रतिशत मृगौला प्रत्यारोपणका लागि नेपाल र भारतको केन्द्रमा पुग्ने गरेको उल्लेख गर्दै डा.शाह भन्छिन्, ‘अर्थात मृगौला उपचारका लागि केन्द्रमा पुग्ने गरेका करिब ८० प्रतिशत व्यक्तिले आर्थिक र सामाजिक कारणले आपmनो ज्यान गुमाउने गरेका छन् ।’
मृगौला रोगको जाँच
मृगौला रोगको पहिचान मेडिकल परीक्षणद्वारा नै सम्भव छ । ‘रगतको जाँचका माध्यमले रगतमा व्यर्थ उत्पादन –(क्रिएटिनाइन) को बढ्दो स्तरको पहिचान गर्न सकिन्छ।’ डा. कापmले भन्छन्, ‘यो अति सामान्य र अत्यन्त कम खर्चिलो परीक्षण हो ।’ सामान्य व्यक्तिमा मृगौलाको छान्ने प्रक्रिया यो सुनिश्चित गर्छ कि पिसाबबाट प्रोटिन ननिस्कोस् । यो पिसाब परीक्षण गर्दा सजिलै थाहा पाइन्छ । डा.काफ्लेका अनुसार यो मृगौला बिग्रन लागेको पूर्व लक्षणमध्ये एक हो ।
रोकथाम
रक्तचाप र मधुमेह नियन्त्रणमा राख्ने उपाय मृगौला रोगको खतरालाई कम भन्दा कममा राख्नु समेत हो । हाइपरटेन्सनको थुप्रै उपचारले मृगौला रोगलाई रोक्छ र मृगौलाले काम गर्न छोड्ने सम्भावनालाई न्यून गर्छ ।
रक्तचापलाई नियमित जाँच गरेर मृगौला बचाऊ गर्न सकिन्छ । डा. शाहका अनुसार रक्तचाप १२०/८० भन्दा बढी हुनु हुँदैन । सकारात्मक जीवनशैली, नियमित व्यायाम, सब्जी, फलसहित फाइबर बढी भएको आहारले मृगौलालाई सुरक्षा दिन्छ । नियमित रगत र पिसाबको परीक्षणद्वारा मृगौला रोगको पहिचान गर्न सकिन्छ ।
मृगौला रोगको लक्षण
सामान्यतः अनुहार सुन्निनु । बिहान बढी देखिने गरी आँखाको चारैतर्फ सुन्निनु र खुट्टा सुन्निनु । भोक कम लाग्नु, वाक्वाकी लाग्नु, वान्ता हुनु, कमजोर हुनु, छिट्टै थाक्नु र शरीरमा रगतको कमी हुनु । कम उमेरमा उच्च रक्तचाप हुनु वा अनियन्त्रित उच्च रक्तचाप हुनु । कम्मरमा तल्लो खण्डमा दुख्नु । पिसाब धमिलो हुनु वा रातो हुन ।
के हो किड्नी फेल्योर ?
रगतमा संग्रहित भएको विषाक्त पदार्थ हटाउन र पानी र मिनरल्सको सन्तुलन बनाउन मृगौलाले काम नगर्ने अवस्थालाई किड्नी फेल्योर भनिन्छ । डा.कापmलेका अनुसार रगत परीक्षणमा युरिया र क्रिएटनिनको बढ्दो मात्राले किड्नी फेल्योरलाई दर्साउँछ । विस्तारै र स्थायी रूपमा मृगौलाको कार्य क्षमता जो वर्षौंदेखि वा महिनौंदेखि घट्दै रहन्छ । यसलाई क्रोनिक किड्नी फेल्योर भनिन्छ ।
मृगौला रोगको बढी जोखिम हुने अवस्था
मधुमेह र उच्च रक्तचाप क्रोनिक मृगौला रोगका लागि सबैभन्दा बढी जिम्मेवार छ । यस्तो मोटोपना, धुमपान, ५० वर्षभन्दा बढी उमेर र दुखाइ नाशक औषधिको अत्यधिक र लामो समयसम्म सेवनले समेत यो रोगको जोखिमलाई बढाउँछ ।
मृगौला स्वस्थ राख्ने आठ सूत्र
सधैं फिट र ऊर्जावान् रहनुस् । दिनहुँ गरिने व्यायाम लगायतका अन्य शारीरिक गतिविधि रक्तचापका साथै रगतमा चिनीको मात्रालाई नियन्त्रित राख्छ । मधुमेहलाई नियन्त्रित राख्नुस् । मधुमेहले मृगौलालाई बिगार्छ । यसैले रगतमा चिनीको मात्रा नियन्त्रित राख्नुपर्छ । उच्च रक्तचाप नियन्त्रण राख्नुस् । उच्च रक्तचाप क्रोनिक मृगौला रोगका लागि दोस्रो नम्बरमा आउने शत्रु हो । तौललाई सन्तुलित राख्नुस् । सन्तुलित आहार र नियमित व्यायामबाट तौललाई नियन्त्रित राख्नुस् । यसले मधुमेह, मुटु रोग अन्य रोगको रोगथाममा सघाउ पुग्नेछ ।
नियमित रूपमा मृगौलाको कार्यक्षमता परीक्षण गराउनुस् । मृगौला रोगको खतरा हुनेहरूलाई नियमित रूपमा यसको कार्यक्षमता परीक्षण गराउनुपर्छ । समयमै थाहा पाइए उपचार प्राप्त हुन्छ र मृगौला बिगि्रने सम्भावना कम रहन्छ ।
धुमपान र तमाखु सेवन नगर्नुस् । यसले एथेरोस्क्लेरोसिस नामक विशेष प्रकारको रोगले रगतको नसामा बहाव मत्थर हुन्छ । मृगौलामा रगत कम जाँदा यसको कार्यक्षमता घट्छ ।
चिकित्सकको सल्लाहबिना औषधि नखानुस् । पसलबाट सोधेर लिइने कतिपय औषधि मृगौलाका लागि हानिकारक हुन्छन् । दुखाई-नाशक सामान्य औषधि जस्तै स्टेराइड, एन्टि इन्फेलामेट्री, नियमित उपयोग गर्नाले मृगौलालाई खराब पार्छ ।
दिनहुँ डेढ लिटर पानी सेवन गर्नुस् । नुनको सेवन सकेसम्म कम गर्नुस् । बढी तारिएका पदार्थ पनि कम खानुस्।
[२०६७ साल फागुन २८ गते शनिवार प्रकाशित।]
Leave a Reply