स्रोत: कान्तिपुर
-अतुल मिश्र
आधा रातमा खुट्टाको बुढीऔंलामा अचानक पीडा अनुभव हुन्छ ? जोर्नी रातो हुन्छ, थिच्दा खाडल बन्छ वा ज्वरो आउँछ ? बुढीऔंलाको जोर्नीमा एकतिर वा दुईतिर सुन्निन्छ ? कहिलेकाहीँ नमज्जाले दुख्छ कि ? यस्तो भए तुरुन्त चिकित्सकको सल्लाह लिनोस् । तपाईंलाई अर्थ्राइटिस अर्थात् बाथ रोग हुन सक्छ।
हाडजोर्नी विशेषज्ञकहाँ पुग्ने गरेका बाथ रोगीको तथ्यांक विश्लेषण गर्दा नेपालको करिब पाँच प्रतिशत जनसंख्या बाथ रोगबाट प्रभावित छ । ‘हाम्रो मुलुकमा मुख्यतः रुम्याटाइड अर्थ्राइटिस र गाउट अर्थ्राइटिसका रोगी बढी छन्,’ – नेपाल मेडिकल कलेज, अत्तरखेलका हाडजोर्नी शल्यचिकित्सक प्रा.डा. रामकेवल साह भन्छन् । गाउट अर्थ्राइटिसलाई नेपालीले बाथ रोग (गठिया) का रूपमा बुझ्ने गरेका छन् ।
गाउट अर्थराइटिस अर्थात् बाथ, जोर्नी सुन्निएर दुख्ने अत्यन्त पीडादायक रोग हो । यसमा जोर्नी दुख्छ । शरीरमा युरिक एसिडको मात्रा बढ्छ । साना-ठूला जोर्नी सुन्निन्छन् । युरिक एसिडको कण (क्रिस्टल) जोर्नीहरूमा जम्मा हुन्छ । रगतमा पाइने अम्ल अर्थात् युरिक एसिड उच्च मात्रामा उपस्थित हुँदा यो रोग लाग्छ । युरिक अम्ल पिसाबको खराबीले उत्पन्न हुन्छ । यो प्रायः मृगौलाबाट बाहिर आउँछ ।
‘मृगौलाबाट पिसाब आउन कमी भए वा पिसाब बढी लाग्न थाले रगतमा युरिक अम्लको स्तर बढ्छ,’- प्रा. डा. साह भन्छन्, ‘युरिक अम्लको क्रिस्टल विभिन्न जोर्नीहरूमा जम्मा हुन थाल्छ ।’ रक्षात्मक कोसिकाहरूले यो क्रिस्टललाई ग्रहण गर्छन् अनि जोर्नीको स्थानमा दुखाइ बढाउने पदार्थ उत्पन्न हुन्छ । यसैले प्रभावित भएपछि जोर्नी समेत खराब हुन सक्छ ।
अमेरिकाको नेसनल इन्स्टिच्युट अफ अर्थ्राइटिस एन्ड मस्क्युलोस्केलेटल एन्ड स्किन डिजिज (एनआईएएमएस) का अनुसार अर्थराइटिसको सबैभन्दा पीडादायक प्रकार गठिया अर्थात् बाथ हो । शरीरमा अत्यधिक युरिक एसिडको निर्माणपछि यो समस्या देखिन्छ । यो युरिक एसिडले तिखो युरिक एसिडको क्रिस्टल जोर्नी र पैतालामा जम्मा हुन्छ । यस्तै, छालाको तल जम्मा भएको युरिक एसिड डल्लो जस्तो देखिन्छ । मृगौलामा समेत पत्थरी हुन्छ ।
‘धेरैजसो व्यक्तिको बाथको पहिलो एट्याक खुट्टाको बुढीऔंलामा देखिन्छ,’ प्राडा. साह भन्छन्, ‘यसको एट्याकले मान्छेलाई निद्राबाट समेत ब्युँताउँछ, घाउजस्तै तीव्र पीडा अनुभव हुन्छ ।’ यसमा खुट्टाको बुढीऔंला रातो र सुन्निएको देखिन्छ । खुट्टाको बुढीऔलासँगै बाथ कुहिनो, खुट्टाको माथिल्लो मध्यभाग, कुर्कुच्चा, गोलीगाँठा, नाडी, औंलासमेत प्रभावित हुन्छन् ।
छिट्टै उपचार गरेर नियन्त्रण नगर्दा बाथले जोर्नीलाई स्थायी नोक्सानसमेत पुग्छ । रुम्याटोइड अर्थराइटिसको प्रारम्भिक अवस्थामा जोर्नी दुख्छ । बाथ रोगीले नियमित रूपमा मृगौला परीक्षण
गराउनुपर्छ । नियमित परीक्षण नगर्दा पत्थरी भएर किड्नी फेल हुने, प्रत्यारोपण तथा डायलसिसको अवस्थासमेत आउन सक्ने भएकाले युरिक एसिडका समस्या भएकाहरूले विशेष चनाखो हुनुपर्ने प्राडा. साह बताउँछन् ।
एनआईएएमएसका अनुसार वैज्ञानिकहरूले एक करोड २० लाख २० वर्ष वा यसभन्दा बढीका वयस्कले जीवनको कुनै समयमा आफूलाई बाथ भएको बताउने आँकलन गरेका छन् । यो रोग बच्चा र किशोरहरूमा दुर्लभ मानिन्छ । ४० देखि ५० वर्ष उमेर समूहका पुरुष महिलाको दाँजोमा बढी मात्रामा बाथको चपेटामा फस्छन् । महिलाहरू भने रजोनिवृत्ति हुनुअघि कमै मात्रामा बाथको सिकार हुने गरेका छन् । अंग प्रत्यारोपण गराएकाहरूमा बाथ हुने सम्भावना सबैभन्दा बढी हुन्छ ।
अमेरिकन कलेज अफ रुम्याटोलोजीका अनुसार बाथले ३० लाख अमेरिकीलाई प्रभावित पारेको छ । रुम्याटोलोजिस्टले बाथको उपचार प्रक्रिया सुरु गर्ने भए पनि विशेषज्ञको अभावमा नेपालमा भने हाडजोर्नी विशेषज्ञहरूले नै त्यसको बिँडो थाम्दै आएका छन् ।
बाथ असाध्य रोग होइन
चिकित्सा विज्ञानमा भएको प्रगतिका कारण अब बाथ रोग असाध्य रहेन । यो रोगलाई निको पार्न औषधि सँगसँगै शल्यक्रियाको समेत प्रमुख भूमिका हुन्छ ।
बाथका धेरैजसो केसमा घुँडा विकारग्रस्त हुन्छ । मानव घुँडा एउटा जोर्नी हो जसको माथिको ‘फिमर’ हाड र तलको ‘टिबिया’ हाडको बीचमा कार्टिलेज हुन्छ । समयसँगै यो कार्टिलेज खिइन थाल्छ वा कुनै कारणवश टुटफुट हुन्छ । फलस्वरूप माथि र तलका हाड आपसमा रगडिन थाल्छन् ।
प्रा.डा. साहका अनुसार बाथ उपचारका चार खण्ड छन्: जोर्नीमा कम दबाब, व्यायाम, औषधि र शल्यक्रिया । जोर्नीमा दबाब कम गर्न एउटै समयमा बढी काम गर्नु हुँदैन । मोटो तलुवा भएका जुत्ता लगाउनुपर्छ । लठ्ठी टेकेर हिँड्नुपर्छ । शरीरको तौल कम गर्नुपर्छ । घुँडाका केही खास प्रकारको व्यायाम यो रोगको रोकथाममा धेरै सहयोगी हुन्छ । तर यस्ता व्यायाम भने चिकित्सकको परामर्शमा मात्र गर्नुपर्छ । व्यायामसँगै रोगीलाई केही विशेष औषधि समेत दिइन्छ ।
घुँडामा असहनीय पीडा भएकाहरू, औषधिबिना काम नचल्नेहरू, ओछ्यानमा कोल्टो फेर्दा दुखाइ अनुभव गर्नेहरू, अलिकति पनि हिँड्न नसक्नेहरूका लागि घुँडा प्रत्यारोपण नै एक मात्र विकल्प हो ।
[२०६७, फागुन १४, कान्तिपुरमा प्रकाशित]
Leave a Reply