स्रोत: कान्तिपुर
-डा. संजीवकुमार शर्मा
इन्टरनेसनल सोसाइटी अफ नेफ्रोलोजी र इन्टरनेसनल फेडरेसन अफ किड्नी फाउन्डेसन्सले संसारभर “विश्व मृगौला दिवस” आज मार्च १० तारिखका दिन मनाउँदैछन् । “मृगौला बचाऔं, मुटु जोगाऔं” भन्ने मूल नाराका साथ यो वर्ष मुटु र मृगौला दुवैको महत्त्वलाई मनन् गर्दै दुवैलाई स्वस्थ राख्ने हरसम्भव प्रयासमा हामी सबै लाग्नुपर्ने दृढताका साथ समाजलाई झक्झकाउने कार्यहरूले गति पाउने विश्वास लिइएको छ ।
मृगौला र मुटु बीचको सम्बन्ध
शरीर सञ्चालनमा मुटु र मृगौला दुवैको महत्त्वपूर्ण भूमिका हुन्छ । कुनै एकलाई असर पर्यो भने स्वतः अर्कोलाई असर पर्ने हुन्छ । पूर्वाञ्चलका करिब ३५ हजार सर्वसाधारणको घरदैलोमै पुगी केही वर्षदेखि हामीले गरेको अध्ययन-अनुसन्धानबाट पिसाबमा प्रोटिन जानु एवं मृगौलाको शुद्धीकरणको दर घट्ने घटनाले कार्डियोभास्कुलर रोगको जोखिम २० प्रतिशतले बढ्ने देखिएको छ । जसलाई हामीले अन्तर्राष्ट्रिय जर्नलमार्फत सन् २०१० मा सार्वजनिक गरेका थियौं ।
सोही अनुसन्धानबाट २० वर्षमाथिका २० दसमलव ७ प्रतिशत मानिसहरू मेटाबोलिक सिन्ड्रोम -मोटोपना तथा रगतमा बोसोपन देखिनु) बाट ग्रसित भएको देखिएको थियो भने १० प्रतिशतलाई कुनै न कुनै प्रकारको मृगौला रोग देखिएको थियो । यसले के देखाउँछ भने मृगौला तथा मुटुरोगीहरू समाजमा भुसको आगोसरि बढिरहेका
छन् । मुटु र मृगौला दुवैलाई बिगार्ने कारकतत्त्वहरू -जस्तै ः मधुमेह, उच्च रक्तचाप, धूमपान, शारीरिक व्यायामको अभाव आदि) एकै प्रकारका भएका कारणले पनि यी दुवैको स्वास्थ्यमा विशेष ध्यान दिनुपर्ने आवश्यकता छ ।
मानव शरीरको पेटभित्र मेरुदण्डको दुवैतिर मुरुी आकारका दुईवटा मृगौला रहेका हुन्छन् । मृगौलाले एकदिनमा सरदर दुई सय लिटर रगत छान्छ र त्यसबाट उत्पन्न शरीरका विकार तत्त्वलाई पिसाबको रूपबाट बाहिर पुर्याउँछ । यसका अतिरिक्त मृगौलाले रक्तकोष उत्पादन गर्न, हाड मजबुत बनाउन र शरीरमा रक्तचाप नियन्त्रण गर्न मद्दत पुर्याउँछ । मृगौलामा समस्या देखिएमा यसले माथि उल्लिखित काम गर्न सक्तैन र यसका कारणले विभिन्न समस्या उत्पन्न हुन्छ ।
मृगौला रोग विश्वमा एउटा महामारीको रूपमा फैलिएको पाइन्छ । विश्वमा ४० देखि ६० करोड मानिस मृगौला रोगको सिकार भएको अनुमान गरिएको छ । यसको कार्यक्षमता यति धेरै हुन्छ कि ९० प्रतिशतभन्दा बढी मृर्गाला खराब भए पनि शारीरिक रूपमा कुनै समस्या नदेखिन सक्छ । तर जब बिरामीमा यसको लक्षण देखापर्छ, त्यतिबेला धेरै ढिलो भइसकेको हुन्छ, जसको परिणामस्वरूप उसले नियमित रूपमा मेसिनद्वारा रगत सफा गर्नुपर्ने (डायलाइसिस) र मृर्गाला नै प्रत्यारोपण गर्नुपर्ने स्थितिसम्म आउँछ । त्यसैले समयमै रगत तथा पिसाब परीक्षण गर्नु अति आवश्यक हुन्छ ।
विश्वभर हुने सबै प्रकारको मृत्युको ३० प्रतिशत र स्वस्थ जीवन क्षति हुने १० प्रतिशत कारण कार्डियोभास्कुलर (मुटु) रोग भएको अध्ययनले देखाएको छ । यद्यपि पछिल्लो समयमा आएर विकसित देशहरूमा मुटुरोगीहरूको संख्यामा कमी आएको देखिए पनि विकासोन्मुख देशहरूमा यसको बढ्दो दर भयावह छ । सन् २००४ मा रगतको शुद्धीकरण गर्ने दरमा आउने कमीका कारणले मुटुरोगबाट हुने मृत्युमा वृद्धि भएको यथार्थ सार्वजनिक भएको थियो । त्यसैगरी सन् २००६ मा पिसाबबाट प्रोटिन जाने समस्याले हृदयाघातबाट हुने मृत्युलाई बढाउने गरेको तथ्य फेला परेको थियो । यसबाट के देखिन्छ भने मुटु र मृगौलाबीचको सघन सम्बन्ध रहेको छ । दुवैमध्ये कुनै एकमा आएको खराबीले अर्कोलाई प्रत्यक्ष असर पुर्याउँछ ।
मृगौला रोगका लक्षण
पिसाबमा प्रोटिन/एल्बुमिन निस्कनु
उच्च रक्तचाप हुनु
खुट्टा सुन्निनु र खुट्टा बाउँडिनु
धेरै पटक पिसाब लाग्नु (विशेषगरी राति)
मधुमेहको बिरामीले लिने इन्सुलिन सुई वा चक्कीको आवश्यकता कम हुनु
वाकवाकी लाग्नु र बान्ता हुनु
कमजोरी र रगतको कमी हुनु
मृगौला रोग र मधुमेहको सम्बन्ध
मृगौला रोग सामान्यतः जन्मजात विकृति, मूत्र प्रणालीको सङ्क्रमण, वाथरोग, उच्च रक्तचाप र मधुमेह रोग आदि कारणले लाग्छ । यीमध्ये मधुमेह र उच्च रक्तचाप मृगौला रोगका प्रमुख कारण हुन् । मधुमेह रोग सुरुमा विकसित देशमा देखापरेको भए तापनि आजभोलि विकासोन्मुख देशमा महामारी रोगका रूपमा देखापरेको छ । यसको उपचारमा ठूलो धनराशि खर्च गर्नुपरेकाले यसले देशको आर्थिक स्थितिमा नकारात्मक असर पारेको छ । मधुमेहको कारणले मृगौलासम्बन्धी रोग र मुटुसम्बन्धीे रोग भएमा निको हुने सम्भावना ज्यादै न्यून हुने अनुसन्धानबाट देखिएको छ । नेपालमा अन्तिम अवस्थाको मृगौला रोगको प्रमुख कारण मधुमेह नै हो भन्ने कुरा अध्ययनले देखाएको छ ।
अमेरिकामा विगत २५ वर्षको अवधिमा मधुमेह रोगीको सङ्ख्या दोब्बर बढेको छ भने नेपाल लगायत भारत, इन्डोनेसिया, चीन, कोरिया र थाइल्यान्डजस्ता देशमा यस्ता रोगीको सङ्ख्या तीनदेखि पाँच गुणा बढेको पाइएको छ । सन् २०२५ सम्ममा यस्ता रोगीको सङ्ख्या ३८ करोड पुग्ने अनुमान गरिएको छ । तीमध्ये भारत र चीनमा मात्र १३ करोड पुग्ने अनुमान छ । स्वास्थ्य क्षेत्रमा छुट्याएको कुल बजेटको ४० प्रतिशत रकम यस रोगको उपचारमा खर्च हुने अनुमान अनुसन्धानले देखाएको छ ।
मृगौला रोगबाट बच्ने उपाय
मृगौला रोगसम्बन्धी जनचेतना जगाउन सरोकारवाला सङ्घ-संस्थाको सक्रियता चाहिने ।
मृगौला सम्बन्धी रोग छ कि छैन भनेर ए (एल्बुमिन-पिसाबमा प्रोटिन), बी (ब्लड प्रेसर), सी (क्रिएटिनिन र कोलेस्टोरेल), डी (डाइबिटिस-मधुमेह) ई (इ. जिएफआर-मृगौलाको रक्त शुद्धीकरण दर) नियमित परीक्षण गराउने ।
नियमित व्यायाम गर्ने ।
सन्तुलित आहार लिने र शरीरको तौल सामान्य राख्ने ।
धुमपान तथा मद्यपान नगर्ने ।
दुखाइ कम गर्ने -आइबुप्रोफेन आदि पेनकिलर) जस्ता औषधी जथाभावी प्रयोग नगर्ने ।
तयारी खाना तथा पेयपदार्थ -फास्टफुड तथा जङ्कफुड) को उपभोगमा कमी ल्याउने ।
जोखिमपूर्ण अवस्थामा रहेका -वंशानुगत मधुमेह, रक्तचाप र मृगौला सम्बन्धी रोग, मोटोपन भएका तथा ५० वर्ष उमेर कटेका) मानिसहरूले अनिवार्य रूपमा नियमित मृगौलाको कार्यक्षमता जाँच गराउने ।
[लेखक वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानका प्राध्यापक एवं मृगौला रोग विशेषज्ञ हुन्।]
२०६७ साल फागुन २५ गते बुधवार।
धेरै नै महत्वपूर्ण जानकारी मूलक शिक्षाको लागि डा. लाई धन्यवाद