स्रोत: कान्तिपुर
– कुलचन्द्र न्यौपाने
गोरखाका पुरोहित यज्ञेश्वर भट्टराईका छोरा श्रीपति पृथ्वीनारायण शाहसँग काठमाडौं आएर दरबारमा पुरोहित भई बसेका थिए । उनका पुस्ता क्रमशः विष्णुहरि, कृष्णलाल, मोदिनीधर, कमलकान्त, विश्वनाथ हुँदै संकटाप्रसादमा आइपुगे । संकटाप्रसादका चार छोरा नै प्रजातान्त्रिक आन्दोलनमा होमिए । तीमध्ये अग्र मोर्चामा थिए- कृष्णप्रसाद ।
‘राजनीतिक दर्शनले मात्रै देश विकास र आधारभूत मानव अधिकारको प्रत्याभूति सम्भव छैन, त्यसका लागि त्याग, तपस्या, समर्पण र प्रतिबद्धता त्यत्तिकै आवश्यक हुन्छ,’ कृष्णप्रसाद बारम्बार भन्ने गर्थे । त्याग र समर्पणलाई व्यवहारमा उतार्ने प्रयास गरेका भट्टराई नेपाली राजनीतिक फाँटमा विरलै रहेका निष्कलंक राजनेता हुन् । प्रजातन्त्र पुनर्बहालीपछि प्रधानमन्त्री भएकामध्ये सबैजसो आर्थिक विवादमा परे तर भट्टराई एक्ला त्यस्ता पात्र हुन्, जसले स्वच्छ छवि जोगाइछाडे ।
पुरानो लोकतान्त्रिक पार्टी नेपाली कांग्रेसका संस्थापक नेता भट्टराईको जन्म भारतको वनारसमा भएको थियो ।
१९८१ पुस ८ गते कृष्णपक्षको एकादशीमा जन्मेका उनको बाल्यकाल, शिक्षा र राजनीतिसमेत वनारसबाटै सुरु भयो । संकटाप्रसादका दुई श्रीमतीबाट चार छोरा र पाँच छोरीमध्ये ललिताका सन्तान हुन्, कृष्णप्रसाद । ६ दशकको राजनीतिक जीवनमा भट्टराईलाई सबैले बोलाउने प्यारो नाम बन्यो किसुनजी । जिन्दगीभर अविवाहित भट्टराई शान्त, शालीन र ठट्ट्यौलो स्वभावका थिए ।
१८ वर्षको विद्यार्थी उमेरदेखि नै भट्टराई सक्रिय राजनीतिमा होमिए । विद्यार्थीकालदेखि नै उनी किसुनजीको उपनामले चिनिन्थे । भट्टराईको सक्रिय राजनीतिक जीवन १९४२ को भारतको स्वाधीनताका लागि तत्कालीन अंग्रेज शासकविरुद्ध भएको भारत छोडो आन्दोलनमा भाग लिएपछि सुरु भएको हो । त्यस क्रममा उनले तत्कालीन अंग्रेज शासकबाट एक महिनाको जेल सजायसमेत पाएका थिए ।
विश्वविद्यालय अध्ययनका क्रममा उनी नेपाली छात्रा संघको अध्यक्ष र अखिल भारतीय विद्यार्थी कांग्रेसको सचिवसमेत बनेका थिए । एमएको अध्ययन गर्दागर्दै भट्टराईको बीपी कोइरालासँग सन् १९४६ अगस्टमा वनारसमा भेट भयो । बीपी कोइराला, मातृका कोइराला, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराईको अगुवाईमा सन् १९४७ मा जनवरी २५ मा कोलकातामा भेला गरी नेपाली राष्ट्रिय कांग्रेसको पार्टी गठन गरे । संस्थापक नेता भट्टराई पार्टीको महामन्त्री चुनिए । २००६ साल चैत २७ गते जनरल सुवर्णशमशेर राणाले नेतृत्व गरेको प्रजातन्त्र कांग्रेस र नेपाली राष्ट्रिय कांग्रेसको कोलकातामा एकीकरण गरियो र पार्टीको नाम नेपाली कांग्रेस राखियो ।
नेपाली कांग्रेस २००६ साल भदौ २६ र २७ गते भारतको विहार प्रान्तमा विशेष अधिवेशन गरेर प्रजातन्त्र स्थापनाका लागि नेपालमा सशस्त्र क्रान्ति गर्ने निर्णय गर्यो । पार्टीले भट्टराईलाई सशस्त्र क्रान्तिमा पूर्वी क्षेत्रको नेतृत्वको जिम्मा दिएको थियो । भट्टराई र रुद्र गिरी नेतृत्वको मुक्ति सेनाले २००६ माघमा उदयपुरगढी कब्जा गरेको थियो । भट्टराईको नेतृत्वमा मुक्ति सेनाले जनकपुर, महोत्तरी क्षेत्र पनि कब्जामा लिएको थियो । २००७ साल फागुन ७ गते प्रजातन्त्र बहाली भएपछि तत्कालीन राजा त्रिभुवनले शाही घोषणामार्फत् विधान निर्माण गर्न ३५ सदस्यीय विधान सल्लाहकार सभा गठन गरे । २६ वर्षकै उमेरमा भट्टराई सल्लाहकार सभाको अध्यक्ष अर्थात् सभामुख भए । उनी २००७ सालदेखि स्थायी रूपमा काठमाडौंमा बस्न थालेका हुन् । त्यसअघिको जीवन उनको वनारसमै बितेको थियो । काठमाडौं आएपछि केही समय उनी कांग्रेसका संस्थापक नेताद्वय गणेशमान सिंह र सूर्यप्रसाद उपाध्यायका साथ बसे ।
२०१५ सालमा भएको निर्वाचनमा कांग्रेसले बहुमत प्राप्त गरी सरकार गठन गर्यो । भट्टराईमा प्रखर बौद्धिकता, कूटनीतिक क्ष्ामता एवं सुझबुझ र कुशल नेतृत्व क्षमता थियो । त्यही कारण कांग्रेसले संसदीय चुनावमा हारेका भट्टराईलाई मनोनीत गरी संसद्को सभामुख बनाए । नेपालको संसदीय व्यवस्थाको पहिलो सभामुख हुने सौभाग्यसमेत भट्टराईले नै पाए । सभामुखको हैसियतले उनले संसद्मा निर्वाह गरेको भूमिकासमेत उल्लेखनीय र अनुकरणीय छ ।
तत्कालीन राजा महेन्द्रले सैनिकको बलमा २०१७ साल पुस १ गते तरुण दलको अधिवेशन हुँदाहुँदै तत्कालीन प्रधानमन्त्री बीपी कोइराला, नेता गणेशमान सिंहसँगै सभास्थल त्रिपुरेश्वरबाट भट्टराईलाई समेत पक्राउ गरी शासन हातमा लिए । त्यसपछि तत्कालीन पञ्चायती शासनले उनलाई निरन्तर दस वर्ष जेल सजाय दियो । तत्कालीन कांग्रेसका अध्यक्ष सुवर्णशमशेर राणाले प्रजातन्त्रका लागि राजा महेन्द्र सहयोगी भएमा आफ्नो पार्टीले उनलाई सहयोग गर्न सक्ने आशयको विज्ञप्ति दिएका थिए । बीपी, गणेशमानसहित कांग्रेसका सबैजसो नेता पार्टी अध्यक्षको विज्ञप्तिलाई स्वीकार गर्छु भन्ने कागज गरी छुटे तर भट्टराईले त्यस्तो कागजमा सही गर्न मानेनन्, फलस्वरूप पञ्चायतले उनलाई बीपी र गणेशमानभन्दा २० महिना बढी जेलमा राख्यो । प्रजातन्त्र स्थापना र पुनःस्थापनाको संघर्षका क्रममा भट्टराईले १४ वर्षभन्दा बढी जेल जीवन बिताए ।
भट्टराई आफ्नो राजनीतिको प्रेरणाको स्रोत कसैलाई मान्थेनन् । कसैले तपाईंको राजनीतिक प्रेरणा को थियो भनेर सोध्यो भने उनी आफ्नो चेतना र सम्पर्कले यस क्षेत्रमा लागेको बताउँथे । तर उनी केही महात्मा गान्धी, केही नेपोलियन, केही बीपी र केही गणेशमानका विचार मन पर्ने बताउँथे । प्रजातन्त्र स्थापना भएको लामो समयसम्म तत्कालीन राजाको अनिच्छाका कारण न त संविधानसभाको चुनाव नै भयो, न त संसदीय चुनाव नै । कांग्रेसले संविधानसभाको चुनाव गराउन माग गर्दै २०१२ देखि ०१४ कांग्रेसको अगुवाइमा भएको सत्याग्रहमा भट्टराईले नेतृत्वदायी भूमिका निर्वाह गरेका थिए । उनको परिचय राजनीतिज्ञका रूपमा मात्रै सीमित छैन, समाजवादी चिन्तक, विधायक, पत्रकार र लेखकको रूपमा समेत परिचित रहे । उनी २००७ सालमा प्रजातन्त्र स्थापनापछि वनारसबाट निस्केको युगवाणी साप्ताहिक र नेपाल पुकारका सम्पादकसमेत भए । उनी कुशल पत्रकार मानिन्थे । नेपाल पत्रकार महासंघको पहिलो सभापति हुने सौभाग्यसमेत उनैले पाएका थिए ।
भट्टराईले २०२७ वैशाख ६ गते नेपाल विद्यार्थी संघ स्थापना समारोहको उद्घाटन गरेर विद्यार्थीलाई राजनीतिक अान्दोलनमा सक्रिय बनाएका थिए । २०३४ मा सम्पन्न भएको पटना सम्मेलनमा बीपी कोइरालाले स्वास्थ्यको कारण देखाई भट्टराईलाई नेपाली कांग्रेसको कार्यवाहक सभापति बनाए । बीपीको निधनपछि २०३९ मंसिरमा गणेशमान सिंह निवास क्षेत्रपाटीमा सम्पन्न सम्मेलनबाट उनी पुनः कार्यवाहक सभापतित्व चुनिए । कार्यवाहक सभापतिकै रूपमा उनले डेढ दशक पार्टी नेतृत्व गरे । झापाको कलबलगुढीमा २०४८ मा भएको पार्टीको आठौं महाधिवेशनले सर्वसम्मतिबाट भट्टराईलाई सभापति निर्वाचित गर्यो । २०५३ सम्म उनी पार्टी सभापति रहे ।
भट्टराईकै सभापतित्वकालमा २०४२ को देशव्यापी सत्याग्रह र २०४६ को जनआन्दोलन भयो । प्रजातन्त्र पुनःस्थापना भएपछि २०४७ सालमा उनी अन्तरिम सरकारका प्रधानमन्त्री भए । तत्कालीन राजा वीरेन्द्रले जनआन्दोलन २०४६ का सर्वोच्च नेता गणेशमान सिंहलाई प्रधानमन्त्री हुन प्रस्ताव गरेका थिए । तर गणेशमानले अस्वीकार गरेपछि भट्टराई प्रधानमन्त्री बनेका थिए । त्यसबेला अन्तरिम संक्रमणकालीन विकट परिस्थितिलाई भट्टराईले कुशलतापूर्वक नेतृत्व दिई सफलताका साथ सम्हालेका थिए ।
भट्टराईले एक वर्षभित्रै संविधान निर्माण र निर्वाचन सम्पन्न गरेर संवैधानिक राजा र जनताद्वारा आफूलाई सुम्पिएको काम सफलताका साथ सम्पन्न गरेका थिए । उनले आफू पराजित भएर पनि निर्वाचन निष्पक्ष्ा बनाउने भूमिका खेलेका थिए । उनले हारे पनि २०४८ को चुनावमा कांग्रेसले बहुमत प्राप्त गर्यो र कांग्रेसका तत्कालीन महामन्त्री गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री भए ।
भट्टराई २०१५ मा गोर्खाबाट र २०४८ र २०५० मा काठमाडौं क्ष्ाेत्र नं. १ बाट निर्वाचनमा पराजित भएका थिए । उनले २०५६ को निर्वाचनमा पर्सा निर्वाचन क्षेत्र नं १ बाट चुनाव जिते । त्यतिबेला भट्टराईलाई भावी प्रधानमन्त्रीको घोषणा गरेर पार्टी निर्वाचनमा होमिएको थियो । पार्टीले बहुमत ल्याएपछि उनी दोस्रो पटक प्रधानमन्त्री बने । तर पार्टीीभत्रकै कलहका कारण एक वर्ष नपुग्दै भट्टराईलाई पद त्याग गर्न बाध्य पारियो । स्थापनाकालदेखि नै बीपी, सुवर्णशमशेर र गणेशमान सिंह तीनैजना नेतासँग समान रूपले काम गरेका भट्टराईले अहिंसात्मक आन्दोलनबाट प्रजातन्त्र स्थापना गर्न सकिन्छ भन्ने दृढ अठोट र संकल्प बोकेका थिए, त्यही कारण उनलाई गान्धीवादी नेताका रूपमा सम्मान गरिन्छ ।
कांग्रेसमा आन्तरिक कलह बढ्दै गई २०५९ भदौमा शेरबहादुर देउवा प्रधानमन्त्री भएकै बेला उनकै नेतृत्वमा पार्टी विभाजित भएपछि भट्टराई सबभन्दा चिन्तित भएका थिए । कांग्रेस विभाजनपछि नै उनले सक्रिय राजनीतिबाट विस्तारै विश्राम लिए । २०५० सालको उपनिर्वाचनमा पार्टीकै अन्तघातबाट भट्टराईलाई हराएपछि उनलाई त्यतिबेलै पार्टी फुटाउन उक्साउने नेताहरू धेरै थिए । त्यसका लागि केन्द्रीय समितिमा दुई तिहाई र संसदीय दलमा ४५ प्रतिशतभन्दा बढी सदस्यको हस्ताक्षरसमेत तयार गरिएको थियो । तर उनले त्यति बेला भनेका थिए, ‘बरु म मेटिन तयार छु, तर पार्टी फुटाउँदिनँ ।’
२०६२ माघ १९ मा ‘कु’ गरी तत्कालीन राजा ज्ञानन्द्रले सम्पूर्ण शासन सत्ता आफ्नो हातमा लिएपछि पार्टीले गणतन्त्रको लाइन पास गर्यो । त्यो निर्णय मन नपरेपछि उनले आफूले कांग्रेस पार्टी छाडेको घोषणा गरे । प्रजातान्त्रिक आन्दोलनका लागि राजाहरूबाटै कठोर यातना पाएका भट्टराईले मृत्युपर्यन्त सम्म संवैधानिक राजा सहितको प्रजातन्त्रको आफ्नो विचार त्यागेनन् । मुलुक गणतन्त्रमा गइसकेपछि पनि भट्टराईले संवैधानिक राजतन्त्रकै वकालत गरिरहेका थिए । जुन विचारका कारण उनी पार्टीबाट मात्र नभई राजनीतिको मूल प्रवाहबाट एक्लिन पुगे । त्यसबखत केही शुभचिन्तकहरूले भट्टराईलाई सोधेका थिए, तपाईंले जति राजाबाट कुनै नेताले दुःख पाएनन् । तपाईं किन संवैधानिक राजतन्त्र भन्दै हुनुहुन्छ ? भट्टराईको जवाफ थियो, ‘मेरो यो अडान राजासँगको सम्बन्धका कारण होइन । राष्ट्रियताका लागि हो । नेपाली माटोलाई अक्षुण्ण राख्न हो भनेर भनेका थिए । आधा शताब्दीभन्दा लामो समय उनले आफ्नो जीवन प्रजातान्त्रिक संघर्षमा समर्पण गरिरहे । उनी बितेर गए पनि नेपालमा प्रजातान्त्रिक आन्दोलनको मात्र होइन, आदर्श, अनुशासित र स्वच्छ राजनीतिका पर्यायवाची बनेर सधैं रहिरहनेछन् ।
२०६७ साल फागुन २१ गते शनिवार।
Leave a Reply