स्रोत: कान्तिपुर
-झमक घिमिरे
जीवनको कुरा गर्दा अधिकांश मान्छेहरू आफ्ना जीवनको बारेमा बोल्न चाहँदैनन् । किनभने उनीहरूमा आफूले बाँचेको जीवन प्रति सन्तुष्ट छैन, उत्साह र उमंग छैन । यो पंक्तिकारको पनि मनमा कहिलेकाहीँ प्रश्न उठ्छ- ‘आखिर जीवनको जिजीविषा जसरी भए पनि पृथ्वीमा सास फेर्नुमात्र हो त ? त्यो काम त पशुले पनि गरिरहेकै छ नि ।’ हो, बाँच्नुमात्र ठूलो कुरा होइन, बाँच्नकै लागि जसले पनि जीवन बाँचिरहेकै हुन्छ । जीवनको सुन्दर दर्शन कुनै दार्शनिक कुनै विद्वान मान्छेले भन्दा एउटा हकरले पनि कम सुन्दरसँग दिँदैन । त्यसो भए दार्शनिक र विद्वानका सोच, चिन्तन, बुझाई सबै गलत ? त्यो पनि होइन, सबै आ-आफ्ना स्थानमा ठीक छन्, लायक छन् । दक्ष र कुशल पनि होलान् । तर यहाँ सबैलाई आफूले बाँचेको जीवनप्रति असन्तुष्टि, नैराश्यता र कुण्ठा छ । यो हुनु भनेको जीवनको लागिमात्र होइन, मानव सभ्यताकै लागि अहितकर कुरो हो । मैले सुनेकी थिएँ- जापानीहरू धेरै आत्महत्या गर्छन् वा जापानमा धेरै आत्महत्या हुन्छ ।
प्रश्न यहाँनेर छ, जतिसुकै विकास र सुविधा भए पनि मान्छे आफैंप्रति सन्तुष्ट भएन भने ऊ बाँच्नसक्दो रहेनछ । भौतिक सुखसुविधाले मात्र मान्छे सुखी र खुसी हुनसक्दो रहेनछ भन्ने कुराको प्रमाण हो यो । भौतिकता र मानसिक सन्तुष्टि अलग कुरा हुन् । हाम्रै सन्दर्भमा कुरा गर्ने हो भने हामी पनि कहिलेकाहीँ यसरी असन्तुष्ट हुन्छौं, कित भौतिक सुखसुविधाले सुखी हुन्छौं, नत मानसिक सुखसुविधाले खुसी हुन्छौं । त्यतिबेला हामी जीवनदेखि साँच्चै निराश हुन्छौं । त्यतिबेला जीवन बाँच्न मन लाग्दैन, आफैंले आफैंलाई सिध्याइहाल्न मन लाग्छ । तर एकछिन सोचौं, ती सारा असन्तुष्टि, निराशा, कुण्ठा पर राखेर जीवन हामीले जबर्जस्ती मर्नमात्र पाएको हो त ? संसारमा महान हुने मान्छेले कसले आफैंले आफैंलाई सिध्याए ? उनीहरू त जीवनमा एउटा कुराको असफलताबाट भागेनन्, कैयौंपटक असफल हुँदा पनि आत्तिएर तर्सिएनन् । बस उनीहरूले त सफल हुनु अगाडिको त्यो रहस्यसँग मज्जाले लुकामारी खेलिरहे, जुन रहस्य थियो, सफलताको खुड्किलो उक्लिनुको खोज हो ।
त्यो सफलतासम्म पुग्न उनीहरूले असफलता नै नभोगेको भए सफलताको महान शिखर उक्लिने हिम्मत गर्दैन थिए । उनीहरू पनि तपाईं-हामीजस्तै निराश बनेर सिद्धिन्थे, बस् जीवन सकियो । अर्थात् यसले गर्ने उत्पादन ठप्प भयो । तर जीवन सकाएर हामीले पाउँछौं, उही शून्यता उही आफ्नो कायरपनको परिचयस्वरूप जबर्जस्ती मरिएको मृत्युको घोषणा ? अन्ततः हामीले आफैंमाथि अन्याय गर्छाैं । भर्खरै मैले मिडियाहरूमा देखेँ- ‘भर्खर प्रेमविवाह गरेका जोडीले आत्महत्या गरे ।’ कति हरामी बुद्धिको उपज थियो, यो घटना ? जब समस्या थियो भने त्यसको समाधान पो खोज्नुपर्ने होइन, मान्छेको जातले ?
बरु पशु धेरै जाती, ऊ कहिल्यै आफैंले आफैंलाई सिध्याउने काम गर्दैन । तर मान्छेमा सबै थोक छ र पनि उसले जीवनलाई बर्बाद गर्छ । अतः मान्छेले जीवनलाई त्यसै बर्बाद नगरोस् । हामी मान्छेको जीवन पाएर मान्छे भएर बाँचौं । आफ्ना हरेक खालका असन्तुष्टि, नैराश्यता, कुण्ठाको यो जीवनलाई आवश्यक ढंगले भागिदार नबनाऔं । यी सबै कुराको सिर्जना हाम्रो मनोविज्ञानले गर्छ, हाम्रो विचारले गर्छ र वातावरण, परिवेशले गर्छ, सबैभन्दा पहिला हामी आफैंले गर्छाैं । त्यसैले हरेक मान्छेमा अथाह शक्ति, संस्कृति र संस्कार हुन्छ । तर हामी शक्तिलाई प्रयोग गर्न लाग्दैनौं । कसैको उन्नति र प्रगति देखेर आफूलाई कमजोर ठान्छौं । संस्कार र संस्कृतिलाई दोष दिएर हामी परै पन्छिन खोज्छौं । तर पुराना संस्कार र संस्कृतिलाई दोष दिनेभित्र आफैंमा एउटा संस्कार र संस्कृति हुन्छ भन्ने कुराचाहिँ कसरी बिर्सिने ? अहिले इलाममा धेरै मान्छेहरूले आत्महत्या गर्छन् रे, पख्नुहोस्- आत्महत्या गरेर तपाईंले कुनै पुरुषार्थ गर्नुहुन्न, बरु कायर कामचाहिँ तपाईंले गर्दै हुनुहुन्छ । त्यसो भए मान्छे भएर किन कायर काम गर्ने ? जति दुःख किन नहोस्, कुनै पुरुषार्थ नगर्ने ? पख्नुहोस्, तपाईं जीवन चाहनुहुन्छ कि मृत्यु ? जब तपाईं जीवन चाहनुहुन्छ भने जतिसुकै अप्ठ्यारो होस्, तपाईंसामु सम्भावनाहरू असंख्य छन् । मृत्यु चाहनुहुन्छ भने जतिसुकै सरल र सहज होस्, त्यहाँ तपाईंका लागि सबै बाटाहरू बन्द हुन्छन् । अब रोजाई तपाईंको, जीवन रोज्ने कि मृत्यु ?
२०६७ साल फागुन २० गते शुक्रवार।
Leave a Reply