स्रोत: कान्तिपुर
-देवेन्द्र भट्टराई
जंगबहादुर राणाका खलक भएर पनि राणाशाहीभित्रका कथाव्यथा लेखनमा उतारेर भिन्न विद्रोही छवि बनाएका डायमनशमशेर राणाको ९४ वर्षको उमेरमा शुक्रबार अपराह्न निधन भएको छ ।
दुई सातादेखि नर्भिक अस्पतालमा उपचारमा रहेका डाइमनका दुवै मृगौलाले काम गर्न सकेका थिएनन् भने रगतमा हेमोग्लोबिन सिद्धिएको थियो । ‘तीन महिनादेखि शारीरिक रूपमा शिथिल हुनुभएको थियो, आफन्तलाई चिन्न समेत गाह्रो थियो,’ डायमनको कुपन्डोलस्थित निवासका आफन्त डा. केदार कर्माचार्यले भने । कर्माचार्यका अनुसार डायमनको शव शनिबार दिउँसो १२ बजेसम्म प्रज्ञा प्रतिष्ठानमा अन्तिम श्रद्धाञ्जलिका लागि राखिने छ ।
‘वसन्ती’, ‘सेतो बाघ’, ‘सत्प्रयास’, ‘अनिता’, ‘प्रतिबद्ध’, ‘धनको धब्बा’, ‘गृहप्रवेश’ जस्ता उपन्यासका माध्यमबाट उनको ऐतिहासिक कथालेखनको चिनारी विशिष्ट रहिआएको छ । ‘मैले मेरा बाबुबाजेको रोमाञ्चक जीवन आँखैसामु देखेको छु, तिनका मुखबाट पुस्ता-पुस्ताको हुबहु कथा सुनेको छु । यस अर्थमा मैले काल्पनिक कथा होइन, इतिहासप्रधान आफ्नै खलकको कथा लेखेको हुँ,’ कुराकानी क्रममा डायमन भन्ने गर्थे । राणाशाहीभित्र प्रेमको बाह्य र भित्री रूपमाथि लेखेको ‘वसन्ती’ उपन्यास २००५ मा छापिएपछि डाइमन राणा परिवारबाट पनि अपहेलित हुन थालेका थिए । सबैतिरबाट उपेक्षित भए पनि राणाकालीन प्रशासक राममणि आदिबाट हौसला पाएर साहित्य नछाडेको उनी बताउँथे ।
छापिएका कृतिमध्ये ‘सत्प्रयास’ लाई डाइमनले ‘सेतो बाघ’ को दोस्रो भाग मानेका छन् ।
पाल्पामा जन्मिएका डायमनलाई ६ महिनाकै उमेरमा काठमाडौं ल्याइएको थियो । सम्भ्रान्त खलकका सन्तान भए पनि सैन्य पेसामा गएका उनी त्यहींभित्रबाट विद्रोही बनेर देखा परे । ‘भारत प्रवासमा रहेका राजा त्रिभुवनलाई फिर्ता गराउने अभियानमा राणाशाही मुर्दाबाद’ भन्दै जुलुसमा उत्रिएका उनका नारामा साथ दिने राणा खलकका अर्का विद्रोही बालकृष्ण सम पनि थिए । २००७ अघि थुनामा रहेकै बेला डाइमनले आफ्नो नामपछाडिको ‘जंगबहादुर राणा’ फुर्को हटाएका थिए । थुनामा छँदा अथवा पछिल्लो कालखण्डमा राजनीतिक नेताहरू गिरिजाप्रसाद कोइराला, कृष्णप्रसाद भट्टराईहरूसमेत उनका मित्र थिए ।
राजा महेन्द्रको शासनकालमा डा. केआई सिंहहरूसँगै डाइमन फेरि जेल परेका थिए । ‘जेलमा रहेका बन्दीलाई म राणाजीहरूको रोमाञ्चक इतिहास सुनाउँथें, त्यो वृत्तान्त आफैंमा कुतूहललाग्दो पनि थियो,’ डाइमनले कान्तिपुरसँग भनेका थिए, ‘त्यही सन्दर्भमा दूरविनभित्रको नेपाल नामक कृति तयार गरेको थिएँ, पछि त्यही सेतो बाघ नाममा छापियो ।’ यीमध्ये जंगबहादुरको कथा ‘वसन्ती’ मा छ भने उनकै जेठा छोरा जगतजंगको कथा ‘सेतो बाघ’ मा । ‘यति भएर पनि यो नेपालको इतिहासचाहिँ होइन । यो उपन्यास हो, उपख्यान । इतिहासका पात्रसँगै यहाँ कल्पनाका पुतली पनि गाँसिएका छन्, तथ्यगत कुरामा कहींकतै फूल पनि जोडिएका छन्,’ २०३० सालमा पहिलो पटक छापिएको ‘सेतो बाघ’ उपन्यासको भूमिकामा कमल दीक्षितले भनेका छन् । २०१७ सालपछि डायमनलगातार ६ वर्षसम्म जेल परेका थिए । डायमनले आफूलाई ‘सर्वाधिक सफल र सन्तोषले भरिएको नेपाली लेखक’ का रूपमा मूल्यांकन गर्ने गरेका थिए । ‘सेतो बाघ’ र ‘वसन्ती’ उपन्यासबाट मात्रै ४० लाख रुपैयाँभन्दा बढी रोयल्टी र अनुवाद पारिश्रमिक पाउन सकेका कारण उनको ठूलो खुसीको कारण आफ्नो लेखन केन्दि्रत थियो ।
गोपालप्रसाद रिमाल, तुलसीलाल अमात्य, बालकृष्ण सम, बीपी कोइराला, केआई सिंह, अनिमेष राय (ट्युसन गुरु) आदिको संगतले आफू बढी सिर्जना र कल्पनामा रमाउन थालेको डायमनले बताएका थिए ।
डाइमनका ‘वसन्ती’ उपन्यासमाथि निर्देशक नीर शाहले फिल्म बनाएका छन् भने ‘सेतो बाघ’ माथि टेलिशृङ्खला बन्ने भनिएको छ । ‘वसन्ती’ उपन्यास जर्मन र हिन्दीमा अनुवाद भएको छ भने ‘सेतो बाघ’ हिन्दी, अंग्रेजी, फ्रेन्च र जापानीमा।
२०६७ साल फागुन २१ गते शनिवार।
Leave a Reply