स्रोत: ई-कान्तिपुर
-कृष्ण ज्ञवाली
कीर्तिपुर। वर्षा, झरी, पहिरो, हुरीबतास मानव जीवनसँग सधैं जोडिने विषय हुन् । यी प्रकोपबारे पूर्व तयारी र थाहा नहुँदा लाखौंको ज्यान जान्छ । मौसम पूर्वानुमान र जलवायु अध्ययन गरेर यस्ता प्रकोप बारे पूर्वसूचना भए जोखिम कम गरेर जनधन जोगाउन सकिन्छ ।
कसरी पढ्ने ?
विज्ञानमा प्लस टु उत्तीर्ण विद्यार्थीले स्नातक तहमा आवेदन दिन सक्छन् । विद्यार्थीले त्रिचन्द्र कलेजमा भौतिक शास्त्र समूह अन्तर्गत फिजिक्स र तथ्यांक शास्त्रमध्ये एउटा विषय छानी ‘जल तथा मौसम’ विषय अध्ययन गर्न सक्छन् । गणित अनिवार्य छ । जल तथा मौसम विषय पढ्न कुनै अतिरिक्त शुल्क तिर्नुपर्दैन । विद्यार्थीको खासै चाप नभएकाले अहिले सम्म कोटा प्रणाली लागू नगरिएको अध्यापक बताउँछन् । सम्बन्धित विषयमा स्नातक गरेपछि मात्रै स्तानकोत्तरको व्यवस्था भएको र अन्यत्र पढाइ नहुने भएकाले ‘जल तथा मौसम’ विषय पढ्नका लागि त्रिचन्द्र कलेज प्रवेशद्वार हो ।
त्रिचन्द्रमा स्नातक गरेका विद्यार्थीले कीर्तिपुरस्थित जल तथा मौसम केन्द्रीय विभागमा आवेदन दिन सक्छन् । सीमित विद्यार्थी र गुणस्तरीय पढाइका कारण अहिलेसम्म आवेदन दिएका विद्यार्थी पढाइबाट वञ्चित नभएको अध्यापक दामोदर बगालेले बताए । उनीहरूले दुईवर्षे कोर्समध्ये अन्तिम वर्षमा मौसम वा जलस्रोत एक विषय छान्नुपर्छ । ‘नदीनालामा हुने पानीको बहाव, बाढी, पहिरो, हिउँदमा पानीको मात्रा आदि विषयवस्तु यसमा पर्छन्,’ अर्का अध्यापक मदन सिग्देलले भने । स्नातकोत्तरको दुईवर्षे अवधिमा झन्डै २० हजार तिरे पुग्छ ।
भविष्य कस्तो छ ?
‘हामीकहाँ पढ्ने जनशक्ति र क्षेत्र सीमित भयो’ केन्द्रीय विभागका उपप्राध्यापक डा.विनोद शाक्य भन्छन्, ‘अहिलेसम्म बेरोजार मौसमविद् छैनन् ।’ यो विषयका विद्यार्थी खपत गर्ने प्रमुख निकाय जल तथा मौसम विज्ञान विभाग हो, जहाँ ५० भन्दा बढी मौसमविद् कार्यरत छन् । राजधानीको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यसको अड्डा छ भने धरान, चितवन, सुर्खेत र विराटनगरमा स्टेसन छन् । देशभर ५ सय साना युनिट छन्, जहाँ प्राविधिक ज्ञान नभएका व्यक्तिले पनि तथ्यांक संकलन गर्ने र पढाउने गर्छन् । नेपालमा हवाई उडान र रेडियोमा सूचना दिन ‘मौसमको भविष्यवाणी’ -फोरकास्ट) गर्ने चलन छ । धेरै पूर्वानुमान वास्तविकतासँग नमिलेर ‘चुटकिला’ बन्ने गरेका छन् । विकसित देशमा अवस्था भिन्न छ । इजरायलमै ९५ प्रतिशत भविष्यवाणी फरक नपर्ने प्राध्यापकहरूको भनाइ छ ।
विभिन्न गैरसरकारी संस्था, दातृनिकायका युनिटमा मौसमविद्को माग बढेको अध्यापक बगालेले बताए । हिमालमा हिउँ पग्लेर नयाँ तालपोखरी बन्दै छन् भने हिउँ पग्लदै गरेर सेता हिमाल नांगै हुन थालेका छन् । च्छोरोल्पा फुट्ने चर्चाका पछाडि मौसमविद्को वषार्ंैको मेहेनत छ । जलवायु परिवर्तनले यस्ता जनशक्तिको माग बढेको छ । ‘पढाइ नसकिँदै विभिन्न संघसंस्थाबाट अफर आउन थालेको छ,’ उनले भने ।
‘जल तथा मौसम’ विषय लिएर जलस्रोत पढेकाहरूलाई देशमा व्याप्त अन्धकार चिर्ने राम्रो अवसरसमेत रहेको सरोकारवालाहरू बताउँछन् । विभिन्न खोलानालाको सर्वेक्षण गरी बहाव, पानीको मात्रा, हिउँदवषर्ाको उतारचढाब र सम्भाव्यता अध्ययन गर्ने काम जलवायु अध्ययन गरेका विद्यार्थीको हो । सम्भाव्यता अध्ययन गरेर उनीहरूले फलानो खोला या नदीमा जलविद्युत् उत्पादन हुन सक्ने भनेपछि मात्रै पहेँला टोपी लगाएर इन्जिनियर कुद्ने हुन् । ‘८३ हजार मेगावाटको सम्भाव्यतासहित नेपाललाई जलस्रोतमा दोस्रो ठूलो देश भनेर चिनाउने जल तथा मौसमविद् हुन्,’ अध्यापक सिग्देलले भने, ‘जलस्रोत आयोजना बने सम्भाव्यता अध्ययनका लागि खोलानालामा दौडन धेरै जनशक्तिको खाँचो छ ।’
यसबाहेक विकसित देशमा खेतीपाती र पशुपालनको फार्म खोल्नुअघि सम्बन्धित ठाउँको सम्भाव्यता अध्ययन गर्ने चलन छ । नेपालमै पनि जापानीले ककनीमा स्ट्रावेरी खेती गर्नुअघि मौसमको सूक्ष्म अध्ययन गरेको उपप्राध्यापक शाक्यको भनाइ छ । ‘कतिपय देशमा मौसमको अवस्था नबुझी मानिसहरू बाहिर निस्कँदैनन्, योजना बनाउँदैनन्,’ उनले भने, ‘दैनिक जीवनसँग जोडिएको विषयको दायरा फराकिलो बनाउन जरुरी छ,’ उनले भने ।
Leave a Reply