स्रोत: कान्तिपुर
-डा.केदार कर्माचार्य
प्रायः चिसो र जाडो याममा विशेष गरी ससाना बालबालिका तथा वृद्धवृद्धाहरूमा श्वासप्रश्वास प्रणालीको महत्त्वपूर्ण अंग फोक्सोको संक्रमण भएर निमोनियाँको समस्याले नेपालमा बर्सेनी हजारौंको मृत्यु हुन्छ । खासगरी पाँच वर्ष मुनिका २० प्रतिशत बालबालिका यो रोगका कारण मृत्युको मुखमा पुगेका छन् ।
कारण
विषाणु- एडेनो भाइरस, राइनो भाइरस, इन्फ्लुएन्जा, पारा इन्फ्लुएन्जा भाइरस आदि हुन् ।
जीवाणु- न्यूमोकोक्कस, स्ट्रेप्टोकोक्स, स्टाफिलोकोक्कस ।
अन्य कारण- दादुरा, बिफर आदिको जटिलता ।
वयस्कहरूमा अत्यधिक मात्रामा रक्सी सेवनले गर्दा डब्लूबीसी (सेतो रक्तकोष) ले निमोनियाँका विषाणु तथा जीवाणुसँग संघर्ष गर्न नसक्नाले उक्त व्यक्तिमा रोग प्रतिरोधात्मक शक्ति ह्रास हुने हुन्छ र त्यस्ता व्यक्ति पटकपटक यस रोगको सिकार भइरहन्छन् ।
सरुवा रोग निमोनियाँको कारक तत्त्व हावाका माध्यमद्वारा फोक्सोसम्म पुग्छ र फोक्सोको कोष सुनिन्छ । विकसित मुलुकमा विकासशील तथा अविकसित मुलुकका तुलनामा यो रोगीको संख्या कम हुनुको कारण स्वास्थ्यसम्बन्धी ज्ञानको अभिवृद्धि तथा वातावरणीय प्रदूषणको कमी हो ।
प्रकार
लोवर (खण्डीय) निमोनियाँ ।
ब्रोङ्को- निमोनियाँ ।
अधिकांश रोगीमा दुवै प्रकारका विकृतिका लक्षणहरू प्रायः समान पाइन्छन् ।
लोवर निमोनियाँ प्रायः ग्रस्त व्यक्तिको दाहिने फोक्सोको लोवर लोब (तल्लो खण्ड) मा लाग्ने हुन्छ वा एकातिरको सम्पूर्ण फोक्सोमा पाइन्छ ।
लक्षणहरू
प्रारम्भमा जाडो लागेर (भएर) ज्वरो आउने । ज्वरो १०३-१०४ डिग्रीसेन्टिग्रेटसम्म पुग्दा कतिपयलाई कनभल्सन समेत
हुने ।
खोकी लागेर श्वास छिटोछिटो फेर्ने। श्वास फेर्न गाह्रो हुने ।
श्वास फेर्दा ह्विजिङ साउन्ड सुनिने (ख्वार-ख्वार)।
कोखा छिटोछिटो हान्ने ।
अक्सिजनको कमी हुँदा अनुहार, ओठ, जिब्रोमा साइनोसिस -निलोपन) देखापर्ने ।
लोलाउने ।
औषधोपचारको अभावमा खकार खैरो (रस्टी) देखिने ।
स्तनपान (आमाको दूध) चुस्न नसक्ने आदि खतरनाक लक्षण हुन् ।
जटिलता
टक्सेमिया (विषाक्तता) को कारण रोगी अनायास वक वक गर्ने (डेलेरिएम) हुन्छ ।
वेटप्लुरेसी (फोक्सोलाई छोपिएको आवरणको दुवै तहमा तरल पदार्थ) जम्मा हुनु ।
मेनिन्जाइटिस (मस्तिष्कको आवरणमा सुन्निने)।
सतर्कता
निमोनियाँ विरुद्ध भ्याक्सिन (खोप) लगाउने ।
चिसोबाट रोगीलाई जोगाउने, दोहोरो हावा आवत जावत गर्ने कोठामा राख्ने, प्रशस्त मात्रामा झोलिलो तातो पदार्थ खाने।
उपचार
चिकित्सकको परामर्शमा मात्र छातीको एक्सरे, रगत परीक्षण आदि पश्चात् औषधोपचार गर्ने ।
[लेखक झन्डै ६ दशकदेखि स्वास्थ्योपचार क्षेत्रमा संलग्न छन्।]
२०६७ साल फागुन ४ गते बुधवार।
Leave a Reply