स्रोत: नयाँ पत्रिका
–राजेन्द्र महर्जन
राजनीतिक दल इमानदार हुने हो भने, सरकारले जिम्मेवारीबोध गर्ने र चुस्त हुने हो भने सामाजिक लोकतान्त्रिक पुँजीवादको जग आगामी १० वर्षभित्र हाल्न सकिने देखिन्छ ।
देश र जेलमा के फरक हुन्छ ? देशलाई जेलका रूपमा विस्तार गरियो भने कस्तो हुन्छ ? यस्ता प्रश्नको जवाफ हो, होस्नी मुबारकको देश । हिजो धेरैलाई अरबी जनतालाई गौरव थियो, इजिप्ट कुनै जमानामा देश थियो, स्वतन्त्र, स्वाधीन, सार्वभौम मुलुक थियो भनेर । तर, होस्नी मुबारकले इजिप्टलाई जेल बनाए, अरबी गौरवगाथालाई इतिहासमै कैद गरे । देशको स्वाधीनतालाई खुम्च्याइएपछि देश राष्ट्रका रूपमा कहाँ रहन्छ र ? जनताको स्वतन्त्रतालाई थुनिएपछि, सार्वभौमसत्तालाई छाउनीमा फेरिएपछि राष्ट्र सिंगै कैदखाना भन्दा कहाँ भिन्न हुन्छ र ?
धेरै पश्चिमेली सरकारलाई भ्रम छ, मुबारक इजिप्टका राष्ट्रपति हुन् । राष्ट्र झ्यालखानामा फेरिँदा पनि, राष्ट्रवासी कैदी बनाइँदा पनि मुबारक मात्रै राष्ट्रपति भइरहन्छन् र ? तर, भ्रममुक्त इजिप्सियनलाई राम्ररी थाहा छ, राष्ट्र झ्यालखाना हुँदा, राष्ट्रवासी कैदी हुँदा राष्ट्रपति जेलर हुन्छन् । सिंगो राष्ट्रलाई जेल बनाउने सफलता पाएका मुबारक त्यस्ता अधिनायक हुन्, जसले संसारमा सबैभन्दा लामो समय सम्म जेलर भईखाएका छन् ।
सन् १९८१ देखि राष्ट्रपति भइटोपलेका मुबारकका लागि देश र सैनिक छाउनीमा कुनै फरक छैन । संसारमा इजिप्टजस्तो सैनिक छाउनी कतै छैन, जहाँ तीस वर्षदेखि ‘मार्सल ल’ लागू गरिएको होस् । ‘सैनिक कानुन’कै भरमा तीन-तीन दशक चलाइएको देश आखिर झ्यालखानाभन्दा भिन्न होस् पनि कसरी ?
सन् १९५२ मा सैनिक विद्रोह गरी इजिप्टलाई बि्रटिस साम्राज्य र राजा फारुखको राजतन्त्रबाट मुक्त गर्ने जमाल अब्दुल नासेर पनि सैनिकै थिए । तर, उनले अरब राष्ट्रवाद र असंलग्न आन्दोलनको झन्डा उचालेर इजिप्टलाई अन्तर्राष्ट्रिय गरिमा दिए । नासेरको विरासत थाम्न खोजेका मोहम्मद अनवर अल-सादात पनि सैनिकै थिए, तर उनले कहिले सोभियत संघको त कहिले अमेरिकाको सहयोग लिएर, असंलग्नताको नीति र अरब राष्ट्रवादलाई पिरामिडमा गाडे । इजिप्टलगायत सिंगो अरब जगत्सँग आक्रामक र शत्रुतापूृर्ण सम्बन्ध कायम राख्दै आएको अमेरिकी चेकपोस्ट ः इजरायलसँग उनले सन् १९७९ मा गरेको ‘शान्ति-सम्झौता’ केही उग्रवादीका लागि रुचिकर भएन । उनीहरूले सन् १९८१, अक्टोबर ६ मा राष्ट्रपति सादातको हत्या गरेपछि उपराष्ट्रपति होस्नी मुबारक इजिप्टमा सबैभन्दा लामो समयसम्म शासन गर्ने तेस्रो राष्ट्रपति बने । सादातको हत्यापछि उनले देशमा ‘मार्सल ल’ त लगाए-लगाए, इजिप्टलाई नै जेल बनाएर निष्कण्टक शासन चलाए । सामान्य सेनाबाट हवाई सेनाध्यक्ष र राष्ट्रपतिसम्म बनेका मुबारकले आफूलाई जेलर बनाउनेबाहेक अरू के नै गर्न सक्थे र ?
जेलर मुबारकको निजी इतिहासले भन्छ, सन् १९२८ नाइल नदीछेउको मुनोफियामा जन्मिएका मुबारकले आफ्नो जीविकाको थालनी गरेका थिए, सैनिक जवानका रूपमा । एयर फोर्स एकेडेमीबाट स्नातक गरेका मुबारकको स्वभाव सैनिकको सैनिकै रह्यो, तीस-तीस वर्षसम्म राष्ट्रपति हुँदा पनि । सन् १९६६ देखि १९६९ सम्म एयर फोर्स एकेडेमीका डाइरेक्टर बनेका मुबारकको राजनीतिक यात्रा एयर फोर्स कमान्डरका रूपमा राष्ट्रपति सादातबाट नियुक्त भएपछि सुरु भएको थियो । इजरायलसँग भएको युद्धमा मुबारकको सैनिक नेतृत्व देखेर प्रभावित सादातले सन् १९७५ मा एकाएक इजिप्टका उपराष्ट्रपतिमा मनोनीत गरेपछि उनको राजनीति अझै उकालो लाग्यो । त्यसमा पनि सत्तासीन नेसनल डेमोक्रेटिक पार्टी -एनडिपी)का वरिष्ठ नेताको पद कोसेली पाएपछि उनी सादातका उत्तराधिकारी पनि बने ।
सादातको दुःखद् हत्या पनि मुबारकका लागि राष्ट्रपति बन्ने सजिलो भर्याङ बन्यो, र बन्यो मार्सलमार्फत लामो शासन गर्ने निहुँ पनि । मार्सल ल जारी राखेर उनले सुरक्षाकर्मीलाई फुक्काफाल छाडे, जे मन लाग्यो त्यही गर्ने आदेशसहित । र, नागरिकलाई भने खुला झ्यालखानाका बन्दी बनाए, जहाँ उनीहरूले कैदी जीवनमै ‘सुरक्षाबोध’ गर्नुपर्छ । मुबारकको जेल प्रशासनमा नागरिकलाई कुनै वारेन्ट पुर्जीविनै समाउने, वषर्ाैंवर्ष थुन्ने, सैनिक अदालतमा मुद्दा चलाउने तथा कैदी अवस्थामै सडाउने विशेषाधिकार छ, सुरक्षाकर्मीलाई । सुरक्षाकर्मीको जिम्मा मुबारकको सत्ता शक्ति सुरक्षित गर्नु मात्रै हो, नागरिकको जीवन र अधिकार असुरक्षित भए पनि ।
खुला कारागार बनाइएको इजिप्टमा अनेक बन्द-जेलको कुनै कमी छैन, जहाँ अपराधी, तस्कर र दुई नम्बरी व्यापारी कम, निरपराधी जनता बेसी थुनिन्छन् । जनतालाई मुबारक सरकार र उनको सत्तासीन पार्टीको समर्थन गर्ने अधिकार मात्रै छ, विरोध गरे, विपक्षमा लेखे आलोचनात्मक ढंगले बोले बन्द-जेलमा हावा खाने सुविधा निकै सुलभ छ । जहाँ मुबारकको स्वास्थ्यबारे लेख्नु ‘जनताको हित र देशको स्वास्थ्यका लागि खतरनाक अपराध’ ठानिन्छ, त्यहाँ इब्राहिम ऐस्साजस्ता सयौँ पत्रकार, लेखक र सम्पादकलाई जेलको हावा ख्वाइनु के अनौठो भयो र ? यस अर्थमा मुबारकको शासनमा प्रेस र अभिव्यक्ति स्वतन्त्रताको कुनै कमी छैन, पत्रकार, लेखक र सम्पादकले नै आफ्नो स्वतन्त्रताको सीमा नजानेपछि कसको के लाग्छ र ? उनीहरूले मुबारकको तानाशाही शासनको प्रशंसाको गीत गाएर आनन्दित हुनुको साटो आलोचनात्मक लेखनलाई तिख्खर पारेपछि सरकारले पनि आफ्नो ‘स्वतन्त्रता’ त प्रयोग गर्नैपर्यो नि !
मुबारकको अधिनायकत्वमा इजिप्सियनहरू मुबारकलाई छान्न पूरै स्वतन्त्र छन्, पच्चीसौँ वर्षदेखि । सन् २००५ फेब्रुवरीमा मुबारककै आदेशमा गरिएको संविधानको धारा ७ को संशोधनपछि ‘अन्य स्वतन्त्र मुबारक’लाई छान्न पनि स्वतन्त्र भए इजिप्सियनहरू । सत्तारुढ एनडिपीबाट नछानिएका उम्मेदवारमाथि विभिन्न बन्देज लगाइएन भने त इजिप्सियनहरू अराजक भइहाल्छन् नि ! यस्तै बन्देजबीच मुबारक र ‘अन्य मुबारक’बीच सन् २००५ सेप्टेम्बरमा पहिलोपटक भएको बहु-मुबारकीय चुनावमा जनताले मुबारकलाई नै जिताए, ८८ प्रतिशत भोट दिएर । अब उनी आजीवन राष्ट्रपति हुनुको सट्टा आफ्ना कान्छा छोरा गमाललाई राष्ट्रपतिको उत्तराधिकारका रूपमा जिताउन चाहन्छन् । उनले गमाललाई एनडिपीको राजनीतिक समितिका सचिवका रूपमा सन् २००२ मै मनोनीत गरिसके, राष्ट्रपति पदलाई सम्पत्तिजस्तै बाँड्न सजिलो होस् भनेर । उनलाई थाहा छ, सडकमा उत्रेका जनतालाई अब आफ्नो तीस-तीस वर्षको राष्ट्रपतीय अधिनायकत्वबाट मुक्ति दिनुपर्छ । अब नयाँ युवा जेलरको जरुरत छ, इजिप्सियनका लागि ।
मुबारकको महान् सपना थियो, आफ्ना जनतालाई सुखी र समृद्ध बनाउने । आफूलाई आशीर्वाद दिने अमेरिका र बेलायतको लह-लहैमा लागेर उनले लागू गरे, खुलाबजार अर्थतन्त्र । यस्तो अर्थतन्त्र त निकै फल्यो-फुल्यो, तर गरिखाने जनताको अर्थतन्त्र भने फुलेन, फुल्ने कुरै भएन नि ! उदारवादी अर्थनीतिमा सरकार रियलस्टेट र अन्य क्षेत्रका लगानीकर्ता पुँजीपति वर्गप्रति ‘उदार’ हुनु कुन अनौठो कुरा हो र ? विदेशी पुँजी र वस्तुका लागि स्वदेशी बजार खुला नगर्ने हो भने किन चाहियो खुलाबजार अर्थतन्त्र ? जब देश र सरकार सिंगै मुबारक, मुबारक-पुत्र गमाल र उनीहरूको पार्टी एनडिपीका नेताजस्ता एकसेएक ‘सिइओ’हरूबाट चलेको छ भने देशी-विदेशी पुँजीपति मालामाल हुनु कुन आश्चर्यको विषय भयो र ? तर, गरिबी, बेरोजगारी र महँगीको मार खेप्दै आएका इजिप्सियन भने काम र माम खोज्दै छन्, काम-माम दिने तन्त्र पनि माग्दै छन् । मुबारक सरकारसँग हुँदै नभएको मागेर कहाँ पाइन्छ र ?
मुबारक सरकारसँग छ, पार्टी-सरकार-पुँजीपति वर्गको मिलेमतोमा राष्ट्रको सम्पत्ति दोहन गर्ने कार्टेल र सिन्डिकेट सिस्टम । त्यस सिस्टमका केही उपाय मागिएको भए उसले दिन सक्छ । उससँग छ, देशलाई बुर्किना फासो र जिबाउटीसरह भ्रष्टतम मुलुक बनाउने नुस्खा । भ्रष्टाचारका केही नुस्खा मागिएको भए उसले दिन सक्छ । उससँग छन्, सिंगै देश जेल बनाउने काइदा अनि तीसौँ वर्षसम्म जेलर बन्ने उपाय पनि । उससँग धेरै छन्, अमेरिकी साम्राज्यले चढ्ने अरबी घोडा बन्ने खुबी पनि, अमेरिकी साम्राज्यकै आड-भरोसामा टिकिरहेको इजरायलसँग साँठगाँठ गर्ने कला पनि, अमेरिकी साम्राज्य र इजरायली यहुदीवादको जरुरतअनुसार अरब जगत्मा वार्ता र सम्झौता गर्ने शैली पनि, अनि आफ्नै छिमेकी प्यालेस्टिनी-बन्धुहरूलाई इजरायली शैलीमा नाकाबन्दी लगाउने कौशल पनि । यस्ता कला र कौशल, खुबी र शैली मागिएको भए केही दिन सक्थ्यो, मुबारक सरकारले । मुबारक सरकारसँग हुँदै नभएका शान्ति, स्वतन्त्रता, समानता र लोकतन्त्र मागेर उसले कहाँ दिन सक्थ्यो र ? उसले दिनै चाहेको भए पनि आफ्नो अधिनायकत्वलाई टिकाइराखेको अमेरिकी साम्राज्यको स्वीकृतिविना कहाँ दिन सक्थ्यो र ?
अमेरिकी साम्राज्यलाई राम्ररी थाहा छ, होस्नी मुबारक सद्दाम हुसेन होइनन् । इराकी राष्ट्रपति सद्दाम हुसेन पनि मुबारकजस्तै अमेरिकाकै मतियार थिए, त्यसैले इरान-इराक युद्धमा मुबारक र सद्दामबीच लामो सहकार्य भएको थियो । जब इराकले कुबेतमाथि हमला गर्यो, तब मुबारकले सद्दामको साथ छाडेर अमेरिकाको मात्रै पक्ष लिए । त्यसबापत अमेरिकी राजनीतिक, आर्थिक र सैनिक सहयोगको विशाल कोसेली पाए । अधिनायकत्व सञ्चालन गर्नै प्रवृत्तिका हिसाबले मुबारक र सद्दामबीच धेरै समानता छन्, असमानता भनेको एउटै छ । सद्दामले अन्तिम अवस्थामा नासेरको बाटो समाते, मुबारकले आफ्नै संस्थापक राष्ट्रपति नासेरलाई दुत्कारे । अमेरिकी साम्राज्यको मार्ग छेक्ने नासेरको अरब राष्ट्रवादको बाटो समात्न खोज्दा सद्दाम सत्ताच्यूत मात्रै भएनन्, फाँसीको फन्दामा समेत परे । मुबारक भने सद्दामले जस्तै देश सिंगैलाई जेल बनाएर पनि लोकतान्त्रिक अधिनायक बनिरहेका छन्, अमेरिकी साम्राज्यका कृपापात्र हुँदै ।
पक्कै पनि सद्दाम हुसेन होइनन् होस्नी मुबारक । तर, आजीवन कैदी भएका इजिप्टबासीले नै विद्रोह गर्न लागेपछि सैनिक दमन र अमेरिकी सहयोगकै भरमा टिकिरहन गाह्रो भएको छ, मुबारकलाई । अमेरिकी सरकारलाई पनि अब धेरै नै गन्हाएको सिनो बोकिरहन अप्ठ्यारो भएको छ, मुबारकको नाममा । कायरोको तहरिर स्क्वायरमा रातोदिन प्रदर्शन गरिरहेका इजिप्टबासीले मुबारक अधिनायकत्वको ‘काउन्ट डाउन’ थालिसकेका छन् । उनले ट्युनिसियाका सत्ताच्यूत तानाशाह बेन अलीको बाटो तताउने कि सैनिक-भिजिलान्ते दमनको बलमा कुर्सीमा टाँसिरहने अनि जनअदालतको अन्तिम फैसला सुन्न खोज्नेहुन्, एकाध दिनमै थाहा हुन्छ ।
Leave a Reply