अनौठो देखेर आएँ
असह्य लेखेर आएँ
आगामी, उघ्रेको देखुँ म
शिष्टता सुध्रेको लेखुँ म।
**
भत्केको देखेर आएँ
बिग्रेको लेखेर आएँ
आउने दिन, गतिलो देखुँ म
कहानी सन्तोषको लेखुँ म।
**
निमुखा निहुरेको देखें
बाध्यता सिउरेको लेखें
भोलिका दिन, खुलेको देखुँ म
मर्यादा फुलेको लेखुँ म।
**
शत्रुता डाकेको देखें
सत्यता ढाकेको लेखें
नयाँ दिन, हाँसेको देखुँ म
मित्रता गाँसेको लेखुँ म।
**
सहेको मनभरी देखें
भयको जगजगी लेखें
नव वर्ष, गमेको देखुँ म
निर्धक्क रमेको लेखुँ म।
**
समय सयरङ्गी देखें
बग्रेल्ती बिझेको लेखें
नयाँ वर्ष, शुभको देखुँ म
दैनिकी सप्रेको लेखुँ म।
** **
साह्रै राम्रो कविता भीमज्यु,
परिस्कृत हुदै छन् कविता हरु, यहाँका सिर्जना हरु….
उत्तरोतर प्रगति को कामना अनि नया बर्षको पनि शुभ-कामना