स्रोत: नयाँ पत्रिका
-संगीतश्रोता
संगीतकार अम्बर गुरुङले पाँच दशक अघि कोलकातामा पहिलोपटक रेकर्ड गरेका थिए- नौ लाख तारा उदाए । एक हप्तामै पाँच सय प्रति बिक्री भएको यो गीत भारत विरोधी भन्दै अलइन्डिया रेडियोमा प्रतिबन्धित भएको थियो । गुरुङको संस्मरणः
हामी स-साना हुँदा दार्जिलिङमा ड्राइभर, कर्मचारी, कामदार सबै गीत गाउँथे । तर, त्यहाँ क्लासिकल संगीत सिकाउने कुनै पाठशाला थिएन, गुरुहरू थिएनन् । अग्रजहरू मेरो स्वर सुनेर ‘तिमी सिस्टममा संगीत सिक । हामीजस्तो राम्रो र मीठो गाउने, तर कुन ताल वा सुर हो भन्ने थाहै नपाउने हुनु भएन ।’ त्यो कुराले मलाई खुबै छोयो ।
दार्जिलिङमा रेकर्डको सुविधा थिएन । हामी बच्चा हुँदा मित्रसेनका ‘मलाई खुत्रुक्कै पार्यो जेठान,’ ‘तानसेन रमाइलो’, ‘हो साइँला’ जस्ता नेपाली गीत सुन्थ्यौँ । पछि डाक्टर रत्नदास प्रकाशका गीत सुन्न थाल्यौँ । अलि पछि नातिकाजीहरूका गीत सुन्दा रमाइलो लाग्थ्यो । नेपाली गीतको अभावमा हामी हिन्दी फिल्मका गीत सुन्थ्यौँ । सन् पचासको दशकको उत्तरार्द्धदेखि सत्तरीको पूर्वार्द्धसम्मका हिन्दी फिल्मी गीत निकै राम्रा र कालजयी थिए । मोहम्मद रफी, लता मंगेशकर, तलत महम्मुदका गीत मन पर्थर्े ।
सन् १९६१ मा मैले अगमसिंह गिरीले रच्नुभएको ‘नौ लाख तारा उदाए’ गीत संगीतबद्ध गरेँ । हिन्दूस्थान कम्पनीमा रेकर्ड गरेको यही गीत जीवनको पहिलो रेकर्डेड गीत हो । गिरीदाइले लेखेर दिएको तीन वर्षपछि यो गीत रेकर्ड गरियो । उहाँले गीत दिँदा मलाई यो रेकर्ड होला भन्ने कल्पनासम्म थिएन । त्यतिवेला गीत रेकर्ड गराउनुपर्छ भन्ने चेतना पनि थिएन । हामी नाम र दामको खोजीमा पनि थिएनौँ । गाउन मन लाग्थ्यो, गाउँथ्यौँ । कहीँ माइक देख्यो कि गायो । माइकका अगाडि उभिएर गाउँदा श्रोताले बजाइदिने थपडीमै हामी रमाउँथ्यौँ ।
दार्जिलिङ, कालिम्पोङ, खर्साङतिर हुने संगीत प्रतियोगितामा मैले तीनचोटिसम्म प्रथम पुरस्कार जितेको थिएँ । त्यसपछि मलाई प्रतियोगितामा गाउन दिएनन्, म अतिथि कलाकारका रूपमा मात्रै सहभागी हुन्थेँ । संगीतप्रतिको मेरो रुचि विल्कुल व्यक्तिगत थियो । मन परे गायो, नपरे गाएन । एकपटक मैले कालिम्पोङमा ‘नौ लाख तारा’ गाएँ । गाइसकेपछि स्टेजपछाडि एकजना दाइ आएर सोध्नुभयो-
‘यो गीत कसले रचेको ?’
‘मैले ।’
‘गेडा (शब्द) कसले रचेको ?’
‘अगमसिंह गिरी दाइले ।’
‘यो गीत एकदम राम्रो रहेछ, भाइ । यो दार्जिलिङ र कालिम्पोङवासीले मात्रै सुनेर हुँदैन, सारा नेपालीलाई सुनाउनुपर्छ । म यो गीत रेकर्ड गरिदिन्छु, हुन्छ ?’ उहाँको कुरा सुनेर म अकमक्क परेँ । हुन्छ पनि भन्न सकिनँ, हुन्न पनि भन्न सकिनँ । मेरा लागि त्यो नसोचेको कुरा थियो । उहाँ दार्जिलिङकै सचिन्द्रमणि गुरुङ हुनुहुन्थ्यो । उहाँले एजेन्टमार्फत रेकर्डिङ स्टुडियोमा पत्राचार गर्नुभयो । ठूलो ग्रामोफोन कम्पनीमा आफैँले पत्राचार गर्नुभयो । झन्डै डेढ वर्षसम्म त्यो कम्पनीले जवाफै दिएन । अनि हामीले कोलम्बिया रेकर्डिङ कम्पनीमा सम्पर्क गर्यौँ । त्यसले जवाफ त दियो । तर, ‘नेपाली म्युजिकको बजार नभएकाले नेपाली गीत रेकर्ड गर्न सक्दैनौँ’ भन्यो । हामी फेरि अर्को कम्पनीले खोज्दै हिन्दूस्थान कम्पनीमा गयौँ । उनीहरूले पनि ‘नेपाली संगीतको बजार छैन, हामी इन्ट्रेस्टेड छैनौँ’ भने । पछि सर्तमा गीत रेकर्ड गर्न तयार भए । गीतको पाँच सयवटा रेकर्ड बिक्री गर्ने जिम्मा हामीले नै लिनुपर्ने, पाँच सय रुपैयाँ धरौटी राख्नुपर्ने र वाद्यवादकको खर्च आफैँले तिर्नुपर्ने सर्तमा उनीहरूले हामीलाई स्टुडियो उपलब्ध गराउने भए । आउने-जाने भाडा र होटल खर्च पनि हामी आफैँले तिर्नुपर्ने भयो ।
रेकर्डका लागि दुईजना मात्रै गएका थियौँ- रञ्जित गजमेर र म । दार्जिलिङबाट कोलकाता पुगेको भाडा ३२ रुपैयाँ लाग्थ्यो । कोलकातामा हामी सामान्य होटलमा बस्यौँ । हामीसँग खर्च गर्ने धेरै पैसा थिएन । रेकर्डिङ खर्च सचिन्द्रमणिदाइले सापटी खोजेर दिनुभएको थियो । कम्पनीले तोकेको समयमा गीत रेकर्ड नगराए अर्को समय पाउन दुई/तीन साता कुर्नुपथ्र्यो । धेरै दिन बस्न हामीसँग खर्च पनि थिएन । हामी स्टुडियोले तोकेभन्दा सात दिनअगाडि कोलकाता पुग्यौँ । पालो छुट्ला र रेकर्ड नगरिदेला भन्ने हामीलाई डर थियो ।
जनवरी महिनाको अन्तिम साता थियो । दिन सम्झना भएन । दिउँसो १० बजे स्टुडियो खुल्यो । रञ्जित र म १० बजे नै स्टुडियोमा पुग्यौँ । स्टुडियोमा तयारी गर्दा ११ बजिसकेको थियो । साढे ११ बजे गीतको रेकर्डिङ सकिएको थियो । त्यतिवेला म रियाज गर्न तगडा थिएँ । स्टुडियोमा छिर्नुअघि अलिकति ‘कन्सस’ त भएँ नै । त्योभन्दा अगाडि मैले कहिल्यै स्टुडियोमा गाएको थिइनँ । रेडियोमा लाइभ पनि गाएको थिइनँ । दार्जिलिङमा कुनै रेडियो थिएन, अलइन्डिया रेडियोमा मेरो पहँुच थिएन । तैपनि, म ढुक्क थिएँ । मलाई संगीतको आधारभूत ज्ञान थियो । पश्चिमी संगीतको नोटेसन, यताको सात सरगम सिकिसकेको थिएँ । दुवै प्रकारको संगीतमा म गाउन सक्थेँ । स्टुडियोका मान्छेले मेरो स्वर परीक्षा लिन खोजे । रञ्जितले हारमोनियम झिकेर दियो । मैले ‘म एकचोटि प्राक्टिस गर्छु’ भनेँ । उनीहरू एकदमै चलाख रहेछन् । मैले प्राक्टिस गर्दा नै उनीहरूले परीक्षणका रूपमा रेकर्ड गरिसकेछन् । मेरो स्वर सुनेर उनीहरू प्रभावित भए । अनि स्टुडियोमा गीत रेकर्ड गरियो ।
‘नौ लाख तारा’ रेकर्ड गर्दा म २३ वर्षको थिएँ । रेकर्डिङमा रञ्जित गजमेरले तबला बजाएको थियो, बाँकी सबै वाद्यवादक बंगाली थिए । रेकर्डपछि १५/२० जना बंगालीले हात मिलाएर ‘भेरी गुड मिस्टर गुरुङ, यू आर ग्रेट सिंगर’ भन्दै मेरो प्रशंसा गरे । हामीले रेकर्डेड गीत बजाएर सुन्यौँ । पहिलोपटक गीत रेकर्ड गर्न पाएकोमा म खुसी थिएँ । तर, हामीले कुनै उत्सव मनाएनौँ, भोज गरेनौँ । अहिलेजस्तो विशेष अवसरमा पिउने चलन थिएर त्यतिखेर । हामी बसिरहेको होटलमा फक्यौर्ं र सामान्य खाना खायौँ । मलाई एकदमै गह्रुंगो भारी बिसाएको जस्तो अनुभूति भयो ।
हामीले कम्पनीमा राखेको पाँच सय रुपैयाँ धरौटी फिर्ता पायौँ । पाँच सय रेकर्ड बिक्री हुने ग्यारेन्टी दिएका थियौँ । कम्पनीले विश्वास गरेको थिएन । त्यतिवेला एउटा गीति-रेकर्डको मूल्य ३ रुपैयाँ ७५ पैसा पथ्र्यो । हामीले हाम्रो गीतको मूल्य ४ रुपैयाँ ५० पैसा राख्यौँ । तर, एक हप्तामै पाँच सयवटा रेकर्ड बिक्री भए । कम्पनी हाम्रो गीत अरू निकाल्न इन्ट्रेस्टेड भयो । हामीले अर्कोचोटि दुई हजार रेकर्डको अर्डर गर्यौँ । कम्पनीले तत्काल नसक्ने र एक महिनापछि दुई हजार रेकर्ड निकालिदिने वचन दियो । तर, दुर्भाग्यको कुरा एक महिना बितुन्जेल भारत सरकारले यो कुरा थाहा पाएछ । अनि अलइन्डिया रेडियोले गीतलाई ‘भारतविरोधी’ भनेर प्रतिबन्ध लगाइदियो ।
मैले ‘यो भारतविरोधी होइन, नेपालीहरूको गीत हो’ भनेँ । भारतमा मात्रै होइन, अमेरिका, बि्रटिस, जापान, हङकङ जहाँ भएका नेपालीले पनि गाउन मिल्ने गीत थियो, यो । तर, नेपाली भाषाले भारतमा मान्यता नपाएको हुनाले त्यहाँको सरकारले बजाउन रोक लगाइदियो । मेरो निगरानीमा सिआइडी लगायो । भारतमा नेपाली भाषाले मान्यता पाएपछि मात्रै यो गीत फुकुवा भयो । ‘नौ लाख तारा’ गीत एउटा इतिहास हो । यही गीत रेकर्ड भएपछि दार्जिलिङमा नेपाली गीत रेकर्ड गर्ने ढोका खुलेको हो । त्यसपछि शरण प्रधान, अरुणा लामा, गोपाल योन्जनहरूले गीत रेकर्ड गर्न थाले । नेपाली गीतमा सबैभन्दा पहिले रोयल्टी पनि मैले यही गीतबाट बुझेको थिएँ ।
मेरो जीवनकालमा मैले कैयौँ ठाउँमा स्टेजमा गाएँ । चाहे म हङकङ जाउ”m, चाहे अमेरिका, चाहे नेपालकै कुनै ठाउँ- श्रोताले फर्माइस गरिरहने एउटै गीत यही ‘नौ लाख तारा’ हो । यो गीतको सन्दर्भमा मैले दुईजना व्यक्तिलाई कहिल्यै बिर्सन सक्दिनँ । एकजना हुनुहुन्छ- रचनाकार अगमसिंह गिरी । चियामा सुन फल्छ भनेर पूर्वबाट नेपाली दार्जिलिङ पसेको डेढ सय वर्षपछि गिरी दाइले नेपाली भावनामाथि यति गम्भीर गीत लेख्नुभएको थियो । भारत स्वतन्त्रताका लागि लडेका नेपालीले भारत स्वतन्त्रतासँगै आफू पनि स्वतन्त्र हुन्छौँ भन्ने ठाने । तर, नेपालीका लागि अंग्रेज बोस भयो, भारत सेकेन्ड बोस । भारत स्वतन्त्र भएको झन्डै १० वर्षपछि गिरी दाइले यो गीत लेख्नुभयो । रेकर्डपछि उहाँले मलाई अँगालो मारेर ‘ऐतिहासिक काम गर्यौ भाइ, यो कहिल्यै बिर्सन सक्दिनँ’ भन्नुभएको थियो ।
अर्को दाइ हुनुहुन्छ- सचिन्द्रमणि गुरुङ । रेकर्डका लागि कम्पनीले पाँच सय रुपैयाँ धरौटी राख्नु पर्ने सर्त राखेको थियो । ५० वर्षअघिको पाँच सय रुपैयाँ अहिलेको ५० हजारजस्तो थियो । त्यत्रो रकम हामीले कहाँबाट जम्मा गर्नु ? हामीलाई गीत रेकर्डिङको खर्च जुटाइदिने काम उहाँले नै गर्नुभएको हो ।
‘नौ लाख तारा’ गीत रेकर्ड गर्नुअघि हामीलाई यो नेपालीले रुचाउँदैनन् भन्ने लाग्थ्यो । यो नेपालबाहिर (दार्जिलिङमा) बस्नेहरूको गीत हो भन्ने ठान्थ्यौँ, हामी । तर, पछि यही गीत नेपालीले धेरै मन पराए । राजा महेन्द्रले यही गीत मन पराएर मलाई उनको जन्मोत्सवको उपलक्ष्यमा नेपाल बोलाउँथे । त्यतिवेलै राजासँग दर्शनभेट हुँदा उनले एकेडेमीमा यतै बस भने । पहिलोचोटि मैले त्यो आग्रह मानिनँ । किनभने हामी दार्जिलिङमा नेपालीको जातीय अस्तित्वका लागि, भाषिक अधिकारका लागि र आफ्नो संस्कृतिका लागि संघर्ष गरिरहेका थियौँ । मलाई उतै बस्नुपर्छ भन्ने लाग्थ्यो ।
दोस्रोचोटि सन् १९६४ मा नेपाल आएका वेला फेरि एकेडेमीमा बस्न अनुरोध भएपछि म यतै बसेर काम गर्न थालेँ । म ३० वर्ष पनि नपुगेको ठिटो थिएँ । मलाई नेपाल आएर बस्ने र संगीत साधना गर्ने अवसर ‘नौ लाख तारा’ ले दिएको हो । यो गीत यति लोकपि्रय होला भन्ने मैले सोचेकै थिइनँ ।
Leave a Reply