स्रोत: कान्तिपुर
-श्याम श्रेष्ठ
एउटा मान्छे जति लोकप्रिय हुन्छ, उसको सामाजिक उत्तरदायित्व उति नै बढी हुन्छ । ऊ लोकपि्रय हुनुको तात्पर्य उसले भने/गरेका कुरामा जनताको भरोसा र विश्वास बढ्नु हो । यही कारणले कुनै पनि व्यक्ति लोकपि्रयताको सिँढी जति चढ्दै जान्छ, उति नै बोल्ने र गर्ने कुरामा ऊ ज्यादा होशियार र जिम्मेवार हुनुपर्ने हुन्छ । यो जगजाहेर छ, अत्यधिक लोकपि्रय व्यक्तिले बोलेका कुराले अत्यधिक मानिसको जीवनमा प्रत्यक्ष असर पुर्याउने हुन्छ ।
विश्वका महान फुटबल खेलाडी पेलेलाई एकपटक करोडौं डलर पारिश्रमिक दिने सर्तमा एउटा मादकपदार्थको विज्ञापन गरिदिन अनुरोध गरियो । त्यतिखेर उनी विश्वभरि चर्चाको शिखरमा थिए । उनले टेलिभिजन र रेडियोमा त्यो मादकपदार्थ म दिनदिनै पिउँछु भनेर भनिदिए मात्र पुग्ने कुरो थियो । यसले त्यो वस्तुको बिक्री काफी धेरै बढ्नमा मद्दत गर्न सक्थ्यो, तर उनले यसो गर्न मानेनन् । उनले भने कि मलाई टन्न पैसा आउँछ भन्दैमा म आमजनताको स्वास्थ्यमा प्रत्यक्ष हानि पुर्याउने काम गर्न कसरी गर्न सक्छु ? जनताप्रति मेरो दायित्व छैन र ?
पेलेको यो भनाइ संसारभरिका चर्चित व्यक्तिहरूका लागि उदाहरणीय उक्ति हुनसक्छ । उनको यो भनाइले उनको आयमा मनग्ये नोक्सानी त पुर्यायो होला, तर उनले यसो गरेर लाखौं-करोडौं मानिसको स्वास्थ्य बचाए, जुन मूल्यमा तौलन सम्भव छैन । उनले के देखाए भने प्रशस्त पैसा आउँछ भन्दैमा सार्वजनिक व्यक्तित्वहरूले हानिकारक कुराको विज्ञापनको साधन बनिदिनु हुँदैन । बोलाइबाट हुने सार्वजनिक नोक्सानीको ख्याल नराखी सार्वजनिक व्यक्तित्वहरूले जथाभावी कुरा बोलिदिनु हुँदैन । हरेक मानिसको समुदायप्रतिको दायित्व हुन्छ, चर्चित व्यक्तिको त झनै ज्यादा हुन्छ ।
तर नेपालमा भने उल्टो हुँदैछ । राजेश हमाल समकालीन फिल्म क्षेत्रका सर्वाधिक लोकपि्रय कलाकारमध्ये एक हुन् । उनी अत्यन्त शिक्षित र शिष्ट कलाकार पनि हुन् । तर उनी अचेल म रियल जुस दिनदिनै निर्धक्क पिउँछु भनेर विज्ञापन गर्दैछन्, जबकि एक ठाउँमा मात्र होइन, अनेकौं ठाउँमा अनेकौंपटक रियल जुसमा लेदो, कीरा र फोहोर भेटिएका खबरहरू तथ्य प्रमाणसहित पत्रपत्रिकामा लगातार छापिँदैछन् । हालैमात्र अख्तियारले पर्सास्थित रियल जुसको कार्खानामा छापा मारेर सप्रमाण रियल जुस उत्पादकहरूको बदमासी उद्घाटित गरेको छ । त्यहाँ ७४ हजारवटा रियल जुसका कार्टुनहरू वास्तविक उत्पादन मितिभन्दा दुई महिना उताको मिति राखेर बजारमा पठाइन लागेको सवुद-प्रमाण भेटिएको छ । त्यस मामिलामा अख्तियारले रियल जुसका उत्पादकविरुद्ध अदालतमा मुद्दासमेत हाल्दैछ । काभ्रेको बतासेमा हालैमात्र रियल जुस पिउँदा एकैपरिवारका पाँचजना सख्त बिरामी परेका छन् । यी जम्मै तथ्य र सूचनाप्रति राजेश हमालजस्ता लोकपि्रय व्यक्तिहरू किन यति धेरै बेमतलब भएको ? उनको यो विज्ञापनले के देखाउँदैछ भने यात नेपाली मेडियामा जे प्रकाशित भए पनि उनलाई त्यसको न्यूनतम सूचना पनि रहँदैन या गतिलो पैसा मिल्यो भने नेपाली जनताको स्वास्थ्यको नोक्सानीप्रति उनलाई कुनै परवाह र दायित्वबोध रहँदैन । दुईमध्ये सत्य के हो ? आखिर सत्य जे भए पनि तथा रियल जुसमा लेदो, कीरा र फोहोर जतिसुकै पटक भेटिए पनि धेरै नेपालीलाई उनीजस्तै रियल जुस निर्धक्क पिउन उनको विज्ञापनले प्रेरित गरिरहने कुरामा कुनै द्विविधा छैन ।
यस्तो विज्ञापन गरेबापत राजेश हमाललाई केही मोटो रकम पारिश्रमिकका रूपमा अवश्य मिल्दो हो । तर आफूलाई केही पैसा प्राप्त हुन्छ भन्दैमा उनीजस्ता लोकपि्रय कलाकारले जनस्वास्थ्यमा अत्यन्त हानिकारक हुनसक्ने कुराको विज्ञापनको साधन बन्नु जायज हुँदैन । के हरेक नागरिक र नेताहरूजस्तै कलाकारहरूमा पनि जनताको हित र स्वास्थ्यप्रति पर्वाह हुनुपर्दैन ? के कलाकारहरूको राष्ट्रिय र सामाजिक दायित्व भन्ने कुरा हुँदैन ?
हामीले नेताहरूलाई मात्र देश बिगारे, जिम्मेवार भएनन् भनेर गाली गरेर नयाँ नेपाल बन्दैन । बिग्रेको नेपाललाई राम्रो नेपालमा फेर्ने हो भने हामी विभिन्न पेसाका नागरिकहरू पनि देश र जनताप्रति उत्तिकै जिम्मेवार हुनु जरुरी हुन्छ । समुदायको हितप्रति जिम्मेवार नागरिकमात्र असल नागरिक हुन्छ र असल नागरिक नै भरे गएर असल नेता हुने सम्भावना हुन्छ । हामी असल नागरिक नै नभई कसरी असल नेताको अपेक्षा गर्न सक्छौं ? देश र जनताको नोक्सानीको चिन्ता नगरेर पद मिल्यो भने जे पनि गर्न तयार हुने नेता र पैसा मिल्यो भने जे पनि गर्न तयार हुने कलाकार वा नागरिकबीच गुदीमा खास भिन्नता के हुन्छ र ? आखिर दुवैको चरित्र र सार त एउटै हो । दुवैले समाजलाई उत्ति नै नोक्सानी पुर्याउँछन् ।
रियल जुसको विज्ञापन राजेश हमालमात्र होइन, अरूले पनि गरिरहेका छन् । भारतीय राजदूतावास सिंगै रियल जुसको पक्षमा नेपाली मिडियाविरुद्ध सार्वजनिक रूपमा जेहादमा उत्रेको धेरै भएको छैन । अब पर्सामा रियल जुसकोे कारखानामा अख्तियारले सप्रमाण मारेको छापापछि महामहिम राजदूत राकेश सुदसित रियल जुसको रक्षार्थ बोल्ने कुरा के बाँकी छ ? आखिर बदमासी कसले गरेको रहेछ- नेपाली पे्रसले कि नेपालका जनताको स्वास्थ्यको कुनै पर्वाह नगरेर दोषयुक्त जुस उत्पादन गर्ने रियल जुसका उत्पादक र त्यसको प्रतिरक्षामा आँखा चिम्लेर उत्रने भारतीय दूतावासले ? लोकतान्त्रिक मूल्यप्रति अलिकता पनि श्रद्धा भए लैनचौर दूतावासले यतिबेला नेपाली जनतासित क्षमा माग्नुपर्ने हो । किनभने लोकतान्त्रिक नेपालमा कसैलाई पनि नेपाली जनताको स्वास्थ्यमा खेलवाड गर्ने अधिकार छैन र हुनसक्दैन । नेपाल सरकारले जनस्वास्थ्यमा नियतवश नोक्सानी पुर्याउन खोज्ने डाबर नेपाललाई सख्त सजाय गर्नका लागि अविलम्ब कदम चाल्नुपर्छ ।
यो कुरा स्पष्ट हुनु जरुरी छ कि रियल जुसप्रति नेपाली जनताको कुनै परम्परागत दुश्मनी भएर यो कुरा भनिँदै छैन । डाबर कम्पनीबाट उत्पादित धेरै वस्तुहरू नेपाली बजारमा वर्षौंदेखि बिक्रीमा छन् । जनताले तिनको निष्कण्टक उपभोग पनि गर्दैछन् । परन्तु कुनै पनि अरू वस्तुबारे यस्तो नकारात्मक टिप्पणी आएको किन देखिँदैन ? किन रियल जुसबारे मात्र यस्तो टिप्पणी आइरहेको छ त ? जब कुनै उपभोग्य वस्तुमा सार्वजनिक स्वास्थ्यका हिसाबले ज्यादै हानिकारक कुरा बारम्बार भेटिन्छ, तब नै त्यो वस्तुबारे नेपाली प्रेसले सप्रमाण लेख्ने कुरो हो । त्यसैले आग्रह र पूर्वाग्रहको कोणबाट रियल जुस प्रकरणलाई हेर्नु अनुचित हुन्छ । कतै आगो छ, त्यसैले नै बाक्लो धूवाँ आउँदैछ ।
हाम्रो देश बिग्रेको नेपालमा साधनस्रोत प्रशस्त नभएर होइन । हाम्रा नेता र हामी नागरिकहरूमा सामाजिक दायित्वबोध र नागरिक चेत कम भएको हुनाले हाम्रो देश साधनस्रोतमा सम्पन्न भएर पनि व्यवहारमा हामी विपन्न हुनपुगेका हौं । मलाई फाइदा भएपछि समाजलाई नोक्सानी भए पनि केही छैन भन्ने सोच हामीमा वालछ्याल भएकैले हाम्रो समाजले यति धेरै दुःख पाएको हो । रियल जुसको विज्ञापन प्रकरण त्यसको एउटा उदाहरणमात्र हो । जे कुराले बृहत् समाजलाई नोक्सानी पुर्याउँछ, त्यो म कदापि गर्दिन, जे कुराले समाजलाई फाइदा गर्छ र उँभो लान्छ, म यथाशक्य त्यस्ता कुरा धेरै गर्छु भनेर हामीमध्ये हरेकले भन्ने हो भने नेपाल उँभो लाग्न धेरै दसक कुर्नु पर्दैन । ब्राजिल र नेपाल किन विकासमा यति धेरै फरक भयो, त्यसको कारण अन्यत्र खोज्नु पर्दैन । ब्राजिलमा जतिसुकै पैसा आए पनि जनस्वास्थ्यमा असर पुर्याउन हरहालतमा बेतयार पेले छन्, हामीकहाँ पैसाको लागि जे पनि बोल्न तयार राजेश हमाल छन् ।
२०६७ साल पौष ११ गते आईतवार।
Leave a Reply