स्रोत: ई-कान्तिपुर
लमजुङ। पश्चिमाञ्चलकै बहुचर्चित ठाडो भाकाका एकमात्र गायक भेडीखर्के साइँला चार महिनादेखि विरामी भई गायनमा निस्कृय भएका छन् ।
दमका रोगी भेडिखर्के गत साउनदेखि विरामी भएपछि निस्कृय भएका हुन् । लामो समय विरामी परेकाले गाउँघर बाहेक बाहिराका अन्य कुनै कार्यक्रममा उनी सहभागी हुन सकेका छैनन् । दम रोगका कारण उनलाई खाना खान र हिंडडुल गर्न गाह्रो भएको छ ।
स्थानीय स्वास्थ्य संस्थामा उपचार गरेपनि स्वास्थ्य अबस्थामा भने खासै सुधार हुन सकेको छैन । लमजुङको सिदुरेढुङ्गामा वि.सं.१९९० मा जन्मेका ७७ वर्षिय भेडिखर्के साइलाको बास्तविक नाम भने दीर्घराज अधिकारी हो । यो नामले उनलाई कमैले चिन्छन् । सिदुरेमा रहदा उनको बुवाको भेडीगोठ थियो । खर्कमा भेडा पाल्ने र दाजुभाइ मध्ये साइँला भएकाले उनको नाम भेडीखर्के साइँला रहन गएको हो । उनै भेडीखर्के साइँलाले ठाडो भाकालाई देशभर फिजाउन महत्वपूर्ण योगदान दिएका छन् ।
अहिले चलेका लोक दोहोरी गीतको मूल मानिने ठाडो भाका विभिन्न टुक्का जोडेर गाउने गरिन्छ । लोकगीतको मूल भएपनि अहिले चलेका लोकगीत भन्दा अलि फरक भएकाले जो कोहीलाई पनि यो गीतको लय समाउन र टुक्का जोड्न धेरै मिहेनत गर्नैपर्छ । त्यसैले होला भेडीखर्के साइलाको विडो थाप्ने दोस्रो गायक अहिलेसम्म देखिएका छैनन् । धेरैले यो भाका सिक्ने प्रयास गरेपनि सफल नभएका कारण ठाडो भाका नै लोप हुने हो कि भन्ने चिन्ताले बिरामी भई ओछ्यानमा परेका भेडीखर्के साईलालाई सताएको छ ।
लमजुङको दुराडाँडाको ठुलोस्वाराबाट देउबहादुर दुराले गाउन सुरु गरेका हुन् ठाडो भाका । दुरापछि भेडीखर्केले बिडो थामेका थिए । १२ बर्षको उमेर देखिनै ठाडो भाका गाउन थाल्नुभएका साइलासंग गीतको कुनै लेखोट भने छैन ।
गीत गाउन बसेपछि तीन दिन तीनरातसम्म लगातार गाउन सक्ने खुबी भएका भेडीखर्केलाई दोहोरी गायन क्षेत्रका आशुकवि नै भन्दा अत्युक्ति नहोला । करीब १५ बर्ष अघिसम्म भक्तिमाया दुरासँग उनाको ठाडो भाकामा दोहोरी खुबै जम्थ्यो । दुराको निधनपछि तनहूकी धनमाया राना र केही समय यता बन्दीपुरकी उत्तम गुरुङसंग भेडिखर्केले गीत गाउदै आएका थिए ।
कला र गलाका धनी भेडीखर्के साइँलाले वि.सं. २०३५ साल देखि यो भाका रेकर्ड गराउन रेडियो नेपालदेखि विभिन्न स्टुडियोमा चहारे । तर सोर्सफोर्स नपुग्दा रेकर्ड हुन नसकेको तीतो यथार्थ अहिले पनि उनीसँग ताजै छ । ०५३ सालमा अल्ट्रासाउण्ड प्रालिले मेरो सेरोफेरो भन्ने एल्बममा ठाडोभाकाको क्यासेट निकालेपनि अहिलेसम्म उनले त्यसको रोयल्टी भने पाएका छैनन् ।
केही बर्ष अघि अलिमिया लोक सास्कृतिक प्रतिष्ठान पोखराले ठाडो भाकाको सीडी निकाल्नुका साथै भेडिखर्के साइँलालाई पहिलोपटक सम्मान गरेको थियो । उनको त्याग प्रतिभाको कदर स्वरुप हिमालचुली कलासाहित्य प्रतिष्ठान लमजुङले पनि ठाडो भाका शिरोमणि पदले बिभूषण गर्दै २०६५ सालमा रमेश पिया स्मृती पुरस्कारद्वारा सम्मान गरेको थियो ।
तर कला, साहित्य, संस्कृति र भाषाको उत्थान र सम्बर्द्धन गर्ने नाउँमा रहेका सरकारी तथा गैरसरकारी कयौं संस्थाहरु ठाडो भाकाको प्रतिभा प्रति मौन रहनु दुखको कुरा हो । गला र कला भइन्जेल हाइ-हाई गर्नेहरु अहिले बिरामी भएर ओछ्यानमा परेपछि वास्ता नगर्दा भेडीखर्के साइलालाई दुख लागेको छ ।
ठाडो भाकाबाट लमजुङको कला संस्कृतिलाई देशविदेशसम्म चिनाउने भेडिखर्केलाई राज्यले भने अहिलेसम्म चिन्न सकेको छैन । न त लमजुङका कुनै संघ संस्थाले । लमजुङको यो सम्पत्तिको संरक्षणमा न राज्यले चासो देखाएको छ न त अन्य कुनै पक्षले नै । ठाडो भाकाका गायक साइलाको थप उपचार र दोस्रो पुस्तामा भाका सिकाउनतर्फ ध्यान दिने हो भने लोक संस्कृतिको जगेर्ना गर्न मद्दत पुग्ने थियो कि ?
२०६७ साल मंसिर ६ गते सोमवार।
Leave a Reply