स्रोत: नागरिक दैनिक

भूमध्यरेखा सार्वजनिक गर्दै माओवादी नेता भट्टराई तथा एनआरएन संस्थापक अध्यक्ष महतो। बीचमा लेखक मिश्र। तस्विरः चन्द्रशेखर
काठमाडौं। स्तम्भकार तथा बीबीसी नेपाली सेवा प्रमुख रवीन्द्र मिश्रको पुस्तक भूमध्यरेखा आइतबार सार्वजनिक भएको छ। माओवादी नेता बाबुराम भट्टराई र एनआरएनका संस्थापक अध्यक्ष उपेन्द्र महतोले संयुक्त रुपमा सार्वजनिक गरेको पुस्तकमाथि पत्रकार विजयकुमार र सुधिर शर्माले टिप्पणी गरेका थिए। ‘यो वातावरण देख्दा मलाई जेएनयु पढ्दाको सम्झना भइरहेछ’, मिडियाकर्मी तथा लेखकहरुको उल्लेख्य उपस्थिति तर्फ संकेत गर्दै माओवादी नेता भट्टराईले भने- ‘राजनीतिमा नलागेको भए म पनि अहिले यही समूहमा हुन्थेँ होला।’
राजनीतिक सिद्धान्त र वादलाई थाती राख्दै सामान्य रुपमा पेश भएका भट्टराईले मिश्रले स्तम्भमार्फत् उठाएको राष्ट्रवाद वस्तुनिष्ठ भएको उल्लेख गरे। ‘धेरैले भन्ने गर्छन् यो बाबुराम राजनीतिमा लागेर भड्कियो’, लेखनमार्फत लोभलाग्दो परिचय बनाएका व्यक्तित्व सामु उनले खुलासा गरे- ‘कहिले कहीँ मलाई पनि त्यस्तो हीनताबोध हुनेगर्छ।’ राजनीति समाज र देशको मूल नीति भएकाले आफू त्यता लागेको प्रस्टिकरण दिएका भट्टराईले जीवनको उत्तरार्द्ध लेखनमै बिताउने इच्छा जाहेर गरेका थिए। ‘१०-२० वर्षपछि सायद म पनि यहीँ हुनेछु।’
अधिक प्राकृतिक शैलीमा प्रस्तुति दिँदै विजयकुमारले मिश्रले नेपाल म्यागेजिनमा स्तम्भ सुरु गर्दा ताकाका रोचक सम्झना सुनाएका थिए। मिश्रले आफ्ना लेख सम्पादन नगरेकोमा पुस्तकमा धन्यवाद दिएको प्रति उनले भने- ‘यो नखाएको अमृत लागेको हो। म आफू पनि कसैले काटेको मन पराउँदिन र अरुको पनि काट्दिन।’
म्यागेजिनमा लेख्दाको सान्दर्भिकता धेरै समय नहुने उल्लेख गर्दै कान्तिपुरका सम्पादक सुधिर शर्माले मिश्रका धेरैजसो लेख अहिले पनि उत्तिकै सान्दर्भिक भएको उल्लेख गरे।
१० वर्षदेखि हेल्प नेपालमार्फत मानव कल्याणका कार्य गरिरहेका मिश्रले आफ्नो लेखनको केन्द्रविन्दू राजनीति र कल्याण गरेको उल्लेख गरे।
मिश्रले पुस्तक बिक्रीबाट प्राप्त हुने सबै लेखकस्व चितवनको चेपाङ समुदायलाई दिने निर्णय सुनाएका थिए। एउटा पुस्तक बिक्रीबापत उनले २८ रुपैयाँ पाउछन्। प्रकाशक फाइन प्रिन्टले लेखकले जति नै प्रति पुस्तक बिक्रीबाट २८ रुपैयाँ सहयोग गर्ने भएको छ। कार्यक्रममा एनआरएन संस्थापक अध्यक्ष उपेन्द्र महतोले प्रतिपुस्तक बिक्री बराबर २० रुपैयाँ थप्ने उल्लेख गरे। अब लेखक मिश्र, प्रकाशक फाइन प्रिन्ट र महतो गरी चितवनका चेपाङ समुदायका लागि प्रति पुस्तक ७६ रुपैयाँ जाने भएको छ।
पुस्तकमा मनुज चौधरीको छद्म नाम लेख्नुपर्नाको बाध्यता पनि मिश्रले खुलाए।
फाइन प्रिन्टले बजारमा ल्याएको पुस्तक २ सय ४३ पृष्ठको छ। पुस्तकको मूल्य २ सय ८० रुपैयाँमा छ।
२०६७ साल कार्तिक २८ गते आइतवार।
Leave a Reply