स्रोत: कान्तिपुर
-शेखर खरेल
महाकवि लक्ष्मीप्रसाद देवकोटामाथि उनको जन्मको एक शताब्दीपछि केही लेख्नु एक अर्थले उपभोक्तावादी समाजमा चुर्लुम्म डुबेर महात्मा गान्धीमाथि लेख्नुजस्तै हो । शंका छैन, देवकोटा नेपाली साहित्याकाशका महान् कवि हुन् र उनमाथि राष्ट्र र जनता दुवैले ‘महाकवि’ को दोसल्ला ओढाएका छन् । हुन पनि विरलै फोटो खिचिने देवकोटाकालीन युगमा उनको छविलाई स्मरण गर्दा ती एकाध तस्बिरहरू मानसपटलमा आइपुग्छन्, दोसल्ला -वा दोलाइ) ओढेको वा अर्नेस्टो चे ग्वेभाराले क्युबन सिगार तानेझैं उनले फूलमार चुरोटको सर्को लिँदै गरेको । मैले देवकोटाका लगभग सबै नभए पनि अधिकांश र त्यसमा पनि उनका ‘भयंकर कर्महरू’ -म्याग्नम ओपस) पढेको छु । उनका ‘पागल’, ‘यात्री’ जस्ता कविता, अनि खण्डकाव्य ‘मुनामदन’ का केही हरफ मलाई मुखाग्र छन् । तैपनि देवकोटा भन्नासाथ मलाई उनी कविभन्दा पनि मिथक ज्यादा लाग्छ र यस लेखमा पनि म उनको काव्यिकभन्दा पनि मानवीय वा मिथकीय पाटाहरूबारे नै चर्चा गर्नेछु । महाकविका काव्यिक देन र तिनका आयामहरूबारे समालोचक र विद्वान् लेखकहरूले चर्चा गरेका छन् र गर्ने नै छन् ।
देवकोटा र मिथकहरू भन्नासाथ मलाई अहिले गान्धीमाथिको अल्बर्ट आइन्स्टाइनको भनाइको सम्झना हुन्छ । गान्धीको त्याग र सादगीबाट द्रवित भएका आइन्स्टाइनले भनेका थिए, ‘हाड र मासुले बनेको यस्तो मान्छे यसै धर्तीमा थियो भन्ने विश्वास गर्न आउँदो पुस्तालाई मुस्किल पर्छ’ सायद देवकोटा पनि यस्तै हुन्, वर्तमान तथा आउने पिंढीका निम्ति । यस्तो कवि जो आफ्नो हातमा चुरोट निभ्दै गरेको पत्तो पाउँदैनथ्यो, जो चुरोटका खोलमा समेत कविता कोथ्र्यो र कापी, कलम र चुरोटका खोलसमेत खोसी दिएपछि ऊ अँगारले भित्ता कोथ्र्याे, जसले एकै रातमा खण्डकाव्य सिध्याएको थियो, जसले दस दिनभित्रै महाकाव्य लेख्छु भनेर बाजी ठोकेको थियो र त्यसलाई फत्तेसमेत गरेको थियो ।
उनका काव्यिक रचनाहरूजस्तै व्यवहार पनि सधैं चर्चामा रहे । उनले जाडाले काँप्दै गरेको भिखारीलाई आफ्नो कोट ओढाएका थिए रे ! भारतको एक काव्यिक सम्मेलनमा हिन्दी भाषामा बोल्दा कसैले ‘कविजी आपका लिंग गडबड हैं, जरा लिङ पकडकर बोलिए’ भन्दा महाकवि निकै कड्किएका थिए रे । उनी बनारसमा रहँदा गुजाराका निम्ति सुका मोहरमा कविता बेच्थे रे अनि उनकै कविता किनेर धेरै कवि पनि भए रे । उनीबारेका मिथकहरूको सूची निकै लामो छ ।
कवि देवकोटालाई मन्त्री पनि बनाइयो । उनी उचालिए अनि पछारिए पनि । सायद देवकोटाकालाई पत्याएर अरू देवकोटाहरू, डाक्टरहरू, इन्जिनियरहरू, कविहरू, लेखकहरू, समाजसेवीहरू यस देशमा मन्त्री हुन लालायित भए र बने पनि तर तिनीहरूको हविगत कवि देवकोटाभन्दा फरक हुनचाहिं सकेन । मैले आजसम्म देवकोटाउपरको सम्बोधनमा महाकवि एवं पूर्वमन्त्री भनेको सुनेको छैन । मन्त्रीको पद महान छाती, मस्तिष्क र मन भएका देवकोटाका निम्ति तुच्छ थियो र उनले त्यागिदिए त्यो । खै, अरू ‘देवकोटा’ हरूले त्यो बुझेको ।
सयौं कविहरूले सयौं वर्षमा दिन नसक्ने कुरा एक्ला देवकोटाले दिए यस मुलुक र हामीलाई । उनी दिँदै गए हामी लिँदै गयौं । लहडी के आई सिंहले कुन अभीष्टले देवकोटालाई मन्त्री बनाए, त्यो थाहा छैन र मुलुकले उनलाई मन्त्री बनाएरै सम्मान गरेको भए त्यो पनि जान्दिनँ म तर देवकोटाले केवल अभाव र उपेक्षाको जिन्दगी बाँचेको कुरा पक्का हो । देवकोटा रूसबाट र्फकेर आएपछि कुनै चाटुकारले राजा महेन्द्रलाई ‘यी कवि कम्युनिस्ट भए’ भनेर चुक्ली लगाएको थियो रे । नत्र कविता नै लेख्ने राजा भएको मुलुकमा देवकोटाको किन त्यस्तो दशा हुन्थ्यो ? हाम्रा महानतम् कविलाई न त हामीले जिउँदो हुँदा नै सम्मान गर्न सक्यौं, न त उनले यो संसार छाडेर गएपछि नै । बाँचुन्जेल उनी अक्सर उपहासका पात्र बनिरहन्थे । उनले कुन मनोदशामा ‘पागल’ कविता लेखे, त्यो पढ्दा थाहा लागिहाल्छ । जसरी देवकोटा काव्यिक फाँटका धरहरा हुन्, उनी त्यसभन्दा बढी अभाव र उपेक्षाका सगरमाथा पनि हुन् । देवकोटा एउटा त्यस्ता बिम्ब पनि हुन् यस मुलुकमा कि सिर्जना गर्नेहरूको नियति उनको जस्तै हुन्छ भन्ने पनि । आज पनि यो मुलुकमा को बढी उपेक्षित छ भनेर हेर्ने हो भने पहिलो पंक्तिमा सिर्जनाधर्मीहरू नै पर्नेछन् ।
मुलुकले महाकविको उपाधि दिएर उनीप्रतिको दायित्व पूरा भएको ठानेको छ । नत्र राजा, महाराजा, धनाढ्यहरू र तिनका सन्तानदर सन्तान र प्रेमीप्रेमिकाका नाममा समेत पुरस्कार स्थापना हुने देशमा खै राष्ट्रका तर्फबाट उनका नाममा पुरस्कारको घोषणा ? खै उनका पाण्डुलिपि र सरसामानहरू -मेमोराम्बिलिया) को संग्रह ? छ कतै लक्षमीप्रसाद देवकोटा नामको संग्रहालय ? बरु उनको घर पनि भत्कँदै छ र हामी बनेका छौं केवल रमिते । राष्ट्रको ढुकुटी रित्याएर विदेश सयर गर्ने र मोतीबिन्दुको शल्यक्रिया गर्न बैंकक पुग्ने नेताहरूबाट उनको घरको जीर्णोद्धार र त्यहाँ देवकोटा संग्रहालयको कल्पना गर्नु बेकार छ । अब हाम्रो माटोका महान् स्पन्दन महाकविको घर बचाउन हामी सबै जनस्तरबाट लाग्नुपर्छ ।
मैले यसै दैनिकमा मेरा पि्रय डाक्टर दिनेशचन्द्र पोखरेल गोजीमा छ हजार रुपैयाँ हालेर महाकविको घरलाई भत्कनबाट जोगाउन कुनै टेवा पुग्छ कि भनेर मैतीदेवी पुगेको आलेख पढेको थिएँ । ती सौम्य डाक्टर अलि बढी धनराशिको जोहो गर्नसके महाकविको धरोहरलाई संग्रहालयमा परिणत गर्न सकिन्छ कि भन्ने स्तुत्य काममा लागेका छन् भन्ने सुनेको छु । हामीले किन यी उदारमना डाक्टरको होस्टेमा हैंसे नगर्ने ? सायद यो काम पूरा गर्नसके देवकोटा जन्मेको शय वर्षपछि नै सही एउटा सार्थक काम अनि हाम्रा प्यारा महाकविप्रति सच्चा श्रद्धाञ्जलि हुन्थ्यो कि ?
Leave a Reply