स्रोत: नागरिक दैनिक
-अमृत भादगाउँले
काठमाडौं। देउसीभैलो खेल्नेहरु ‘हामी त्यसै आएनौं, बली राजाले पठाए’ भन्दै घरघर पुगेर चन्दा माग्छन्। लोकसंस्कृतिविद रामप्रसाद कँडेलका अनुसार देउसी-भैलोको सुरुवात असुर राजा बलीले गरेका होइनन्। त्यो त खस राज्य कर्नालीका बालराजा काशीरामले गरेका हुन्। भेरी अञ्चलमा सुनिने ‘बालराजा काशिराम भारत’ (मौखिक महाकाव्य)मा यसको वर्णन पाइन्छ। तर हाम्रो इतिहास तोडमोड गरेर ‘बलि राजाले पठाको’ भनिन्छ।
इतिहास अनुसार तिहारताका खस राजा काशिरामले मोरंग राज्यका राजा हिन्दपति सेनलाई पराजित गरे। लडाईमा धेरै सिपाही मारिए। तिनका विधवा र छोरीलाई केही आर्जन होस् भनेर काशिरामले ‘स्वेच्छिक कर’ बुझाउन भैलि खेल्ने थिति बसाए भने अपांग सिपाहीका लागि देउसी। घर-घरमा मकै र धान भित्रिसकेको सिजन हुने भएकाले उनीहरुलाई अन्न दान दिन थालियो। पछि मात्रै सबै महिला/पुरुषले देउसीभैलो खेल्न थालेका हुन्।
आफ्नो जन्मथलोलाई पर्यटकीय गाउँ बनाउन उत्तरी गोरखा बारपाकका महिला शुक्रबारदेखि राजधानीमा देउसी-भैलो गाएर ‘चन्दा’ बटुल्दैछन्। मनास्लु पदमार्गमा पर्ने बारपाकका २० घरमा होम स्टे सुबिधा छ। देउसीभैलोबाट उठेको रकमले होमस्टेलाई आबश्यक तन्ना, सिरक र डसना किन्ने उनीहरुको योजना छ।
‘एडभेन्चर ग्रामिण विकास कार्यक्रम’ नामक संस्था खोलेर पर्यटन पूर्वाधार विकासमा जुटेका छन् उनीहरु। ‘सामाखुसी क्षेत्रमा बस्ने गोर्खालीका घर-घरमा तीन दिनसम्म देउसी खेल्छौं’, कार्यक्रमकी संयोजक दलकुमारी घलेले बिहिबार नागरिकसँग भनिन् ‘उठेको पैसाले कपडा किन्छौं। पैसा बच्यो भने पर्यटन वर्ष २०११ मा कार्यक्रम गर्छौं।’
परम्परागत शैलीमा एकछिन देउसी भैलो भट्टयाएर रमाइलो गरेपछि दोहोरी गीतमा नाच्नेछन् उनीहरु। ‘क्यासेटमा दोहोरी घन्काएर हामी नाच्नेछौं’, घलेले भनिन् ‘तर, हामी यति नै पैसा चाहिन्छ भन्दैनौं।’ पोहोर पनि यसैगरी देउसी खेल्दा उठेको एक लाख रुपैयाँ पर्यटनमै खर्चिएको उनले बताइन्।
घलेहरुले झै शालिन ढंगमा देउसी खेल्ने तयारीमा छन् लोकसंस्कृतिविद रामप्रसाद कँडेल पनि। काठमाडौंको नैकापस्थित सदभाव गुठीका गुठीयारबीचको सम्बन्ध अझ गाढा बनाउन देउसी खेल्न लागिएको कँडेलले बताए। ‘हामी ५० जना गुठीयारका घर-घरमा गएर देउसी भट्टयाउनेछौ’, कँडेलले भने ‘एउटा घरबाट सय-पचास रुपैयाँ लिनेछौं।’
देउसी भैलो त धेरैले खेल्छन्। तर, घले र कँडेलहरुले झैं ‘दिएजति चन्दा लिने’ कति होलान? त्रिपुरेश्वरका व्यवसायी कुबेर राउतलाई सोधौं न। उनी तर्सिसकेका छन्। हामीलाई ‘यति रकम चाहिन्छ’ भन्दै देउसी खेल्ने सूचना दिन आएकाहरुबाट उनी हैरान भैसकेका छन्। चन्दा त स्वेच्छिक पो हुन्छ। ‘५-७ हजार रुपैयाँ घटी हुँदैन रे’, उनी दिक्क छन् ‘एउटा समूह मात्रै आउने होइन कतिलाई दिनु?’
‘स्वेच्छिक कर’का रुपमा सुरु भएको देउसीभैलो शहरी भेकमा ‘ट्रयाक’ बाहिर पुगिसकेको लोकसंस्कृतिविद राम प्रसाद कँडेल बताउँछन्। ‘संस्कृति जोगाउन र सामाजिक काम गर्न पो देउसी/भैलो खेल्ने हो त’, उनी भन्छन् ‘चन्दा आतंक फैलाउनु त मिल्दैन नि।’
केही बर्षयता शहरी भेकमा देउसीमा विकृति भित्रिएको छ। घरभेटीको इच्छा विपरित समेत देउसी खेल्ने, मदिरा सेवन गरेर हो-हल्ला गर्ने प्रबृत्ति बढेको छ। मादल, मुजुरा र बाँसुरी बजाएर भट्टयाउने शैली बदलिएकोलाई भने विकृति मान्न नहुने बताउँछन् लोकसंस्कृतिविद कँडेल। एउटाले कथा भट्टयाउने र अरुले देउसी रे भन्ने परम्परागत शैली ‘मनोटोनस’ भएकाले समय अनुसार झयाउरेदेखि रकसंगीतसम्म गाउने चलन बसेकोमा खुसी छन् उनी। ‘संस्कृति समय अनुसार बदलिन्छ’, उनी भन्छन् ‘देउसीमा पश्चिमा बाजा मिसियो, पप र आधुनिक गीत गाइयो भनेर आत्तिनु पर्दैन।’
काठमाडौंको परम्परागत देउसी गाउने शैलीमा परिवर्तन ल्याउने काम राल्फा आन्दोलनले गरेको दाबी त्यसका एक सदस्य कवि मञ्जुल गर्छन। सातदोबाटो ललितपुरमा देउसी खेल्नेहरुको पर्खाइमा बसेका उनले पुरानो कथा सुनाए ‘तीसको दशकमा हामीले (रामेश, रायन र म) तिहारमा देउसी भैलोसँगै जनवादी गीत पनि गाएर त्यसको सुरुवात गरेका हौं। विभिन्न किसिमका गीत गाएर धेरैले हाम्रो सिको गरेका छन्। यसलाई सकारात्मक मान्नु पर्छ।’
लोकसंस्कृतिविद कँडेलका अनुसार बिशेषतः दसैंको कोजाग्रत पूर्णिमादेखि मंसिर पूर्णिमासम्म देउसीभैलो खेल्ने चलन छ। सामाजिक उद्धेश्यले देउसी खेल्न आउनेहरुलाई मन खोलेर दान गर्न पाउँदा खुसी लाग्छ कवि मञ्जुललाई। ‘तर, कसैले जबरजस्ती चन्दा असुल्नु राम्रो होइन’, उनी भन्छन् ‘देउसी खेल्न आउँदा घरका सदस्यले मानसिक तनाब झेल्नु नपरोस।’
Leave a Reply