स्रोत: नयाँ पत्रिका (सम्पादकीय)
सरकारले महिलालाई रोजगारीका लागि जान प्रतिबन्ध लगाए पनि दलालले गैरकानुनी बाटोबाट उनीहरूलाई तिनै प्रतिबन्धित देशतिर उडाइरहेका छन्।
वैदेशिक रोजगारीको आकर्षण बढ्दै गएपछि सिन्धुपाल्चोकका अधिकांश गाउँ महिलाविहीन हुन थालेको समाचार प्रकाशमा आएको छ । यस समाचारले नेपाली महिलालाई वैदेशिक रोजगारीको आकर्षणले कति तानेको रहेछ, प्रस्ट पारेको छ । देशमा बढ्दो बेरोजगारी, असुरक्षा, कमजोर आर्थिक स्थिति आदिका कारण घरखेत बन्धकी राखेरै पनि लाखौँ युवा बिदेसिन बाध्य बनिरहेको पछिल्लो समयमा नेपाली महिला पनि रोजगारीका लागि छिमेकी मुलुक भारतमात्र नभई खाडी मुलुकहरू कतार, कुवेत, साउदी अरब, इजरायललगायतका देशसम्म पुगिरहेका छन् । कोही छिटै धनी बन्ने सपना पालेर, कोही अरूको देखासिकी गरेर त कोही घरको गरिबीबाट उन्मुक्ति खोज्दै विदेश जाने क्रम बढिरहेको छ । सरकारले कतिपय देशमा महिलालाई रोजगारीका लागि जान प्रतिबन्ध लगाएको छ । तैपनि, दलालहरूले गैरकानुनी बाटोबाटै भए पनि उनीहरूलाई तिनै प्रतिबन्धित देशतिर उडाइरहेकै छन् । नेपाली महिला हरेक दिन कानुनी वा गैरकानुनी बाटो जताबाट भए पनि बिदेसिइरहेका छन् । यसमा न सरकारले नै केही गर्न सकिरहेको छ, न त यस क्षेत्रमा कार्यरत गैरसरकारी संघसंस्थाले नै केही गर्नै सकेका छन् ।
रोजगारीका लागि बिदेसिने अधिकांश महिला अशिक्षित छन् । उनीहरूमा आफू जाने देशको भाषाको ज्ञान हुँदैन । भाषिक ज्ञानको अभावमा नेपाली महिला अत्यधिक शोषित भइरहेका छन् । यसरी बिदेसिने अधिकांश महिला अदक्ष घरेलु कामदारका रूपमा विदेश पुर्याइने हुनाले उनीहरू प्रत्यक्ष वा परोक्ष रूपमा शारीरिक र मानसिक रूपमा शोषित हुने गरेका छन् । कतिपय त चरम यौनशोषणको सिकार हुँदा मानसिक सन्तुलन गुमाएर, गर्भवती भएर वा बच्चा साथमा लिएर स्वदेश फर्किन बाध्य भइरहेका पनि भेटिन्छन् । यसरी घरेलु कामदारका रूपमा खाडी मुलुकमा पुग्ने महिलामध्ये अधिकांशले आफू काम गर्ने घरका सम्पूर्ण पुरुष कामदारलाई रिझाएर मात्र नपुगी उनीहरूका पाहुनालाई समेत रिझाउनुपर्ने बाध्यता भोगिरहेका छन् । पहिले-पहिले भारतका विभिन्न सहरका कोठीहरूमा बेचिने नेपाली युवतीलाई अहिले नयाँ ठाउँमा, नयाँ नाममा बेच्ने गरिएको पाइन्छ । खाडी मुलुकमा भारतमा जसरी कोठीमा बस्नु नपरे पनि नेपाली महिलाले भोग्ने यातना र पीडा भने एकैनासका छन् । चरम शारीरिक तथा मानसिक शोषणको सिकार बन्नुपरे पनि उनीहरूले बताइएअनुसारको तलब-सुविधासमेत पाउँदैनन् । यो सब थाहा पाउँदा-पाउँदै पनि नेपाली महिला आँखा चिम्लेर बिदेसिइरहेका छन् ।
पछिल्लो समयमा वैदेशिक रोजगारीका नाममा महिला बिदेसिने क्रम ह्वात्तै बढेपछि जिल्लाभरका गाउँहरू महिलाविहीन हुन लागिसक्दा पनि सरकारले खासै चासो र चिन्ता लिएको देखिँदैन । वैदेशिक रोजगारीलाई व्यवस्थित गराई कामका लागि बिदेसिने महिलाको सुरक्षाको व्यवस्था मिलाउनु सरकारकै दायित्व हो । तर, सरकारलाई भने त्यसरी बिदेसिएका महिलाले पठाएको रेमिट्यान्सको हिसाबकिताब गर्दै फुर्सद छैन । कामको खोजीमा खाडी मुलुक पुगेका महिलामाथि हुनेगरेका शोषणबारे त्यहाँस्थित नेपाली दूतावासका अधिकारीलाई राम्रै जानकारी छ । तैपनि, उनीहरूले अप्ठ्यारामा परेका नेपाली महिलाको उद्धार गरी आवश्यक सहयोग गर्न खासै चासो देखाइरहेका छैनन् । अब पनि नेपाली महिलालाई वैदेशिक रोजगारीमा पठाउन सरकारले आवश्यक चासो देखाएन भने नेपाली महिला झन्झन् शोषित हुने निश्चित छ । त्यसैले वैदेशिक रोजगारीमा जाने महिलाको सुरक्षामा सरकारी स्तरबाटै भरपर्दो व्यवस्था मिलाउन ढिलाइ गरिनु हुन्न ।
Leave a Reply