स्रोत: नागरिक दैनिक
वि.सं. २०६६ को मदन पुरस्कार बैतडीका नरबहादुर साउदलाई प्रदान गरिने भएको छ। उनलाई नेपालका बालीनाली र तिनको दिगो खेती नामक विद्वत् ग्रन्थका लागि यो पुरस्कार दिइने भएको हो। त्यसैगरी जनकपुरका डा. राजेन्द्र विमललाई जगदम्बा श्री पुरस्कार दिइने भएको छ। मदन पुरस्कार गुठीको साधारण सभा बैठकले बुधबार यो निर्णय गरेको हो।
विमललाई ४ दशकदेखि मिथिला क्षेत्रमा मैथिलभाषी विद्यार्थीलाई नेपाली भाषामा शिक्षित गराई विद्वान् बनाउने पुनीत कार्यका साथै नेपाली भाषामा अनेकानेक ग्रन्थ रचना गरी नेपाली भाषा वाङमयलाई समृद्ध तुल्याउने कामसमेत गरेवापत उक्त पुरस्कार प्रदान गरिने भएको गुठीले जनाएको छ।
दुवै पुरस्कारको राशि २-२ लाख रुपैयाँको छ। २०१२ सालमा सुरु भएका यी पुरस्कारको सुरु राशि ४-४ हजार रुपैयाँ थियो।
२०१५ सालमा गङ्गाविक्रम सिजापतीको ग्रन्थ ‘उद्यान’ पुरस्कृत भएपछि कृषिसम्बन्धी ग्रन्थले पुरस्कार प्राप्त गरेको यसै सालमात्र भएको जानकारी पनि गुठीले दिएको छ। दुवै पुरस्कार नौरथाका दिन प्रदान हुनेछन्।
दस जनालाई संरक्षण पुरस्कार
यसैगरी संरक्षणका विभिन्न क्षेत्रमा काम गरिरहेका दस जनाले डब्लु डब्लु एफ नेपालद्वारा संरक्षण पुरस्कार पाउने भएका छन्। बिहीबार तेस्रो राष्ट्रिय संरक्षण दिवशका अवशरमा उनीहरूलाई पुरस्कार दिइनेछ।
अब्राहम संरक्षण पुस्कारका लागि व्यक्तिगततर्फ सप्तरी जगतपुर –८ की रेनु साह, थापापुर– २ कैलालीका हिरुलाल डगौंरा, चितवन राष्ट्रिय निकुञ्जका रेन्जर रूपक महर्जन, अर्घाखाँची,पोखरथोक –९ का भक्तबहादुर रासकोटी र दाङका जिल्ला वन अधिकृत किशोर गौतम छन्।
यसै पुरस्कारको संस्थातर्फ नवलपरासी कावासोती–१ लौखानीस्थित जटायु रेष्टुरेन्ट व्यवस्थापन समिति र रूपन्देही गैंडाताल १ स्थित जटायु रेष्टुरेन्ट व्यवस्थापन समितिले पुरस्कार पाएका छन्। यस वर्षको डब्लु डब्लु एफ संरक्षणमा मिडिया पुरस्कार बिबिसि नेपाली सेवाका सुदूरपश्चिम प्रतिनिधि उमिद वागचन्द र द हिमालयन टाइम्सका वातावरण संवाददाता रमेश भुषालले पाएका छन्। यस वर्षको म्याथ्यु प्रिस तथा येशी छेदेन लामा युवा संरक्षण अगुवा पुरस्कार पन्छी संरक्षण सङ्घका गिद्ध संरक्षण अधिकृत आनन्द चौधरीले पाएका छन्।
अब्राहम संरक्षण पुरस्कार पाउने साह कोशी टप्पु वन्यजन्तु आरक्षको मध्यवर्ती क्षेत्रको विकासमा लामो सम देखि सक्रिय छन् भने डगौंराले विद्यालयस्तरीय इको क्लबको ८ वर्ष अध्यक्ष रहेर डल्फिन र पन्छी संरक्षणमा जनचेतना फैलाउने काम गरेका छन्।
रेन्जर महर्जनले चितवन राष्ट्रिय निकुञ्जको चोरी सिकार प्रतिरोध इकाईमा एक दशकदेखि काम गर्दै कुख्यात् चोरी सिकारी पक्राउ गर्न भूमिका खेलेका छन् भने अनुसन्धाता रास्कोटीले मुलुकका विभिन्न ठाँउमा एक दशक डुलेर यहाँ पाइने तीन सय प्रजातिका सुनगाभाको तस्बिर र जानकारीसहितको पुस्तक द अर्किडस अफ नेपाल प्रकाशनमा ल्याएका छन। वन पैदावरको मूल्य साविकभन्दा ५० प्रतिशत बढाउने प्रस्ताव अघि सारेका जिल्ला वन अधिकृत गौतम पुरस्कारका लागि छानिएका हुन।
नवलपरासी र रूपन्देहीका जटायु रेष्टुरेन्ट व्यवस्थापन समिति सङ्कटमा रहेको पन्छी गिद्धको संरक्षणमा पुर्याएको भूमिकाका लागि पुरस्कृत भएका हुन। दुई दशकदेखि सुदूर पश्चिमको पत्रकारितामा संलग्न वागचन्दले मोफसल र अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा संरक्षरणका मुद्दालाई उठाएका कारण र भुषालले पाँच वर्षदेखि रेडियो र छापा माध्यममा वातावरणका मुद्दा उठाएकाले पुरस्कृत भएका हुन। मुलकमा पहिलो पटक खोपटे किरा पत्ता लागाएका चौधरी पुरस्कृत भएका हुन। पुरस्कारको राशि व्यक्तिगत २५ हजार र संस्थागत ५० हजार रुपैयाँ तथा सम्मानपत्र रहेको छ।
२०६७ साल आश्विन ६ गते बुधवार।
Leave a Reply