स्रोत: नयाँ पत्रिका (सम्पादकीय)
नेपालका प्रत्येक क्रान्ति वा आन्दोलन र जनताको बलिदान राजनीतिक दल र नेताका लागि सत्तारोहण गर्ने भर्याङमात्र बनेको देखिन्छ।
जनआन्दोलन-२ को सफलतापश्चात् देशमा ठूला परिवर्तन भइसकेका छन् । देशमा १० वर्षदेखि भूमिगत सशस्त्र विद्रोह गरिरहेको नेकपा माओवादी संसदीय प्रणालीमा भित्रियो र संविधानसभाको निर्वाचनपश्चात् सत्ताको नेतृत्वमा पुग्यो । दुई सय ४० वर्षदेखिको सामन्ती राजतन्त्रलाई सदाका लागि बिदा गरी देशमा गणतन्त्र ल्याइयो । झन्डै अढाई वर्षदेखि राज्यको ढुकुटी रित्याउँदै कामनकाज आफ्नो म्याद आफैँ थपेर ६ सय एक सभासद् संविधान बनाउने नाममा संविधानसभाभित्र अनेकौँ नौटंकी देखाइरहेका छन् । तर, देशमा यी सबै परिवर्तन आउनुमा जसको अहम् भूमिका थियो, जसले आफ्नो ज्यानलाई भन्दा देशको सामन्ती राज्यसत्ता परिवर्तनलाई ज्यादा महत्त्व दिए, जनआन्दोलनका तिनै सहिद, तिनका परिवार र घाइतेहरू अहिले सबैभन्दा बढी उपेक्षित जीवन बाँचिरहेका छन् । सहिद हुने त भइहाले, तर घाइते बनेर बाँचिरहेका जनआन्दोलनका योद्धाहरू यतिखेर कति उपेक्षित छन्, त्यसका उदाहरण जनआन्दोलन— २ का घाइते तेजबहादुर रावल र उनको परिवार हुन् ।
संसारकै इतिहास हेर्ने हो भने कुनै पनि आन्दोलन जनताको बलिदान विना सफल भएको छैन । तर, त्यस्ता आन्दोलन जनतालाई भर्याङ बनाएर आफू माथि चढ्न सफल नेताका लागि मात्र फलदायी देखिएका छन् । नेपालकै हकमा पनि ००७ सालदेखिका प्रत्येक क्रान्ति वा आन्दोलनलाई हेर्ने हो भने जनताको बलिदान केही राजनीतिक दल र नेताका लागि सत्तारोहण गर्ने भर्याङमात्र बनेको देखिन्छ । देशमा सत्ता परिवर्तन गरी एउटाका हातबाट अर्काका हातमा सत्ता सुम्पनेबाहेक यस्ता आन्दोलनको कुनै उपलब्धि नेपालीले महसुस गर्न पाएका छैनन् ।
आन्दोलनपछि सत्तामा पुगेका, संविधानसभाभित्र छिरेका र पार्टीनेतृत्वमा रहेका नेताको जीवनशैली हेर्दा हिजो र आजमा आकाश-जमिनको अन्तर भेटिन्छ । हिजो डेराको साँघुरो कोठामा कोच्चिएर रहेका नेता आज आलिसान महलका मालिक भएका छन् । विगतमा साइकल पनि सहज नहुने नेता आज करोड घटीका गाडीलाई गाडी नै गन्दैनन् । सामान्य रुघाखोकी लागे पनि राज्यकोषबाट पर्याप्त सुविधा लिएर विदेशी महँगा अस्पतालमा उपचार गराउनु उनीहरूका लागि सामान्य बन्दै गएको छ । तर, यही राज्यमा तिनै नेतालाई सत्तारोहण गराउने आन्दोलनमा सामन्ती सत्ताको आक्रमणबाट घाइते भई मर्नु न बाँच्नुको दोसाँधमा पुगेका घाइतेले आफ्नो उपचारका लागि राज्यबाट कुनै सहयोग पाएका छैनन् । अझ सहयोगको आशामा सुदूरपश्चिमबाट राजधानीसम्म धाउँदा पनि सहयोग पाउनु त कहाँ हो कहाँ, उल्टो होटेलको बिलसमेत तिर्न नसकी बन्दीसरह जीवन बाँचिरहेका तेजबहादुर र उनको परिवारको पीडा बुझिदिने कोही देखिएन यहाँ । तेजबहादुर त प्रतिनिधि चरित्रमात्र हुन् । उनीजस्तै कष्टप्रद जीवन बाँचिरहेका घाइतेको संख्या यहाँ ठूलै छ ।
राज्यले हरेक वर्ष उपचार खर्चका नाममा करोडौँ बाँड्ने गरेको छ । यस्तो रकम राजधानीमै ठूला-ठूला महल हुने, चिल्ला गाडीमा गुड्ने, ठूला ओहोदामा रहेर राज्यकोषबाट मोटो तलब-भत्ता असुल्ने नवधनाढ्यहरूको पोल्टामा पुगिरहेको छ । यसरी सक्षम व्यक्तिले राज्यकोषबाट पर्याप्त सुविधा पाउने, तर गरिब, असहाय तथा जनआन्दोलनका घाइतेले भने सानो सहयोग पनि नपाउने ? यो त्यही देश हो, जहाँ राजनीतिक दलहरू सत्ता टिकाउन तथा नयाँ सत्ता-समीकरण जुटाउन कक्टेल पार्टीमा लाखौँ झ्वाम पार्छन्, तर यही देशमा जनआन्दोलनका घाइते परिवारले भोकै सुत्नु परिरहेको छ, यस्तो विडम्बना कहिले सम्म ?
Leave a Reply