स्रोत: नयाँ पत्रिका (सम्पादकीय)
नेपाल राज्यभित्रका जनताले सुरक्षाका लागि भारतीय एसएसबीलाई गुहार्नुपर्ने अवस्था आउनु राज्यभित्रै राज्यविहीनताको विडम्बनापूर्ण स्थितिको संकेत हो।
सप्तरी जिल्लाको गोबरगाढा गाविसका जनता आफ्नै देशभित्र पनि वर्षौंदेखि राज्यविहीन नागरिक भएर बाँचिरहेका छन । तर, राज्य भने त्यहाँका स्थानीयवासीको पीडाबाट पूरै बेखबर छ । प्रत्येक वर्षको बर्खामा कोसी नदीमा आउने बाढीले पूरै गाविस जलमग्न हुँदा पनि आफ्नो थातथलो छाडेर सुरक्षित स्थलमा सर्नसमेत नसक्नु त्यहाँका बासिन्दाको गहिरो पीडा हो । भारतीय बिहार राज्यसित सीमा जोडिएको गोबरगाढाका जनताले दैनिक उपभोग्य सामान खरिद गर्न जानुपर्दा पनि ज्यान हत्केलामा राखेर कोसीको बाढीमा हेलिनुपर्छ । नेपाली बजारसम्म पुग्नमात्र पनि त्यहाँका जनताले बर्खामा उर्लिएको कोसीका साना-ठूला गरी ६ वटा भंगाला पार गर्नुपर्ने बाध्यता छ भने छिमेकी भारतीय बजारसम्म पुग्न कोसीको विशाल धारमाथि जोखिमपूर्ण यात्रा गर्नुपर्छ । गोबरगाढावासीको यो समस्या यस वर्षको मात्र होइन, त्यहाँ हरेक वर्ष एउटै समस्या दोहोरिइरहेको छ । तैपनि, आफूलाई राज्यका वास्तविक ठेकेदार मान्ने स्थानीय प्रशासन, चुनावमा त्यस गाविसका जनताको समेत भोटबाट विजयी बनेका सभासद्, राजनीतिक दल र तिनका स्थानीय नेता, गाविस सचिव, कसैका आँखा पनि ती पीडित स्थानीयवासीको पीडामाथि पर्न नसक्नु उदेकलाग्दो कुरा हो ।
गोबरगाढावासीसित नागरिकता छ, भोटर लिस्टमा नाम पनि छ, तर वर्षौंदेखि खनिखोस्री गर्दै आएको आफ्नै जग्गाको जग्गाधनी प्रमाणपुर्जा छैन । गाउँमा भौतिक पूर्वाधारविहीन नाममात्रको प्राथमिक विद्यालय छ, तर त्यहाँका बालबालिकालाई शिक्षा दिने शिक्षकहरू नियमित छैनन् । उपस्वास्थ्यचौकीका नाममा एउटा काठको दराज छ, तर त्यहाँभित्र के छ गाउँलेलाई थाहा छैन । गोबरगाढाका अहेवले गाउँ नै देखेका छैनन् सायद । कोही बिरामी परिहाल्यो भने उसलाई भगवान् भरोसामा छाड्नुको विकल्प गाउँलेसित छैन । गाउँमा अपराध हुन्छ, तर अपराधीलाई पक्रिने र तिनलाई सजाय दिलाउने सुरक्षाकर्मीले पनि गोबरगाढाको बाटो भुलिसकेको अवस्था छ । झन् उदेकको कुरो त नेपाल राज्यभित्रका जनताले आफ्नो सुरक्षाका लागि भारतीय एसएसबीलाई गुहार्नुपर्ने अवस्था आउनु पक्कै पनि राज्यभित्रै राज्यविहीनताको विडम्बनापूर्ण स्थितिको संकेत हो । कक्षा ५ देखि माथि अध्ययन गर्ने बालबालिकाले प्रत्येक दिन मृत्युसित पौँठेजोरी खेल्दै कोसीको उर्लंदो भेलमा हेलिएर कोसीपारि रहेका विद्यालयसम्म पुग्नुपर्ने बाध्यता झेलिरहेका छन् । तैपनि, राज्य मौन छ, यिनका चीत्कार नसुनेझैँ गरिरहेको छ ।
डुंगाको उपयोगविना गोबरगाढाका बासिन्दाको दैनिकी चल्दैन । सिंगो गाउँलेको उपयोगका लागि जम्मा दुईवटा डुंगा रहेका छन् । दुईवटा डुंगाले नै गोबरगाढावासीलाई बाँकी संसारसित जोड्ने काम गरिरहेका छन् । हरेक वर्ष आठ-दस डुंगाका लागि सरकारी रकम छुट्टयाइन्छ, तर त्यो रकम गोबरगाढावासीका लागि डुंगा बनाउन खर्चिनुको साटो टाठाबाठाको खल्तीमा पुग्नेगरेको अनुमान गर्न कठिन छैन । गाविसका लागि प्रत्येक वर्ष विनियोजित लाखौँ रकम कहाँ जान्छ ? त्यसको कुनै लेखाजोखा छैन । विकास कुन चरीको नाम हो, गाउँलेलाई थाहा छैन । तर, कुनै पनि कामै नभई विनियोजित रकमको सम्पूर्ण किस्ता निकासा भइसक्छ । गोबरगाढावासी गरिब गाउँलेका नाममा टाठाबाठाले लुटिरहेका छन् । तर, गरिब गाउँलेले भने गाउँमा राज्यको झिनो उपस्थितिको समेत भनक पाउन सकिरहेका छैनन् । आखिर कहिलेसम्म यसरी कोसीको भेलमा डुबेर गोबरगाढावासीले राज्यविहीनता झेलिरहनुपर्ने हो ? के उनीहरूलाई कोसीको भेलबाट उद्धार गरी सुरक्षित बास उपलब्ध गराउनु राज्यकै प्राथमिक दायित्व होइन र ?
Leave a Reply