स्रोत: नेपाल साप्ताहिक
-डा अरूणा उप्रेती
किंवदन्ती नै छ, अमृतका लागि देवता र दानवबीचमा युद्ध चलेको। दानवले अमृतको घडा लगेपछि देवताहरूलाई आपत् पर्यो, अमृतबिनाको स्वर्ग के स्वर्ग ? त्यसैले उनीहरूले कागलाई त्यो अमृतको घडा चोरेर ल्याए उसैलाई उपहार दिने वचन दिए। बाठो कागले दानवहरू मस्तसँग सुतेको बेला घडा चुच्चोले टिपेर ल्यायो । दानवकहाँबाट अमृतको घडा देवताकहाँ ल्याउँदा पृथ्वीको माथिबाट उड्नुपथ्र्यो। पूरा उज्यालो नभएकाले कागले कतैकतै राम्रोसँग आँखा देखेन र घैँटोबाट अलिकता अमृत छचल्किएर पृथ्वीमा नीमको रूखमा झर्यो रे ! यसैबेलादेखि नीममा अमृतका गुणहरू आएको मानिन्छ। पुराण कथा हो यो।
नीमको रूख औषधीको भण्डार हो। सौन्दर्य र स्वास्थ्यका लागि यो एउटा वरदान हो भनेर कुनै नेपालीले लेख्यो भने हामी हाँसोमा उडाउँछौँ। तर, त्यही कुरा कुनै अमेरकिी वा गोराले लेख्यो भने हामी दंग पर्छौं । कति धेरै महत्त्वपूर्ण वस्तु भनेर गर्व गर्छौं। नीमको पात र बीउमा विशेष किसिमका किटनाशक औषधी पाइने हुनाले यसलाई किटनाशकका रूपमा हजारौँ वर्षदेखि प्रयोग गरँिदै आएको छ । भनाइ नै छ, जहाँ नीमको रूख हुन्छ, त्यहाँबाट रोग भाग्छ।
विडम्बना ! घरमा रहेको नीमको रूखलाई हामी वास्ता गर्दैनौँ। तर, त्यही नीमबाट जब मञ्जन, साबुन र सौन्दर्य प्रसाधनका सामान बन्छन्, हामी सयौँ गुना बढी मूल्य तिर्न तयार हुन्छौँ र तिरी पनि रहेका छौँ। नीमको तेलबाट साबुन बनिरहेको छ। अनेक प्रकारका चर्मरोगका लागि औषधी र मञ्जनका रूपमा पनि यसको प्रयोग गरएिको छ, व्यापारकि रूपमा।
दादुराका बिरामीलाई नीमको पातले बनाएको ओछ्यानमा सुताउने चलन छ। दादुराको संक्रमण नफैलियोस् भनेर र यसको किटनाशक गुणको कारणले नै वर्षौंदेखि यसको प्रयोग हुँदै आएको हो। महात्मा गान्धीले नीमलाई दैनिक जीवनमा प्रयोग गर्थे। कतिसम्म भने यसको पातको अचार नै बनाएर खान्थे। उनी स्वस्थ रहनुको यो पनि एउटा कारण थियो भनिन्छ।
तराईतिर पहिलेपहिले नीमलाई दतिवनका रूपमा प्रयोग गरिन्थ्यो। नीम चपाउँदै दाँत सफा गर्ने चलनको सट्टा महँगो ब्रस र नीमबाटै बनेको महँगो मञ्जनले अहिले दाँत माझ्छन्, तराईतिरकै बासिन्दा पनि। पहिलेपहिले लामखुट्टे भगाउन नीमको पात बालेर धूवाँ निकालिन्थ्यो। तर, अहिले महँगो धूप प्रयोग गरिन्छ।
महिलाहरूको प्रजनन अंगको समस्या, महिनावारी हुँदा गुप्तांगमा चिलाउने समस्या, सेतो पानी बग्ने आदि समस्यालाई पनि गाउँघरका महिलाहरूले नीमको प्रयोगले समाधान गर्छन्। सिराहाकी एक ग्रामीण महिलाको अनुभवमा, नीमको पात पानीमा उमालेर मनतातो भएपछि चौडा मुख भएको भाँडोमा राखेर त्यसमाथि बसेपछि माथि भनिएका धेरै रोगबाट आराम मिल्छ । सातामा दुई/तीनपटक केही महिना यस्तो गरेपछि कतिपयको समस्या समाधान भएको उनको भनाइ छ ।
यो पंक्तिकार आफँै पनि सुडान जाँदाको घटना सम्भिmन्छ । त्यहाँ औलो हुन्छ र त्यसबाट बच्न औषधी खानुपर्छ भनिएको थियो । त्यो औषधी खाँदा केही समस्या पर्छ कि भन्ने पीर पनि लागेको थियो । सुडानको दक्षिण सहर जुवामा पुगेपछि त्यहाँ नीमका ठूल्ठूला रूखहरू देखेर छक्क परेँ । सुडानमा धेरै वर्षअघि भारतबाट नीमका बिरुवा लगिएको रहेछ । तर, अहिले त्यहाँ सर्वसुलभ रहेको नीमलाई औषधीका रूपमा कसैले प्रयोग गरेको देखिँदैन । ठूलठूला युद्धमा भाग लिएर अहिले एक अफिसमा गार्डको काम गररिहेका एक सुडानीका अनुसार पहिलेपहिले गाउँमा बूढाबूढीले औलोबाट बच्न र छालाको रोग भएका बेला प्रयोग गर्थे। पछिल्लो समयमा डीडीटीजस्ता किटनाशकले नीमलाई विस्थापित गरे। नयाँ पुस्ताका मानिसलाई त नीमका बारेमा थाहै रहेनछ ।
सुडानमा बस्दा दैनिकजसो मैले बिहान-दिउँसो तीन-चारवटा नीमका पात चपाएँ। अति नै तीतो पातले सुरुसुरुमा त साह्रै वाक्वाक् गरायो। तर, पछि बानी पर्दै गयो र नीमको प्रभावले हो कि के हो, त्यहाँ बसुन्जेल मलाई औलोले सताएन। मसँगैका अफ्रिकी साथीहरूचाहिँ औलोले ग्रस्त भए। नीम मात्रैले औलोबाट बचाउँछ भनेर ठोकेर मैले भन्न नसके पनि मेरो स्वास्थ्यको रक्षाचाहिँ गर्यो भन्न मैले कुनै धक मान्नु पर्दैन।
नीममा रहेको एउटा ठूलो गुण किटाणु मार्ने शक्ति हो । लुतो र छालाका कतिपय समस्या समाधान गर्न नीमको पात उमालेर स्नान गर्दा हुन्छ। नीमको पात कपालमा जुम्रा मार्नका लागि पनि प्रयोग हुन्छ। त्यसैगरी, चामलमा नीमको पात राख्यो भने कीरा लाग्नबाट बचाउन सकिन्छ । नीमको पातलाई जाडोमा लगाउने तातो लुगाको बीचमा राखेर कीरा लाग्नबाट बचाएको म आफैँले पनि धेरैपटक देखेकी छु। पशुलाई लाग्ने घाउखटिरा ठीक पार्न पनि नीमको प्रयोग लाभदायक हुन्छ।
नीम पनि मीठो हुन्छ भन्दा मानिसहरूलाई पत्याउन गाह्रो पर्छ तर यो सत्य हो। मीठो नीममा सबै गुण उस्तै हुन्छन्, केवल तीतोपना हँुदैन । त्यसैले श्रीलंकामा मीठो नीमको पातलाई दाल, तरकारी र बेसनको करी आदिमा पर्याप्त प्रयोग गरन्िछ । मीठो नीममा विशेष गरी भिटामिन ‘ए’ र रोग प्रतिरोधक शक्ति बढी हुन्छ ।
नीमका बारेमा अन्तर्राष्ट्रिय जगत्मा त्यतिबेला छलफल सुरु भयो, जब अमेरकिी एक कम्पनीले नीमको औषधीय गुण र विशेषगरी केट नामक गुणलाई ‘पेटेन्ट’ गर्न खोज्यो। त्यसबेला भारतका धेरै वैज्ञानिकहरूले यसका विरुद्ध आवाज उठाए। प्रसिद्ध वैज्ञानिक वन्दना शिवाले त यसलाई ‘जैविक चोरी’ नै भनिन्। उनको तर्क थियो, “हाम्रो देशमा किसानहरूले नीमलाई किटनाशक औषधीका रूपमा हजारौँ वर्षदेखि प्रयोग गर्दै आइरहेका छन्। कुनै कम्पनीले यसलाई पेटेन्ट गरेर हाम्रै गाउँघरमा भएका रूखको प्रयोगका लागि पनि पैसा तिर्ने कुरा असह्य छ।” उनको लगातारको लडाइँपछि नीमको औषधीय गुणलाई पेटेन्ट गर्नबाट रोकियो।
विभिन्न वैज्ञानिक अनुसन्धानहरूले नीमले औलोविरुद्ध, किटनाशक शक्ति, संक्रमणबाट रोक्ने शक्ति, शरीरको रोग प्रतिरोधक क्षमता बढाउने शक्तिका बारेमा स्पष्ट पारसिकेका छन्। साथै, नीमको बीउमा झन्डै ४० प्रतिशत तेल हुन्छ र यो तेल विभिन्न औषधी बनाउनुका साथै साबुनमा पनि प्रयोग गरिन्छ। यदि नीमको प्रयोग गर्न जान्ने हो भने धेरै समस्याबाट मुक्ति मिल्छ भनेर धेरै अनुसन्धानले देखाइसकेका छन्। त्यसैले गर्दा नै नीमलाई पेटेन्ट गर्न सकियो भने आर्थिक क्षेत्रमा मनग्गे फाइदा हासिल गर्न सकिन्थ्यो भनेर कतिपय औषधी कम्पनीहरू लागिपरेका हुन्।
Leave a Reply