स्रोत: नागरिक दैनिक
-पवित्रा सुनार
काठमाडौं। उडुस, उपियाँ, साङ्ला र मुसा आतंकले वीर अस्पतालका बिरामी, कर्मचारी र चिकित्सक हैरान छन्। केही सातायता अभियान नै छेडे पनि अस्पतालले मुसा र परजीवीको प्रकोप रोक्न सकेको छैन। बिरामी र तिनका कुरुवाले परजीवी रोक्न नसकेकामा अस्पताल प्रशासनको आलोचना गर्दै आएका छन्।
लामै कोसिस गर्दा पनि मुसाको छुल्याइँ र परजीवीको चुसाइबाट जोगिन नसकेपछि अस्पताल निर्देशकले बुधबार प्रधानमन्त्री माधवकुमार नेपाललाई आफ्नो पिरलो सुनाए।
‘उडुस, उपियाँ, साङ्ला, मुसाले बिरामी, नर्स, डाक्टर सबैलाई सताएका छन्,’ प्रधानमन्त्रीसामू निर्देशक डा. बुलन्द थापाले भने, ‘उन्मूलन अभियान सुरु गरे पनि प्रभावकारी भएन।’
अस्पताल प्रशासनले बेलैमा ध्यान नदिएकाले समस्या विकराल भएको आरोप उनले लगाए। तीन महिनाअघि आफू निर्देशक भएलगत्तै थापाले अभियान थालेका हुन्। विषादी छर्कने, जाल थाप्ने र बासस्थान नष्ट गर्न सरसफाइमा ध्यान दिइएको उनले बताए।
मुसा र उडुस/उपियाँका कारण राति बिरामी सुत्न सक्दैनन्। त्यसबाट नर्सिङ कर्मचारी पनि आजित छन्। ‘डरलाग्दा मुसा आउँछन्, उडुस र लामखुट्टेले टोकेर सुत्नै सकिँदैन’ ग्यास्ट्रो वार्डकी बिरामी सीतादेवी श्रेष्ठले भनिन्।
झोलामा राखेको खाजा र खाना पटक-पटक मुसाले खाइदिने गरेको राति ड्युटी गर्ने अर्थोपेडिक वार्डका नर्सिङ कर्मचारीले बताए।
‘ढल्क्यो कि मुसा बुइँ चढिहाल्छ, जिउभरि नाच्छ,’ नर्स रश्मिला सितिङले भनिन्, ‘झोलामा छिरेर खानासमेत खाइदिन्छ।’
पेइङ वार्डमा मुसाको गतिविधि सर्वाधिक छ। ‘सोफामुनि मुसा, उडुस र उपियाँको गुँड छ,’ नर्सिङ इन्चार्ज चन्द्रकला परियारले भनिन्। मुसाले कागजपत्र खाएर गोलमाल गरिदिएको प्रशासन सहायक सूर्यबहादुर मगरले बताए।
मुसाका कारण करोडौं मूल्यका सिटिस्क्यान, एक्सरे मेसिनलगायत प्याथोलोजीका उपकरण कामै नलाग्ने भएका छन्।
‘एक्सरे मेसिन, शल्यक्रिया गर्दा प्रयोग हुने उपकरण, अल्ट्रासाउन्ड बिगारिदिएकाले कामै ठप्प छ, ‘ थापाले भने। शल्यक्रियामा प्रयोग हुने इलेक्ट्रोनिक प्लेटमा मुसाले पिसाब फेरिदिएर यसै महिना धेरैवटा सामान बिगारिदिएको छ। ‘प्लेट मर्मत गर्न जापानवाट सामान झिकाउनुपर्छ,’ उनले भने।
२०६७ साल श्रावण १३ गते विहीवार।
Leave a Reply